तिज भन्नेबित्तिकै अब त्यो चाड रहेन जसले धार्मिक मूल्य-मान्यतालाई मात्र अघि बढाउँछ। समयक्रमसँगै यसमा आएका बद्लाबहरुलाई अरु जस्तै म पनि सामान्य प्रक्रियाको रुपमा मान्छु।
तपाईंहरुलाई जस्तै मलाई पनि लाग्छ हरेक चिज परिवर्तनशील छ। तर आज म तिजभन्दा पनि तिजका गीतबारे सानो अनुभवजन्य र केही अनुसन्धानजन्य टिप्पणी प्रस्तुत गर्दैछु, आशा छ तपाईंहरुलाई मन पर्नेछ।
हुन त तपाईंहरुले सोच्नुहोला तिजको बारेमा बोल्नु कि त अति नै धार्मिक हुनु हो वा अति नै क्रान्तिकारी हुनु हो। तिज कुरा गर्दा आज पनि हामी विशेषतः दुई ध्रुवमा बाडिन्छौँ।
कसैलाई लाग्छ तिजले नेपाली समाजमा विद्यमान रहेको पृत्तिसत्तालाई प्रसय दिन्छ। त्यो बाहेक अरुलाई लाग्छ तिजको आधुनिकीकरणले हाम्रो मौलिकतालाई मार्दैछ। मलाई लाग्छ मेरो स्थान यी दुवै धारणहरुभन्दा पर हुनेछ। र आजको विषय तिजभन्दा पनि तिज गीतबारे बढी केन्द्रित रहनेछ।
तिज गीतको चर्चा प्रत्येक वर्ष जेठ असारबाट सुरु हुन्छ। तर चर्चाको मूल विषय भिडिओ र तिजमा आएको आधुनिकताभन्दा पर कहिल्यै पुग्दैन। आधुनिकताको कुरा गर्दै जाँदा हामी त्यो विगतलाई बिर्सन्छौँ जस बेगर विषयको समुच्च दृष्टिकोण बनाउन कठिन छ।
तिजसँगै जोडिएको गीत, संगीत र कलाको कुरा गर्दा हामीले हाम्रो विगतलाई पनि सम्झन आवश्यक छ। तिजको त्यो मौलिक पाटो जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार र विर्मश हुनुपर्ने हो, त्यो नभएको होकि भन्ने मलाई लाग्छ।
इतिहासविद वाल्टर बेन्जामिन भन्छन्, 'इतिहास एउटा सरल रेखा होइन, यो त चक्रिय प्रणालीजस्तै हो। तपाईंको वर्तमान तपाईंको इतिहासभन्दा कति भिन्न छ हामी भन्न सक्दैनौँ।'
उनले भनेझैँ इतिहासको बहुआयामिकता, अभिछिन्नता, चक्रियता र वृत्तात्मक विशेषतालाई एदाकदा हामीले बिर्सन खोज्यौँ कि भन्ने मलाई लाग्छ। तिजको इतिहास धार्मिक इतिहास मात्र होइन योसँगै जोडिएको कला, साहित्य र संगीतको इतिहास पनि हो। र कलासँगै निर्माण हुने ज्ञान र विचारको इतिहास पनि हो।
तिज बारे हुने छलफलमा त्यसमा आएको आधुनिकताको बाहुल्यता सधैँ बढिरह्यो। फलस्वरुपः हामीले बिर्सियौँ हाम्रा दिदी-बहिनी, आमाहरुको कलात्मकताको अर्को पाटो जसमा समय चेत, विद्रोह र महिला मुक्तिको अर्को अध्याय भेटिन्छ।
थाहा छैन ओरल ट्रेडिसनलाई ठेट नेपालीमा के भन्छन्। म यसलाई मौखिक ज्ञान र इतिहास भनेर प्रयोग गर्दैछु। ज्ञान र इतिहासको कुरा गर्दा आज पनि हामी अलि बढी नै किताबकेन्द्रित हुने गर्छौं। हामीसँगै बाँचेको कला, संस्कृति र चालचलन पनि ज्ञान नै हो भनेर न कसैले हामीलाई बुझायो न हामीले बुझ्ने कोसिस नै गर्यौं। आज आएर कहिलेकाही आफ्नै बहुलठ्क्कपन देख्दा हाँसो पनि उठ्छ।
तिजको लिखित इतिहास कस्तो छ भन्ने बारे मसँग त्यस्तो प्राज्ञिक ज्ञान त छैन तर एउटा पाठकको हिसाबमा बर्सेनि कस्ता किसिमका छलफल हुन्छन् भन्ने बारे सामान्य रेखांकन भने अवश्य छ। पत्रपत्रिकामा आउने विषयलाई गहिरेर हेर्दा यस विषयमा मुख्यतः दुई किसिमका विचारहरु आएको पाइन्छ- पहिलो जसले तिज बढी नै आधुनिक भएकोमा दुखेसो गर्छ र अर्को जसले तिजलाई पृतिसतात्मक संरचनाको उपज ठानेर यसलाई प्रतिप्रश्न गर्छ।
