मलाई सोधिने हरेक प्रश्नको जवाफ दिन सक्थेँ। मैले सोध्ने हर प्रश्नको उतर पाउँथेँ पनि। तर आज म कसैलाई प्रश्न मात्र गरिरहेको छु। आज मलाई धेरैले प्रश्न मात्रै गरिरहेका छ्न्। जवाफ नहुने हैन, जवाफ छ तर पनि मसँग यसको जवाफ छैन।
प्रश्न सबैको होइन तर परीक्षा दिने सबै नेपालका विद्यार्थीहरुको साझा प्रश्न भने हो- 'हाम्रो परीक्षा कहिले हुन्छ?' यो प्रश्नको जवाफ नेपाल सरकारसँग छ। यो प्रश्ननको जवाफ परीक्षा लिने हरेक विश्वविद्यालयसँग छ। तर हामीसँग छैन।
यसको उतर सम्बन्धित निकायले परीक्षा तालिका प्रकाशित गरेमा प्राप्त गर्न सक्छौँ। तर यतिबेला कोरोनाको संक्रमण बढेको भन्दै मिति तोकिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय आदि शैक्षिक संस्थानहरुले तोकिएका सम्पूर्ण परीक्षा तत्काललाई स्थगित गरेका छन्।
कसैले निश्चित मितिमा हुने भनेर पछाडि धकेलेका छन् भने कसैले मात्र स्थगित गरेका छन्। केहिले अनलाइन परीक्षा लिँदैछन्। तर परीक्षाको स्वरुप निश्चित नगरी मात्र स्थगित गरेका परीक्षाहरुका कारण आज लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलताको चपेटामा हुमहुमाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही जेठ २६ गते हुने भनी सर्वप्रथम मिति तोक्यो। कोरोनाको दोस्रो लहरले नेपाल प्रभावित भए लगत्तै उक्त परीक्षा स्थगित गर्यो। जोखिम कम देखिन पुगेर सहरबजारहरु खुले लगत्तै राष्ट्रिय परीक्षा बोर्डले दोस्रो पटक यही साउन ३१ गतेदेखि स्वास्थ्य मापदण्ड सहित भौतिक रूपमा परीक्षा हुने भनेर परीक्षा तालिका सार्वजनिक गर्यो।
परीक्षा दिने सम्पूर्ण विद्यार्थीहरु परीक्षाको तयारीमा लागे पनि। तर फेरि परीक्षाको मुखमा आएर परीक्षा स्थगितका कुरा उठे। कोरोना संक्रमण बढदो अवस्थामा छ भन्दै सामाजिक संजाल मार्फत 'क्यानसिल एनइबि एक्ज्याम' को अभियान चल्यो। पत्रकार रवि लामिछानेदेखि नेता गगन थापा समेतले जोडतोडले उठाए। अन्ततः परीक्षा स्थगित भयो।
तर परीक्षा स्थगित हुनु मात्रै परिक्षार्थीहरुको निम्ति खुसीको कुरा बिल्कुलै होइन। थिएन पनि। परीक्षा स्थगित गर्ने तर मूल्यांकनको कुनै विकल्प नदिने गर्दा विद्यार्थीहरु र उनका अभिभावकहरुमा कस्तो असर पर्न गयो। त्यसको ख्याल राखिनुपर्छ। विकल्प नदिएर कक्षा १२ देखि विश्वविद्यालय सम्मका परीक्षा स्थगनले कोरोनाको डर र संक्रमणभन्दा बढी विद्यार्थीहरुमा तनाव निम्ताएको छ।
कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले मेसेन्जर, फोन अनि प्रत्यक्ष भेटमा अधिकांश दिनहुँ सोधिरहेने प्रश्न हो- हाम्रो परीक्षा कहिले हुन्छ? कसरी हुन्छ? त्यस्तै कर्णालीका दुराधाराबाट अभिभावकहरुले सोधिरहेका हुन्छन्। 'बाबु! हाम्रा नानीबाबुको परीक्षा कहिले हुन्छ? तिमीलाई थाहा छ होला नि! तिमी त सहरमा छौँ।'
