गत महिनाको असार २४ गते अनलाइन कक्षाको लागि तयारी गरिरहेको अवस्थामा मोबाइल फोनको घण्टी बज्यो। फोन उठाएपछि थाहा भयो हजुरआमा करिब-करिब अन्तिम श्वास फेर्दै हुनुहुन्छ।
सायद दिउँसोको १२:३० बजेतिर हुनुपर्छ। त्यसपछि विद्यालयका शिक्षक साथीहरूको मेसेन्जर ग्रुपमा त्यस दिनका बाँकी कक्षा लिन नसक्ने कुराको जानकारी गराएर आफ्नो बसाइ कीर्तिपुर ट्याङ्लाफाँटदेखि कलंकीसम्म हतारिएर हिँड्दै अनि कलंकीबाट एउटा ट्याक्सी लिएर महाराजगञ्ज चुनदेवीतर्फ लागेँ।
जेष्ठ हजुरआमा, मलाई थाहा हुँदादेखि नै माइतीमा नै बस्नुहुन्थ्यो। त्यसो त विभिन्न पूजाआजा, विवाह ब्रतबन्धका कार्यक्रम, चाडपर्वहरूमा डाकेको बेला हजुरआमा आएको र उताका त्यस्तै कार्यक्रमहरूमा हामीहरू पटक पटक जाने गरेकै हो। केही दिनअघि हजुरआमा बिरामी भएको खबर पाएर हजुरआमालाई भेट्न पुगेको थिएँ। बुटवलको केही दिनको बसाइ छोट्याएर निषेधाज्ञालाई समेत छलेर काठमाडौं आएर हजुरआमालाई भेटेको थिएँ।
करिब १:३० बजेको हाराहारीमा चुनदेवी पुग्दा हजुरआमाले १:०० बजेतिर नै अन्तिम श्वास छोड्नुभएको कुरा थाहा पाएँ।
हिन्दु धर्मअनुसार दाहसंस्कार लगायतका १३ दिने मृत्युसंस्कार माइती पक्षले नभई घर पक्षकाले गर्नुपर्ने प्रचलन अनुसार सोही दिन पशुपति आर्यघाटमा हजुरआमाको दाहसंस्कार गरियो।
गोरखामा रहनुभएका बुवाआमालाई त्यसैअनुसार खबर गरियो। बाँकी काम बुबा आमाले उतै गर्न थाल्नु भयो। खबर पाउनेबित्तिकै गाउँका दाजुभाइहरूले बुवा आमालाई १३ दिनको काजकिरिया गर्नको लागि ठाउँको व्यवस्थापन, लुगाफाटालगायत अन्य आवश्यक तयारी सोही दिनमै गरेर बुवा काजकिरिया बस्न थाल्नुभयो। उक्त दिन बिहानको खाना खाइसकेपछिको घटना भएकोले भोलिपल्ट क्षेत्रबास बस्नुपर्ने र पर्सिपल्टबाट मात्रै पँधेर बस्ने काम हुने कुरा पुरोहित अनि दाजुभाइहरूको छलफलबाट तय भयो।
काठमाडौंमा दाहसंस्कारको काम सकिसकेपछि उता गोरखामा बुवाआमालाई सान्त्वना अनि सहयोगको लागि भोलिपल्टै गोरखा जाने योजना थियो तर चाँजोपाँजो नमिलेकोले र वर्षातको समय अनि आवतजावतमा गरिएको कडाइ आदि कारणले जान सकिएन।
पर्सिपल्ट कान्छी बहिनी सँगै गोरखा पुग्यौं। केही स्थानमा पहिरोको कारण बाटो अवरूद्ध हुँदा केही ढिलो भयो। त्यसदिन पँधेरो बस्ने पहिलो दिन भएकोले धेरै नै दाजुभाइहरूको उपस्थितमा तीन दिनसम्मको काम सम्पन्न भइसकेको रहेछ। हाम्रो उपस्थितले बुवाआमालगायत सबैलाई सजिलो महसुस भएको आभास भयो।
