हो, हाम्रो बा पनि रुनुहुन्छ। तर आमा जसरी पिच्च पिच्च होइन। मैले बा रोएको देखेको छु, तर आमा जसरी सबको सामुन्ने होइन।
बा लाहुर हुनुहुन्थ्यो। मतलब हाम्रो तिर धन कमाउन भारत गएर आउने प्रत्येकलाई लाहुरे भन्ने गरिन्थ्यो। नेपालभरि यही चलन होला। लाहुरेका प्रकार थिएँ। पल्टनियाँलाई असली लाहुरे मानिन्थ्यो। उनीहरुको इज्जत नै बेग्लै।
अरुलाई कमाइअनुसार इज्जत दिइन्थ्यो। हाम्रो बा बैँकमा जागिरे भएकोले झन्डै पल्टिनियाँ जत्तिकै इज्जत थियो। बैँक भन्ने बित्तिकै कमाइ ठुलै होला भन्ठान्थे जो-कोही।
बा कहिले वर्षदिनमा, कहिले दुई वर्षमा त कहिले अझ बढी समयमा घर आउनु हुन्थ्यो। दशैं तिहार आउनु पाइन्थ्यो, बा जहिले आउँदा पनि हाम्रो लागि ठूलो चाड आए जस्तै लाग्थ्यो। हजुरआमा भने बा घर आउँदा पनि पिच्च रुनुहुन्थ्यो, बा जाँदा पनि।
परदेश जाँदा रोएको ठिकै होला। घर आउँदा रोएको देखेर अचम्म लाग्थ्यो। अलिअलि रिस उठ्थ्यो पनि। हाम्रो खुसी बिगारी दिएकोमा। तिन्ताका मेरो र दिदीहरुको दिमाखमा खुसीको आँसु पनि हुन्छ भनेर घुसिसकेको थिएन।
६१ सालको मंसिरको कुरा। हजुरआमा खुब बिरामी हुनु भयो। घरमा आमा बाहेक पाको मान्छे थिएन। आमा महिना दिन जस्तो हस्पिटल बस्दा हामी निकै आत्तिएका थियौँ। माघमा बा घर आउँदा हामीलाई पहिलो चोटि बाको आगमनमा चाड आएजस्तो भएन। बरु एउटा अभिभावकको तिक्तता मेटिए झैँ भयो। बा जम्मा एक महिनाको छुट्टीमा आउनु भएको रहेछ। जाने दिन आइहाल्यो।
'बाबु, अब नजाँदा हुँदैन?' विस्तारै ठिक हुँदै गएकी हजुरआमाले सासले बोल्नु भो। अनि उसैगरी रुनथाल्नु भयो। दिदीहरुको आँखा पनि टिलपिलाउन थाले। म रुन सकिनँ, मतलब आँसु आएको थिएन। तर बा जान लागेकोमा खुसी कतैबाट थिइनँ। सबैको चाहा बा नगैदिए हुन्थ्यो भन्ने थियो।
अझ हजुरआमा त बा भनेसी हुरुक्कै गर्नु हुन्थ्यो। दुई जना फुपूदिदीभन्दा बढी माया बा माथि थियो हजुरआमाको। हजुरबा बित्दा बा सानै हुनुन्थ्यो रे। बल्लतल्ल गरेर हुर्काएको एक्लो छोरो पनि सानै उमेरदेखि परदेशी हुँदा हजुरआमाले कहिल्यै छोरासँग धित मरुन्जेल बस्न पाउनु भएन। अब कम्तीमा बुढेसकालमा छोरो साथमै भैदियोस्। मरिहाले पनि उस्कै काखमा मर्न पाम भन्ने चाहना हजुरआमाको हुँदो हो।
आमा र बाबीच केही सल्लाह पक्कै भको थियो होला। बाले जागिरै छोडेर घर बस्नु भएन। बा जाने दिन आमाको आँखा पनि भरियो। बा भने सबैको आँसुको बेवास्ता गरेर परदेश जानु भयो। बा गैसकेको धेरै दिनसम्म आमाको मुहार मलिन देखियो। उहाँ खुलेर हाँस्नु सक्नु भएन।