यी प्रश्नको जवाफ न त सहरसँग छ न त गाउँसँग छ। यसरी यी प्रश्नहरु मलाई गरिरहँदा जवाफ दिनको निम्ति मात्रै म जवाफ दिन्छु। 'विस्तारै होला। सरकार र राष्ट्रिय परीक्षा बोर्डले अब छिटै निर्णय लिन्छ होला।'
यही जवाफ धेरैलाई बारबार दोहोराएको छु तर दोहोराउन चाहन्नँ। करिब परीक्षा स्थगितको सूचना निस्केको दुई हप्ता बढी पुगिसक्दा पनि कक्षा १२ को परीक्षाको कुनै अतोपत्तो छैन। मसँग प्रश्न दिनदिनै धेरै आउँछन्, जवाफ भने शून्य भैसकेको छ।
हाम्रो परीक्षा कहिले हुन्छ? यो प्रश्न मलाई मात्र होइन। विद्यार्थीहरु र अभिभावकहरुले हरेक अग्रज, शिक्षक, कर्मचारी, सञ्चारकर्मीसँग गरिरहेका हुन्छन्। विद्यार्थीहरुले एकअर्का साथीबीच पनि गरिरहेका हुन्छन्।
मैले पनि मभन्दा अग्रज सम्बन्धित व्यक्तिहरु र निकायलाई कक्षा १२ को परीक्षा कहिले हुन्छ भनेर प्रश्न गरिरहेको हुन्छु। मैले दिने जवाफ जस्तै जवाफको निम्ति सामान्य जवाफ मात्रै पाउने गरेको छु। कहिले र कसरी परीक्षा हुन्छ कुनै निश्चित जवाफ मिल्दैन।
विश्वविद्यालयका विद्यार्थीहरुको परीक्षातर्फ केन्द्रित हुँदा। त्रिभुवन विश्वविद्यालयले एक वर्षदेखि हुन नसकेका सम्पूर्ण परीक्षा लगि सकेको छ। बाँकी नलगेका र हुनुपर्ने परीक्षाहरु लिँदै पनि छ। तर अन्य विश्वविद्यालयहरु जहाँ सेमेस्टार प्रणालीअनुसार पढाइ गर्छ्न्, ती विश्वविद्यालयहरुले परीक्षा लिन सकिरहेका छैनन्।
मध्यपश्चिम विश्वविद्यालयका सयुंक्त विद्यार्थी संगठन र पूर्वाञ्चल विश्वविद्यालयका ईन्जिनियरिङ कलेजका विद्यार्थी संगठनहरु आन्दोलनरत छन्। परीक्षा अनलाइन हुनुपर्ने। शुल्क मिनाह हुनुपर्ने। शुल्क वृद्धिदर रोकिनु पर्ने। छात्रवृत्तिको व्यवस्था हुनुपर्ने। परीक्षा तालिका सार्वजनिक हुनुपर्ने इत्यादि विषय उठाएर आन्दोलन गरिरहेका छन्।
अन्य विश्वविद्यालयहरुले परीक्षाको स्वरुप र मिति तोकेता पनि मध्यपश्चिम विश्वविद्यालयले परीक्षा तालिका र स्वरुप निश्चित गरेर तोक्न सकिरहेको छैन। परीक्षा स्थगितको सूचना प्रत्येक हप्ता गर्ने तर निश्चित मिति नतोक्ने प्रस्थितिले हजारौं विद्यार्थीहरु संकटको घेरामा परेका छन।
मध्यपश्चिम विश्वविद्यालयमा अध्यन गर्ने विभिन्न संकायका विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुले प्रश्न सोधे जस्तै हाम्रो परीक्षा कहिले हुन्छ? भनेर सोधिरहेका हुन्छन्। संयुक्त विद्यार्थी आन्दोलनकर्मिले प्रशासनिक भवनदेखि अध्यन भवनमा तालबन्दी गरेका छन्।
