ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल जस्तो विकासशील राष्ट्रहरूमा बढी ट्राफिक जनशक्ति आवश्यक पर्छ।
विकसित राष्ट्रहरूमा कम ट्राफिक जनशक्तिबाट संचालन हुनुको कारण प्रभावकारी नियम-कानुन, विकसित सडक संजाल, उच्च प्रविधिको अधिकतम प्रयोग, चालकको सतर्कता अनि सचेतना, उच्च जनचेतना स्तर आदि हुन्।
नेपालमा पनि ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण हरेक नागरिकको दैनिक सरोकारको रूपमा विकसित भैसकेको छ। यस सन्दर्भमा सडक संरचना र ट्राफिक जनशक्ति विस्तारको सीमितता हुने भएकोले नयाँ बन्ने र भएका सडक संजालमा ट्राफिक ईन्जिनियरिङ एवं प्रविधिको अधिकतम प्रयोग, चालकलाई बढी दक्ष एवं जिम्मेवार बनाउने, जनचेतना बढाउने र समयानुकूल ऐन कानुनको परिमार्जनमा विशेष जोड दिनु पर्ने हुन्छ।
कमजोर ट्राफिक व्यवस्थापन र बढ्दो सवारी दुर्घटनाबाट हरेक क्षेत्र प्रभावित छ तर सबैभन्दा बढी सर्वसाधारण र ट्राफिक प्रहरी प्रभावित भइरहेको आजको सन्दर्भमा नेपाल प्रहरीले नै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण तर्फ सामूहिक प्रयासका लागि समन्वयात्मक भूमिका खेल्नु उपयुक्त देखिन्छ।
ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा प्रत्यक्ष सरोकार राख्ने पक्षहरू र तिनमा हुनु पर्ने सुधारहरूलाई निम्नअनुसार बुझ्न सकिन्छ।
(क) सडक संरचना
दीर्घकालीन:
१. सडक निर्माणमा लाग्ने समय, लागत, पर्यावरणीय पक्ष, भौगोलिक अवस्था र वातावरणीय प्रदुषण तथा अन्य समस्याहरूलाई ध्यानमा राखी सम्भव भएसम्म टनेल निर्माणमा जोड दिनु पर्ने।
२. दीर्घकालीन सोच अनुरूप, अध्ययन गर्न ढिलाईका कारण हाल कतिपय अत्यावश्यक स्थानहरूमा फ्लाई ओभर, अन्डर पास र ओभर ब्रिजहरुको निर्माण कठिन, महंगो, अनुपयुक्त भएको छ।
३. स्थायी समाधानका लागि भविष्यमा फ्लाई ओभर, अन्डर पास र ओभर ब्रिजहरुको निर्माण गर्न उपयुक्त/आवश्यक स्थानहरूको तत्काल अध्ययन गरी सो स्थानहरू अतिक्रमण/अन्य निर्माणहरू हुन नपाउने गरी नीति निर्माण गर्नु पर्ने।
४. सम्भव भएसम्म छिटो हरेक व्यस्त चोकहरूमा फ्लाई ओभर, अन्डर पास र ओभर ब्रिजहरुको निर्माणमा जोड दिनु पर्ने।
तत्कालीन:
१. फ्लाई ओभर, अन्डर पास र ओभर ब्रिजहरुको निर्माण महंगो, समय र प्राविधिक दक्षताको बढी आवश्यकता हुने आदि कारणले 'स्मल डिड्स क्यान अल्सो अचिभ बिग रिजल्ट्स' भन्ने मर्म अनुरुप सो निर्माण हुनु पूर्वको व्यवस्थापनका लागि आवश्यक ध्यान दिनु पर्ने।
२. प्रथम चरणमा उपत्यकाका प्रमुख व्यस्त चोकहरू छानी, सम्बन्धित निकायहरू र स्थानीय जनप्रतिनिधिहरूको प्रतिनिधि संलग्न टोली गठन गरी सामूहिक रूपमा स्थलगत अध्ययनबाट समस्या र समाधानका उपायहरू पत्ता लगाई हालको संरचनामा प्रविधि तथा ट्राफिक ईन्जिनियरिङको अधिकतम प्रयोग गरी नमुना चोक बनाउनु पर्ने र सफलता हासिल पश्चात थप बाँकी चोकहरुको समेत व्यवस्थापन गर्दै उपत्यका भित्र ट्राफिक व्यवस्थापनलाई नमुनाको रुपमा तयार पार्नु पर्ने।
