धेरै दिनदेखि मेरो घरमा त्रय-'म' को रजाइँ चलिआएको छ। हुन त तपाईंलाई पनि यी तीन 'म' ले अवश्य दुःख दिएका हुनसक्छन् तर मलाई जति होइन होला।
यो घरमा चल्ने मुसा, माकुरा र मच्छडको चकचकीलाई कुन शब्दमा बखान गरुँ? मुसा दिनभरि चुपचाप भूमिगत बस्छन्। रात परेपछि विस्तारै सल्बलाउन थाल्छन्। बारीका प्वालमा घुसेका मुसा पनि रात छिप्पिँदै जाँदा घरको सिलिङ र बुइँगलमा चढ्न थाल्छन्।
दश/एघार बजेसम्म त यी भूमिगत चालमै हुन्छन्। अर्थात् सक्रिय गतिविधिमा देखा पर्दैनन्। जब हामी सुतेपछि सुनसान सन्नाटा कायम हुन्छ तब यिनको चञ्चलता सुरु हुन्छ। छानामा, दलिनमा, सिलिङमा, भुइँमा र चाँचाँचूँचूँको आवाजले अत्यास लाग्दो अवस्थामा पुर्याउँछन्।
मुसाले मेरो शान्ति मात्र हजम गरेको छैन। किताब, कपडा र अन्नपात उपर बारबार आक्रमण बोलेको छ। यसलाई पाशोमा पार्न लिसो थाप्छु, यी यति बाठा छन् यो कुरा अगाडि नै थाहा पाउँछ। रुट परिवर्तन गरेर अर्कै बाटो हिँड्न थाल्छन्।
बिस्कुट र कुराउनीमा औषधि राख्छु, छुँदै नछोइ अलग बस्छ। हार खाएर मुसा थुन्ने साँचो किन्छु। साँचो थापेपछि आफै सर्तक बन्छन्। साँचोदेखि सात हातको दूरीमा यात्रा तय गर्छ।
मुसाको प्राकृतिक दुश्मन बिरालो हो। उहिले बाले पहाडमा मुसा मार्नकै निम्ति बिरालो पाल्नु हुन्थ्यो। बिरालोले घरका मुसा त मार्थे मार्थे, खेतबारीका मुसा पनि प्वालमा ढुकीढुकी सखाप पारेको सम्झना अझै टाठो छ।
गाउँभरिका बिरालाहरु पालोपिलो रुपमा मेरो घरमा आउँदा मनभित्र एक आशाको किरण जाग्दछ। अब मुसाको काल हुने भो भनी मख्ख पर्छु। तर मुसालाई विष थापेको माछामासुको डल्लो, सातु, कुराउनी र बिस्कुटको डल्लो बिरालोले क्वाप्लाक्क खाइदिन्छ। मुसाको लाश उठाउनुपर्ने ठाउँमा बिरालाको लाश घिसार्नु परिरहेछ।
मुसासित त आजित छु छु म, मुसा नमार्ने बिरालाका झुण्डदेखि पनि त्यति नै आजित छु। ती मुसा मार्न होइन, मुसालाई थापेको खान्की खान कोठा चोटा चाहर्छन्। यिनले मुसा त मारेनन् मारेनन्, त्यसको उल्टो कुखुराका चल्ला पनि मारिदिए। भान्सामा पसेर कन्तीको दूध चाटे।
हामी सुत्ने ओछ्यानमा दिशा गर्ने, छाद्ने छर्नेसम्मका अनेक उपद्रो गर्न भ्याइसके। फेरि गाउँका गर्भवती बिराला मेरै घरमा आएर सुत्केरी हुन्छन्। बच्चा हुर्काउछन्, मुसा चाहिँ फिटिक्क एउटा पनि मार्दैनन्। यस्ता चोर बिरालाहरुको झुण्डले घेरिएको छ यो घर।
