मेरो भाइ १२ वर्षको भयो। ऊ मलाईभन्दा बढी माया उसको सानो मुनालाई गर्छ, उसलाई फूल मन पर्छ। आँगनमा उसको सानो हातले रोपेको फूलमा पानी हाल्दै गर्दा म एउटा फुल्न लागेको फूलको बिरुवा हेरिरहेको हुन्छु। म एउटा फुल्दै गरेको जीवन नियालिरहेको छु।
म बिस वर्षको भएँ, स्नातक तहमा १/२ वर्ष बिताइसकेता पनि मेरो पाँच कक्षा पढ्दै गरेको भाइले मलाई कहिले तिमी भनेर सम्बोधन गर्छ त कहिले तँ। म उसलाई जे भन्छु उसले मलाई पनि त्यही नै भन्छ। उसको नजरमा म ऊजस्तै छु, बस् मलाई उसले सोध्ने प्रायः सबै प्रश्नहरुको उत्तर थाहा हुन्छ। त्यसैले भाइलाई म अलिकति जान्ने हो तर ठूलो होइन भन्ने लाग्छ।
आमाले दुई वटा भाइको दिदी बन्न पाउने अवसर एकैपटकमा दिनु भएर चुनौतीहरु पनि सँगै थमाइदिनु भएको छ। कहिलेकाहीँ डब्लुडब्लुईको लाइभ दर्शक बन्न पाइन्छ। मेरो स्वतन्त्रता र शान्ति खोसिइन्छ, म पनि कराइदिन्छु अनि बलिरहेको आगोमा घ्यू थपेजस्तै अब हामी युद्ध मैदानमा उत्रिन्छौँ, आफ्नो आफ्नै क्षमता र बलबजुदमा।
म केही दिन अगाडि मात्रको एउटा घटना यहाँ भन्न चाहान्छु, लकडाउनको कारणले कक्षाहरु अनलाइन माध्यमबाट र कम मात्रामा भइरहँदा मेरो भाइ र म स्वयम पनि आफ्नो ल्यापटपमा अलि धेरै समय खर्चिन्थ्यौँ। त्यो दिन म उसको कोठामा सरासर गएँ, उसले हेरिरहेको भिडिओ अफ गर्दिएँ र गाली गर्न सुरु गरेँ,
'पढ्न पर्दैन, खालि ल्यापटप हेरेर खान पाइन्छ?'
मेरो वाक्यहरु भुइँमा खस्न नपाउँदै, रिसाएर सानो निधार पनि अझ खुम्च्याउँदै उसले जवाफ फर्काइहाल्यो, 'तँलाई चाहिँ पढ्न पर्दैन, तँ पनि त के-के हेर्दै बसिराको थिइस् त!'
जीवनमा पहिलो पटक मेरो भाइले मलाई जवाफ फर्काएको थियो। सायद ऊ धेरै पटक चाहान्थ्यो तर घरीघरी पाइने ज्ञानी शब्दको उपनामको लोभमा मौन थियो या उसलाई चाहिने जति साहस बटुल्दै थियो। आज ऊ बोलेको थियो, झर्किएको थियो, रिसाएको थियो।
यतिकैमा आमाले उताबाट कराउनु भयो, 'बाबु! चुप लाग, दिदीलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने थाहा छैन?'
