एक जना छिमेकी दिदी हुनुहुन्थ्यो। उहाँले स्नातक तह पास गरेर लोक सेवाको तयारीमा हुनुहुन्थ्यो। म र उहाँ प्रायः जसो सँगै हुन्थ्यौं। उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र मैले पनि।
हामी दुबैको उमेर समूह नमिले पनि मन भने औधी मिल्ने गर्थ्यो। प्रायः जसो मानिसहरूले आफ्नै उमेर समूहकालाई साथी बनाउँछन्। हामी दुबै जना अलि फरक थियौं।
उहाँले स्नातक तह पास गर्ने समयमा म कक्षा १२ मा थिएँ। गाउँमा छँदा मेरो मिल्ने साथी दिदी, जे भने पनि उहाँ नै हो।
हामी दुबै जना आफ्नो कलेज बिदाको समयमा गोठालो जाने गर्थ्यौं। गाई गोरु बाख्रासँगसँगै हामीहरू किताब पनि लिएर जान्थ्यौं, पूजा (नाम परिवर्तन ) दिदीले आफ्नो विषयवस्तु सँगका किताब बोकेर लानु हुन्थ्यो भने मैले मेरो विषयवस्तुका।
मलाई सामान्य ज्ञान पढ्न खुब मन पर्थ्यो र दिदी लोक सेवाको तयारीमा भएकाले प्राय: जसो सामान्य ज्ञान नै लगेर जानुहुन्थ्यो।
ती दिन सम्झिँदा आज आँखाबाट टिलिप्प आँसु आउँछन्। अहिले त ती दिदी कता म कता आफ्नो आफ्नो संसारभित्रै हराएका छौं। भेटघाट हुनु त परको कुरा हो एक कल फन गर्न समेत भ्याउँदैनौं।
मान्छे आफ्नै समयसँगै हराउँदो रहेछ। कति सुन्दर प्रकृति थियो गाउँबेसीमा, चारैतिर हरियाली, रंगीचंगी फूल आफ्नो समय अनुसार बनै भरी फुलिरहन्थे, कानमा गुन्जिने कोइलीको सुमधुर स्वर त्यसैगरी सदाबहार बगिरहने पानीको कलकल आवाज वाह..वाह.. प्रकृतिको सुन्दरता। म शब्दले कसरी वर्णन गरूँ ?
हामी दुबै जना त्यसै प्रकृतिसँग रमाउँदै गोठालोको समय बिताउँथ्यौं। एक हातमा कापी, किताब कलम र अर्को हातमा हँसिया हुन्थ्यो। हामीहरू घर आउने बेला गोठमा ओछ्याउनका लागि सोत्तर काट्न हँसिया लिएर जान्थ्यौं। जे जस्तो भए पनि रमाइलो हुन्थ्यो।
दुबै जना बिहानको नास्ता खाएर गाई, गोरु, बाख्रा लिएर जंगलतिर जान्थ्यौं। जंगल जाँदै गर्दा बर्खाको समय पानी पर्ने हुँदा बाटो चिप्लो हुने, जुका लाग्ने गर्थे।
हामी दुबै जना गन्तव्यमा पुगेपछि एकटक रोकिन्थ्यौं। एक ठूलो र अलि अग्लो ढुंगामा बस्न गएर विभिन्न विषयमा छलफल गर्थ्यौं।
कहिले सामान्य ज्ञानका, कहिले आफ्नो आफ्नो विषयका, कहिले धर्मकर्मका त कहीले फेसबुक तिरका कुरा गर्थ्यौं।त्योबेला मसँग सानो बटनवाला मोबाइल थियो र दिदीसँग ठूलो टचवाला मोबाइल थियो।
त्योबोला टचवाला मोबाइल मेरो हात परेपछि समय बितेको थाहा नै पाउँदैनथें। टचवाला मोबाइल पायो कि मैले समातिहाल्थें अनि फिल्म हेर्न सुरू गर्थें।
कापी किताब छेउमै छरपस्टै छोडेर मोबाइलमा झुन्डिएको दिदीलाई भने फिटिक्कै मन पर्दैनथ्यो, अनि मलाई आफ्ना मीठा कुरामा फकाउँदै मोबाइलको ध्यानबाट बाहिर ल्याउनु हुन्थ्यो, उहाँको त्यो फकाउने तरिका मलाई खुबै मन पर्थ्यो। अनि हामी दुबै जना किताबतिर केन्द्रित हुन्थ्यौं।
एक दिनको कुरा थियो गोठालो गएको समयमा दिदी सोतर काट्दै हुनुहुन्थ्यो उहाँको मोबाइल मेरो हातमा थियो मोबाइलमा डाटा अन रहेछ मैले मोबाइल भाइब्रेसन भएपछि मात्रै थाहा पाएँ।
