'सानी छ त, उसले गर्छे तँ किन तम्सेको? तिमीहरुले गर्न पर्दैन भान्छाको काम' आमाले सधैँ यही भनेर लखेट्नु हुन्थ्यो दाइलाई भान्छाबाट।
'मैले पकाउन किन नहुने? सानीले मात्र पकाउने भन्ने कहीँ लेखेको छ र?' दाइ म तिर हेर्दै भन्ने गर्थ्यो। सायदै कुनै दिन होला दाइ भान्छामा पस्दा आमासँग यो कुरामा नबाझेको।
मभन्दा करिब ५ वर्षले जेठो छ दाइ। सम्बोधन गर्दा मैले तँ भनेर नै बोलाउँछु। घरमा दाइलाई तँ भनेर बोलाउँदा कसैलाई गाह्रो नभए नि कहिलेकाहीँ आउने आफन्ती र छिमेकी साह्रै सुनाउने। अलिअलि कोसिस नगरेको हैन तर जुन आत्मीयता ‘तँ’ भन्दा महसुस गर्छु, त्यो अरुबेला हुँदैन।
हामी सँगै हुर्किए पनि हाम्रो बानी-व्यहोरा फरक थियो। म सानैदेखि चकचके, प्याटर प्याटर बोल्ने अलि छुच्चो खाले तर दाइ शान्त बस्ने, धेरै नबोल्ने। बरु लेख्न पढ्न मन पराउने अनि आमा नभएको मौका छोपेर भान्छामा नयाँ-नयाँ परिकार पकाउने।
खाना पकाउन भने हुरुक्क हुन्थ्यो, म भने पकाउने नाममा राम्रोसँग वाइवाई बाहेक अरु केही जान्दिन थिएँ। त्यो पनि सादा पानीमा उमालेर, त्यही पनि भान्साको काम मेरै हुन्थ्यो सधैँ।
म घरको सबैभन्दा सानो भएर होला, मलाई मेरो नामभन्दा 'सानी' भनेर बोलाउँथे। दाइ र म एकदम मिल्थ्यौँ। हरेक साँझ खाना खाएपछि कौँसीमा बसेर अन्ताक्षरी खेल्थ्यौँ। गीत त के याद हुन्थे, त्यही पनि टुटेफुटे गाउथ्यौँ, एकअर्काको स्वरमा स्वर मिलाउँदै।
ऊ शान्त बसे नि म भने चकचक गर्ने बानीले उसको कहिले कपाल तान्थेँ, कहिले काउकुती लाउँथे। विचरा कति सहोस्, अनि बेलाबेलामा हाम्रो झगडा नि पर्थ्यो, 'लौ फेरि लडे कुकुर बिरालो'भन्नु हुन्थ्यो आमाले।
एकदिन को कुरा हो। आमा बजार किनमेल गर्न जानु भएको थियो। हामी दुई कुकुर बिरालो जस्तै जिस्किँदै थियौँ। आफ्नै धुनमा मस्त थियौँ। त्यतिबेला गोलो काइयो खुब चलेको थियो। त्यति बेलाको फेसन नै भने नि हुन्छ। हाम्रोमा नि आमाले लिएर आउनु भएको थियो।
त्यही जिस्किने क्रममा 'क्याच' भन्दै दाइ तिर फालेँ, काइयो सिधैं दाइको आँखामुनि लाग्न पुग्यो। दाइ एक्कासी अनुहार छोपेर रुन थाल्यो। म चाहिँ 'ओए, नाटक नपार्'भन्दै केही भएको छैन भनि जिस्काइ रहेको थिएँ। जब एकछिनसम्म केही नबालेको देख्दा म आत्तिएर छेउमै हेर्दा, आँखाको ठ्याक्कै मुनिपट्टि घाउबाट रगत आइरहेको थियो।
त्यो देख्नासाथ मन त आत्तिएको थियो, तैपनि 'ओइ, नरो केही पनि भएको छैन। अहिले फेरि आमा आउँदै होलिन् चुप लाग्' भन्दै डर र सान्त्वना एकसाथ दिएँ। मनमनै सोचेँ, सायद अलि जोडले नै फालेछु क्या हो। दाइको चोटभन्दा नि आमाको गालीको मलाई बढी डर र पिर थियो मनमा।
'सिँढीबाट लडेको भन्न पर्छ है आमालाई, आमा आउने बित्तिकै नत्र तेरो र मेरो आज रामधुलाई हुन्छ' भनेर नसक्दै आमा आइपुग्नु भयो। दाइ रोको सुनेर हातको सामान भुइँमै फालेर अत्तालिँदै आउनु भयो।
दाइलाई काखमा राख्दै गाली गर्न सुरु, 'म नभएको बेला कुन दिन मरेको भेटिन्छौ तिमीहरु, जहिले कुकुर-बिरालो जस्तो लडेको छ। म एकछिन सुखले सामान किन्न पनि जानु भएन अब। अरुका छोराछोरी आमाबुवा नहुँदा कस्तो मिलेर बस्छ्न्, आफ्ना भने लडेरै मर्ने भए।'
