२०७७ फागुनमा चार सदस्यीय मामा भान्जा टोली प्रकृतिको आनन्द लिँदै पाथीभरा देवीको दर्शनार्थ पोखराबाट पूर्वतिर लागियो। सिक्किममा निकै विकास भएको सुनिएकोले परिस्थिति अनुकुल भए सिमापारी जाने ईच्छा थियो।
पाथीभरा देवीको दर्शनपछि ईलामबाट सम्धीज्यूको परिवारसहित ६ नाको टोली पशुपतिनगरतिर लागियो। सीमापारबाट भ्यानमा प्रकृतिको सौन्दर्य हेर्दै दार्जिलिङतिर अगाडि बढ्यौं।
बाटाघाटा, खेतबारी, बस्ती र त्यहाँका मानिस हेर्दा सबै नेपाल जस्तै लाग्यो। हामीलाई नेपालमै यात्रा गरे जस्तो लागिरहेको थियो। हुन पनि किन नहोस् आखिर २०० वर्ष अगाडि यो नेपालकै भुभाग थियो। ‘अहिले पनि कहींकहीं एउटै परिवारका केही सदस्य नेपालतिर छन् भने केही भारतमा। अहिले देश मात्रै फरक हो मन त एउटै छ,’ चालक भाइले हसाउँदै हामीलाई सुरक्षित दार्जिलिङ पुर्याए।
मेरो कल्पनामा ब्रिटीशले विकास गरेको दार्जिलिङ निकै स्वच्छ र ब्यवस्थित होला जस्तो लागेको थियो, तर शहर हेर्दा भारतका अन्य अब्यवस्थित शहरभन्दा खासै फरक लागेन। त्यसपछि हामी सिक्किमतिर अगाडि बढ्यौं।
जीपचालक इलामका रहेछन्। नेपालमा उनले बस चलाउने गर्दा रहेछन्। जनयुद्व चर्किएपछि ज्यान जोगाउन सिक्किम भासिएका रहेछन्।
ठाउँ जस्तै मान्छे पनि उस्तै रमाईला रहेछन्। उनकै जीपमा सिक्किम भ्रमण गरि नेपालको सिमानासम्म फर्कने सल्लाह भयो। बाटोमा पर्ने दार्जिलिङका बतासे डाँडा, घुम तथा आफूले जाने बुझेका अन्य ठाउँहरू देखाउँदै उनले यात्रालाई रमाईलो बनाउँदै लगे।
दार्जिलिङ वरिपरिका दृश्य निकै सुन्दर र रमणीय थिए। दार्जिलिङबाट झरेपछि टिष्ठा नदीको किनारै किनार सिक्किमको राङ्गपो गेट पुग्यौं। त्यहाँ पर्यटकले विशेष अनुमति लिनुपर्ने रहेछ। एउटी बहिनीले हामीलाई फारम भर्न सहयोग गरिन्। उनले फारम भरे बापत भारू दुई सय मागिन्। ‘धेरै भएन?’ भनि सोद्धा उनले हाँस्दै भनिन्, ‘दाई! हामी नेपाल जाँदा हामीलाई त्यहाँ भारतीय भनेर धेरै शुल्क लिने गरिन्छ। तर, यहाँ तपाईहरूलाई विदेशी सरह नगरि भारतीय सरहनै लिएकी छु।’
हुन पनि हो, नेपाल भारतबीचमा खुला सिमाना छ। दुई देशका नागरिक स्वतन्त्र रूपले आवतजावत गर्ने पाउँछन्। विभेद हुन नपर्ने हो, तर केलाएर हेर्दा एकले अर्कालाई धेरै विषयमा विभेद र असामान्य ब्यवहार गरेको पाईन्छ।
यद्यपी दुवै देशका लाचार नागरिक सबै सहँदै पर्यटन, ब्यापार तथा तीर्थयात्रा गर्न छाडेका छैनन्। उनीहरूको बीचमा पुस्तौंदेखि चलिआएको पौराणिक सम्बन्ध छ। यसलाई राजनीतिक वा ब्यवस्था परिवर्तनले तोड्न सक्दैन।
राङ्गपोबाट हामी सिक्किम प्रवेश गर्यौं। घना जंगल र पहाडको बाटोहुँदै यात्रारत हामीले बडा आनन्द र रमाईलो लिइरहेका थियौं। पहाडी बाटो, बन जंगल र पूर्वीनेपालका जस्तै चिटिक्क परेका घर हुँदारहेछन्। घरहरू सफा र आँगनमा तुलसी र फूलहरू नभएको घर बिरलै देखिन्थे।