मनोवैज्ञानिक मानसिक स्वास्थ्य, बाल स्वास्थ्य जस्ता विषयहरु आफ्नै पाठ्याक्रमद्वारा अध्यायन गरीरहँदा र बालमनोविज्ञान, गुड पेरेन्टिङ, मानवीय चेतना र भावनाका कुराहरुसँग केही हदसम्म जानकार हुने प्रयास गरिरहँदा, मलाई माथिको घटना जीवनको अति सामान्य घटना मात्र हो भनेर छाड्न मन लागेन।
म सोचमग्न भएँ। म आफूले बोलेका शब्दहरु, उहीँ शैलीमा प्रत्युत्तरमा आफैले पाउँदा नरमाइलो लागिरहेको थियो। मेरो भाइमा म परावर्तन भएको थिएँ, त्यो पनि आफैलाई मन नपर्ने तरिकाले। मैले मुस्कुराएर भनेको भए जवाफ पनि त मुस्कानमै पाउँथेँ होला नि।
त्यतिबेला सम्ममा मैले बुझिसकेको थिएँ, मैले मेरो भाइमा या अरु कोहीमा चाहने जति पनि परिवर्तनहरु छन्, ती सबै पहिला म आफैमा ल्याउनु पर्दछ। जसरी मेरो आफ्नै स्वतन्त्रता र विचारहरु छन्, त्यसैगरी सबैको जीवनको आ-आफ्नै तरिकाहरु हुन्छ।
मैले मलाई प्रिय लाग्ने जीवनहरुमा पनि मात्र केही प्रभाव र छापहरु छोड्न सक्छु त्यो पनि उनीहरुको स्व-इच्छा जागृत हुन्छ भने, नभए कुनै एउटा अर्को जीवनलाई नियन्त्रण गर्ने अधिकार न कसै माथि हुन्छ न त क्षमता नै।
कुनै पनि कुराको ज्ञान हुनु र त्यसलाई नै अवलम्बन गर्नु दुई भिन्न कुरा हुन्। मलाई यी विषयहरुमा ज्ञान त थियो अब व्यवहारिक रुपमा पनि अपनाउनु एक हिसाबले बाध्यता नै या भनौँ चाहना भैसकेको थियो।
अर्को दिन मैले भाइलाई बोलाएँ। हामी सँगै बस्यौँ, एकअर्कालाई हेर्यौं। मैले ऊ भित्र मप्रतिको प्रेम देखेँ, मन्द भाव देखेँ, ऊ पनि मेरो मायालुपनसँग रमाउँदै थियो सायद। मैले आज हामी एकछिन छलफल गरौँ है त भनेँ। उसले समर्थन जनायो।
मैले हिजो तिमीलाई गाली गरेकोमा 'सरी' भनेँ र त्यो पछाडिको कारणहरु बताएँ। त्यो दिन हामीले एकअर्कालाई मन परेको, मन नपरेको र सुधार गर्न पर्ने केही कुराहरुको विषयमा छलफल गर्यौं र सुधार्ने प्रण समेत गर्यौं।
धेरै सुन्दर अस्तित्वहरुमा पनि गल्तीहरु भेटिन्छन्, भइरहन्छन्। त्यसलाई पहिल्याउन, स्वीकार्न र सुधार्न खोजेमा नै जीवनको सार्थकता भेटिन्छ। जीवन दर्शनसँग अझै परिचित भइन्छ।
बालबालिकासँग सम्बन्धित धेरै किताबहरुमा एउटा वाक्य भेटिन्छ, 'चिल्ड्रेन्स आर नट् मिनिएचर्स अफ एडल्टस्' जसको नेपाली अनुवाद हुन्छ: बालबालिका वयस्कको सानो रुप होइन। जीवनको प्रत्येक चरणहरु आफैमा महत्वपूर्ण र अतुलनीय हुन्छ। बालबालिकाको आफ्नै चाहना र आवश्यकताहरु हुन्छ, उनीहरुले विश्व समुदायलाई हेर्ने आफ्नै तरिका हुन्छ। उनीहरुसँग पनि चेतना र भावना हुन्छ।
हामी आफ्नो बालबालिकाको भविष्यप्रति चिन्तित हुन्छौँ, आफूले भनेको नमानेर अथवा नसुनेर कुमार्गमा लाग्न सक्छन् भन्ने चिन्ताले हामी उनीहरुलाई आफ्नो नियन्त्रणमा बसोस् भन्ने चाहन्छौँ र त्यसका लागि केही कठोर अनुशासनहरु पनि श्रृजना गर्छौं।
जीवन हुर्कँदै गर्दा बालबालिकाले उमेरको उचाइसँगै आफ्नो स्वतन्त्रताको उचाइ पनि भेट्न चाहन्छन्। हामीले उनीहरुलाई राम्रो हेरचाह र वातावरण दिन नसकेमा घर जेल जस्तो लाग्न सक्छ र आमाबाबु कठोर पुलिस जस्तो।
किशोरावस्था प्रवेश गर्दै गर्दा शरीरमा उत्पादन हुने विभिन्न रसायन (हर्मोन र न्यूरोट्रान्समिटर) ले अलग अलग परिवर्तनहरु ल्याइरहेको हुन्छ।