मुसा नमार्ने बिरालाको जमातले जति पीडित छ मेरो घर, त्यति नै अहिले यो देशको छानामा, धुरीमा धरिनमा, टाँडमा, सिलिङमा, भुइँमा, खेतमा, खलिहानमा, बारीमा मुसा प्रवृत्तिका मान्छेहरु छ्यापछ्यापी दगुरिरहेका छन्।
उज्यालो छउन्जेल भूमिगत चालमा दुछुप्प लुकेर कुनाकाप्चाका प्वालमा बस्छन्। अँध्यारो समय आएपछि कहाँ, के काट्नु पर्ने हो, कहाँ के चपाउनु र दार्नु पर्ने हो त्यसकै धुनमा सगबग सगबग गरिरहेको दृश्य गोचर हुन्छ।
मुलुकको अन्नपानी र कपडा काट्ने मुसाको भन्दा पनि म आफ्नै घरकै मुसाको वर्णन गर्न विवश छु। मेरा अन्न, कपडा र किताब सखाप पारेर मात्र पुगेन यसलाई, यसले मलाई ओछ्यानमै दुई चोटि टोकिसक्यो।
झुल उधिनेर मेरा हातका औंला दुई चोटिसम्म टोकिदियो। मलाई रक्तमुछेल बनायो। अस्पताल गएर टिटानसको सुई हान्नु पर्ने अवस्थामा पुर्यायो। यसबाटै अनुमान लाउनुस्, मुसाको आक्रमण अब घरका चिजविजहरुमा मात्रै सीमित रहेन, अब यो मनुष्य उपर पनि धावा बोल्न थालिसक्यो।
जाबो यही मुसाले मानव सभ्यतालाई पटक-पटक चुनौती दिएको, सुन्दर संसार ध्वस्त पारेको इतिहास पनि हामीसित ताजा छ। चौधौँ शताब्दीमा मुसाकै कारण आयो भनिन्छ प्लेगको महामारी। जसलाई 'ब्ल्याक डेथ'को नामले पनि चिनिन्छ। युरोप, एसिया र उत्तर अफ्रिकाका अनेकौँ घना मानव वस्तीमा छिरेर यसले सातदेखि १० करोडको ज्यान लिएको छ।
यसले एकदिन होइन, एक महिना होइन, एक वर्ष होइन, बाइस-बाइस वर्ष निरन्तर मान्छे मारिरह्यो। पछिल्लो समयमा भारतको सुरथमा आएको प्लेगको महामारी पनि यही मुसाले ल्याएको पुष्टी भएको छ। मुसाकै कारण दुई चोटि मेरो कोठामा साँप (धामन) पस्यो।
मुसो मान्छेका लागि इतिहासदेखि नै ज्यानीदुश्मन बनेर उभिएको छ। तर हिन्दुका आदिदेवता गणेशजीको प्यारो बाहन बनेर उनलाई बोकिरहेको छ। गणेश पुज्ने गणेशपन्थी भक्तहरु अहिले पनि मुसोप्रति अनन्य समादरको भावमा लड्डु-पेडा चढाइरहेका छन्।
एकातिर मानव जातिको ज्यानीदुश्मन मुसो, अर्कोतिर पूजित हुने प्राणी। कस्तो द्वैध मानव मनोविज्ञान खडा गरिदिएको छ यसले। हेमलिनको बाँसुरीवादक अहिलेको जमानामा भेट्तो हुँ त नेपालभरिकै मुसालाई बाँसुरीको धुनमा लठ्याएर सप्तकोशी, गण्डकी र कर्णालीको भेलमा लगी सेलाउने थिएँ होला।
मुसाजति त होइन तर अलि कमै भए पनि मलाई दुःख दिइ आएको अर्को किरो छ माकुरो। माकुराले कोठा-चोटामा निरन्तर जाल थापिराख्छ। बुबाले उहिल्यै हामी केटाकेटी हुँदा भन्नुहुन्थ्यो- 'नानी हो! घरमा माकुराले जालो लायो भने ऋण लाग्छ है ऋण!'
