यतिबेला भेरी र सारदा नदीमा धेरै चेलीको आँसु बगिसकेको छ। देशका अन्य भागमा जस्तै कर्णालीका दुर्गम बस्तीमा पनि दैनिक जसो हुने महिला हिंसाका घटनाले सभ्य समाजलाई गिज्याई रहेको देखिन्छ। महिला भएकै कारण अनेक बहानामा हुने हिंसाले महिला कतै आँसु त कतै रगत बगाउन विवश छन्।
देशमा गणतन्त्र आयो। अधिकार सहितको बलियो सरकार घरछेउमा पुगेको छ। वस्तीका समस्या बुझेकाहरु गाउँको सिंहदरबारमा विराजमान छन्। सुरक्षाका लागि प्रहरी छ भने न्याय दिन अदालत पनि बसेको तर टोलमा रहने भद्रभलाद्मीले गर्ने न्याय सम्पादनले महिला सधैँ अन्यायमा पर्ने गरेका उदाहरण पनि प्रशस्तै सुनिन्छन्।
महिला भएकै कारण दैनिक अनाहकमा पिटाइ खाने र समय समयमा ज्यान गुमाउनु पर्ने नियतीले आज पनि त्रासको खाडल पुरिएको छैन। अशिक्षा, गरिबी र मदिरा जस्ता बहानाले छोपिने महिला हिंसाको कालो अनुहार उदेक लाग्दो छ। लेखिएका र नलेखिएका हिंसाका कथाहरु फगत अध्ययनका लागि सीमित भइदिनाले पनि न्यूनिकरणमा चासो नबढेको देखिन्छ।
सदियौँदेखि रहेको पितृसत्तात्मक संरचनाबाट निर्मित र निर्देशित सामाजिक व्यवस्था, विभेदपूर्ण मूल्यमान्यता तथा परम्पराहरुले हाम्रो समाजमा गहिरोसँग जरा गाडेर बसेको छ। जसको आधारमा घर, परिवार, समुदाय, समाज र राज्य सबै तहका महिला माथि हिंसा हुने गर्दछ। अझ भनौँ महिला हिंसा संस्थागत जस्तै भएको देखिन्छ।
यीनै संरचनागत विभेदले महिलालाई समाजमा मानवको रुपमा हैन, एक वस्तुको रुपमा स्थापित गरेको छ। यस्तो परिस्थितिमा महिलाले आफूमाथि भएको हिंसा र विभेद विरुद्ध आवाज उठाउन निकै कठिन हुने गरेको हो।
हिंसा रहित सुरक्षित वातावरणमा आत्मसम्मान पूर्वक बाच्न पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। तर यथार्थमा महिलाले आज पनि दोस्रो दर्जाको नागरिक तथा नारकीय जीवन जिउन बाध्य हनु परिरहेको छ।
दुःखसुखमा साथ दिने र जीवनभरि दुई मुटु एक भएर जीवन जिउने वाचाका साथ जन्मदिने आमा बुवालाइ छोडेर १८ वर्षको कलिलो उमेरमा 'मेरो संसार तिमी हौ' भनेर रुकुमकी लता (नाम परिवर्तन) ले १२ कक्षा पढ्दा पढ्दै घर छेउकै अर्को दुर्गम वस्तीमा विवाह गर्छिन्। जस्तोसुकै दुःख पनि श्रीमानको अनुहार हेरेर बिर्सने सपना बोकी आएकी उनी निकै खुसी थिइन्।
वर्षभरि खेतिपाती गरी तीन महिना मात्र खान पुग्ने र बाँकी नौ महिनाको लागि ज्याला मजदुरी गरी खानु पर्ने उनको घरायसी अवस्थामा पनि रमाएकै हुन्छिन्। आफूले पाखुरा नचलाउँदासम्म हात मुखको भेट गर्न गाह्रो हुने घरमा पनि लता खुसी नै थिइन्। विवाह गरेको ७/८ महिना पुग्न थाल्छ। उनका श्रीमानले विभिन्न बाहनामा उनलाई हिंसा गर्न सुरु गर्छन्। लतालाई पेटको बच्चाको कारण सबै सहनुको विकल्प रहँदैन।