३. प्रत्येक प्रदेश राजधानीको प्रमुख व्यस्त चोकहरू छानी, सम्बन्धित निकायहरू र स्थानीय जनप्रतिनिधिहरूको प्रतिनिधि संलग्न टोली गठन गरी सामूहिक रूपमा स्थलगत अध्ययनबाट समस्या र समाधानका उपायहरू पत्ता लगाई हालको संरचनामा प्रविधि तथा ट्राफिक ईन्जिनियरिङको अधिकतम प्रयोग गरी नमुना चोक बनाउनु पर्ने र सफलता हासिल पश्चात थप बाँकी चोकहरुको समेत व्यवस्थापन गर्दै देशैभर ट्राफिक व्यवस्थापनलाई नमुनाको रुपमा तयार पार्नु पर्ने।
४. सडकको खाल्डाखुल्डीलाई समयमै पिरियोडिक मर्मत गर्ने, जाम भएको ढल निकासलाई सहज बनाउने (ड्रेनेज रेगुलेशन), पहिरोका क्रममा अवरोध हटाउने आदि कार्यहरू तत्कालै गर्नाले आवागमनमा सहजता आउने, दुर्घटना न्यूनीकरण हुने मात्र नभई पूर्वाधार/संरचनाकै आयु बढ्ने हुँदा यी कार्यहरू तत्कालै गर्ने सानो क्विक रेस्पोन्स टिम प्रत्येक जिल्लामा बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ताकि पब्लिकको एक कल फोनको भरमा सडकका खाल्डाखुल्डीहरू तत्कालै मर्मत गर्न, वर्षातमा ढल निकास खोली सडकमा पानी जम्मा नहुने र अवरोध हटाउने वातावरण तयार पार्न सकियोस्।
५. अस्तव्यस्त र समस्याको रूपमा रहेको हाल प्रयोगमा नरहेका टेलिफोन, इन्टरनेट र केबल सेवाका अनावश्यक तारहरूलाई हटाई आवश्यक तारहरूलाई समेत व्यवस्थित बनाउनु पर्ने।
(ख) ट्राफिक ईन्जिनियरिङ एवं प्रविधि
१. ट्राफिक ईन्जिनियरिङ र प्रविधिको अत्याधिक विस्तार एवं प्रयोग बढाउनु पर्ने।
२. चोकमा भएको ट्राफिक जामले गर्दा सडक खण्डमा जाम हुन जाने हुँदा चोकको उचित व्यवस्थापनमा बढी ध्यान दिनु पर्ने।
३. चोकको कम्तीमा १०० फिट वरबाटै चालक कुन दिशामा जाने हो, स्पष्ट लेन छुट्टिने गरी लेन मार्किङ र सडक खण्डहरूमा पर्याप्त मात्रामा ट्राफिक चिन्हहरू हुनु पर्ने।
४. सडक/सवारी नियम पालना नगर्ने चालकहरूको प्रविधि मार्फत पहिचान गर्ने र अनलाइन प्रविधिबाट जरिवाना तिर्ने सम्बन्धी प्रणालीहरू व्यापक बनाउनु पर्ने।
५. सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीलाई देशैभर लागु गर्नु पर्ने।
(ग) ट्राफिक जनशक्ति
१. ट्राफिक प्रहरीको दरबन्दी समयसापेक्ष बढाउँदै जानु पर्ने।
२. अपर्याप्त संख्यामा रहेको ट्राफिक प्रहरीले चोकहरूमा ट्राफिक व्यवस्थापनमा बढी खटिनु पर्ने भएकैले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्न नसकिरहेको अवस्था छ। यसलाई सुधार गर्न कन्ट्रोल रूमबाट चोकहरूमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूको पहिचान गरी कारबाहीको दायरा बढाउने व्यवस्था गर्नु पर्ने।