अनि दिदीलाई भने, ‘दिदी मोबाइलमा त डाटा अन नै रहेछ त।’
उहाँले तत्काल डाटा बन्द गर्न लगाउनु भयो र मैले मोबाइल खोलेको थिएँ। एक जनाको फ्रेन्ड रिक्वेस्ट आएको थियो।
मैले दिदीलाई हतार हतार माने झैं गरी भने दिदी जगदीश नामको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट पो आयो त, को हो यो जगदीश भनेको ? दिदीले अलि कराएर भन्नुभयो- खै म त चिन्दिनँ फेसबुकका सबै साथीलाई कसले पो चिन्छ र! खुरुखुरु त्यो डाटा भन्द गरेर मलाई सघाउन आऊ त।
मैले हस भन्दै दिदीलाई सघाउन गएँ।
दोस्रो दिन पनि सधैंझैं हामी पुरानै समयमा गोठालो जान लाग्यौं। अरू दिन बाटोभरि सामान्य ज्ञानका कुरामात्रै गर्ने दिदीले त्यो दिन अलि फरक कुरा गर्नुभयो। कुरा त्यही अघिल्लो दिनको फ्रेन्ड रिक्वेस्टको थियो।
दिदीले मलाई भन्नुभयो रेखुली, उसो त मेरो नाम रेखा हो तर दिदीले मायाले बोलाउने नाम रेखुली थियो। रेखुली सुन त हिजोे त्यो मेरो फेसबुक आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउने जगदिश नामको व्यक्ति थियो नि, हो मैले त्यसको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरें नि।
म अचम्म मान्दै 'ओहो दिदी हिजो त म चिन्दिनँ, फेसबुकमा आएका सबै साथी चिनिँदैनन् भन्नु भा’ थियो त आज चिनेर एसेप्ट भयो कि उस्तै नचिनेर हो ?
दिदीले थप्नुभयो- चिनें र त हैन तर म्युचुअलमा धेरै जना चिनेका थिए त्यसैले एसेप्ट गरिदिएँ। उसरी दिदी खासै नचिनेका मान्छेको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नु हुन्नथ्यो जगदीश जस्तै नचिनेका फ्रेन्ड रिक्वेस्ट दिदीको फेसबुक आइडीको पेन्डिङमा थुप्रो थिएँ तर खै जगदीशकै मात्र किन एसेप्ट गर्नु भएछ त्यो उहाँ नै जानुन्।
मैले दिदीलाई मोबाइल दिनु हुन भनी आग्रह गरें र उहाँले मलाई मोबाइल दिनुभयो मोबाइलमा डाटा अन गरेर फेसबुक पनि अन गरी जगदीश नाम सर्च गरें अनि दिदीलाई छेउमै बोलाएँ, दिदी मेरो छेउमै उभिनु भयो म जगदीशको प्राफाइलभित्र पसें, दिदीले त जगदीशको प्रोफाइल राम्रोसँग हेर्नुभएको रहेनछ।
तर म भने सबै कुरा हेर्दै थिएँ र दिदीलाई पनि देखाउदै थिएँ। सुरूमा त प्रोफाइलमा राखेको फोटो नियालें। साना आँखा थिए, अल्ली कालो वर्णको, गोलो अनुहार, सुन्दर मुस्कान थियो।
केटो देख्नमा राम्रो थियो। अब त्यो फोटो ब्याक गरेर त्यहाँबाट हामी दुबैले अल्ली तल नजर लगायौं जहाँ 'वर्क्स एट जर्नालिस्ट एण्ड प्रोग्राम इडिटर, लिभ्स् इन नेपाल यतिमात्रै लेखिएको थियो, बाँकी त तल तल जाँदै गर्दा थुप्रो समाचारका लिंक र उहाँका आफ्नै केही फोटाले भेटिएका थिए, हामी दुबैले उहाँको बारेमा यति कुरा जानेपछि हामी सहजै भन्न सक्थ्यौं कि उहाँ एक राज्यको चौथो अंगमा बसेर काम गर्दै हुनुहुन्छ।
उहाँको बारेमा यतिकुरा जानी सक्दा हाम्रा पाइला पनि गन्तव्यमा पुगिसकेका हुन्छन्।