आमा अक्सर घरमा, आफन्तकोमा, माइतीघरमा कोही दुःख बिमार भएको खबर सुन्यो कि पिच्च रुनुहुन्थ्यो। उहाँलाई रुन जत्तिकै सजिलो अर्को थिएन होला जस्तो लाग्थ्यो मलाई।
६४ सालको कुरा। हजुरआमाको स्वास्थ्य कहिले बिस कहिले उन्नाइस भैरह्यो। पूर्णरुपमा सुधार आएको थिएन। उपचारको लागि कहिले हस्पिटल कहिले घर भैराखेको थियो। औषधिको भर थियो। आधा सेवा अवधि पुगेकाले बा त्यही साल पेन्सन प्राप्त गरेर घर आउनु भो। पुसको महिना थियो, हजुरआमा बोल्नै नसक्ने, खानै नखाने हुनु भो। वैतरणी गरियो। त्यही बेलुका हजुरआमाले सास छोड्नु भो।
रातको डरलाग्दो सन्नाटा चिर्दै आमा र फुपू दिदीहरु चिहिरिएर रुन थाल्नु भयो। मेरा हातगोडा थरथर काँपेका थिए। बाको काखमा हजुरआमाको शव थियो। बा मौन हुनुन्थ्यो। छिमेकी ठूलोबा, गाउँले दाइहरु साँझदेखि कुरिबसेका थिएँ। उनीहरु सबैलाई सम्झाइरहेका थिए।
एकैछिनमा बा ट्वाइलेटको बहानामा बाहिर निस्कनु भो। मलाई बाको पछिपछि जान ठूलोबाले अह्राउनु भो। मैले बाको पिछा गरे। बा घरबाट पर गोठनेर पुगेर घुक्क घुक्क गरेर रोएको मेसो पाएँ। म बा नजिक जान सकिनँ। अघिदेखि मुटु काँपिरहेको थियो। बाले मलाई देख्नु भएन। म परै बसेर बा रोएको स्पष्ट सुनेँ।
निकैबेर भएछ क्यारे ठूलोबाले मलाई आवाज दिनु भो।
'हजुर' म बोल्दा बित्तिकै बा झस्किनु भयो। मलाई नजिकै देखेर ख्याक्क खुक्क खोकेको बाहना गर्न थाल्नु भयो। विचरा बा धित मरुन्जेल रुन पनि पाउनु भएन।
'कता आको?' बाले भन्नु भयो।
'हजुरलाई लिन।'
'कटक्क पेट खाटेर... अलि बेर लाग्यो' बाले कति सजिलै ढाँट्दिनु भो।
बिहान सबेरै एकोहोरो शंख बज्न थाले। हजुरआमा बित्दा उतिसाह्रो अशान्त मन थिएन, जति एकोहोरो शंख बज्दा हुने रैछ। जब शव उठाउने बेला भयो आमा, फुपूदिदी लगायत रुवाबासी गर्न थाले। सबैजसो छिमेकी महिलाको आँखामा आँसु टिलपिलाएको देखेको थिएँ। दिदीहरु पनि रुन थाले। मेरो मन पनि बडारिए झैं कस्तो कस्तो सासै फेर्न गाह्रो भएजस्तो भो तर आँसु आएन। अरु पुरुष कोही रोएको देखिनँ। बा पनि रुनुभएको थिएन।
मलाई त्यतिखेर लागेको थियो, 'महिलाहरुको आँखामा आँसु अलि बढी हुने रैछ क्यारे। तब न धेरै रुन्छन्। पुरुषको आँसु बचपनमै सकिँदो रहेछ, तब न मन दुख्दा पनि आँसु देखिँदैन।'
बा किन सबको सामु नरुनु भएको? फुपू दिदीहरु जस्तै बा पनि हजुरआमाको सन्तान हो। फुपूहरु भक्कानिएर झम्टिझम्टी हजुरआमाको शव अगाडि रुदाँ बाको आँखा पुरै सुख्खा थियो। बा नरोएकोमा कसैले किन नरोएको पनि भनेनन्। बरु आमाहरु नरोएको भए सबै अचम्मित हुँन्थे।
