बचेराहरूका पखेटा पलाए, उनीहरू अब न्यानो गुँड छोडेर आफ्नै आकाशमा स्वतन्त्ररूपमा रमाउन चाहन्छन्।
मैले रोक्न खोजे पनि उनीहरूले मेरो गुँड छोड्ने नै छन्, आफ्नै नयाँ संसार बनाउनेछन्। संसारको नियम हो, मैले स्वीकार्नै पर्छ। तर म आमा हुँ, आफ्ना बचेराहरू त्यसरी गुँड छोडेर जान लाग्दा पीडा हुन्छ।
कतै उनीहरूका पखेटाले काम नगरेर उड्दा उड्दै खस्ने त हैनन् भन्ने डर लाग्छ।
कतै बाज आएर च्याप्प समातेर लाने त हैन भन्ने सोचले मुटु काँप्छ। उनीहरू जति ठूला भए पनि, उनीहरूका पखेटा जति कडा भए पनि, उनीहरूको अनुपस्थितिमा मलाई जति पीडा भए पनि मेरो मन र मुटु, मेरो वात्सल्य र शुभकामना उनीहरूसँगै हुन्छ मेरो। त्यसैले त कवि कृष्णप्रसाद भट्टराईले भनेका होलान्– मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि, बचरा गुँड छोडेर टाढा-टाढा गए पनि।’
हो, मेरा छोरीहरू पनि ठूला भए। कति छिटो समय बितेछ। उनीहरूलाई अस्पतालको बेडमा पहिलो पटक काखमा लिएर एक टकले हेरेको हिजोजस्तै लाग्छ। तर आज उनीहरू धेरै ठूला भैसकेका छन् र दिन प्रतिदिन झन् जवान, आत्मविश्वासी र आत्मनिर्भर हुँदै गइरहेका छन्।
आफ्ना सन्तान आत्मविश्वासी र आत्मनिर्भर हुनु एक आमाको लागि गर्वको कुरा हो तर जब केही समयमै उनीहरू मेरो काख र परिवारको न्यानो गुँड छोडेर उच्च अध्ययनको लागि मबाट टाढा जानेछन् भन्ने सोच्छु, त्यो सोचले मेरो मुटु काँप्छ। उनीहरू मेरो नजिक नहुँदा मेरो हालत के होला भन्ने सम्झेर म तर्सिन्छु।
सायद त्यही डरले होला, आजभोलि म एकटकले घोरिएर उनीहरूलाई हेरिरहन चाहन्छु। उनीहरूलाई हेरेर आफ्नो मनको प्यास बुझाउन चाहन्छु, मनलाई सम्हाल्न चाहन्छु।
मैले त्यसरी हेरेको देखेर उनीहरू कति हेरेको होला भनेर झर्को मान्दै अर्कोतिर फर्कन्छन्।
उनीहरूको आफ्नै संसार छ, आफ्नै सोच छ, आफ्नै योजना छ। उनीहरू हाम्रो समयका छोरी हैनन्, आधुनिक युगमा जन्मेका, स्वतन्त्रताको युगमा जन्मेका अनि प्रविधिको युगमा जन्मेका। त्यसैले उनीहरूले हाम्रो सोच बुझ्दैनन्, बुझ्न पनि चाहन्नन्। तर जुनसुकै युगमा जन्मेको भए पनि हरेक आमाको सोच एकै हुन्छ। त्यसैले म उनीहरूलाई भन्छु, 'मलाई हेरिरहन देऊ छोरी, मनभरि हेरिरहन देऊ।'
म उनीहरूलाई जति हेर्छु झन् पछि झन् राम्री देख्छु। त्यसो त उनीहरू राम्रा पनि छन्। हुन त बाबुआमाका लागि आफ्ना सन्तान राम्रा नै हुन्छन् अनि जवानी चढ्दै जाँदा सबै राम्रा नै देखिन्छन् तर उनीहरू मेरो लागि विशेष छन्।
