हाम्रो समाजमा विवाहलाई निकै पवित्र मानिन्छ। म पनि मान्छु। मान्नुपर्छ पनि। तर आज म विवाह पश्चात छोरी मान्छेको जीवनमा आउने फरकपनमा प्रकाश पार्न चाहन्छु।
मैले धेरै विवाह समारोहमा उपस्थित भएर त्यो खुसीको भागिदार मात्र नभएर त्यसलाई सामाजिक मान्यता पनि दिएको छु। तर म त्यो परिस्थितिमा आफूलाई स्वीकार नभएको कुरा राख्न भने सकिनँ।
‘समाजले कोरेको रुपरेखा अनुसार सासू र बुहारी भनेका चुलाभित्रका दुश्मनको संज्ञा दिइन्छ। त्यसकै परिणामस्वरूप होला मलाई छोरी भन्ने धेरै सासूहरूको गुनासो मैले सुनेको छु। ‘आजकलका बुहारीलाई यति खुट्टा ढोग्न पनि कति दुःख मानेका, हामीहरूले जति गर्नुपरेको भए.....’? मानौं कि उनीहरूले दुःख गरेकाले अबको पिँढीले पनि गर्नुपर्ने जसरी।
मेरो अब मनले भन्छ- आजकल श्रीमानसँग काँधमा काँध र हातमा हात मिलाएर हिँड्ने युगका बुहारी किन झुक्नु त?
मलाई उत्सुकता बढ्यो। त्यसपछि मैले मेरा दिदी,भाउजू धेरैजनासँग यस विषयमा छलफल गरें। प्रश्न आफैंमा अन्योलपूर्ण थिए। धेरै उत्तर त मैले कूटनीतिक पाएँ। ती उत्तरमा एक किसिमको डर र त्रासको अनुभव भइराथ्यो। तर कति मानसिकताहरू सग्लो पानीसरह स्पष्ट थिए। मलाई ती जवाफ सुनेर गर्व लागिरहेको थियो।
महिलाहरूले आफ्नो मानसिकता र विचारलाई मीठो शैलीले प्रस्तुत गेरको महसुस गर्दै थिएँ। तर ती विचारलाई यहाँ प्रस्तुत गर्दा मेरा हातहरू कापिरहेका छन्। मन अन्योलमा छ। कतै यो शब्दको खेलले संस्कार, संस्कृतिलाई प्रश्न उठाउने त होइन! तर धेरै छोरीहरू बुहारी बनेपछि देखेको फरक अनुभवले मलाई लेख्न प्रोत्साहन गर्यो।
‘म विगत २३ वर्षदेखि एउटा घरकी छोरी हुँ। त्यो छोरी जसलाई घरको लक्ष्मीका रूपमा सम्मान दिइन्छ। जसलाई दसैंको नवमीको दिन दुर्गाको अवतार मानेर पूजा गरिन्छ। छोरीको रूपमा जन्म लिएकी मलाई कसैको खुट्टा छुन हुँदैन भनेर सिकाइन्छ। मलाई घर सफा गर्ने, पोत्ने काम गर्दा मेरो आमा, बाबामात्र हैन आफन्ती समेतले छोरीको हातले पुछेको भुइँमा हिँड्दा पाप लाग्छ भनेर मेरो हातमा ढोगेर मात्र त्यहाँबाट हिँड्नु हुन्थ्यो।
भाइ, दादादेखि सबैको प्यारी भएकी मलाई, कसैको आशिष लिन खुट्टा छोएको याद छैन। मैले त्यहाँ माया सम्मान पाएको अनुभव गर्छु। तर विवाहपश्चात समाजका जटिल पारिवारिक सम्बन्धहरू र त्यो अनुसार निभाउनुपर्ने विभिन्न नियम र संस्कारहरूले गर्दा सुरूमै सबै कुरा जान्न मुस्किल भयो। अब म बिस्तारै बुझ्दै छु। तर, मलाई सबै निकै अनौठो, अप्ठ्यारो, कता कता आफ्नोभन्दा धेरै टाढा, ममा हावी भएजस्तो, इज्जतमा हो कि आत्मसम्मानमा प्रहार गरेजस्तो अनुभव भइरहेको थियो।
मेरो बानी नभएर होला सायद मलाई त्यो अनुभव भएको भन्ने लागिरहेको थियो। मैले पहिलो पटक यति धेरै मान्छेको खुट्टा छोएर आशिष लिँदै थिएँ। मेरो लागि आफूभन्दा ठूलाको आशिष लिनु गाह्रो थिएन।
तर मलाई छोरी बनाउँछु भनेको परिवारमा पहिलो चरणमा नै बुहारी भएको अनुभव म गर्दै थिएँ। मलाई छोरीको सम्मान दिएर बिदा गरिएको थियो। तर स्वागत बुहारीका रूपमा भएको महसुस भयो।
यसले मेरो मानसिकतामा परिवर्तन आएको छ ‘म त बुहारीलाई पनि छोरीलाई जस्तै व्यवहार गर्ने हो’ भन्ने गरेको सुनेकी थिएँ तर त्यो पाइनँ।’ एक छोरीको बुहारी हुदाँको अनुभव यस्तो थियो।
मैले सबै रितिरिवाज, संस्कृति, चलन, समाज, पितृसत्तात्मक विचार सबैमा कालोपट्टि बाँधेर छोरीको नजरले मात्र हेर्दैछु। मेरो नजरमा छोरी र बुहारी दुई फरक भूमिका हुन् तर व्यक्ति एक हुन्।
मलाई यो परम्परा साँची नै अनौठो लाग्यो। पितृसत्ताले गाँजेको समाजमा बुहारीलाई गरिएको व्यवहार समानता माथिको प्रहार थियो।आफूभन्दा ठूलो, सम्मानजनक व्यक्तिको आशीर्वाद लिनु राम्रो हो तर कुनै संस्कृतिको आडमा होइन कि आफ्नो इच्छा र चहानाले। त्यो भन्दै गर्दा श्रीमतीको आमाबुवाले आफ्नो छोरीको उमेरको ज्वाइँको खुट्टा छुनु कहाँको र कस्तो संस्कार हो? तर के यो समाजले यी प्रश्न गर्ने बुहारीलाई स्वीकार गर्छ?
