पछिल्लो समय सामाजिक सञ्जाल, फेसबुक, ट्विटर र टिकटकमा समेत चर्चाको विषय बनेको छ, नायिका प्रिंयका कार्कीको पेट। जता हेरे पनि आलोचना र समर्थनका प्रतिक्रिया मात्रै हेर्न पाइने।
कहिलेकाहीँ त मानिसहरुको चिन्तन र सोच देखेर त्यो समाचार नहेरी अघि बढौँ जस्तै लाग्ने। तर, जताततै बहसको विषय बनेपछि त्यसबाट भाग्ने, नहेर्ने भन्दा पनि त्यो ठिक हो वा होइन भनेर आफ्नो धारणा राख्नु पनि उचित हो लागेर मैले लेख लेखेको हुँ।
विश्वका कैयौँ स्वतन्त्र मुलुकको तुलनामा नेपाल बन्द मुलुक हो, तर मुस्लिम देश र केही हिन्दु अतिवादीहरुको तुलनामा भने निकै स्वतन्त्र। झनै पछिल्लो समय त नेपाल तुलनात्मक रुपमा धेरै स्वतन्त्र बनिसकेको छ। सामुदायिक अवधारणाभन्दा व्यक्तिगत स्वतन्त्रताका विषयहरुले धेरै ठाउँ पाउने गरेका छन्।
संविधानले पनि नागरिक स्वतन्त्रता वा वैयक्तिक स्वतन्त्रता छ भनेर आफ्नो जीवनको हरेक अधिकार आफैँ गर्न पाउने व्यवस्था गरिदिएको छ। त्यसले गर्दा पनि नागरिकहरु तुलनात्मक रुपमा धेरे स्वतन्त्र बनेका छन्। जसभित्र आफूलाई मन लागेको खाने, लगाउने, डुल्ने, हिँड्ने र रमाइलो गर्ने पनि पर्दछ।
अब सवाल उठ्छ, प्रिंयकाले गरेको पेट प्रदर्शनको। संवैधानिक हिसाबले हेर्ने हो भने यो उनको व्यक्तिगत स्वतन्त्रता हो। बच्चा पेटमा हुँदाको समयमा के खाने, के लगाउने, कहाँ जाने भन्ने। अर्कोतिर सामाजिक मूल्यमान्यताको कुरा उठाउने हो भने उनको परिवार र आफन्तबाट उनलाई आफ्नो प्रेग्नेन्सी सेलिब्रेसन गर्न पूर्ण छुट छ।
उनका श्रीमान, सासु, उनकै आमा, बुवा समेतले उनको खुसीमा पूर्ण साथ दिएको अवस्था छ। यसरी हेर्दा उनले लगाएको कपडा हेरेर आलोचना गर्नुको कुनै तुक छैन। फेरि अर्कोतर्फ उनी सावर्जनिक व्यक्ति भएको हुँदा उनलाई हेरेर अरुले धारणा बनाउनै नपाउने भन्ने पनि हैन तर उनले पूरा कपडा लगाउँदा जोगिने र आधा लगाउँदा भत्किने हाम्रो सामाजिक मान्यता कस्तो रहेछ भन्ने आजको मूल प्रश्न हो।
उनका बारेमा अनेकौँ टिप्पणी आउन थालेपछि मैले एकपटक उनको फेसबुकमा गएर पछिल्ला तस्बिरहरु हेँर। उस्तै कपडा लगाएको, उहीँ प्रिंयका तर, गर्भवती हुँदा र नहुँदाको, बिहे भएपछि र बिहे नहुँदाको। कमेन्टहरुमा आकाश र पातालको फरक थियो।
हिजो गर्भवती नहुँदा त्यहीँ तस्बिर लगाएर खिचिएका तस्बिरहरुमा वाउ, सेक्सी, स्टनिङ, प्रिटी, माई फेवरेट एक्ट्रेस, ब्युटीफूल, ब्युटी विथ ब्रेन र सुन्दर लगायतका सकारात्मक कमेन्टहरु मात्रै थिए। तर, त्यहीँ व्यक्तिले गर्भवती अवस्थामा खिचेको फोटोका कमेन्टहरु यत्ति धेरै अपाच्य थिए कि जुन सार्बजनिक स्थानमा बसेर पढ्न सकिदैँन थियो।
उनको कपडाले सामाजिक मूल्य मान्यता भत्कियो भनिरहँदा आफै अपाच्य र अपशब्द बोल्नेहरुको लाइन थियो। अझ, अरुबेला लभ रियाक्ट गर्नेहरु तिनै प्रियंकालाई एंग्ग्री र हाहा रियाक्ट गरिरहेका थिए।
यहाँ सवाल कपडाको होइन, मानिसको चिन्तनको हो। हिजो तिनै कपडामा सुन्दर, वाउ, ब्युटीफूल भएकी प्रिंयका आज कसरी सामाजिक मूल्य भत्काउनेमा गनिइन्? सन्तान उत्पादन गर्दाको समयमा तिनै कपडा लगाउँदा भत्किने र अरुबेला लगाउँदा सुन्दर देखिने ती कस्ता दृष्टिकोण हुन्?
