मुग्लिङ नारायणघाट सडकखण्ड सुधार भयो। सडक चौडा भयो, पुलहरू बन्दैछन्। वर्षाले ठूला पहिराहरू नझरेसम्म पटक पटक यात्रीले झेल्नु पर्ने हैरानी हटेको छ। त्यही बाटोको केही तल त्रिशूली नदी अविरल बगिरहेको छ। त्यही त्रिशूली नदीको किनारैकिनार यात्रा गर्ने क्रममा मुग्लिङबाट पाँच किलोमिटर यात्रा गरेपछि पुगिन्छ पाँचकिलो भन्ने स्थानमा।
पाँच किलोको सडकको छेउमा रहेका चार पाँच घरको बीचमा एक प्रतीक्षालय छ। पाँच किलोबाट त्रिशूली पारिपट्टि हेर्दा अग्ला अग्ला डाँडा र पाखाको बीचमा एक विद्यालय देखिन्छ। त्यो विद्यालयको नाम हो- चण्डेश्वरी आधारभूत विद्यालय।
विद्यालय केही समथर स्थानमा रहेको देखिन्छ भने त्यस पाखोमा पातला केही घर पनि देखिन्छन्। धेरैलाई लग्छ त्यस्तो पाखोमा पनि घरहरू!
पारिपट्टि देखिने अग्ला डाँडाको चेपभित्र पनि अर्को गाउँ होला जस्तो कसैलाई लाग्दैन। घरहरू भएको त्यहीँ पारिको गाउँ हेर्दै प्रतीक्षालयबाट दुई घरको बीचमा रहेको साँघुरो बाटो त्रिशूलीतर्फ लागेपछि झोलुङ्गे पुल देखिन्छ। त्यो झोलुङ्गे पुल तरेर आमडाँडाबेँसी गाउँको बीचतर्फबाट तेर्पाए तेर्पाए दक्षिण पश्चिमतर्फ लागेपछि दुई डाँडाको चेपबाट ठाँडै झरेको खोलो पछ्याउँदै उकालो चढेपछि पुगिन्छ लुकेर रहेको खोला गाउँ।
खोला गाउँबाट आएको पानी मिसिने त्रिशूलीमा धेरै पानी बगिसक्यो तर खोला गाउँमा रहेका चेपाङ समुदायको कथा भने फेरिएको छैन। खोला गाउँका चेपाङ समुदायको मुहारमा हाँसो र खुसी आउन भने कति वर्ष पर्खिनुपर्ने हो ? अनुमान लगाउन सकिने अवस्था छैन।
गाउँलेहरू वर्षौंदेखि हिँडेको बाटो। बाटो त के भन्ने नाम मात्रको डोरेठो। खोलामा पानी छल्दै, ढुङ्गादेखि ढुङ्गा फड्कदै हिँड्नुपर्ने। पाखाको बाटोमा साँघुरो, गग्रेयान, कुनै स्थानमा धुलो जेन तेन खुट्टा अड्यएर, छेउछाउका घाँसका फेद समाएर नाके उकालो हिँड्नुपर्ने बाध्यता।
खोला गाउँ छरिएको छ। भिन्न पाखामा रहेका दुई चार घर गरेर खोला गाउँमा जम्मा २५ घरधुरी छन्।
पाखा-पाखामा छरिएको खोला गाउँभित्र रसौली, तल्लो गाउँ, माथिल्लो गाउँ, डाँडाबारी, पाखापारी, ननटार नामका गाउँ छन्।
सबै पाखामा छरिएका २५ घरधुरीमध्ये दुई घर विश्वकर्मा र दुई घर गुरूङ छन् भने अन्य सबै घर चेपाङ समुदायका।
केही वर्ष पहिला टाढाका अन्य गाउँबाट गोठ लिएर आउने-जाने गरेका विश्वकर्मा र गुरूङ परिवार पनि विस्तारै यसै खोला गाउँमा बस्न थाले। अहिले यसै गाउँका बासिन्दा भए।
जमिन भिरालो, हल गोरुले जोत्न समेत मुस्किल पर्ने साँघुरा सुर्काहरू। यहाँको उत्पादनले तीन महिना पनि मुस्किलले खान पुग्छ भन्छन सुकबहादुर प्रजा। खेती गर्ने जमिन भिरालो र साँघुरो, माटो बगाएर ढुङ्गाको गग्रेन जस्तो देखिन्छ। बारीमा हालिएको गोवर मल पनि बगाएर खोलामा मिसिन्छ र खोलाले त्रिशूलीमा मिसाउँछ।
खोलानजिकै बस्ने तीन परिवारकोे खेतका साँघुरा फोगटाहरू पनि छन्। यसैको आधारमा निकै कम भए पनि खेत पनि छ, धान पनि उत्पादन हुन्छ भन्नुपर्ने हुन्छ। भिरालो र साँघुरो बारीमा मकै कोदो, फापर, मास गहत जस्ता गेडागुडी पनि उत्पादन हुन्छन्। फलफूलमा केरा र चिउरी हुन्छ। भिरालो जमिनमा काँही काँही केराका बोटहरू देखिन्छन्। चिउरीका बोटहरू भने ठाउँ-ठाउँमा झुप्प परेका छन्। चेपाङ समुदायमा चिउरीलाई महत्व दिइन्छ। चिउरीको फल खान भन्दा पनि बियाँबाट घ्यु उत्पादन गरी वर्षभरिलाई तरकारीको लागि भुटन र हातखुट्टामा लगाउने चिल्लोको लागि काम चलाइन्छ।
