आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा। आजको विशेष दिनमा वेदहरु पाठ गरी वैदिक मन्त्रहरुबाट अभिषेक गराएर यज्ञबाट होम गरी पवित्र बनाइएको जनै लगाउनु पर्ने मान्यता सदियौंदेखि छ।
ब्राह्मले उत्पत्ति गरेका हुनाले जनैलाई ब्राह्मसूत्र पनि भनिन्छ। ब्राह्मले उत्पत्ति गरेपश्चात विष्णुले तीन गुण (ज्ञान, कर्मकाण्ड र उपसना) ले भरिपूर्ण गर्नुभएको र शिवले तीन ग्रन्थि पारेपश्चात गायत्री माताले अभिमन्त्रित गरी रक्षाकवज बनाएको कुरा विभिन्न ग्रन्थमा उल्लेख छ।
जनै भन्ने बितिक्कै व्रतबन्ध जोडिएर आउँछ। व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु समेत भनिन्छ। आयुर्वेद चिकित्साको कौमारभृत्यमा बाल्यावस्थामा गरिने आठ संस्कारहरु वर्णन गरिएको छ। जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेधन, उपनयन र वेदारम्भहरु यी संस्कारहरुमा संस्कारहरुमा पर्छन्।
त्यसमध्ये उपनयन (व्रतबन्ध), पाँच वर्षपछि गरिने धार्मिक महत्व युक्त संस्कार भित्र पर्छ। 'संस्कारो हि गुणान्तराधानम्' अर्थात् गुणमा अन्तर ल्याउनुलाई संस्कार भनिन्छ।
व्रतबन्धले बालकलाई अनुशासनमा रहन, रीतिरिवाज सिकाउन, व्यवहारिक बनाउन र गुरु-शिष्य परम्परा जागृत गराउन समेत मद्दत पुर्याउँदछ। व्रतबन्धको चिरस्थायी प्रभावका रुपमा जनैको उचित प्रयोगलाई लिने गरिन्छ। तर आजकलका युवाहरु व्रतबन्ध गरेको वर्ष दिनसम्म समेत जनै जोगाएर भिर्न सक्दैनन्।
*आजकालका प्रायः युवाहरु दुनियाँको आँखा छल्नमा व्यस्त छन्। छलले कमाउने, बलले मिच्ने र जे-जे छ अरुलाई देखाउनेमा तल्लीन छन्। आफूलाई बडो भौतिकवादी र नास्तिक कहलाउँछन्। बाह्य आकर्षणमा आकर्षित हुन्छन्। सौन्दर्यलाई भोगका निम्ति सम्झिन्छन्। पैसा नै सबैथोक हो भन्ठान्छन्। पैसाअनुसार रवाफ देखाउँछन्।
मपाइँ मोहनीको अहंकारमा संगठित हुन्छन्। युवाहरु आफू सिंगारिनुको मात्र मतलब राख्छन्। टप लगाउने, ट्याटु खोप्ने, कपाल रङग्याउने, फाटेको पाइन्ट लगाउने, हातमा ब्याण्ड लगाउने आदि कार्यमा सौखिन छन्। तर उनीहरु यज्ञ गरेर पवित्र बनाइएको जनै लगाउन हिच्किचाउँछन्।
म एउटा ब्राह्मण कुलको पुत्र हुँ। मेरा धेरै साथी एवं सहयात्रीहरु गाउँले वातावरणमा हुर्किएका भए पनि विस्तारै शहरी रहनसहनले गर्दा संस्कारहरु भुल्दै गइरहेका छन्। ग्रह शान्ति, पूजापाठ, रुद्री, सप्ताह, व्रतबन्ध सबैप्रति हिनताभाव झल्काउँदै छन्। गाईको गोबर, गहुँत, रातो माटो, कुश, दुबोद्वारा धर्मकर्ममा शुद्धाशुद्धी गर्ने परिपाटी त हराइसके।
कुन चाहिँ आदर्श दर्शनहरुको परिकल्पनामा उनीहरु हाम्रो सनातन धर्मलाई पाण्डित्य व्याख्यान मात्र भन्छन्, मैले अझै बुझ्न सकेको छैन। लहडी तवरहरुमा पाश्चात्य भुलभूलैयाको सिङ पक्रेर निस्सासिँदो गहिरोमा डुब्दैछन्। प्राचीनता प्रेमी हुनुको नाताले भेदभाव रहित धर्म संस्कारको जगेर्ना गर्नु आजको आवश्यकता भइसकेको छ।
जनै किन लगाउनु पर्छ? किन जनै कम्मरभन्दा मुनि जान हुन्न? कति दिनमा जनै फेर्नु पर्छ? शौचको समयमा दाहिने कानमा किन जनै बेर्नु पर्छ? खोज्दै जाने हो भने यी सबैको पक्कै पनि पौराणिक एवं वैज्ञानिक कारणहरु छन् होला। चिकित्सा विज्ञानमा पनि यसका उपयोगिता नहोलान् भन्ने छैन। उसो भए जीवनका स्वर्णीम घामछायाहरुमा पुर्खाहरुले बसालेको अनुभव र थिती किन तिरस्कार गर्नु छ र?