अब विवाद यो विषयमा मात्र सीमित रहेन। यसले एउटा विकार रूप लिँदै थियो। संस्कृतिको आडमा चलिरहेका कुरीति त्यो कानूनको तराजुमा जोखिँदै थियो।
अब समाजले आफ्नो तराजुमा तौलिन बाँकी थियो किनकि समाज चलाउन सामाजिक न्याय पनि जरूरी छ।
नारी र पुरूषको विवाह हुँदा उनीहरूलाई एक रथका दुई पाङ्ग्रा मानिन्छन्। दुवैले अग्निलाई साक्षी मानेर एकअर्कासँग बाचा गर्छन्, सम्मान अधिकार र इज्जत दिने प्रतिज्ञा गर्छन्। तर के विवाहपछि त्यो सम्मान पाइरहेका छन्? किन श्रीमानले मात्र परिवारको आन्तरिक निर्णय र आर्थिक भार उठाउने? अधिकार, जिम्मेवारी, दायित्व र सम्मान सबैमा समानता हुनुपर्ने होइन?
एक दिनको कुरा हो। यो विषयमा मेरी आमासँग पनि संवाद चल्यो। मेरो प्रश्न थियो ‘आमा बुहारीलाई किन छोरी सरह माया र सम्मान दिइँदैन?’
‘एउटै घरमा जन्म लिएका छोरा र छोरीबीच त थुप्रै असमानता र विभेदहरू छन् भने छोरी र बुहारीबीच विभेद नहुने कुरै भएन नि नानी’ आमाले भन्नुभयो।
यो कुरा तीतो र भयानक थियो तर सत्य। के एउटा घरको छोरी नै अर्को घरको बुहारी हुने होइन र? कानुनले लैंगिक हिंसा र लैंगिक समानतालाई पहिचान गरिसकेको समयमा समाजले स्वीकार नगरेर हुन्छ? भन्ने जस्ता स-साना प्रश्नहरूको युद्व म आफूमा भैरहेको थियो।
मैले एकदिन नवविवाहित दम्पतीको संवाद सुन्ने मौका पाएँ।
श्रीमतीले आफ्नो पक्षका तर्क राख्दै भन्दै थिइन्, ‘मैले मेरो आमाबुवाको (सासू-ससुरा) खुट्टा छोएर आशीर्वाद लिन्छु तर हजुर पनि मेरो मम्मी बाबाको खुट्टा छोएर आशिष लिनुपर्छ, मेरो मम्मी बाबाले पनि त बराबर सम्मान पाउनुपर्छ एउटा छोराबाट पाउनुपर्ने होइन त! हजुरलाई मबाट सबै आशा राख्ने स्वतन्त्रता छ।
तर मैले पनि हजुरसँग त्यही स्तरको आश गर्ने स्वतन्त्रको अपेक्षा गर्दछु नि। श्रीमान् यो तर्क सुनेर मौन थिए सायद उनीसँग उत्तर थिएन वा आफूसँग भएको उत्तर दिन हिम्मत। मलाई थाहा भएन। तर, मेरो मनमा एउटै प्रश्न थियो अझै पनि ‘के यो समाजले यी बुहारीलाई स्वीकार्छ?’
मेरो मनमा उठेका प्रश्नको उत्तर म अब आफ्नै विश्लेषणबाट दिने प्रयास गर्दै थिएँ। मैले छोरी र बुहारीलाई एउटै व्यक्तिको रूपमा हेरेकी छु। अनि मलाई विश्वास पनि छ कि आमाले छोरीलाई गर्ने व्यवहार नै सासूले बुहारीलाई गर्ने हो भने यो विवाद पनि आउँदैन। अनि विवाह पछिको छोरीको जीवनमा त्यति परिवर्तन पनि हुने छैन।महिला नै महिलाको दुस्मन हो भनेको हामीले सुनेका छौं। तर, सासूले आफूले भोगेको पीडा बुहारीलाई दिने सोचाइ छाडेर बुहारीलाई छोरीको माया र सम्मान दिए यो भनाइ गलत पुष्टि हुनेछ।
अनि यो समाजले पनि यी बुहारीलाई स्वीकार गर्नेछ, त्यो पनि यो नयाँ परिवर्तनसँगै।
यो कुरा मभित्रको नारीवाद वा क्रान्तिकारिता होइन, मैले मेरी आमालाई सासूको रूपमा कल्पना गर्दा आएको हो। अब यो प्रश्न समाजमा बस्ने हजुर सबैलाई 'के यो समाजले यी परिवर्तन ल्याउन चाहना राख्ने नारीलाई सम्मान गर्छ?'
'के यो समाजले यी बुहारीलाई स्वीकार्छ?'