तर दुवै प्रकारको छलफलमा कहिल्यै नपर्ने विषय तिजको गीतको त्यो मौखिक इतिहास जसले हाम्रा आमा, दिदी-बहिनीलाई साँच्चै भन्दा घर परिवार समग्र संरचनासँग प्रश्न गर्न सिकायो। आज म तिनै आमा, दिदी, बहिनीले गाएका तर वैचारिक छलफलमा बिरलै परेका कहिँकतै रेकर्ड र आर्काइभ नभएका केही प्रतिनिधि गीतबारे बोल्न जाँदैछु। मलाई गीत भनेर सहयोग गरिदिने सबैप्रति साथै यी गीतहरुका ज्ञात अज्ञात सबै सर्जकहरुप्रति म कृतज्ञ छु।
तिज यस्तो चाड हो जसबाट गीत हटाइदिने हो भने यसको महत्व पनि फिका हुन पुग्छ। यसको इतिहास गीत संगीतको इतिहास पनि हो। यसका सर्जकहरु कुरा गर्दा मूलधारको संगीतका जस्तो पुरुषको बाहुल्यता भने भेटिँदैन। त्यसैले मलाई लाग्छ तिजका गीत भनेका महिलाका आवाज हुन् जसले कहिलेकाहीँ हाम्रो पृतिसत्तात्मक मूलधारलाई ठूलै झड्का पनि दिने गर्छन्।
आज पनि 'बिहे' भनेको आफ्ने खुसी आफ्ने निर्णयमा हुनुपर्छ भन्न धैरै छोरीहरुलाई गाह्रो छ। अझै पनि एक हिसाबले भन्दा त्यो भन्नु आफैँमा विद्रोह जस्तो बन्न पुग्छ। तल प्रस्तुत गरिएको तिज गीतमा भने सजिलै यस किसिमको भावना लिपिवद्ध गरेको भेटिन्छ-
छोराछोरी बिहा गर्न छन् भनेर बाबाले
सालको पात टिपेर नलेऊ आमाले
सालको पात टिपेर नलाऊ दुना टपरी
हामी बिहे गर्दैनौँ मन नपरी
बिहे गर्ने बेला भसी सक्छौँ हामी बोल्न
पर्दैन बाबाले आँगन पोल्न।
(०४६ सालको जनआन्दोलन र त्यसले ल्याएको परिवर्तन पश्चात नेपालको गण्डक क्षेत्रमा गाइएको तिज गीत।)
यस गीतले छयालिसको बहुदलपछि नेपाली समाजको बद्लिँदो, अलिअलि सुल्झँदो परिवर्तनलाई जनाउँछ। आज आएर तिजलाई अप्रगतिशिल नजरले वा आधुनिकताको नाममा आइफोन र पानी छम्कने कुरा मात्र हेर्नेहरुको लागि यसले ठूलो पाठ पनि सिकाउँछ। एउटा छोरीले मेरो बिहे मेरो इच्छाले हुनुपर्छ भन्नु तत्कालीन समाजको लागि सजिलै पचाउने विषय भने पक्कै थिएन।
यसैगरी त्यही समयक्रममा त्यही भेगका अरु गीतहरु अध्ययन गर्ने हो भने पनि ति गीतहरुमा राजनैतिक चेत र महिला मुक्ति र विद्रोहका भावनाहरु प्रशस्तै भेटिन्छन्। तल प्रस्तुत गरिएको गीतमा पनि महिला हक हित र विद्रोहको कुरा प्रशस्तै भेटिन्छन्ः
बाबाको दैलामुनि ठूलो रुख सिमलु
देशको थिति हेर्दा खेरी मनै बिमलु
जति-जति नारी उठे नारी हक छ भनि
त्यति त्यति नारीलाई शोषण गरनी
नारीलाई शोषण गर्ने यीनै पुरुष जाती हुन्
स्वतन्त्र छन् समान छन् भन्ने यीनै हुन्
गहना र कपडाले नारीलाई सिँगारे
आनन्द र विलासको साधन बनाए
किरिम पनि चाहिँदैन
पाउडर पनि चाहिँदैन
नारीलाई थिचोमिचो पार्न पाइँदैन
सृजनाको स्रोत हो नारी सम्झ सबैले
सृजनालाई भुलाउँछ नारी जातीले
अफ्रिका र युरोपमा नारी हक कस्तो छ
नेपालको नारी हक हेर यस्तो छ।
(०४६ को जनआन्दोलनपछि शेषकान्त खनालले लेख्नु भएको र तत्कालीन लमजुङ भोटेओडारका स्थानीय महिलाहरुले गाएको गीत।)
यस गीतमा महिला हक अधिकारको कुरा यसरी केलाइएको छ कि जसले ०४६ पछिको परिवर्तलाई देखाउँछ। विश्व परिवेशसँग नेपाली महिलाको स्थितिलाई दाँजेर हेर्नु, क्रिम पाउडरलाई नारीवादी चिन्तनले केल्याउन सफल हुनुले उक्त समयको दूरगामितालाई पक्कै जनाउँछ।
अब ०४६ सालभन्दा अलि पर पुग्दैछु। सायद यो तिसको दशकको गीत हुनुपर्छ मेरो ठूलीआमाको ठमम्याइमा। उहाँकै भाषामा भन्दा यो गीत श्रीमानले श्रीमतीलाई काली छौ शिरफूल सुहाउँदैन भनेपछि उनले दिएको ओठे जवाफ हो।
रम र झम तिजै आयो भन्छन्
कमाइदेऊ राजै शिरफूल
तिमी त नारी कालीमा छौ र सुहाउँदैन शिरफूल
वेदका अक्षर काला हुन्छन् राजै
नहेर राजै पुस्तक
त्यतिका वचन जानी नलाऊ नारी
दोसरी बिहे घर्कौला
रुपकी नि पाउला
सीपकी नि पाउला
हामीजस्ती लक्षिणकी काँ पाउला?