उनीहरूलाई एक नजर देख्दा म आफ्नो सारा पीडा भुलिदिन्छु। उनीहरू स्कुलबाट फर्केर घरभित्र मुस्कुराउँदै पस्दा मेरो दिनभरिको थकान त्यसैले बिर्साउँछ। यदि हामीले भन्ने गरे जस्तो हेर्दैमा मान्छेको नजर लाग्थ्यो भने अहिलेसम्म मेरो नजर उनीहरूलाई लागिसकेको हुने थियो। उनीहरू मेरो सर्वश्व हुन्। उनीहरू भित्र मैले आफैंलाई देख्छु, लाग्छ उनीहरू मेरै दोस्रो प्रतिरूप हुन्।
कुनै दिन म पनि उनीहरू जस्तै थिएँ। आमाको काख छोडेर आफ्ना पङ्ख फिँजाएर स्वच्छन्द आकाशमा विचरण गर्ने रहर थियो। त्यसैले अहिले छोरीलाई हेर्दाहेर्दै म पनि कहिले उनीहरूकै उमेरमा फर्कन्छु, आफूलाई उनीहरू जस्तै फक्रन लागेकी कोपिला देख्न थाल्छु। त्यो उमेरका कहानीमा रमाउँदा रमाउँदै म फेरि वर्तमानमा फर्किन्छु र झसंग हुँदै मनमनै सोच्छु- मेरा छोरीहरू पनि कुनै दिन मजस्तै आफ्नो जन्मेको घर, आफू खेलेको आँगन र मलाई छोडेर आफ्नो भविष्य बनाउन जालान्। तर म कसरी उनीहरूलाई आफूबाट टाढा राखूँ? म द्विविधामा छु।
छोरीहरू जति जति ठूला हुँदैछन्, उति-उति मेरो मनभित्र उतारचढावका पिङ खेलिरहेका छन्। म सोच्छु त्यो दिन मबाट टाढा गएपछि उनीहरूको हेरचाह कसले गर्ला?
आजसम्म त मैले जे भोग्दै र सिक्दै आएकी छु त्यही अनुभवको आधारमा उनीहरूलाई सिकाउँदै आएकी छु। तर मबाट टाढा हुँदा कसले उनीहरूलाई सिकाउला?
तर मलाई थाहा छ, उनीहरू पखेटा पलाइसकेका चरीहरू हुन् चाँडै यहाँबाट उडेर मेरो नजरको क्षितिजभन्दा धेरै टाढा जानेछन्। हुन त उनीहरूलाई उड्न सिकाउने पनि म नै हुँ, सुरू सुरूमा उड्न सिक्दा उनीहरू लड्थे, रुन्थे।
उनीहरू रोएको देख्दा मलाई पनि दुख्थ्यो। तर दुखेको मनलाई लुकाएर उनीहरूलाई साहस र हौसला दिने पनि म नै हो। जब उनीहरू सजिलोसँग उड्न थाले, त्यो देख्दा सायद उनीहरू भन्दा खुसी म नै थिएँ होला। तर आज मैले उड्न सिकाएका तिनै पखेटाले उनीहरूलाई मदेखि टाढा लैजाँदै छ। तर त्यति हुँदाहुँदै पनि उनीहरूलाई उड्न सिकाएकोमा मलाई पछुतो हैन गर्व छ। मलाई थाहा छ, उनीहरू आफ्ना गगनचुम्बी इच्छा पूरा गर्न अझै टाढा उड्न चाहन्छन्। उनीहरूका सबै इच्छाहरू पूरा भएको हेर्न म आतुर छु।
उनीहरू उडून्, टाढा टाढा विचरण गरून्, संसार चिनून्, सबल बनून्, सक्षम बनून्, आफ्नो भविष्यको बाटो आफैं कोरून्।