३. ट्राफिक प्रहरीहरूलाई समयानुकूल श्रोतसाधन र तालिमले सुसज्जित बनाई सवारी नियम उल्लंघनकर्ताहरूलाई कारबाही व्यापक बनाई चालकहरूमा स्वस्फूर्त नियम पालना गर्ने बानी बसाउनु पर्ने।
(घ) चालक
१. चालकले सचेत भई सुरक्षित रुपमा सवारी चलाएमा बाँकी पक्षहरुमा स्वत: गुणात्मक परिणाम आउँछ।
२. सुरुमा जसरी सवारी साधन चलाउने गर्छ, त्यो स्वभाव चालकमा पछिसम्म रहीरहने गर्छ। सवारी चालकमा लाइसेन्स हात पर्ने वित्तिकै एक प्रकारको उत्साह वा लापरबाही स्वभाव विकास हुने हुँदा ड्राइभिङ लाइसेन्स पाउनु भनेको एक प्रकारको सार्वजनिक जिम्मेवारी पाउनु हो र सचेत भई सवारी नियमको पालना गरी सवारी साधन चलाउनु पर्छ भन्ने जिम्मेवारी विकास गर्न चालकहरूमा जिम्मेवारीबोध, तालिम, अनुभव, क्षमता आदिको वृद्धि हुन जरूरी छ।
३. सडकखण्डमा ओभरस्पीड चलाउने र चोकमा पुगेपछि ड्राइभिङ लाइसेन्सको ट्रायलमा झैं झण्डै रोकिएर चलाउन खोज्ने, कुन लेन प्रयोग गर्नु पर्ने पनि थाहा नभएका/लेन मिच्ने प्रवृत्तिका चालकहरूका कारण जाम बढाउने/दुर्घटना बढाउने कार्यहरू रोक्न ट्रायल पास पश्चात सिधै ड्राइभिङ लाइसेन्स दिने व्यवस्थालाई परिमार्जन गरी सडकमा सवारी साधन चलाउँदा अपनाउनु पर्ने व्यवहारिक ज्ञान, ड्राइभिङ स्किल, ड्राइभिङ ल्याङग्वेज, ड्राइभिङ रेस्पोन्सिबिलिटी आदि समावेश भएको ओरिन्टेसन क्लासमा अनिवार्य सहभागी गराएर मात्र ड्राइभिङ लाइसेन्स/सवारी चालक अनुमती पत्र वितरण गर्ने व्यवस्था हुनु पर्ने।
४. ड्राइभिङ इन्स्टिच्युटहरूमा सवारी साधन चलाउन सिकाउने मात्र नभई सवारी साधन चलाउँदा अपनाउनु पर्ने व्यवहारिक ज्ञान, ड्राइभिङ स्किल, ड्राइभिङ ल्याङग्वेज, ड्राइभिङ रेस्पोन्सिबिलिटी आदि समावेश भएको ओरिन्टेसन क्लासको व्यवस्था अनिवार्य गराउन सकिन्छ।
५. तराईमा ट्रायल दिई पास गरेको चालकले पहाड र हिमालमा सिधैँ चलाउन पाउने व्यवस्था रहेकाले व्यवसायिक चालकहरुका लागि सवारी चालक अनुमती पत्र लिनु अघि र पछि विशेष तालिमको व्यवस्था गर्नु पर्ने।
६. लामो दूरीमा सवारी साधन चलाउने चालकहरूका लागि उचित स्थानहरूमा व्यवस्थित र सुविधा सम्पन्न रिफ्रेस सेन्टरहरू संचालनमा ल्याउने र दुई जना चालक राख्नु पर्ने सवारी नियमलाई अनिवार्य गरी कारबाहीको दायरालाई व्यापक गर्नु पर्ने।
(ङ) सम्बन्धित निकायहरु बीचको समन्वय
१. सरोकारवाला निकायहरुले आ-आफ्नो तर्फबाट हर सम्भव प्रयास गरे तापनि ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका विविध पक्षहरूमा सामूहिक रुपमा गर्नु पर्ने प्रयासमा कमी भएको देखिन्छ तसर्थ एकल प्रयासको सट्टा सामूहिक प्रयास थाल्नु आजको आवश्यकता हो।
२. इगो, जश, अपजशबाट माथि उठेर एकल प्रयासको सट्टा सामूहिक रुपमा समन्वय गरी राज्यको सम्पत्तिको सदुपयोग गर्दै अगाडि बढ्नु पर्ने।