हिउँदमा भिरालो हिँड्ने बाटो र खेतीको लागि खोस्रेको जमिनका कारण धुलैधुलो हुन्छ। दुईतर्फ भएका खोलाहरू नै बाटोको रूपमा प्रयोग हुन्छन्। अधिकांश बाटो भनेको वर्षातमा पानी बग्ने खोला नै हो। पानीले बगाउन नसकेका ढुंगाहरूमा टेकेर आवतजावत गर्नुपर्दछ। वर्षातमा खोलाले मान्छे नै बगाउँछ।
पाँच किलोसम्म पुग्न चालिस-पचास ठाउँमा खोला तर्नु पर्दछ। चप्पल जुत्ता त कति बगायो बगायो। खोलाको बाटो हिँड्दा दुई तर्फका पाखामा गाईवस्तु र बाख्रा हिँड्दा जमिन धसियर, पल्टेका ढुंगा कतिबेला आएर लाग्ने हो भन्ने डर, पाखाको भिरमा हिँड्दा कतिबेला खुट्टा चिप्लिएर ज्यानै जाने हो भन्ने त्रास भैरहन्छ।
वर्षातमा खोलाले सामान र मान्छे बगाउनेमात्र होइन चर्को आवाज पनि निकाल्छ। स्थानीय समुदाय त त्यो चर्को आवाजसँग विस्तारै अभ्यस्त भएका छन्, नयाँ पाहुँना आए भने सुत्नै सक्दैनन् दुई तर्फका खहरे खोलाको आवाजले, भन्छन् सुकबहादुर।
खोला गाउँका समुदायको हातमुख जोड्ने आधार भनेकै बाटो, घर, कुलो, नहरनिर्माण हुँदै गरेका स्थान र कुखुरा फारामहरूमा काम खोज्ने, श्रमिकको रूपमा काम गर्ने, तीन चार महिना त्यतै बस्ने अलिअलि भएको कमाइ लिएर खोला गाउँमा फर्कने, त्यही कमाइले पाँचकिलोबाट चामल, नुन तेल, आङ ढाक्ने एकसरो कपडा किन्ने र त्यही भारी बोकेर उकालो लाग्ने।
घरमा प्रतीक्षा गर्दागर्दा थाकेका परिवारको आवश्यकता ढाकछोप गर्ने। धन्नै चितवनमा धेरै कुखुरा फाराम खुलेका छन्। काम गर्दा प्राय: दैनिक ज्यालादारीमा नै गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ तोकिएको काम सक्ने कबोल गरेर एकमुष्ट रकम पनि लिन्छन् चेपाङ युवाहरू।
खोला गाउँमा समुदायले खेतीको लागि र घर बनाउन प्रयोग गरेको जग्गा नापी भएको त हो तर रातो पूर्जा भने एक घरधुरीको मात्र छ। अन्य चार परिवारको सेतो पूर्जा छ। सर्भे नापी गर्न पुगेको टोली जग्गा नापी गरेर जिल्ला सदमुकाममा फर्के तर पूर्जा ल्याउन त्यतिबेला खोला गाउँबाट एक परिवारमात्र सदरमुकाम पुग्यो।
अरू कोही पूर्जा लिन गएनन्। बाबु, बाजेको नाममा नापी भयो, अहिले छोरा नातिको नाममा पूर्जा बन्दो रहेनछ। त्यसैले मालपोतले त्यसैको जानकारीको लागि एक कागज दिन्छ त्यसैलाई सेतो पूर्जा भनिएको रहेछ।
शिक्षाको दृष्टिले पनि खोला गाउँ निकै पछाडि परेको छ।
खोला गाउँकै विद्यालयमा भएको विद्यालय सहयोगीबाहेक अन्य कुनै युवाले अझैसम्म सरकारी वा देशभित्रको जागिर खाएका छैनन्। स्थानीय तहमा चेपाङ समुदायले जनप्रतिनिधि छान्न भोट हाले तर आफ्नो गाउँ र समुदायले भने एक जना वडा सदस्य पनि पाएको छैन। आफूले छानेको जनप्रतिनिधि भेट्न उही दुई तीन घण्टाको पैदल हिँड्नु पर्दछ। खोला गाउँबासी युवाहरूले कसरी भरपर्दो रोजगारी पाउने हुन् ? खोला गाउँको शैक्षिक, सामाजिक, आर्थिक विकास कसरी हुने हो ? कति समय खोला गाउँबासी चेपाङ समुदायले यस्तै दु:खको जीवन बिताउन पर्ने हो कसैले अनुमान गर्न सक्ने अवस्था छैन।