तर आफ्ना बचेराहरू जति जवान भए पनि, जति सबल भए पनि, जति आत्मनिर्भर भए पनि एउटी आमाको नजरमा सधैं नै मेरा साना छोरीहरू नै रहिरहनेछन्। उनीहरूलाई आजसम्म मैले मेरो नजरबबन्दमा राखेकी थिएँ। आफ्नो आँखाले भ्याउन्जेलसम्मको यात्रामा मात्र मैले छोडिदिन सक्थें। तर अब मेरो आँखाले भ्याउन नसक्ने ठाउँ मेरो लागि अन्धकार सरह हुनेछ।
मैले देख्न नसक्ने त्यो अन्धकारमा मैले उनीहरूलाई पठाउन मलाई कता कता डर लागिरहेको छ। न त म उनीहरूका उड्नका लागि तयार भएका कलिला पखेटाहरूलाई बाँधिदिन सक्छु, न त सधैंभरि उनीहरूलाई आफ्नो पिँजडामा छोपेर उनीहरूको स्वतन्त्रता खोसेर तड्पिएको हेर्न सक्छु। म उनीहरूको प्रगतिको बाधक हैन, तर किन किन यो मनले बाध्य बनाएको छ। उनीहरू मदेखि टाढिने सोचले भने मलाई पीडा दिन्छ।
उनीहरू अहिले कुमालेले कुनै आकार दिन तयार पारिएका माटाका डल्लाजस्ता हुन्, जसले जुन आकारमा ढाल्न खोज्छ त्यही आकार बन्छन्। अहिलेसम्म त मेरो बशमा छन्, मैले सुरक्षित राखेकी छु, मैले आफ्नो आकारमा ढाल्ने प्रयास गरेकी छु तर अहिलेको अवस्थामा त्यतिले मात्र पुग्दैन, मैले उनीहरूलाई छोडिदिनै पर्छ। तर मेरो नजरबाट टाढा गएर यदि कुनै कतै दुष्ट कुमालेको हातमा परे भने उसले आफ्नो चक्रमा राखेर आफ्नो आकारमा ढाल्न खोज्यो भने? त्यही हो मेरो डर, त्यही हो मेरो चिन्ता।
मलाई विश्वास पनि छ उनीहरू कतै डगमगाउने छैनन्, तर यो पापी मनले उल्टो मात्र सोच्छ!
उनीहरू छोरा भएको भए सायद म यति धेरै चिन्तित हुने थिइनँ कि! हुन त छोरा र छोरी बाबु आमाको लागि एकै हुन्, छोराका पनि विभिन्न समस्या हुन सक्छन् तर जति समानताको कुरा गरे पनि हाम्रो समाजमा अझै पनि छोरा र छोरीमा ठूलो अन्तर छ।
मेरो गर्भमा छोरी भएको थाहा पाएपछि म केही समय राम्रोसँग निदाउन सकेकी थिइनँ। साँच्चै भनूँ भने त्यो बेला पुरूष प्रधान समाजले निदाउन दिएको थिएन। उनीहरूलाई देखेपछि मैले ती सबै असमानता भुलिसकेकी थिएँ तर आज उनीहरू जवान हुँदै जाँदा फेरि मेरो निद्रा खलबलिन थालेको छ।
सानो छँदा कतै भोक लाग्यो कि, कतै सुसु गरेर लुगा भिज्यो कि, कतै एकतिर मात्र कोल्टो परेर सुत्ने बानीले गर्दा टाउकोको आकार बिग्रने पो हो कि भन्ने चिन्ता लाग्थ्यो, आज आएर उनीहरू कसैको झूटो र विषालु पासोमा परेर जीवन बर्बाद हुन्छ कि भन्ने चिन्ता लाग्छ।
आमालाई छोराछोरीको कुनै न कुनै चिन्ताले कहिले पनि छोड्ने रहेनछ।
त्यसैले म द्विविधामा छु। सायद ममात्र हैन हाम्रो समाजका सबै छोरीका आमाहरू सबै नै यस्तै द्विविधामा हुन्छन् होला।