नेपालका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर देखिन्छ। विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन।
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक छ। सरकारी तथ्यांकमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको सार्वजनिक हुँदै आएको छ।
अर्कातर्फ निजी स्रोतको लगानीमा सञ्चालित छन्। त्यहाँ योग्य तथा तालिमप्राप्त विषयगत शिक्षकको त्यति राम्रो व्यवस्था हुँदैन, सरकारी अनुगमन पनि हुँदैन तर पनि शैक्षिक गुणस्तर सामुदायिकभन्दा माथि रहेको विभिन्न तथ्यले देखाइरहेका छन्।
शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो। समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो। हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ। मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिन्छ।
विश्व शिक्षा आधुनिकता सँगसँगै चन्द्रमामा नयाँ बस्ती विकासको योजना बुनिरहेको छ। सम्भावनाका ढोकाहरु पहिल्याउँदै छ। तर हाम्रो शिक्षा प्रणाली त्योभन्दा धेरै टाढा छ। सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि दिनदिनै कमजोर हुँदै गैरहेको छ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना बुनिरहँदा त्यहाँ ध्यान जान सकेको छैन जहाँ शैक्षिक सत्रभरि पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुँदैन। जहाँ विषयगत, तहगत, विज्ञ शिक्षकले अभाव छ।
किन कमजोर भैरहेको छ सामुदायिक विद्यालयको शिक्षा?
- हुम्ला, जुम्ला, डोल्पा लगायतका विकट ग्रामीण भेगमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु
- पाठ्यपुस्तक पुगे पनि विषयगत तथा तहगत शिक्षकको अभाव हुनु
- प्रयाप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था नहुनु
- शिक्षामा राजनीति हावी हुनु
- समुदाय, व्यवस्थापन समिति, शिक्षकप्रति जिम्मेवारी बोध तथा अपनत्वको भावनामा कमी आउनु
- पाठ्यक्रमबाट निर्दिष्ट उदेश्य प्राप्तिका लागि सो अनुरुपको शिक्षण सिकाइ नहुनु
- शिक्षकहरु पूर्ण रुपमा आफ्नो जिम्मेवारी पूरा नगर्नु
- फितलो व्यवस्थापन
- कमजोर सरकारी संयन्त्र,
सामुदायिक विद्यालय सुधार गर्न हरेक वर्ष बहस हुन्छ। तर विद्यार्थीको सिकाइ सुधार हुन सकेको छैन। शिक्षकलाई जवाफदेहिता, जिम्मेवारी र कर्तव्यबोध गराउन सकिएको छैन। त्यसकारण पनि प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन।
कक्षाकोठा व्यवस्थापन गर्नसकेको छैन। कक्षामा के पढाउने? भन्ने योजना बिनै शिक्षक कक्षा प्रवेश गर्छन्। यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको गुणस्तरमा कमी ल्याएको छ। शिक्षकले पढाउने भन्दा पनि राजनीति गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पुर्याएको छ।
शैक्षिक गुणस्तर कायम गर्न के गर्ने?
- समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने
- विषयगत, तहगत एवम् तालिमप्राप्त शिक्षकको व्यवस्था गर्ने
- शैक्षिक सामाग्रीको व्यवस्था गर्ने
- शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षक, कर्मचारीलाई पुरुस्कार र कमजोर हुनेलाई तालिम दिएर सुधारको अवसर दिने
- शिक्षक प्रधानाध्यापकप्रति, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिप्रति र समिति स्थानीय तहप्रति उत्तरदायी भए शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ।
राज्यको शिक्षा देश निर्माणको जग भएको हुनाले सामुदायिक शिक्षा प्रणालीमै आमूल परिवर्तनको जरुरी छ। अब पुरानै ढाँचामा होइन, समयसापेक्ष परिवर्तन गरी कमीकमजोरी हटाएर राज्यको आवश्यकता र समयको मागअनुरूपको जनशक्ति उत्पादन गर्ने शिक्षा लागु गर्नुको विकल्प छैन।
सामुदायिक विद्यालयको अवस्था खस्किनुमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने प्रवृत्ति गलत छ। अभिभावकहरु शिक्षकले पढाएनन् भन्ने, शिक्षक विद्यार्थीले पढेनन् भन्ने, विद्यालयबाट भाग्यो, गृहकार्य गर्दैन जस्ता कुरा गर्ने, विद्यालय व्यवस्थापन समितिले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई तालमेल गराउन नसक्ने।
विद्यालयको शैक्षिक सुधारभन्दा भौतिक पूर्वाधारको योजनातिर बढी चासो दिने गरेको वर्तमान परिपाटी छ। यस्ता विषयमा सबैको तालमेल र सहकार्य भएमा अवश्य पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम हुन्छ भन्ने विषयमा दुई मत छैन।