त्यो घटनाले मैले बाबाट सिकेँ, छोरो मान्छे रुने कसरी? अनि दिदीहरुले आमा रोएको देखेर सिके होलान्। तब न उनीहरु त्यसरी नै रोए। म बा जसरी रोइनँ। संस्कार यसरी नै बन्ने रहेछ क्यारे। सबै कुरा सिकाउन पर्दो रहेनछ। समाज एउटा ठूलो पाठशाला रहेछ। सामाजिक कार्य प्रकृयाले मान्छे शिक्षित बन्दै जाने रहेछ। मैले मेरो बाबाट सिके। बाले आफ्नै बाबाट। थिति यसरी बस्दो रैछ। त्यसैलाई चलन भनिँदो रहेछ।
तर समयसँगै बाबाट जे सिकेको थिएँ त्यो ममा लागु भएन। मर्द भएर रुनु हुँदैन पो भनिएको हो। मर्दलाई कहिल्यै रुनु पर्दैन भनिएको हैन रैछ। एकदिन घरमा परिवारसँगै टिभीमा डकुमेन्ट्री हेर्दाहेर्दै आँखाभरि आँसु भरिए। सुरुमा आँसु देखाउन लाज लाग्यो। मतलब ममा पनि त्यही मानसिकता हाबी थियो। 'कमजोर मानिस मात्र रुन्छन्। मर्द भनेको मजबुत हुनुपर्छ। रुनु हुँदैन।'
म आफूलाई मर्द देखाउन आँसु लुकाउन चाहन्थेँ। कमजोर देखिन चाहँदिनथेँ। तर आमाले देखिहाल्नु भो। 'ए, यो केटो त रोएछ!' आमाले यसो भन्दा मैले रोएको छैन भनेर नाटक गर्न त खोजेँ, तर टिलपिलाएका आँसु आँखैमा सुकिदिएनन्।
सुरुमा रैछ लाज लाग्ने। बानी परेपछि केही न केही। आमाले मलाई 'पिच्चे' भन्न थालिसक्नु भएको थियो। बा केही बोल्नु हुन्नथ्यो। कता-कता बालाई पनि लागेको हुँदो हो 'रुन त म पनि कति रोएँ कति, सबैको सामु नरोएको मात्र न हो। परदेशमा घरपरिवार सम्झेर म रोएको कसले देख्यो र? जति रुनु त रो केटा, तेरो बा पनि रुन्छ।' बाले मौन समर्थन गरे जस्तो लाग्थ्यो।
आँखामा आँसु आउने धेरै कारण हुने रैछन्। यसरी स्वभाविक रुपमा आउने आँसु लुकाएर मर्द भएर चिनिनु साह्रै कठिन कार्य लाग्यो मलाई। म त फिल्म हेर्दाहेर्दै रोएँ। किताब पढ्दापढ्दै रोएँ। कथा सुन्दासुन्दै रोएँ। गीत सुनेर रोएँ।
कहिले सफलतामा रोएँ, कहिले अफलतामा रोएँ। कहिले एक्लै रोएँ। कहिले परिवारसँग रोएँ। कहिले साथीभाइसँग रोएँ। कहिले प्रेमिकाको सामुन्ने रोएँ। थाहा छैन रोएर म नामर्द भएँ कि मर्द नै रहेँ। बस् रोएँ।
एकदिन ठूलीदिदीको बिहे भयो। यसपटक बा रुन कत्ति लाज मान्नु भएन। अथवा वर्षौंदेखि जमेर बसेका आँसु पग्लिएर बाहिर निस्केका हुँदा हुन्। दिदीको कन्यादान दिँदै गर्दा बाको आँखामा आँसु देखिए। आँखा मेरा पनि रसाएका थिएँ, तर म त पिच्चे भैसकेको थिएँ।
बाको आँखामा आँसु देख्दा लाग्यो, कतै मैले नै बालाई रुन प्रोत्साहन त गरिनँ? बाले मबाट त रुन सिक्नु भएन? होइन होइन, रुन त बालाई पहिल्यैदेखि आउथ्यो अहिले सार्वजनिक भएको मात्र हो। जब डोली दिएर दिदीको बिदाइ गर्दै गर्दा बाका आँखाबाट आँसुको मूल ह्वाल्लै भयो। फेरि पनि बा सबको सामु रुने हिम्मत गर्नु भएन। भित्र कोठामा गएर रुनु भो।