सिक्किममा नेपाली, लेप्चा, तिब्बती, अंग्रेजी, हिन्दी र अन्य स्थानीय भाषाको चलन चल्ति भए पनि नेपाली भाषाको बढीनै चलन रहेछ। जताततै नेपाली भाषामा लेखेको देखिन्थ्यो। यति धेरै नेपाली भाषामा लेखेको नेपालमा पनि देखिएन्। नेपालमा अचेल धेरैजसो ठाउँमा नेपालीभन्दा अंग्रेजीमा लेख्ने चलन आएको छ। हामीहरुलाई नेपालमै भ्रमण गरिरहेको जस्तो भान भैरहेको थियो।
आजभन्दा लगभग २०० वर्ष अगाडि सिक्किम पनि नेपालकै भू-भाग थियो। हो, वि.सं.१८७२ (सन् १८१६) ताका नेपालको पश्चिमी सिमाना सतलज नदीसम्म थियो भने दक्षिणमा (भारत) बिहारको सिवान जिल्लासम्म र पूर्वमा टिष्टा नदीसम्म नेपाल थियो। हाम्रा पूर्खा युद्व गर्दै पूर्वमा यही टिष्टा नदीसम्म आएर खुँडा पखालेर फर्केका थिए।
भारतमा बेलायतीले स्थापना गरेको ईष्टईण्डिया कम्पनीको अंग्रेजी फौज र नेपाल अधिराज्यको गोरखा फौजबीचमा नेपालको सीमावर्ती विभिन्न स्थानमा वि.सं.१८७० (सन् १८१४) देखि एक वर्षभन्दा बढी समय युद्व (अंग्रेज–नेपाल) भएको थियो। युद्वमा कहीं नेपालको जीत भयो, कहीं बेलायतीको। सन् १८१६ को ४ मार्चमा नेपाल अधिराज्य र ईष्टईण्डिया कम्पनीबीच सुगौली सन्धि भयो। सन्धिमा उनीहरूले नेपाल भारतको सीमा तोके, जसमा नेपालले सिक्किमसहित लगभग एक तिहाई भूभाग गुमाउनु पर्यो।
हामीले ग्यान्टोकभन्दा करिब दश किलोमिटर तलै रानीपुल भन्ने ठाएँमा बुक गरेको होटलमा झोला राखेर जीपमा माथी ग्यान्टोक शहर गयौं। ग्यान्टोक पहाडमा तहतह गरि योजनाबद्ध रूपले बनाईएको रमणीय शहर रहेछ। बाटो घुमाउँदै लगेर माथिसम्मै पुर्याएका रहेछन्। बीचबीचमा सिँढीहरू बनाईएका रहेछन्।
माथि पुग्दा बडा रमाईलो बजार रहेछ। त्यहाँ सवारी साधनलाई निषेध रहेछ। बजारको माझमा पार्क र बस्ने ठाउँ तथा दुवैतर्फ ठूला ठूला भवन थिए। भवनमा ब्राण्डेड कम्पनीका पसल, तारे होटल, बैंक, रेस्टुरेण्ट तथा अन्य पसल थिए।
बेलुकी त्यहाँ थुप्रै पर्यटक रमाईलो हेर्न र खानाको स्वाद लिन् एवं किनमेलको लागि आउने रहेछन्। वातावरण निकै रमाईलो हुँदा ग्यान्टोक घुम्न आउने धेरैजसो त्यहीँ बस्ने रहेछन्। दुई तीन घण्टाको डुलाईपछि खाना खाएर ट्याक्सीमा रानीपुल फर्क्यौं।
बाटोमा चालकसँग केही जानकारी लिने प्रयास गर्यौं। सिक्किममा ट्राफिक नियमहरु निकै कडा रहेछ। यसले मादकपदार्थ सेवनमा धेरै हदसम्म हतोत्साह गरेको रहेछ। मादकपदार्थ सेवन गरि गाडी चलाएमा वा नियम उल्लंघन गरेमा तुरून्त कडा कानुनी कारवाही हुँनेरहेछ। उनले भन्दै थिए, ‘नेपालमा गाडी भद्रगोलसँग डरलाग्दो किसिमले हाँक्दा रहेछन्। ट्राफिक नियमहरु नेपालमा पनि कडा नभएका होईनन्, तर कसलाई कति कडा र कति नरम भन्ने मात्रै हो,’ चालक भाइले भने।