हाम्रो केटाकेटी बुद्धि बालमनोविज्ञानमा यस्तो छाप बस्यो, घरमा जहाँ जालो टाँगेको छ, त्यसलाई च्यातिहाल्ने। बुढाको घर सफा गर्ने काइदा पो थियो कि, अहिले आएर त्यस उपर चिन्तना गर्छु। घरमा माकुराले जालो लाउनु र ऋण लाग्नुको बीच त्यस्तो कुन कार्यकारण सम्बन्ध छ होला? त्यसको ठिक-ठिक उत्तर अझै पनि भेट्न सकेको छैन।
हुनु त मुसो जस्तो खतरनाक र विषालु जीव होइन यो। हेर्दा सानै आकारको किरो हो, आठ वटा खुट्टा र तीखा दुइटा विषालु चुच्चाहरु छन् यसको शरीरमा। कतै सुनेको या पढेको छु, संसारमा माछा खाने माकुरो पनि छ अरे। पौडी खेल्ने माकुरो पनि छ अरे। चरा खाने माकुरो पनि छ अरे। धर्तीमा तीस हजार प्रजातिका माकुरा रहेको विश्लेषण गर्छन् माकुराशास्त्री।
मलाई त्यसका प्रजाति उपर कुनै रस छैन। तर यसको जाल बुनेर शिकार समात्ने कला मलाई अद्भुत लाग्छ। जाल बुन्छ, आफ्नै शरीर निचोरेर धागो निकाल्छ, सानो यत्न र मेहनतले यो काम सम्पन्न हुन्छ होलाजस्तो लाग्दैन। जीव सानो छ। तर आफूभन्दा ठूलै जीवको शिकार गर्नुपर्छ यसलाई।
सानो छ तर मांशाहार भोजनले पेट भर्नुपर्छ यसले। रमाइलो त यो लाग्छ,जाल टाँगेपछि यसको जालमा झिँगा, किरा, फट्याङ्ग्रा, साङ्ला, मौरी अनेकौं प्रजातिका जीवहरु उन्झनमा फस्छन्। यसको जालछुने वित्तिकै त्यसमा टाँसिन्छन् नउम्किने गरी। तर यो आफैँ भने कहिल्यै टाँसिँदैन। त्यस्तो कुन रसायन छाड्छ, जसमा आफू पर्दैन!
दुई दिन घर छोडेर कतै गइयो र तेस्रो दिनमा घर आएर ढोका उघार्दा जताजतै जाल टाँगेको कुराले पत्नीजी दिक्क हुन्छिन्। उनको पहिलो काम भुइँको कसिङ्गर बढार्नेभन्दा पनि माकुराको जालो तोड्ने हुन्छ। मान्छे माकुरी जालमा यसरी नै पर्दो रहेछ।
बिहे र बालबच्चा नहुन्जेल मान्छे फुक्काफाल हुन्छ। स्वतन्त्र हुन्छ। तर बालबच्चाको जञ्जालले घेरेपछि ऊ माकुरी जालमा फस्छ भन्छन्। कसरी फसिन्छ? अहिले विचार गर्दा जालमा अड्केको किराको जुन नियति छ। त्यसरी नै मान्छे संसारको चक्रमा अल्झेको हुन्छ।
माकुराका बच्चा स्याउँस्याउँती अनेकौँ संख्यामा बाहिर निस्किन्छन्। बूढो भएपछि माकुराका बच्चाले माउलाई नै खान्छन् भन्ने सुनेको छु। सत्य के हो, देख्न पाएको छैन। तर माउखाने माकुराका बच्चाहरु जस्ता बिम्बमा त्यस्ता सन्तानहरुलाई हेरेको छु, जसले बाबुआमालाई सुख चैन त के उनीहरुको मुटु, कलेजो र गिदीहरु लुछिरहेका छन्। देशलाई बुढो माकुराको स्वरुपमा हेर्दा बच्चाहरुले ठाउँठाउँबाट मुलुक लुछिरहेको दृश्यपनि टड्कारोसित देखिरहेको छु।