यस गीत श्रीमतीलाई श्रीमानले काली छौ भनेपछि उनी भित्र उर्लेको विद्रोही चेत हो। यसले तत्कालीन समाजमा रहेको सौन्दर्य चेतलाई पनि प्रस्ट देखाउँछ।
तिजको गीतले बोकेको इतिहास धार्मिक इतिहास मात्र होइन, यो त परिवर्तन र विद्रोहको इतिहास पनि हो। र यी गीतहरुले सजिलै तत्कालीन समय र त्यस समयको समय चेतलाई देखाउँछन्।
छोरीले अंश पाउँछिन् भन्ने कुरा अब नौलो रहेन। तर ३० को दशकको यो गीत हेर्न हो भने छोरीले अंश पनि पाउन सक्छिन् भन्ने कुराको गुन्जायस पनि रहेनछ भन्ने देखाउँछः
लिपिमा लापी बाबाको आँगनी
छिडकरी मारी खेलौला
छिडकरी मारी खेलनी चेलीको
शिरैमा छैन शिरफूल
सादा शिरफूल म लाउने छैन
हिरामोति जडाइदेऊ
छोरो भए बाबा अंश चिरी खाँदा हुन्
छोरी त बाबा हेलाँ भो।
यी गीतहरुलाई केलाएर हेर्दा अहिलेको चलनचल्तीको भाषामा भन्दा तिज रिग्रेशिव पर्व हो भन्ने अवस्था भने छैन, भलै यसमा सुर्धानु पर्ने कुरा नभएका भने होइनन्। अहिले आएर हामी आफैँले आफैँलाई प्रश्न गर्न आवश्यक पो छ कि भन्ने लाग्छ।
सायद तिज नभएको भए उबेला हाम्रा आमा-हजुरआमाहरुका आवाज के बनेर बाहिर निस्कन्थे? आज आएर हामी महिला मुक्तिका कुरा गर्छौं तर त्यो इतिहास बिर्सन्छौँ जसले हामीलाई बोल्न सिकायो।
तिस र चालिसको दशकमा तिजका गीतहरुलाई सँगै राख्दा यी गीतहरुले उठाउने विषयमा केही भिन्नता महशुश हुन्छ। तिसको दशकमा शिरफूल कमाइदेऊ, राम्रो हुने गाजलुले हो भन्ने मनसायका गीत बढी भेटिन्थे भने चालिसको दशकका गीत हेर्दा समान अधिकार र शिक्षाका कुरा बढी भेटिन्छन्।
यी यस्तै गीतमार्फत समानता र न्यायको कुरा गर्ने ती तमाम सर्जकहरुलाई म धन्यवाद नभनी बस्न सक्दिनँ। माथि प्रस्तुत यी प्रतिनिधि गीतहरुले नेपालको गण्डक क्षेत्रको मात्र प्रतिनिधित्व गर्ने भएकाले मेरो सीमिततालाई तपाईंहरुले बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ।
आशा छ अब आउँदै गरेको तिजमा बहसका विषय सधैँ हुने आधुनिकताभन्दा फराकिलो हुनेछ। र, हामीले आधुनिकतालाई उही पुराने चस्माले मात्र नहेरी केही भिन्न लेन्सले पनि हेर्न थाल्नेछौँ। समयसँगै हामीलाई हाम्रा गीत संगीत र ज्ञानको लिपिवद्धता आवश्यक छ भन्ने पनि लाग्नेछ।