दुई कोठे घरको एउटा कोठामा आमा र अर्को कोठामा बुबा बस्नेगरी ठाउँलाई मिलाइएको रहेछ। आमा एउटा कोठाको खाली भागमा सुत्ने गर्नुहुन्थ्यो, तुलनात्मक रूपमा उहाँलाई यताउता जान, छुन छुट थियो किनकि प्रत्येक दिन पँधेरो बस्दा लैजाने डालोमा राख्ने सरसामग्री उहाँले नै राख्नुपर्थ्यो।
कान्छी बहिनी उहाँ सुत्ने गरेकै कोठाभित्र खाटमा सुत्ने व्यवस्था मिलाइयो। म चाहिँ धन्सारको पहिलो तलो जुन अलिक उच्च छ। दोहोरो हावा खेल्ने गरी झ्याल छन् त्यहाँ सुत्नेगरी व्यवस्था मिलाइयो।
बुवा बसेको कोठामा खाट हुँदाहुँदै पनि उहाँलाई कुकुर, बिरालो आदि जनावरले छोइदेला, धेरै आवतजावत भयो भन्ने ख्याल राखेर त्यहाँ उहाँबाहेक कोही बसिएन।
भूकम्पपछि बनाइएका दुई कोठे जस्ताको छाना भएको भवन अहिले गोरखाको गाउँ-गाउँमा प्रशस्त छन्। त्यहाँ प्रायः एउटा कोठामा एउटा मात्रै झ्याल छ। किनकि पहिले निश्चित दूरीमा झ्याल राखिएन भने पास हुँदैन र अनुदान रकम समेत पाइँदैन भनेर भनिएकाले धेरै घर यस्तै देखेको छु। घरमा गर्मी समयको लागि पङ्खा अनि जस्ताको छानोबाट आउने तातो राप कम गर्नको लागि फल्स सिलिङ राखिएको छ।
सबै कुरा नियमित चल्दै गयो। हामी दुई जना त्यहाँ हुँदा विशेष गरी आमालाई सजिलो महसुस भयो, किनकि उहाँ बुवाले जस्तै एक छाक खाएर पनि घरधन्दाको काम समेत गर्नुपर्थ्यो अन्य सहयोगी नहुँदा। पाँचौं दिनको बिहानै एक्कासि खैलाबैलाजस्तै भयो। कुरा के रहेछ भने कान्छी बहिनी महिनावारी भएकी रहिछ।
आमाका अनुसार अब ऊ आमा बस्ने कोठामा बस्न अनि घरका भित्री घरधन्दा गर्न नहुने भयो रे। त्यसैले ऊ सबेरै बाहिरको काम गर्न थालिसकेकी रहिछ। बाहिरै बसेर खानुपर्ने, गाईवस्तुको स्याहारसुसार, घाँसपराल, गोबरघँसेटो, सरसफाइ आदि मात्र गर्न मिल्ने अनि अलग्गै बस्नु अनि सुत्नुपर्ने भयो।
हिजोसम्मकी सहयोगी छोरी अब आमाको लागि एकाएक क्षणभरमै अप्ठेरी बन्न पुगी, सिर्फ महिनावारीको कारण।
महिनावारी बार्नुपर्ने विषय नै होइन। यो त निश्चित उमेर समूहका महिलाहरूमा हुनैपर्ने नियमित प्राकृतिक कुरा हो, यो बेला खानपान अनि शारीरिक सरसफाइमा चाहिँ विशेष ध्यान दिनुपर्छ भनेर हरेक दिन जसो आफ्ना विद्यार्थीहरूलाई भन्ने गरेको मैले आमालाई त्यसरी नै त सम्झाउन-बुझाउन कहाँ सक्थें र ! जतिसुकै जानेको बुझेको भए पनि आमाबुबाको एक खाले आस्था अनि विश्वास, यद्यपि त्यो अन्धविश्वास नै किन नहोस्, त्यसमा चोट पुर्याउने कुरालाई कहाँ महानता मान्न सकिन्छ र !