घरकी जेठी छोरी। जुन छोरी जन्मेर बाले बा र आमाले आमाको उपाधी पाएका थिए। एक हिसाबले दिदीसँग जोडिएका भावना बा र आमाका उस्ता उस्तै हुँदा हुन्। जसरी आमाको मन निचोरीयो, उसैगरी बाको मन भक्कानिएको होला। र पनि आमाका आँसु सबैका लागि स्वभाविक थिएँ। बाका आँसु असामान्य।
अझ यसरी भनुँ, आमाका आँसु मूल्यहीन, बाका आँसु अमूल्य। यदि त्यसो थिएन भने, आमालाई नरोऊ भन्ने भन्दा बाको पछिपछि कोठामा गएर सम्झाउनेको भिड थियो। आमाको आँसुभन्दा बाका आँसुले सबैको ध्यान खिचेको थियो।
मामा, माइजू, ठूलीमा, सानीमा बालाई नरुन सम्झाइरहेका थिए। 'स्यानो मन नगर्नू बाबु' ठूलीमा भन्दै हुनुन्थ्यो। 'तपाई नै यस्तो गरेसी हाम्रो हालत के होला भिनाजू?' मामा भन्दै हुनुन्थ्यो। अन्तिममा आमा आफै भित्र पसेर बालाई सम्झाउनु भो। बा विस्तारै सम्हालिनु भो।
'म घरको हर्ताकर्ता भएर ज्यान छोडेसी अरुको के होला?' अक्सर पुरुषहरु यही डरले रुन सक्दैनन्। यो परिस्थिति सधैँ पुरुषलाई मात्र आउँछ भन्ने पनि होइन। तुलनात्मक रुपले महिलाभन्दा पुरुष यस्तो परिस्थितिको शिकार हुन्छन्।
सदियौँदेखि पुरुष घरको व्यवहारकर्ता हुँदै आएकोले पनि ऊ मजबुत हुनुपर्छ वा बलियो देखिनु पर्छ भन्ने मान्यता होला। तर सबको सामु रुनु कमजोरीको प्रतिक मानिनु, नामर्दको संज्ञा दिनु पुरुष माथि भएको अन्याय थियो।
कहिलेकाही आमा, छोरी, भाउजू, बुहारीमा पनि आफू दह्रो भएर परिवारलाई सम्हाल्ने परिस्थिति धेरै आउँछन्। महिला एक्लैले त्यो भूमिका निभाएका उदाहरण प्रशस्त छन्। उनीहरु पनि आँसु लुकाएर सबको अगाडि मजबुत भएर उभिन सक्छन्।
घरको मुली वा व्यावहारकर्ता जोकोही सकभर आँसु देखाएर आफू कमजोर भएको पुष्टि गर्न चाहँदैनन्। फेरि पनि महिला रुँदा सामान्य अनि पुरुष रुँदा असामान्य लाग्ने सबैको दृष्टिकोण फेरिनु आवश्यक छ।
मानिस त्यसै त पक्कै रुँदैन। कुनै न कुनै कारण हुनसक्छ। जीवनमा पाउनु र गुमाउनु बाहेक यस्ता धेरै कारण हुन्छन् जसले मानिसका आँखामा आँसु टल्किछ। जब रुनुलाई कमजोरीको प्रतिक मानिँदैन। रुनुलाई सामान्य प्रकृया मानिन्छ। मर्द रुनु हुँदैन भन्ने मान्यता हट्छ। तब सबैका आँसु सामान्य लाग्न थाल्नेछन्। स्वाभाविक लाग्छन्। कोही लुकेर रुनु पर्ने छैन।
समय फेरिँदै छ। विस्तारै पुरुषहरु सबले देख्नेगरी रुन थालेका छन्। यस्तो लाग्दैछ पुरुषहरु रुन बल्ल सिक्दैछन्। म त भन्छु, पुरुष रुन जानून्। सबको सामु खुलेर रोऊन्। रुँदैमा कोही नामर्द हुँदैन। अनि नरुँदैमा कोही पुरुष हुँदैन। जसरी म रुन्छु, मेरो बा रुन थाल्नु भयो।