विस्तारै लताका श्रीमान् मानव नभई दानव भएर प्रस्तुत हुन थाल्छन्। हरेक दिन उनले श्रीमतीलाई पशुवत व्यवहार देखाउन सुरु गर्छन्। लताको जाने ठाउँ छैन। इच्छा विपरीत गरेको विवाहले आमा-बुवा खुसी हुनुहुन्न। आफूले जसरी पनि श्रीमानलाई फकाउनु र रिझाउनुको विकल्प उनले देख्दिनन्।
श्रीमानले लतालाई हरेक दिन यातना दिन्छन्। जीवनमा सहनै नपर्ने पीडा सहेर बस्छिन्। उनको विवाह भएको अहिले ५ वर्ष भयो। उनीसँग तीन वर्षको छोरी छ। विवाह भएको ८ महिनादेखि हरेक दिन यातना सहेर बसेकी थिइन्। यातनाले उनलाई हरेक दिन मरेझैँ लाग्दथ्यो।
लतालाई हिंसा नियमित जस्तै लाग्थ्यो। एकदिन उनी बिहानै उठेर घरको धन्दामै थिइन्। एक्कासी श्रीमान् पछडिबाट आएर प्लास्टिकको पाइपले बेस्सरी कुट्छन। त्यो लट्ठी भाचेपछि बाँसको लट्ठीले हिर्काउछन्। लता बेहोस भएपछि अब मरेकै होला भनेर पिट्न छोड्छन्।
स्थानीयहरु अति भएपछि लताको घरमा पुग्छन्। उनलाई अस्पताल लगिन्छ। २४ घण्टापछि बल्ल उनलाई होस आउँछ। पंक्तिकारले लेख्दासम्म उनी रुकुमको एक सरकारी अस्पतालमा छिन्। हिजो सँगै मर्ने सँगै बाच्ने कसम खाएको श्रीमानले यो अवस्था बनाएपछि लतालाई मनमा आएको छ 'कसरी भनुँ उसलाई जीवन साथी?'
कर्णालीमा महिला हिंसाका यस्ता घटना दिन प्रतिदिन बढिरहेका छन्। यस्ता घटना समाजमा किन बढिरहेको छ भन्ने बारेमा गतिलो अध्ययन र नियन्त्रणका लागि पहल हुने गरेको पाइँदैन। महिलाले न्याय पाउने वातावरण किन चुनौतीपूर्ण बन्दै गएको छ भन्ने सवाल सम्बोधन हुन जरुरी छ।
हाम्रो समाजमा हिंसाका घटनालाई अहिले पनि राजनीतिकरण गर्ने र संरक्षण गर्ने प्रवृत्ति बढेको छ। प्रभावितले उजुरी गर्न खोज्दा प्रहरीले हतोत्साहित गर्ने गरेको पीडितको गुनासो रहने गर्दछ।
हिंसा प्रभावितलाई नै दोषी देखाउने, जबरजस्ती मेलमिलाप गराउने जस्ता क्रियाकलापले निरन्तरता पाइरहनु नै महिला हिंसा सम्बोधनका मुख्य चुनौती बनेको छ।
कानुनमा केही सकारात्मक दफा भएता पनि संरचनागत रुपमा महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन नभएसम्म कागजमा मात्र सीमित रहने गर्दछ। हिंसाका घटनाहरुलाई देशमा रहेका तीन तहका सरकारले जबसम्म महिलामैत्री अनुभूति गराउन सक्दैनन् तब हिंसा बढी नै रहने देखिन्छ। त्यसैले हामी सबै यस्ता घटनाहरुमा संवेदनशील हुन जरुरी छ।
लता जस्ता पीडितहरु प्रहरीकोमा पुग्दा उजुरी निवेदनको अभावमा कारबाहीको प्रकृया अगाडि नबढाउने स्थानीय प्रसाशन पनि महिला हिंसा न्यूनीकरणमा उत्सुक छैन भन्ने देखिन्छ। अधिकारकर्मीको दबाबपछि पक्राउ पर्ने पीडकलाई कहिलेकाहीँ राजनीतिक दबाबमा अदालतसम्म नपुर्याएर छाडिन्छ।
घर छेउमा आएको स्थानीय सरकारले विकास भनेको सडकमात्र हो भन्ने मान्यतालाई भुलेर सभ्य समाज निर्माणका लागि जाग्न र जगाउन जरुरी देखिन्छ। देशमा आएको गणतन्त्रको अनुभूति आम नागरिकले बराबर उपभोग गर्ने वातावरणको सृजना भयो भने मात्र विकासको लहर आएको पुष्टी हुनेछ। अस्तु।