अब बहिनीलाई पनि असहज नहुने र आमालाई पनि चित्त बुझाउने हिसाबले हामीले बस्ने ठाउँ साट्यौं। यो कुरा दुबै पक्षलाई मान्य भयो। यो विषयमा समेत प्रशस्त बहस गर्न सकिएला। यसलाई छाउपडी प्रथाको अर्को रूप पनि त भन्न मिल्ला।
त्यसो त हाम्रै मृत्युसंस्कारका तेह्र दिनसम्म गरिने विभिन्न क्रियाकलापहरूलाई समेत एकथरि अनेकौं ढंगले प्रश्न उठाइरहेका छन्। यो आवश्यक नै छैन र यो सबै अन्धविश्वास हो भन्नेहरू पनि छन्। गर्नैपर्छ भन्नेहरू समेत त्यतिका तेह्र-तेह्र दिन किन चाहियो, छोट्याएर पाँच-सात दिनमा सके हुन्न र भन्नेहरूको पनि ठूलै मत छ र त्यसै गर्न समेत थालिएको पाइएको छ यदाकदा।
यसले समेत समाजमा मान्यता पाएकै छ। त्यसो त दाहसंस्कारकै दिन अन्तिम श्रद्धाञ्जली दिएपछि सबै कुरा त्यहीँ सकेर आउनेहरू आस्तिक वा नास्तिक जे भए पनि समाजको आँखाले क्रान्तिकारी नदेखे पनि तिनीहरू आफैंले आफूलाई क्रान्तिकारी भनेकै छन्।
अनि किरियापुत्रीले गर्न हुने र नहुने कुरामा पनि थरिथरिका अभ्यास र विचारहरू प्रचलनमा छन् नै। यसमा समेत समयसापेक्ष सुधार गर्नुपर्छ /पर्दैन वा गर्नुहुँदैन।
केही रात बन्द कोठाभित्र सुत्दा थाहा भयो, साँच्चै कति अप्ठ्यारो छ। नियमित बिजुली बत्ती नहुँदा, कोठामा झ्याल ढोका बन्द गरेर यी असार-साउनको महिना, रात बिताउन कति गाह्रो भयो होला सत्तरी वर्ष पार गरिसक्नुभएको बुवालाई, जो आफैं उच्च रक्तचाप र मधुमेह रोगको बिरामी हुनुहुन्छ।
यहाँ पनि अर्को आस्था जबर्जस्त रूपमा प्रकट भएको छ। नियमित रूपमा पटक-पटक खाइरहनुपर्नेलाई तोकिएको समयमा तोकिएका कुरामात्र खानुपर्ने अवस्था अपरिहार्यता कि बाध्यता, खुट्याउनै गाह्रो।
त्यसो त यहाँ पनि उहाँको आस्थाविपरीत नै त के पो गर्न सकिन्थ्यो र! उपलब्ध परिस्थितिलाई सकेसम्म सहज बनाउने बाहेक। वर्षातको समय रातमा पानी पर्दा तुलनात्मक रूपमा शितल हुने हुँदा सजिलो अनि त्यही पानी पँधेरो बस्न जाँदा परेमा किरियापुत्रीले लगाएको लुगा नसुकेर चिसै लगाउनु परेको अवस्था पनि पाइयो। कति जोरसम्म लुगा लगाउन मिल्ने, यसमा छेकवार छ कि छैन? गर्मीमा एक हदसम्म सहन सक्ने स्थिति रहला, जाडो मौसममा यस्तो स्थिति हुँदा के होला कमजोर किरिया पुत्रीको अवस्था।
यहाँ उठाउन खोजिएको कुरा के हो भने हाम्रा प्रचलनमा रहेका विभिन्न चालचलन, रीतिरिवाजहरू कुन संस्कार र कुन कुसंस्कार हुन्, कसले संस्कृतिको जगेर्ना गरिरहेका छन्। कसले विकृति, विसङ्गति बढाइरहेका छन्, खुला बहस जरूरी छैन र?
यसबारेमा समय अनुसारका छलफल आवश्यक छन् वा छैनन् वा यस्ता खाले विषयलाई छलफलमा ल्याउनै हुँदैन? यो समयानुसार सुधार गर्नुपर्ने विषय हो वा होइन? धर्म निरपेक्ष मुलुकमा यसको आधिकारिक निर्णय गर्ने संस्था चाहिन्छ वा चाहिँदैन? यसलाई हिजोदेखि जसरी चल्दै आएको छ त्यसरी नै चल्दै जाने क्रममा त्यसमा संग्लग्न पक्षले असहज महसुस गरेको कुरा छोड्दै जाने र सहजतातिर लाग्ने हो कि त्यहाँको समाज वा पुरोहितले निर्धारण गर्ने हो?
विभिन्न तिथिपर्व, ग्रहण, मुहूर्त आदिबारे आधिकारिक धारणा दिँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस विषयमा देखिएका अस्पष्टता र अन्योल निवारण गर्न के काम गरिरहेको होला वा माथि उठान गरिएका विषय यसको क्षेत्राधिकारभित्र पर्दैनन् यो जिज्ञासा मात्रै।