दाइलाई चोट लाएर होला हप्काइ मेरो भागमा अलि बढी पर्यो। 'तँ पनि के सारो रोएको केटा मान्छे भएर अलिकति पनि सहन सक्दैनस्, के गरेर खान्छ्स् भोलि। ल हिँड मेडिकल अब' आमाले दाइसँगै मलाई नि एक हातले लतार्नु भयो।
एकछिनमा मेडिकलमा पुगियो। आँखा मुनिको घाउ हेर्दे डाक्टर अंकलले नि आमाकै कुरा दोहोर्याउनु भयो 'बाबु पनि यति सानो कुरामा कति रोको केटी मान्छे जस्तो, केहीँ भएको छैन। एक दुई दिनमै ठिक हुन्छ।'
घाउ सफा भयो, तीन वटा टाका लाउनुपर्यो। यति बेलासम्म दाइ पनि शान्त भइसकेको थियो। त्यहाँबाट फर्किँदै गर्दा मेरो मनमा आमा र डाक्टर अंकलले भनेका कुराहरुले बेग्लै हलचल भयो। चोट लागेर हैन कि केटा भएर पो रुन नहुने रैछ। म १२ वर्षकीले के नै बुझ्थेँ होला र सायद दाइलाई शान्त पार्न नि भनेको हुनसक्छ।
बेलुका खाना खाने बेलामा बाबा छेउमै हुनु हुन्थ्यो। मेरो बढी बोल्ने बानी, प्याच्च सोधीहालेँ 'बाबा, केटा मान्छे रुनु हुन्न रे हो? हजुर रुनु हुन्न र?'
बुबाले म तिर हेर्न मात्र के भ्याउनु भएको थियो, टेबलको पल्लो छेउबाट 'खुरु खुरु खा, खाने बेलामा बोल्नु हुन्न' भन्दै आमाले माहोल नै साम्य पार्नु भयो। बाबालाई यो प्रश्न मैले गरुँला जस्तो लगेको थिएन होला। त्यहीमाथि खाना टेबलमा।
'रुन्छन् नि केटा पनि, कसले भन्यो रुँदैनन् भनेर?' बाबाले मलाई मायाले हेर्दै भन्नु भयो। त्यसपछि सुरु भयो मैले न्युज रिपोर्टर जस्तै दिउँसोको घटनाक्रम बेलिविस्तार गर्ने काम।
बाबाले मुस्कुराउँदै भन्नु भयो, 'सानी, हाम्रो समाजका कुरा आधा नसुनेझैँ गर्नु आधा कुरा चाहिँ आफ्नो सोच बुझले केलाएर मात्र मनमा लिनू।' त्यती बेला यो कुरा मलाई महाभारत जस्तो थियो, राम्रो लाग्ने तर बुझभन्दा बाहिर।
समयसँगै हामी पनि हुर्कियौँ, ठूला भयौँ। दाइ पढाइको सिलसिलामा विदेशीयो। दाइ जाने बेलामा आमाले मलाई 'अब भान्छा तेरै जिम्मा भयो' भनेको अझैं सम्झन्छु। आमाले भनेका शब्द त्यती बेला अर्थविहीन लागे पनि त्यस दिनपछि हरेक पल्ट भान्छा छिर्दा मैले दाइले पकाएको परिकारभन्दा दाइलाई सम्झिन्थेँ।
हुन त १७ वर्षीय अल्लारे उमेर, यसै बतासिने बेला तर दाइ घरमा नहुने कुराले मन साह्रै खिन्न थियो। समय परिवर्तनशील हुन्छ भन्ने कुराको आभास पाएको पहिलो क्षण यही थियो।
बालापनदेखि अहिलेसम्म बजार जाँदा नि एक्लै नछोडे्ने दाइ आज एकाएक अष्ट्रेलिया गयो, दुई वर्ष नभई आउन नमिल्ने रे अझै। दाइ गएको रात म कौँसीमा एक्लै थिएँ। आज शून्यता थियो कौँसीमा मनमनै म सोचेर बसेँ यसपालि चाँडबाड नआए पनि हुन्थ्यो।
दाइ गएको करिब एक वर्ष नि भएको थिएन होला, बाबा नि जानु भयो। दाइ जाँदा फर्किने अवधि थियो दुई वर्ष तर बाबा नफर्किने गरी जानु भयो परलोक। बाबा र म सानैदेखि नजिक थियौं। उहाँलाई गुमाउँदा लाग्यो सबैथोक गुमाएँ। सायद हाम्रो साथ नै यतिकै थियो।
मामाले फोन गरिसक्नु भएको रहेछ, दुई दिनपछि नेपाल आइपुग्यो दाइ। घरभरि शोकपूर्ण माहोल थियो। वरिपरि कानेखुसी चल्दै थियो 'भर्खरका केटाकेटी विचल्ली भयो', 'भर्खर गएको छोरो नि एक वर्ष नपुग्दै फर्कियो, अब कसरी चल्छ घरगृहस्थी!'