भोलिपल्ट बिहानै ६ बजे जीपमा सिक्किमका डाँडाकाँडाको दृश्यावलोकन गर्दै यात्रा शुरू भयो। चंगुताल (हिमताल) पनि जान मन थियो, जो ग्यान्टोकबाट लगभग ४० किलोमिटरको दुरीमा रहेछ। तर, वर्षा र हिउँ धेरै परेकोले माथि जाने बाटो बन्द भएको बुझिएकोले समयाभावले त्यसतर्फको यात्रा छोट्याउँदै नाम्चीबजार भन्दा ५ किलोमिटर नजिकै सोलेपोक पहाडमाथिको सिद्धेश्वर धाम अथवा चारधामतिर लाग्यौं।
वास्तविक चारधाम भारतका चार प्रमुख स्थानमा छन्। उडिसाको जगन्नाथपुरी, तमिलनाडुको रामेश्वरम्, गुजरातको द्वारिकापुरी तथा उत्तराखण्डको बद्रीनाथ धाम।
सिक्किमका मानिसले चारैधामको प्रतिमूर्तिको परिकल्पना अनुरूप त्यहाँ चारधामको स्थापना गरेका रहेछन्। धामको केन्द्रमा शिवजीको १०८ फीट अग्लो मूर्ति र चारैतिर चारधामको मन्दिर तथा १२ वटा ज्योतिर्लिङ्ग रहेछन्।
त्यहाँका मानिसको भनाई अनुसार भारतका चारै धाममा जान नसके पनि सिक्किमको सिद्धेश्वरधाममा गएर दर्शन गरे त्यहाँ गएको जत्तिकै फल प्राप्त हुन्छ र सबै पाप नास हुन्छन्। सिद्धेश्वरधाम हिन्दुको लागि ठूलो तिर्थस्थल रहेछ। साउन महिना र महाशिवरात्रीमा यहाँ ठूलो मेला लाग्छ, जहाँ भारत तथा नेपालका विभिन्न ठाउँबाट तिर्थयात्री आउने गर्छन्। धाम निकै सफा सुग्गर र हरियाली एवं सुन्दर फूलले सुसज्जित भएको निकै रमणीय स्थल रहेछ।
यहाँ आउँदा तिर्थस्थलको एउटा वास्तविक स्वरुप देख्न पाईन्छ। नेपालको पशुपतिनाथ वा भारतका तिर्थस्थल एवं मन्दिरमा पनि यतिको सरसफाई मैले देखेको थिईनँ। यहाँ बस्न खानको निकै राम्रो ब्यवस्था रहेछ। पूजारी सहयोगी र सबै नेपाली मूलका पण्डित रहेछन्। धामभित्र धेरैजसो जानकारीहरु मूलतः नेपाली र संस्कृत भाषामा तथा केही ठाउँमा अंग्रेजी तथा हिन्दी भाषामा पनि लेखिएको रहेछ।
डाँडामाथिबाट टाढासम्म देखिने गाउँ तथा खोलानाला निकै रमाइलो देखिन्थे। तर, एउटा अचम्मको कुरा के देखियो भने, नेपालका डाँडाकाँडामा जस्तो यहाँ कतै पनि अवैज्ञानिक रुपले बाटो खनेको पाईएन। न पहिरो गएकै देखियो।
एउटा ढाबामा चिया नास्ताका लागि गाडी रोकियो। ढाबा सापकोटा परिवारद्वारा सञ्चालित रहेछ। बाटोपारी डाँडामाथि उनीहरूको पैतृक घर रहेछ। हामी नेपालबाट आएको भनेपछि निकै आत्मीयताकासाथ हेरे। मानौं कैयौं वर्षपछि हाम्रो भेट भइरहेको थियो। एकछिनपछि मिठो चियाकफी लिएर आए र गफ गरियो।
उनका पुर्खा तीन पुस्ता अगाडि पश्चिम नेपालबाट आएर बसोबास गर्न थालेका रहेछन्। उनीहरूका आफन्त अहिले पनि नेपालमा रहेछन्। सिक्किमका कतिपय परिवार अहिले पनि कुल पूजाको लागि नेपाल जाने रहेछन्। ‘नेपाल फर्कन मन छैन?,’ भनि सोध्दा सञ्चालकले भने, ‘हामीलाई यहाँ नेपाल जस्तै छ। यहाँ विकासले गति लिएको हुनाले हामीलाई यहीं ठीक छ। सरकारले जनतालाई निकै सुविधा दिएको छ।