एउटा मनोचिकित्सक विज्ञको अध्ययनअनुसार मानिसको भावनात्मक नियन्त्रण मस्तिष्कमा रहेको लिम्बिक सिस्टमले गरेको हुन्छ जुन सिस्टम परिपक्व हुनलाई समय लाग्दछ। साथै हाम्रो शरीरमा भएको लजिकल सिस्टमले भन्दा यसले छिटै कार्य गर्ने गर्दछ। त्यसैले हामी पहिला रिसाइहाल्छौँ र पछि रिसाउन नहुने थियो भनेर मनन गर्छौं।
किशोरावस्थामा यो समस्या अझै बढी देखिन्छ। हामीले यी उमेर समूहका बालबालिकाहरुलाई रोइहाल्ने, झर्किने, रिसाउने जस्ता क्रियाकलाप गरेको पाउँछौँ। यदि यस्तो बेलामा उनीहरुलाई गाली गर्ने, नकारात्मक आलोचना गर्ने जस्ता कार्य गरेमा त्यसको प्रतिक्रयास्वरुप उनीहरुमा पनि सोही बानीको विकास हुँदै जान्छ। फलस्वरुप भविष्यमा बालबालिकाहरुमा रिसाहा हुने, भनेको नमान्ने साथै भनेको भन्दा उल्टो कार्य गर्ने प्रवृत्तिको विकास हुन्छ।
मनोभावका विभिन्न प्रकारहरु हुन्छ। मानिस सधैँ खुसी मात्र हुन सक्दैन र प्रत्येक मनोभावको पछाडि कारण हुन्छ। खुसी हुनु पछाडि कारण हुन्छ, हर्ष, डर, त्रास, क्रोध, रिस सबेको पछाडि कारण हुन्छ। केही हामीले बुझ्न सक्ने कारणहरु र केही हामीले बुझ्न बाँकी रहस्यमय कारणहरु।
जस्तै बच्चाले जन्मेको सुरुआती महिनामा आमाको स्तन टोक्छ। ३/४ वर्षको हुँदा आफूभन्दा विपरीत लिंगको आमा-बुवासँग नजिक हुन रुचाउँछ र समान लिंगको पेरेन्ट्सप्रति ईर्ष्या र रिस महसुस गर्दछ जसलाई मेडिकल भाषामा 'इडिपाल कम्प्लेक्स' भनिन्छ।
यो सामान्य कुरा हो, अब हामीले यसको आधारमा रहेर बच्चाले आमालाई अथवा बाबुलाई माया गरेन भन्ने र त्यही अनुसारको व्यवहार गर्यो भने उसको मानसिकतामा असर पर्न सक्छ।
१२-१३ वर्षको उमेर पार गर्न थालेपछि विपरीत लिंगीसँगको आकर्षण बढ्दै जान्छ। यो प्राकृतिक नियम हो, सबैमा लागु हुन्छ। अनि हामी कतिपय आमाबुवाहरुले यो सबै कुरा थाहा हुँदाहुँदै पनि आकर्षण नराम्रो हो, कसैसँग प्रेममा पर्न हुँदैन भनेर सिकाउछौँ। बच्चामा आफैभित्र जागृत चाहना र बाबु-आमाको गाइडेन्स बीच द्वन्द हुन्छ फलस्वरुप पारिवारिक द्वन्दको सृजना हुने सम्भावना बढ्छ।
प्रेम गलत होइन, ऊ भित्र जागृत आकर्षण र भावनाहरु गलत होइनन्। यद्यपि यसको अर्थ त बच्चा झन् मानसिक रुपले स्वास्थ्य छ। उसको चरण अनुसारको मानसिक वृद्धि विकास भैरहेको छ भन्ने बुझिन्छ तर मानसिक परिपक्वता नभइसकेको हुँदा उनीहरुले गलत निर्णय लिन्छन् कि भन्ने डर जो-कोही अभिभावकलाई हुनु स्वभाविक हो, जसलाई समाधान गर्नका लागि अभिभावक नियन्त्रक होइन, सहयोगी बन्न आवश्यक छ।
अभिभावकले उनीहरुले भनेको कुराहरु सुनिदिने, उनीहरु रिसाउँदा शान्त भइदिने, साथीजस्तै व्यवहार गर्ने, उनीहरुसँगै खेलिदिने जस्ता क्रियाकलापहरु गर्नुपर्दछ।
बच्चाको भावनाको कदर सानैबाट नै हुनु पर्दछ ताकि उसले तपाईंप्रति विश्वासको भावना जागृत गर्न सक्छ, तपाईंको मार्गदर्शनलाई खुल्ला रुपमा आदार गर्न सक्छ, तपाईंका पाईलाहरु अनुशरण गर्दछ र उसको जीवनको विभिन्न चरणको संघर्षहरुलाई सहजै पार गर्दै भावनात्मक वद्धि विकास गरेर एउटा असल व्यक्ति बन्न सक्छ।