३. अधिक भारबहन गर्ने सवारी साधनहरू तौलिनका लागि उचित स्थानहरूमा पर्याप्त मात्रामा तौलपुलहरू बनाउने, पार्किङको समस्या हटाउन उचित सार्वजनिक स्थानहरूमा अन्डरग्राउन्ड र मल्टिस्टोरी पार्किङ, स्मार्ट पार्किङको व्यवस्था गर्ने, सरकारी कार्यालय, अस्पताल, व्यवसायिक प्रयोजनका लागि निर्माण गरिने संरचनाहरू (सिनेमाघर, सुपरमार्केट आदि) का लागि पार्किङको उचित मापदण्द तोकि नक्सा पास गर्ने नियम तर्जुमा, सम्पूर्ण सीमानाकाहरु र काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरुमा अटोमेटेड सिस्टमबाट सवारी साधन चेक जाँच हुने व्यवस्था गर्ने विषयहरूमा तत्काल ध्यान दिनु पर्ने।
४. यस क्षेत्रसँग सम्बन्धित सबै निकायहरुमा यस विषयमा जानकारी नभएको, समस्या नभोगेको, चुनौती थाहा नभएको र समस्याका उपायहरुका बारेमा जानकारी नभएको अवस्था होइन। तसर्थ, यस विषयका समस्या, चुनौती र उपायहरु केलाउनेमा अल्झिनुको सट्टा अब सामूहिक रुपमा टोली गठन गरी एक्सन प्लानमा जोड दिई एक्सनमा जानु पर्ने।
(च) जनचेतनाको स्तर
१. स्कुलहरुमा ४ कक्षाबाटै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण विषयमा एउटा च्याप्टर अनिवार्य गर्नु पर्छ।
२. कक्षा ९ र १० का विद्यार्थीहरुलाई सडकमा प्राक्टिकलको रुपमा ट्राफिक व्यवस्थापन गर्ने कार्यमा भोलुन्टियरका रुपमा प्रयोग गरिएमा स्कुलपश्चात सवारी चालक अनुमती पत्र लिने बेलासम्ममा जिम्मेवार र जानकार चालक स्वत: तयार हुन जान्छ।
३. यसरी नयाँ चालकहरूलाई तयार गर्न सकेमा र पुराना चालकहरूलाई कारबाहीको दायरा व्यापक बनाई अनुशासित बनाउन सकेमा जनचेतना स्तर पनि स्वत: वृद्धि हुँदै जान्छ।
४. ट्राफिक नियम, दुर्घटना र जरिवाना सम्बन्धी पर्चा पम्प्लेट बाँड्ने, एफएम र टिभीमा समय सान्दर्भिक जनचेतना जगाउने कार्यक्रमहरू प्रसारण गर्ने आदि कार्यहरूलाई पनि निरन्तरता दिनु पर्छ।
(छ) सवारी सम्बन्धी नियम कानुन
१. समयानुकूल परिमार्जन गर्दै लग्नु पर्ने।
२. पुराना र साना सार्वजनिक सवारी साधनहरूलाई विस्थापन गर्न र सुविधा सम्पन्न सवारी साधनहरूलाई प्रोत्साहन गर्ने नीति नियमहरू बनाउनु पर्ने।
३. नेपालमै सवारी साधनको उत्पादन नहुने, सवारी साधन, पार्टपूर्जा र इन्धन सबै आयात गर्नु पर्ने भएकाले वर्षेनी ठूलो रकम अनावश्यक रूपमा यस क्षेत्रमा लगानी भई विदेशीएकाले मितव्ययीता अपनाउन सवारी साधन आयातमा र आयातित सवारी साधनहरूलाई दिगो बनाउन पिरियोडिक मर्मत गर्नेसम्बन्धी उचित नियम बनाउनु पर्ने।
४. मुख्यत: चार पाङ्ग्रे सवारी साधन मर्मतका लागि समेत नेपालमा दक्ष जनशक्तिको अभाव भैरहेको सन्दर्भमा नलेज, स्किल, टेक्नोलोजी ट्रान्सफर गर्ने तिर पनि ध्यान जानु आवश्यक छ।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका ट्राफिक ईन्जिनियर हुन्।)