हामीले त्यो दिन पनि अरू दिनजस्तै गाई, गोरू र बाख्रालाई उनीहरूको चरन क्षेत्रतिर लगाएर त्यही अग्लो ढुंगामा गएर बस्यौं र आफ्नो-आफ्नो किताबतिर नजर लगायौं।
केही कुरा पढिसकेपछि फेरि सदाझैं सोत्तर काट्नतिर गयौं। दुवै जनाले मिलेर सोत्तर काटिसकेपछि एक ठाउँमा बसेर एकछिन मोबाइलमा झुन्डियौं।
दिदीको मोबाइलमा अघिल्लो दिनको बाँकी रहेको एमबी भएकाले दिदीको मोबाइलमा डाटा अन गरी फेसबुकका पानाहरू हेर्दै थियौं।
यसैक्रममा जगदीशको म्यासेज आयो म्यासेजमा लेखिएको थियो- नमस्ते मिस जी, दिदी बोलिन। हेर त जगदीशको म्यासेज पो आयो त। मैले भनें- दिदी नमस्ते फर्काइदिनु न, दिदीले अली नाई नास्ती गर्दै हुनुहुन्थ्यो पछि मैले नै फर्काउन लगाएपछि मान्नुभयो र 'नमस्ते सर' भनेर रिप्लाई दिनुभयो।
दुबै जनाबीच सन्चो-बिसन्चो र कामकाजका बारेमा कुराकानी हुँदै थियो।
मलाई भने त्यो कुराकानी कताकता अलि खल्लो लागिरहेको थियो। खल्लो यस कारणले कि चिनजान छैन सन्चो-बिसन्चो कामकाज सोधिरहेका छन् भनेर। जगदीशको म्यासेज फेरि आयो- को को हुनुहुन्छ? दिदीले एक जना बहिनी छ, भनेर जवाफ दिनुभयो।
उताबाट 'ए लौ गजब' लेखिएर म्यासेज आयो।
दिदीले 'हस' भन्दै त्यो दिनको कुराकानीको बिट मार्नुभो।
अब गाई, गोरू र बाख्रा लिएर हामी दुबै जना घरतिर लाग्यौं।
यसैगरी दिनहरू बित्दै गए जगदीश र दिदीको सामिप्यता पनि बढ्दै गयो। दिदीको बानीमा परिवर्तन आउन थाल्यो। हिजोका दिनमा मैले धेरै मोबाइल खेलाएको मन नपराउने उहाँ, जगदीशलाई फेसबुकले जोडाइदिएपछि दिदी अलि बढी नै मोबाइलमा झुन्डिन थाल्नुभयो।
दुबै जनाको दूरी घटेसँगै मेरो पनि दूरी घट्दै गयो। दिदीले मेरो बारेमा सबै कुरा जगदीशलाई भनिसक्नु भएको थियो। उहाँ दुबै जनाले फोन नम्बर पनि लेनदेन गरी सक्नुभएको थियो ।
मंगलबारको दिन थियो। दिउँसोतिर म दिदीको घरतिर लागें। दिदी खाना खाएर पल्टिनु भएको थियो।
त्यो दिन मैले दिदीलाई जिस्काउँदै जगदीश भिनाजुसँग कुरा गरौं न दि भनेर भने मेरो मुखबाट अचानक 'भिनाजु' शब्द निक्लियो। यो सुनेपछि दिदीले बढो ताजुब लागेर हेर्नु भो।
म 'ह्या दिदी के घुरेर हेर्या म त मजाक गर्दै थे बरु मोबाइल दिनु न यसो जगदीशजीसँग कुरा गर्नु परो’ भन्दै मोबाइल लिन खोजें।
'आज के खाएर आएको हौ' भन्दै मलाई सोध्नु भो।
म हाँस्दै 'दिदी खान त दालभात नै खाएको तर आज मुड अर्कै छ क्या त्यसैले मोबाइल दिनु त भन्दै उहाँको सिरानीबाट मोबाइल झिकें।
त्यसपछि म पनि दिदीसँगै खाटमा पल्टें र उहाँको फेसबुक आइडी चलाउन थालें। त्यसैक्रममा ठ्याकै जगदीशको म्यासेज पनि आयो।
'हेलो मिस जी के छ खबर ?'
मैले रिप्लाई दिँदै भनें, 'म मिस हैन मिसको बहिनी बोल्दै छु।'
उहाँ- ए ए के छ सानी मान्छेको खबर ?
'म, ठीकठाक छु हजुरको आशीर्वादले गर्दा भन्दै' मैले उत्तर दिएँ।
यस्तै सामान्य कुराकानी हुँदै थियो।
त्यसै बेला मलाई केही प्रश्न सोध्न मन लाग्यो र उहाँमाथि प्रश्न थपें- हजुर त पत्रकार होइन ?