सिक्किममा प्रत्येक गाउँमा बाटो पुगेको छ, विद्यालय छन र खानेपानी तथा विद्युतको राम्रो ब्यवस्था छ। ठाउँठाउँमा पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी छन्। जिल्ला अस्पताल निकै ब्यवस्थित र स्तरीय छन्। धेरै बस्तुमा केन्द्रीय सरकारद्वारा कर छुट गरि प्राप्त भएकोले सामान सस्ता छन्। प्राकृतिक प्रकोपले केही क्षति भए सरकारले तुरुन्तै सहयोग गर्छ। नेपालमा जस्तो अस्थिरताको वातावरण छैन। नेपाल गएर के गर्नू? सधैं राजनीतिक अस्थिरता र बन्द हडताल भएको सुनिन्छ। नेताहरु देश बनाउनु भन्दा धनकमाउनतिर लागेको सुनिन्छ’, उनले स-विस्तार भने।
चिया कफीसँगैको रमाईलो गफमा भुलेर हामीलाई नेपालमै भएको जस्तो लाग्यो। त्यहाँबाट हिँडेपछि दृश्यावलोकन गर्दै हामी दार्जिलिङहुँदै पुनः नेपाल प्रवेश गर्यौं।
सिक्किमका ठाउँहरू हेर्दै आउँदा टिष्टा नदीको तटमा जहाँजहाँ फराकिलो ठाउँ छ त्यहाँ बलियो तटबन्ध निर्माण गरि ठूलाठूला औषधि तथा अन्य बस्तुका कारखाना सुरक्षित रूपले स्थापना गरि सञ्चालनमा रहेछन्। यस्मा सिक्किम सरकारको ठूलो सहयोग रहेछ। ठाउँठाउँमा ठूलाठूला स्कुल, कलेज र विश्वविद्यालय तथा सेनाका ब्यारेक रहेछन्।
सानातिना खोलानालाको तटमा अवस्थित शहर बजार निकै सुरक्षित देखिन्थे। किनकि, नेपालमा जस्तै अध्ययन नगरि पहाडमा जथाभावी बाटो खन्ने निहुँले पहाड र नदीलाई क्षति पुर्याउने काममा त्यहाँ सरकारी स्तरबाटै बन्देज लगाईएको रहेछ। भौतिक र वातावरणीय अध्ययन गरेर मात्र निर्माण कार्य हुने भएकाले क्षतिको सम्भावना कम हुने रहेछ।
ठाउँठाउँमा खोला नालाको छेउमा बलियो तटबन्ध वा फलामेबाटो बनाएर सर्वसाधारण हिँड्न सजिलो बनाईएको रहेछ। दुर्घटना नहोस् भन्ने हेतुले सार्वजनिक यातायातका साधन, स्कुल बस र मालबाहक ट्रकहरू साना आकारका हुँदारहेछन्। सवारीसाधन सन्तुलित गतिमा हाँक्ने रहेछन्। त्यसैले होला यात्राको दौरान बाटोमा कहीँ दुर्घटना देखिएन्। असजिलो ठाउँहरुमा पहाड खन्नुभन्दा सुरूङ बनाएर सडक र रेलमार्गको निर्माण कार्य भइरहेको रहेछ। छिटै ग्यान्टोकसम्म रेल आउने योजना रहेछ। यसको लागि आवश्यक मार्ग र सुरूङहरू लगभग तयार भइसकेका रहेछन्।
त्यहाँको विकास देख्दा नेपालमा बाटो बनाउने र सुरूङ खन्ने जस्ता विकासका कामह गर्न सजिलै होला जस्तो लाग्छ। तर, शिथिलता किन? हामीकहाँ कुरा र भाषणको मात्रै धेरै विकास भयो। कमिसनको कुरो नमिली नेतालेनै विकासलाई अगाडि बढ्न दिँदैनन्।