पहिलोपटक परीक्षा तालिका तोक्न साथ केन्द्रीय क्याम्पसमा पढ्ने विद्यार्थीहरु सुर्खेत विरेन्द्रनगर झरेता पनि उक्त परीक्षा स्थगित हुँदा दुई महिना यता परीक्षा कुरेर बसिरहेका छन्। परीक्षा दिन पाएका छैनन्। विद्यार्थीहरुको निम्ति क्याम्पसलाई तिर्ने शुल्कभन्दा बढी महंगी परीक्षा कहिले होला भनेर कुरेका दिन भैसकेका छन्।
कोही घरतिर फर्कने, बजार बस्न नसक्ने परिस्थितिको जानकारी गराउँछन्। स्वयं मैले मध्यपश्चिम विश्वविद्यालयको बिएएलएलबीको पुन: प्रवेश परीक्षा कहिले हुन्छ? भनेर क्याम्पस र विश्वविद्यालयलाई प्रश्न गरिरहेको छु तर कुनै जवाफ पाउन सकिरहेको छैन।
आज मध्यपश्चिम विश्वविद्यालय 'स्कुल अफ ल' ले बिएएलएलबी दोस्रो सेमेस्टारको फाइनल परीक्षा लिनुपर्नेमा अहिलेसम्म पहिलो प्रवेश परीक्षाको नतिजा रद्द गरेसँगै ६ पटक तोकिएको पुन:प्रवेश परीक्षा विभिन्न कारण जनाउँदै लिन सकिरहेको छैन। आज परीक्षा दिने थुप्रै विद्यार्थीहरु आफ्नो भविष्य कुन अवस्थामा पुग्ने हो भन्नेमा अनविग्य छन्।
विद्यार्थीहरु मानसिक तनावमा परेको दुखेसो व्यक्त गर्छन्। यो दलदलबाट विद्यार्थीहरुलाई बचाउनु सबैको कर्तव्य हो। सम्पूर्ण विद्यार्थीहरु परीक्षा दिन तयार छन् तर परीक्षा लिने निकाय परीक्षा लिन तयार छैनन्।
सरकार र राष्ट्रिय परीक्षा बोर्डले बिनाअध्ययन निश्चित मिति तोकिएको परीक्षा रोक्दा विद्यार्थीहरुको भविष्य पछाडि धकेलिएको छ। विद्यार्थीहरुमा पर्न गएको मानसिक, शैक्षिक, सामाजिक, आर्थिक समस्याको प्रवाह सरकारवाला कसैमा परेको छैन। न त आज सरकार जिम्मेवार बनेको छ न त परीक्षा बोर्ड।
झन् सरकारमा शिक्षा मन्त्री नहुँदा निकास निक्लिनमा असहज भएको छ। लोकसेवाका परीक्षार्थीहरुलले परीक्षा दिँदा कोरोना नसर्ने? त्रिविले परीक्षा लिँदा कोरोना नसर्ने? बजार, बार, रेष्टुरेन्ट, होटल र सार्वजनिक ठाउँमा हुल हुँदा कोरोना नसर्ने? विभिन्न ठाउँमा सभा, कार्यक्रम हुँदा कोराना नसर्ने तर कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड सहित लिँदा कोरोना संक्रमण हुने बुद्धिजिविहरुको कस्तो विश्लेषण हो? भनेर प्रश्न सर्वत्र उठिरहेको छ।
त्यसैले परीक्षा जस्तो कुरामा गम्भीर बन्नुपर्छ। अधिकांश औसत २० वर्षभन्दा कम उमेरका विद्यार्थीहरु कक्षा १२ को परीक्षामा सामेल हुँदा उनीहरुको परीक्षा भौतिक नभएर वैकल्पिक तवरले संचालन गर्नु उपयुक्त हुन्छ। किनकि सबै खोप १८ तथा २० वर्ष मुनिलाई लगाउनलाई अनुकूल पनि छैनन्।