आमाले भाइलाई दिदीलाई आदार नगरेको भनेर गाली गर्नु भएको थियो तर मलाई भाइलाई आदार गर्नुपर्छ भनेर भन्नु भएन। हामी बच्चाहरु सानो भएकै कारणले, जन्माइदिएकै कारणले हामीलाई विशेष सत्कार गरोस्, उच्च आदार गरोस् भन्ने चाहन्छौं। तर उनीहरुप्रतिको हाम्रो व्यवहार र अन्य प्रभावहरुले (एक्सपोजरहरुले) उनीहरुको जीवनलाई स्वरुप दिँदै जान्छ र संस्कारमा परिणत हुन्छ।
हामीले आफ्नो तर्फबाट सकेजति माया, आदार र भावनात्मक समर्थन प्रदान गर्न सक्छौँ यद्यपि उनीहरुको जीवनको प्रत्येक किस्साको जिम्मेवार भने हुन सक्दैनौँ।
बाल्य अवस्था पूरा भइसक्दा र मैलै आफैले भोगेका धेरै चरणहरुलाई मनन गर्दा म मेरो अभिभावकहरुको अभिभावकत्वप्रति कृतज्ञ छु। मलाई मेरो बाबाले सानैबाट अरु ठूलो मानिसलाई गर्ने जस्तै व्यवहार गरेको याद छ। म भित्र थुप्रै जिज्ञासा र विचारहरु आउँथे, उहाँले सधै विचारको सम्मान गर्दै जिज्ञासा समाधान गरीदिनु हुन्थ्यो।
हरेक पटक उहाँले 'मेरो जीवनमा मेरो आफ्नै तरिका र विचारहरु हुन्छ, जसलाई म खुला रुपमा अपनाउन सक्छु भनेर ज्ञात गराउनु हुन्थ्यो।'
मैले स्वतन्त्र रुपले गल्ती गर्दै, सिक्दै गएँ र आज मलाई मेरो आफै प्रतिको प्रेम र आत्मसन्तुष्टिले उचाइ पाएको महसुस हुन्छ। मैले आमाको त्यागबाट पनि धेरै सिकेको छु र परिवारका अरु सदस्यहरुको वात्सल्यपना र स्नेह अतिप्रिय छ।
मैले मेरो परिवारभित्र नै यस्तो साथीहरु पाएको छु जसले मलाई उहाँहरुको जीवन कथाहरु सुनाउनु हुन्छ, मेरो समस्याहरु हल गर्ने सहयोगी बन्नुहुन्छ। म आफ्ना गुनासो र भावनाहरु लिएर उहाँहरुसँग उपस्थित हुन्छु, उहाँहरु मुस्कुराउँदै जीवन त्योभन्दा अलि माथि र अझै फराकिलो छ भनेर सम्झाउनु हुन्छ।
हामीले परिवार सम्बन्धी कुनै पनि छलफल र निर्णयमा बालबालिकाहरुलाई समावेश गर्नुपर्दछ। मलाई म १० वर्षको नहुँदादेखि नै आमाबाबुले 'नानी यो ठाँउमा जग्गा किन्न लागेको के गर्ने त?', 'आज खानामा के पकाउने त?' भन्नेजस्ता प्रश्नहरु सोध्नु हुन्थ्यो। यी प्रश्नहरु सोधिँदाको खुसी अर्कै हुन्थ्यो।
त्यतिबेलामा म आफूलाई सम्मानयोग्य र सार्थक नागरिक भएको महशुस गर्थेँ र त्यस विषयमा आफूले सकेजतिको ज्ञान लिएर के सल्लाह दिने भन्ने निर्णयमा पुग्थेँ। अतः अभिभावकको यस्ता खालका व्यवहारले बालबालिकाहरुको आत्मनिर्भरता र निर्णय लिने क्षमता बढ्नुका साथै आमाबाबु प्रतिको माया र सम्मान अझै बढ्न जान्छ।
मानव भइरहँदा त्रुटी सबैबाट हुन्छ, हामीले त्यसलाई स्वीकार्न र सच्याउन खोज्नु पर्दछ। म आफैँ पनि बालबालिकाहरुलाई माथि भनेका कुराहरु ध्यान पुर्याएर त्यही अनुसारका व्यवहार र वातावरण प्रदान गर्न प्रयासरत छु।
अभिभावकहरुले बालबालिकासँग समय समयमा बसेर छलफल गर्नु पर्दछ, छोराछोरी भइरहँदा पनि आफूले जानेका कुराहरुसँग आमाबाबुलाई परिचित गराउन र सिकाउन सकिन्छ।
तपाईंको बगैँचामा छुट्टाछुट्टै प्रकारका फूलहरु हुन्छन्, तपाईंले चाहेको दिन नै फूल फुल्छ भन्ने ग्यारेन्टी हुँदैन र फुल्नै पर्छ भन्ने आवश्यकता पनि। मलजल गरीरह्यो भने एकदिन आफ्नै समयमा आफ्नै हिसाबले सुन्दर फूल फुल्नेछ, कुनै ढिलो त कुनै अलिक चाँडो।