मुसाले ओछ्यानमै आएर औँलामा दाँत गाडे झैँ माकुराले पनि सुतेको बेला अनुहारमा छेरेर घाउ बनाइदिएमा अनेकन पीडाहरु छन् मसित।
अर्को, सानै छँदा मेरो बालसुलभ चित्तमा एउटा कुरा घुसाइदिए अग्रज दाजु दिदीहरुले, जहाँ कालो माकुरो र खजुरो बस्छ त्यस ठाउँमा चट्याङले हान्छ। त्यो त्रासद धारणा यसरी खोपियो, भेटेसम्म देखेसम्म कालो माकुरो बध गर्ने अवस्थामा म पुगेँ। किनकि मलाई चट्याङबाट सुरक्षित हुनुछ।
मलाई मात्र होइन, मानव जातिलाई नै अनन्त युगदेखि दुःख दिँदै आएको म वर्गको कीट हो मच्छड। भावर गर्मी प्रदेशको बसोबास छ। तराई, मधेश या भित्री मधेश त मच्छडको राजधानी नै भैहाल्यो। मच्छडले नचिलेका मान्छे भेट्न यहाँ गाह्रो छ।
विक्रमाब्दको बिसको दशक अघिसम्म मान्छे मच्छडकै पिरले तराई, भित्री मधेश झरेका थिएनन्। झर्नुमा पनि खतरा थियो। मच्छडले चिलेपछि मलेरिया हुन्थ्यो। मलेरियाको खासै प्रभावकारी औषधिमूलो थिएन। ज्वरो आउनु, सुत्नु, भुँडी जलगडा बनाउनु अनिविस्तारै मृत्युको बाटो तताउनुभन्दा अर्को उपाय थिएन।
थोरैतिनो आवादी जमिन खेती गर्न पनि पहाडमा शिखर टाकुरीबाट हतार हतार ब्याँसी झर्यो। खेतीकमाई गर्यो, बेलुकी साँझ नढल्दै शिखर उक्ल्यो। यही थियो दिनचर्या। एकरात औँलमा बस्ने वित्तिक औँलोको शिकार बन्नुपर्थ्यो।
तर जब बिसको दशकमा औँलो उन्मुलन भयो, तब मान्छे पहाडबाट ह्वारह्वार मैदानतिर बसाइँ झरे। मान्छेको पहिलो आक्रमण जंगलमाथि भयो। घनातरी जंगलहरु बस्ती र खेतीमा रुपान्तरण हुँदै गए। तराई र भित्री मधेशका फाँटहरुमा आवागमन र आवादीको लर्को लाग्यो।
पहिलेको औँलो फैल्याउने मच्छडको त बिगबिगी छैन अहिले। तर त्यसभन्दा घातक प्रजातिका मच्छड पनि देखिँदै छन्। हुन त मच्छडको प्रकोप रोक्न अनेकन, औषधि मूलो, झुल, तन्ना, पंखा, धुप र स्प्रे प्रविधिहरुको विकास र बढोत्तरी भैरहेको छ तर पनि मच्छड नयाँ-नयाँ रुप र कलेवरमा आफूलाई पारिमार्जित गरी मान्छेलाई दुःख दिन छाडेको छैन। दिनमा पनि रातमा पनि सताउन छाडेको छैन।
केही साल अघिसम्म यो गर्मी मौसम र गर्मी ठाउँमा मात्र चक्चकी मच्चाउँथ्यो। अहिले त पहाडका ठण्डी प्रदेशमा पनि यसले आफ्नो पहुँच विस्तार गरिसक्यो। लेकको चिसो वातावरणमा बाँच्न सक्ने जीनको विकास गरिसक्यो। त्यसैले मच्छड रोक्ने झुल अहिले पहाडी गाउँघरमा पनि छ्यापछ्यापी टाँगिन थालिसके। यो चिन्ता र खतराको कुरा हो।