खोप लगाउन योग्य सबै विद्यार्थीहरुलाई तत्काल खोप दिनुपर्छ। हरेक विश्वविद्यालयका विद्यार्थीहरुलाई सरकारले परिचयपत्र अथवा प्रवेश पत्रको आधारमा खोप दिने निर्णय गरेको छ। जतिसक्दो सबैलाई खोप दिएर स्वास्थ्य मापदण्ड सहित भौतिक रूपमा परीक्षा लिनुपर्ने वातावरण तत्काल कायम गर्नुपर्छ।
भौतिक तवरले परीक्षा लिने वातावरण नभए व्यवस्थित रूपमा अनलाइन परीक्षा लिनुपर्छ। तर जतिसक्दो छिटो परीक्षाको तालिका सार्वजनिक गरेर विद्यार्थीहरुलाई तनावग्रस्त अवस्थाबाट निकास दिनु अत्यन्तै जरुरी छ।
हिजो ज-जसले 'क्यानसिल एनइबि एक्ज्याम' अभियान चलाउन सफल भए। आज उनीहरु सबैले सरकारलाई अब एउटा विकल्प सहित कक्षा १२ को परीक्षा संचालनलाई आ-आफनो तवरले दबाब दिनुपर्छ।
राष्ट्रिय परीक्षा बोर्ड तथा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको स्वरुप र तालिका सार्वजनिक गर्न गरेको ढिला सुस्तिका कारण हजारौं, लाखौं विद्यार्थीहरु फ्रस्टेड भएका छन्। पछिल्लो समय मानसिक रोगिहरुको उत्पादनलाई परीक्षा स्थगितका गतिविधिले मद्दत पुर्याएको छ। यस्तो दुर्घटना हुन दिनु हुँदैन।
अभिभावकहरुले गरेको लगानी र विद्यार्थीहरुको मेहनत अनि समयलाई खेर पनि जान दिनु हुँदैन। परीक्षा लिने निकायले विद्यार्थीहरुलाई आफ्नो भविष्यप्रति विश्वास दिलाउन सक्नुपर्छ। त्यसको निम्ति विषम प्रस्थिति भएतापनि विद्यालय तथा विश्वविद्यालयको शैक्षिक वर्ष खेर जानलाई रोक्न सक्नुपर्छ। सच्चा र पक्का निर्णय समयमै लिनुपर्छ।
आजसम्म हरेक व्यक्ति तथा निकायलाई हाम्रो परीक्षा कहिले? भनेर सोध्ने म मात्रै नभएर नेपालका हजारौं, लाखौं विद्यार्थीहरु छन्। आजसम्म जुन प्रश्न मलाई बढी सोधियो र मैलेपनि धेरैलाई धेरै पटक सोधेँ त्यहीँ प्रश्न आज नेपाल सरकार समक्ष लाखौं विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै यो लेख मार्फत राख्दै छु।
राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को परीक्षा कहिले हुन्छ? भनेर प्रश्न गर्दछु। हरेक विश्वविद्यालय प्रशासन र परीक्षा नियन्त्रण कार्यालयलाई विश्वविद्यालयका विद्यार्थीहरुको परीक्षा कहिले हुन्छ? त्यस्तै मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल को २०७७ सालको पुनः प्रवेश परीक्षा कहिले हुन्छ? भनेर प्रश्न गर्दछु।
यसको जवाफ मैले दिने जवाफ 'विस्तारै होला नि' जस्तै जवाफको निम्ति मात्रै जवाफ विद्यार्थीहरुले पाउनु हुँदैन। किनकि यो प्रश्नको जवाफ यी सम्बन्धित सम्पूर्ण निकायसँग छ। जवाफ दिन ढिलाइ गर्नु हुँदैन। हाम्रो परीक्षा कहिले? भनेर सोध्ने देशभरका सम्पूर्ण विद्यार्थीहरुलाई छिटै परीक्षाको स्वरुप र तालिका सार्वजनिक गरेर जवाफ दिनु नै पर्छ।