यहाँ प्रश्न कपडाको होइन, हाम्रो कुण्ठाग्रस्त मनोविज्ञानको हो जो हरपल अरुलाई निचो देखाउन र हरेक कुरामा आलोचना मात्रै गरिरहन्छन्। उनकै कपडाका कारण अचेल कतिपयलाई प्रियंका मन पर्न छोड्यो रे! धेरै कमेन्ट र पोस्टहरु भेटेँ, हाँसो पनि लाग्यो।
हुन त, प्रियंकाको पोस्टको समर्थन गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफ्नी छोरीले बेबीबम्प देखाएको फोटो सेयर गरेका थिए। त्यसको समर्थन र विरोधमा थुप्रै आवाज उठे। कतिपयले यसलाई पुँजीवादी समाजको प्रभाव हो भनेर पनि उल्लेख गरेका थिए।
किनभने प्रिंयका एउटी सेलिब्रटी हुनाले उनले गरेका सेलिब्रेसन हेर्ने र फलो गर्ने थुप्रै हुन्छन्। तसर्थ, यसले गर्दा अनावश्यक विषयमा मानिसहरुको ध्यान जान्छ, नेपाली पैसा विदेश भित्रिन्छ र एउटी गर्भवती हुने समयमा उपचार नपाएर मरेकी महिलालाई महंगा होटलमा गरिएको सेलिब्रेसनले गिज्याउँछ भन्ने खालका थुप्रै तर्कहरु पनि भेटिन्थे।
त्यसमा भने केही हदसम्म मेरो पनि समर्थन छ, पहाडको एउटा कुनामा सुत्केरी हुने समयमा समेत अस्पतालमा जान नसकेर मर्नुपर्ने बाध्यता र दिनहुँ महंगो होटलमा गएर यो ऊ भन्दै लाखौँ खर्च गर्नु भने कता-कता नमिलेको पक्कै हो। तर पनि, उनी आफैँ र परिवार पनि सम्पन्न हुनाले यत्ति गर्नु व्यक्तिगत हिसाबमा सामान्य नै हो।
प्रिंयकासँगको कुरा जोडिरहँदा मलाई आफ्नै अनुभव पनि सेयर गर्न मन लाग्यो। एकदिन अफिसमा काम गरिरहँदा दुई जना हिरोइनको फोटो हेरेर एकजना पुरुष मित्र र मेरो विवाद भयो। त्यसमा एउटी सारी लगाएर परम्परागत भेषमा थिइन् भने अर्को स्कर्ट लगाएको फोटो थियो।
त्यसमा हेरेर उनले सारी लगाउनेलाई एकदमै शालीन भने, अर्कीलाई छाडा। तर, दुवै हिरोइन नै थिए। उनीहरुले हरेक किसिमका कपडा लगाइरहेका छन्। मैल भनेँ- 'सारी लगाउनेलाई सभ्य देख्नु र अर्कीलाई असभ्य देख्नु भनेको तपाईको पुरुषवादी चिन्तन हो जो सारी, चुरा, पोते लगाएर महिलालाई बाध्न चाहान्छ, अनि त्यहीँ रुपको प्रशंसा गर्दिएर अनेक किसिमबाट महिलाको शोषण गर्छ।
महिला भएर यो गर्न हुँदैन, उ गर्नु हुँदैन, यो, त्यो लगाउनु हुँदैन भनेर, यो महिलालाई बाध्ने कुरा मात्रै हो। स्वतन्त्र हिसाबले कोही महिलाले लगाउनुमा आपत्ति होइन, तर सारीमा मात्रै सुन्दर र शालीन देखिन्छन् भन्नु रुढीवादी मान्यता नै हो।'
उनको र मेरो लामो समयसम्म विवाद पर्यो, पछि हामी चुप भयौँ।
माथि, उल्लेख गर्न खोजिएको कुरामा महिलाले छोटो कपडा लगाए वा स्कर्ट लगाए मात्रै स्वतन्त्र हुन्छ भन्ने होइन तर, सारी बाहेक लगाउने महिला असभ्य हुन्, संस्कृति बिगारे भन्नु पनि गलत हो।