अहिले पनि मच्छडबाटै लाग्ने रोगको कारणले सालको दश लाख मान्छेहरु संसारबाट बिदा लिँदैछन्। भनिन्छ संसारमा भएका युद्धहरुबाट संसारभरि जतिमान्छे मरे त्यसभन्दा बढी मच्छडको टोकाइबाट भैसकेको छ। वैज्ञानिकले शक्तिशाली एक्सरे मेसिनमा राखेर यसको शरीर हेरे, सय वटा त यसका आँखा छन् अरे।
सर्चालिस वटा त यसका दाँतछन् अरे। यति सानो भुसोनो आकारको मच्छडले त्यसै मान्छेलाई टायलकायल बनाएको होइन रहेछ। अहिले पनि यसले डेङ्गु, मलेरिया, खालखालका इन्सेफ्लाइटिस, मेनेन्जाइटिस् रोग उब्जाएर मान्छेलाई बेला बेलामा हायलकायल पारिआएको छ।
कीट सानो छ, सूक्ष्म छ तर मिठो संगीत कानमा भुन्भुनाउँदै टोक्न आउँछ। चुपचाप आउँदैन, खबर दिएरै आउँछ, बाजा बजाएरै आउँछ। अनेक चोटि यसलाई बध गर्न तिघ्रो, पाखुरो पड्काउँछु। यो सुत्त उडिजान्छ।
आफूले आफ्नै हातबाट निरन्तर कुटाइ खाइ आएको छु। टोकेर विष छर्नु मात्र होइन, सिंगो रात्रीको निद भगाइदिन्छ। यसको आयु पनि त्यति लामो छैन। बढीमा छ आठ हप्ता मात्र बाँच्छ भन्छन् वैज्ञानिकहरु। तर यसको शक्ति भयंकर छ। एकचोटिमा तीन हजार अण्डा पारेर मान्छेभन्दा चौध हजार गुणा बढी उत्पादन बढाइरहेको छ।
झुल त टाँगेको छु त नि कोठामा, तर यो यति बाठो छ दिउँसै झुलको भित्री कुनोमा, सिउनीमा, तकियाको खोलभित्र लुकी बस्छ क्यारे! राति बत्ती निभाएर मस्मिन्द सुतेपछि निक्लेर मेरो शरीरको रगत झिक्न थाल्छ। त्यति ठूलो घाउचोट र प्वाल नपारिकन रगत झिक्छ।
मच्छड मतिका मान्छेहरुले पनि यही मच्छडलाई गुरु थापेर देशको शरीरबाट रगत झिक्ने कला जानेका छन्। उनीहरुले पनि बाहिर सदाचारको गुनगुन धुनमा तान पूरा बजाउँदै भित्रभित्र मुलुकको रक्तधमनीबाट अरुले थाहै नपाउने गरी घुटघुट रगत चुसिरहेछन्। देशलाई मलेरिया र डेंगु रोगबाट संक्रमित गरिरहेछन्।
मुसा, माकुरा र मच्छडले मेरो घरलाई मात्र दुःख दिइरहेका छन् कि अरु घरलाई पनि दुःख दिएका छन्? थाहा पाउन चाहन्छु। अरु कीटपतंगहरु पनि बेलाबेलामा मेरै घर ताकेर आश्रय खोज्न आइरहेका छन्। एकदिन पिसाब घर जाने बाटैमा बारुलाले चाको उठायो। अर्को चोटि पलङको झुल अड्याउने डण्डीमै एक अरिंगाल आएर गोलो झुण्ड्यायो।
बच्छिउँ र कुमालकोटीले पनि भित्ता र सिलिङमा गुँडहरु लाइरहेका छन्। कीटपतंगप्रति मेरो हृदयमा करुणाकै भाव छ। यिनीहरुको अस्तित्वप्रति समादारपूर्ण चिन्तन छ। तर मेरो बाटो छेक्ने गरी, मलाई अवरोध पुर्याउने गरी यिनले उठाएका संरचना भत्काउँदै आएको छु।
कतिपय अवस्थामा तोड्ने र भत्काउने चाहना नहुँदा नहुँदै पनि भत्काउनु पर्ने अवस्था मेरो बाध्यता हो। तर मुसा, मच्छड र माकुराले जति ज्यादा ती अरुले गरेका पनि छैनन्।