आजका प्रायः युवाहरु पाश्चात्य संस्कृतिमा केन्द्रित छन्। फेशनकै लागि डिस्को डान्स-बार धाउँछन् तर व्रतबन्ध भइसकेकै भए पनि लाजकै कारण जनै भिरेर हिँड्न जानेका छैनन्। समय र परिवेश पनि उस्तै छ। बिहानै उठेर जप-ध्यान गर्नलाई डेरामा बसेको कोठा अपुग नै हुन्छ। सायद इच्छाशक्ति र आध्यात्मिक मोहमा भर पर्ने कुरा पनि हुन् यी। तर जनै लगाएरै जीवनका विभिन्न आयामहरुमा महत्वपूर्ण फाइदाजनक उपलब्धिहरु हासिल गर्न सकिन्छ भने किन पछि हट्ने?
मलाई सानै हुँदा हजुरबुवाले जनैपूर्णिमाको दिन जनै फेर्न सिकाउनु भयो। र त आज पनि म जनैपूर्णिमाको दिन बिहानै उठेर स्नान र आचमान गरेर मन्त्र पढ्दै नयाँ जनै फेर्छु। घर वा नातेदारमा जन्म वा मरणको सूतक पर्दा जनै बदल्न पर्छ। वा पुरानो भएर चुँडियो भने नबोलिकन फेर्न पाइन्छ अनि प्रायश्चितका लागि गायत्री जप गर्नुपर्छ। नुहाइधुवाई गर्दा समेत जनैलाई बाहिर राख्नु हुँदैन भनेर मलाई हजुरबुवाले नै राम्ररी सिकाउनु भाथ्यो।
हजुरबुवाले जनैको वृत्तान्त सुनाएको कुरा म अझै सम्झन्छु। जनैको लम्बाई ९६ अंगुल हुन्छ भन्नु हुन्थ्यो। जनै धारण गर्ने व्यक्ति ३२ विद्या र ६४ कला जान्न उत्साहित हुनुपर्छ भन्नु हुन्थ्यो। विद्यामा वेद, उपवेदहरु पर्छन् भने कलामा चित्रकला, नृत्यकला आदि भन्दै बुझाउनु हुन्थ्यो।
अचेलको पुस्ता यस्ता ज्ञानहरुबाट टाढै छन्। घरमै प्रचुर उदार ज्ञानको स्रोत हुँदा समेत दृष्टिविहीन भएर छामछुम गरिरहन्छन्। गर्लफ्रेन्ड बनाएर डेटिङ जाने फुर्सद यहाँ सबैलाई छ तर हजुरबुवाले गरेको देखासिकी समेत गर्न सक्दैनन्।
यसरी हाँसी उडाउँछन् मानौं स्वर्ग र नर्कको भाग्यसँग उनीहरुलाई डर नै छैन। नाटीकुटी र अन्धविश्वास होइन तर, आध्यात्मिक एवं धार्मिक पोषणमा एउटा सिकारु जस्तै भएर युवापंक्तिले दिमागको कालो कुहिरो हटाउन जरुरी छ। वर्षभरि नै आत्मशुद्धी गर्ने अवसरका रुपमा आउने जनैपूर्णिमा हाम्रा लागि अनुपम वरदान हो।
संसार परिवर्तनशील छ। नयाँ-नयाँ खोज अनुसन्धानले चिकित्सा विज्ञान अर्कै मोडमा पुगेको छ। तर हाम्रा प्राचीन पद्धति, धर्म-संस्कृति र चाडपर्वहरुले समेत हाम्रो स्वास्थ्य र जीवनशैलीमा सकरात्मक प्रभाव पार्छ भने किन जनै नलगाउने? यो धाँगो नै सही, यसले व्रतबन्ध पश्चात हरेकलाई आफ्नो कर्तव्य, सामर्थ्य, भक्ति र अनुशासनमा बाँधेको हुन्छ।
सधैं जुत्ता टल्काएर फूलबुट्टा झैँ सिंगारिएर, दाह्री कपाल रंगाएर हिँड्न त युवालाई बिल्कुल फुर्सद हुन्छ। हेर्ने नजरहरुले 'ओहो!' भन्दिउँन् भन्ने भावहरुमा नै व्यस्त हुन्छन्। तर वर्षको एकदिन जनै फेर्न अनि सधैं जप ध्यान गर्न भने अत्याचार नै भए जस्तो ठान्छन्।
अव्यवस्थित लहरहरुबाट छुट्दै अब चेत आओस्। कोरोना महामारी यथावत छ, स्वास्थ्य संवेदनशीलता प्रति ध्यान जाओस्। जनै लगाउन झ्याउँ होइन, उत्साह र प्रेरणा जागोस्।
(*सच्याइएको)