कपडा र विचारधारामा कुनै सम्बन्ध छैन, कसैले छोटो कपडा लगाएर क्रान्तिकारी हुने र सारी लगाउँदैमा पुरातनवादी हुने भन्ने होइन। पहिरन र विचारधारा नितान्त फरक विषय हुन्। तसर्थ, नागिंदैँमा महिला स्वतन्त्र भयौँ भन्नु र सारी लगाएर क्रान्ति हुन सक्दैन भन्नु दुवै गलत हुन्।
पहिरन नितान्त व्यक्तिगत कुरा हुन्। तसर्थ, कसले कस्तो कपडा लगायो भन्दा पनि उसले कस्तो विचार बोक्यो र उसको सोचाइले समाज परिवर्तनमा कस्तो देन दियो भन्ने कुरा हो। अनि अर्को कुरा, हुन त उनी सेलिब्रेटी हुन्। उनका गर्ने हरेक कुराको समाजमा प्रभाव पर्छ नै। तर, उनले कसैलाई पनि जबरजस्ती तँ पनि यसरी नै सेलिब्रेसन गर् वा तँ यसरी नगर् भनेर कसैलाई पनि कर लगाएकी छैनन्।
कसैले उनको कुरालाई मान्नैपर्छ वा उनका हरेक पोस्ट हेर्नेपर्छ भन्ने पनि छैन। तर, उनी सावर्जनिक व्यक्ति हुनाले उनले गरेका हरेक कार्यले केही अर्थ भने पक्कै राख्छ। तसर्थ, आज प्रिंयकाको गर्भावस्थालाई लिएर जति पनि आलोचना भएका छन् ती सबै उनको पहिरनसँग मात्रै जोडिएको छ, केहीले भने अलि बढी सेलिब्रेसन भयो पनि भनेका छन्।
तर, हिजो त्यहीँ पहिरन लगाएको फोटो हेर्न पटक पटक गुगलमा प्रिंयका कार्की सर्च गर्नेले प्रेग्नेन्सीको टाइममा राखेको उस्तै फोटोलाई लिएर आलोचना गर्नुको कुनै तुक छैन। यो त कुण्ठाग्रस्त मानसिकताको उपजमात्रै हो, किनभने प्रेग्नेन्सीको समयमा महिलामा केही शारीरिक परिवर्तन आउँछ। उनीहरुलाई त्यो राम्रो नलागेको मात्रै हो।
तर, मनबाटै सोच्ने हो भने एउटी महिलाको लागि भने आमा बन्ने समय सबैभन्दा सुन्दर र खुसीको क्षण हो। यो अविस्मरणीय क्षणमा उनीहरुले आफ्नो इच्छाअनुसार सेलिब्रेसन गर्दा आलोचना गर्नुपर्ने कुनै कारण छैन।
विश्वका धेरै मुलुकहरुको तुलनामा नेपालमा अझै पनि विविध खालका मूल्य, मान्यताहरु र रुढीवादी प्रथाहरु छन् जसले गर्दा महिलाहरु अझै पनि स्वतन्त्र हुन सकेका छैनन्।
छोरी मान्छे भएपछि यो गर्नु हुँदनै त्यो गर्नु हुँदैन, यहाँ जानु हुँदैन, त्यहाँ जानु हुँदैन, केटा मान्छेहरुसँग खुलेर बोल्नु हुँदैन, यो जात, त्यो जात, यसो हुन्छ उसो हुँदैन। केटी मान्छे भएर जन्मेकै कारण निर्मित यस्ता थुप्रै नियमहरुले अझै पनि छोरीहरुलाई बाँधेर राखेको छ, कसेर राखेको छ।
प्रियंकाले हिजो त्यहीँ कपडामा सुन्दर देख्नेहरुले आज आलोचना गरेर न उनको परिवार न उनी स्वंयलाई कुनै असर परेको छ। आफ्नो स्वतन्त्रताको उडानलाई जारी राख प्रियंका। तिमीलाई थप उज्जव भविष्यको कामना सहित आमा बन्न लागेकोमा धेरै धेरै बधाई।