रुवाबासी थियो तर दाइ भने एकदम शान्त। उसलाई हेरेर लाग्थ्यो, सायद ध्यान गर्न बसेको हो। अनुहारमा कुनै किसिमको भाव थिएन। बाबाले सानोमा भनेको कुरा सम्झेँ 'रुन्छन् नि केटा पनि, कसले भन्यो रुँदैनन्?' तर खै! दाइ त ढुंगा जस्तै हल न चल छ।
बुढापाकाहरुले कुरा काटेको पनि सुनेँ 'एक वर्षमै घर आमाबुबा सबै बिर्सेछ, आजकलका बच्चाहरु खै के हो मतलब नै गर्दैनन्, बाबुको माया नै रहेनछ। आमाबुबाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामाथि।'
मनमनै सोचेँ, सायद बुबाका कुरा गलत पो थिए कि!
यो दृष्य मेरा लागि अनौठो थियो। सानो बेलामा आँखामा घाउ हुँदा केटा मान्छे रुन हुँदैन भनेर सिकाउने अनि अहिले आएर रोएन भन्दै नानाथरी आक्षेप लाउने यो कुराको तर्क मैले भेटिनँ। बाबाले भनेको कुरा आर्को कुरा सम्झेँ 'सानी हाम्रो समाजका कुरा आधा कुरा नसुनेझैँ गर्नू, आधा कुरा आफ्नो सोच बुझले केलाएर मात्र मनमा लिनू।'
सायद बाबाले त्यतिबेला भन्न खाजेको कुरा यही पो हो कि। मैले त्यो दिन समाजका दुवै रुप केलाउने मौका पाएँ। केटा मान्छेलाई सानैबाट रुनु कमजोरी हो भनेर सिकाउछौं अनि जब ऊ दृढ हुन्छ, त्यतिबेला ढुंगा जस्तो मुटु भएको, समवेदना नभएको भन्दै खिल्ली उडाउँछौँ।
हाम्रो समाजमा छोराछोरीलाई सँगै हुर्काइन्छ तर संस्कार छुट्टै सिकाइन्छ। छोराले यस्तो हुनपर्छ, छोरीले उस्तो हुनपर्छ। आखिर यो विचित्रण किन? एउटा सीमित परिवेशभन्दा अलिकति पनि तलमाथि भए समाज र सामाजिक अपहेलनाको डर देखाउछौँ।
म मान्छु हामी सामाजिक प्राणी हौँ तर डर र त्रासले परिवर्तनशील समयमा गलत मूल्य र मान्यताहरु कहिलेसम्म टिकाउने? हामीले वर्गीकरण नगरी समय परिस्थितिअनुसार संवेदनशील हुन पो सिकाउने कि? एकअर्काका परिपुरक हुन पो सिकाउने कि?
पुरुषको पुरुषार्थ कठोरताले झल्काउने र पुरुष रुनु उसको चरित्र विपरीत हो भन्ने मानसिकता पनि परिवर्तन गर्न जरुरी छ। चरित्रकै कुरा गर्ने हो भने हामीले नारीलाई शक्ति स्वरुपको रुपमा पूजा गर्छौं तर त्यही नारीलाई उसको भावुक संवेदनाको आधारमा कमजोर पनि चित्रण गर्छौं।
एउटा सामान्य खाना पकाउने कामको लागि समेत हामी नारी पुरुषमा भेद गर्दै आएका छौँ, एकछिन आफैं सोचौं यो कत्तिको तार्किक छ? सामाजिक रुपान्तरण बडेमानका गफमा मात्र हैन, व्यवहारमा पनि उतार्दै समानान्तर चेतको विकास गरौं।
यस्तै थरीथरीका कुरा केलाउँदै रातिको त्यस्तै ११ बजेको थियो होला अस्थिर मन लिएर म त्यहीँ कौँसीमा जान भनि निस्किएँ। अगाडि कोही छ कि जस्तो भान भयो। अलिअलि डर नि लाइरहेको थियो। मनमनै प्रार्थना गर्दै थिएँ कौँसीमा दाइ होस् भनेर।
सुस्तरी पाइला अगाडि बढाएँ। अलि नजिक पुग्दा दाइ नै रहेछ। गीत सुन्दै बसिरहेको रहेछ दाइ। मलाई बाल्यकालको सम्झना झलझली आयो। शून्य माहोल थियो। मलाई दाइले केही बोल्छ कि जस्तो लाइराथ्यो किनकि ऊ आएदेखि मेरो कुरा भएको थिएन।
मनमा धेरै कुरा थिए उसलाई भन्न र जान्न मन थियो उसका मौनतामा गुम्सिएका भावहरु। एक्कासी दाइले मलाई अंगालो हाल्यो। मैले केही सोच्न सकिनँ। बस् त्यसको रोदन सुनेँ। मैले पनि मन थाम्न सकिनँ। एकछिन सँगै रोएँ तर फेरि आँसु पुछ्दैँ सम्झाएँ 'केटा मान्छे रुन हुन्न।'
(पछाडि गीत बजिरहेको गियो- हाउ मेनी रोड्स मस्ट अ म्यान वाक डाउन बिफोर यु कल हिम अ म्यान?)