कुरा सुन्दा सिक्किममा केही नेताहरु यस्ता रहेछन्, जसलाई जनताले पटक पटक भोट दिएर जिताउने रहेछन्। किनभने उनले जनताको लागि विकासका धेरै काम गरेर देखाएका रहेछन्। गलत काम गर्ने जोसुकै होस्, जस्तै नेता होस्, तर कानुनको अगाडि त्यहाँ झुक्नै पर्दोरहेछ। तर, नेपालका नेतालाई कसले छुनसक्छ? छोईहालेमा लहरो तान्दा पहरो जाने डरले नेताहरू यहाँ तैं चुप मै चुप हुन्छन्।
समग्रमा हेर्दा नेपालको भन्दा सिक्किमको भुगोल केही कठिन भए पनि नेपालको तुलनामा थोरै समयमा धेरै नै प्रगति भएको ज्वलन्त उदाहरण देख्न पाउँदा मनमा बारम्बार प्रश्न उठिरहेका थिए र हामी यसबारे गन्थन गरिरहेका थियौं।
उनीहरू पनि हामी जस्तै भुगोलमा बस्ने मानिस हुन्। उनले गर्न सक्ने विकास हामीले किन गर्न सक्दैनौं? हामीसँग आर्थिक स्रोत छैन कि? प्रविधि र प्राविधिक छैनन् कि? यो सुनेर चालकले प्याच्च भने, ‘सर ! माफ गर्नुहोला, छोटी मुँह बडी बात। हामीकहाँ नेताहरु धेरै भए, तर राजनेता कोही भएन्।’ मलाई सारै चित्त बुझ्यो। हामीले चाह्यौं भने धेरै नै विकास गर्न सक्नेरहेछौं। कुरा अल्झिएको रहेछ केवल सुशासन, सुब्यवस्थापन र नैतिक राजनीति तथा निष्ठावान आचरणमा। असम्भव केही रहेनछ। यस्तै कुराले गर्दा नेपालका नेताको नैतिकतामा शंका गर्न हामी नेपाली बाध्य छौं।
नेपालको भुगोल सिक्किमको जस्तै भएकोले सिक्किमको विकासको ढाँचा नेपालमा पनि सम्भव र अनुकरणीय होला जस्तो लाग्छ। सिक्किमको विकासको गति हेर्दा हाम्रा देशका नेता, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका कर्मचारीलाई अवलोकन भ्रमणमा तेस्रो मुलुकमा पठाउनुभन्दा सिक्किम पठाउन पाए निकै लाभप्रद हुने थियो।
किनकि, भुगोल योजना तथा प्रविधी मिल्दोजुल्दो भएकोले र भाषा पनि मिल्ने हुँदा साधारण मानिसले पनि सजिलै बुझ्न सक्छ। अन्य ब्यवस्थापन खर्चमा पनि सरकारको लगानी कम हुन्छ। तेस्रो मुलुकमा अवलोकन भ्रमणमा गएर आउनेले कुनै उपलब्धि गरेका छन्? निस्फल कार्यमा अनावश्यक सरकारको ढिकुटी सक्ने संस्कारलाई धान्ने बाहेक अरू के नै गरेका छन्?
जाने मान्छे पनि शासकवर्गका आफ्नै आसेपासे र कार्यकर्ता मोजमस्ती गर्न जाने त हुन्। नेपाल आउने बित्तिकै नेताहरू मिडियामा यसो गर्छु र त्यसो गर्छु भन्छन्, तर कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा राखेर निकाल्दा जस्ताको तस्तै बाङ्गो भने जस्तै भोलिपल्टदेखि सबै स्वाहा भएर जान्छ। नेताहरू जुन देशमा गए त्यहाँको विकास हेरेर नेपाललाई त्यस्तै बनाउँछु भन्छन्। तर, त्यो देशका नेताहरुको मानसिकता, नैतिकता तथा विकास प्रतिको चिन्तन एवं लगानी कस्तो छ भन्ने कुरा नबुझि आउँदा रहेछन्।
यहीँनेर मार खाँदारहेछन् हाम्रा नेताहरू। नेपालमा विकास गर्ने नै हो भने अब यहाँ नैतिकवान र राष्ट्रभक्त नेताको खाँचो छ। नेपाली जनताको जीवनसँग मेल खाने नेपालीवाद चाहिएको छ।