ठूलो परिचय र सन्तुष्टि बोकेको पेसा, कति धेरै मान्छेहरूले चिनेका छन् होला ? तर हामी दुबैले भने त्यो दिन चिन्न सकेनौं।
'तै पनि हजुर त्यति ठूलो क्षेत्रमा काम गर्ने मान्छे भएर हामीजस्तो फुच्चेहरूसित बोल्नुभयो खुसी लाग्यो', मैले यति लेखेर पठाएँ।
दिदी छेउबाटै हेरिरहनु भएको थियो।
उहाँले म्यासेज हेर्नु भयो तर रिप्लाइको पर्खाइमा थिएँ म। त्यतिधेरै प्रश्न एकैचोटि सोधेको भएर अक्कनवक्क हुनुभयो होला उहाँ, सोच्दै म र दिदी अर्को म्यासेजको पर्खाइमा बस्यौं।
एकैछिनमा म्यासेज आयो। उहाँले व्यंग्यात्मक हाँसोका केही इमोजीसँगै अगाडि लेख्नुभएको थियो, 'नानी यति जान्ने भएछौ, सुन सन्तुष्टि, परिचय, पत्रकारिता यी तीन वटै फरक-फरक विषय हुन्। सन्तुष्टि र परिचयका लागि पत्रकारिता गर्न खोज्दा मानिस त्यसको दलदलमा फस्ने रहेछ। खासमा म पनि त्यही तीन चिजको पछाडि परेको भए यो दिन आउँदैन थियो सायद।'
उहाँको म्यासेज टुङ्गिन नपाउँदै मैले अर्को म्यासेज लेख्न थालें- त्यसो भए तपाईं पैसाका लागि पत्रकारिता गर्नुहुन्छ ?
पत्रकारहरूलाई त प्राय: जसो उपहार पनि धेरै प्राप्त हुन्छन् रे। त्यसै पनि राज्यको चौथो अंगमा रहेर काम गर्दा छुट्टै किसिमको शान त पक्कै पनि हुन्छ होला? फेरि ठूलाबडा नेताहरूसँग हिँड्न बस्न पनि पाइन्छ। जीवन जिउने तरिका नै हामीहरूको भन्दा फरक हुन्छ होला हैन त ?
उहाँले रिप्लाइ दिनु भयो- हेर नानी व्यक्तिगत स्वार्थ पूर्ति, देखावटी प्रशंसा र पावर, पहुँचकै आधारमा उपहारसँगै प्रशंसा त होला त्यो पनि फेसबुकका पानामा तर वास्तविकता बाहिर आउँदैनन्, नानी तिमीले भने जस्तै, राज्यको चौथो अंग पत्रकारिता हो, अर्को कुरा पत्रकारिता स्वतन्त्र, सत्य, तथ्य कुरामा आधारित रहेर काम गर्ने पेसा हो।
कुनै पार्टी र पैसाइतिर नभई स्वतन्त्र रूपमा, सत्य, तथ्य कुरा आमसमुदाय माझ पस्कने पेसा हो। पत्रकार शब्द सुन्दा कतिपय न्याय नपाएका व्यक्तिहरूको मनमा आशाका किरण पलाउँछन् पनि। तर यहाँ पैसा कमाउन, देखावटी बन्न र पावरको लागि पत्रकारिता गर्नेहरू पनि नभएका होइनन् नानी।
आफ्नो मात्रै भलो चाहने तर जनता र राज्यकोबारेमा नसोच्ने यस्ता पत्रकार पनि धेरै छन्।
त्यो तरिकाले आफ्नो स्वार्थ प्राप्त र प्रशंसामात्र लेख्न र देखाउन सक्छन्, वास्तविक कुरा भित्रै अल्झिन्छ।
आजको परिवेशमा प्रशंसा र आश्वासन पैसा हुने व्यक्तिमा मात्रै बिक्छ, वास्तविकता त कौडीको भाउमा पनि बिक्दैन। मैले फेरि प्रश्न थपिहालें- तपाईं एक पत्रकार भएर यो पेसाप्रति यति घृणा किन ?
'नानी मलाई पत्रकारिताप्रति घृणा होइन, पत्रकारिताको पर्दा पछाडिको अत्यन्तै षडयन्त्रपूर्ण र चाप्लुसी गर्ने प्रवृत्तिप्रति घृणा हो। यहाँ पर्दामा इमानको रट लगाएर पर्दा पछाडि पैसाका बिटामा इमान बेचेर मिडियाहरू चल्ने रहेछन्।
संघर्षशील व्यक्तिको मूल्यांकन सही तरिकाले हुँदैन। स्वतन्त्र भएर पत्रकारिता गर्न दिइएको छैन, कोही संस्थाइतर, कोही पार्टीइतर, केही व्यक्तीइतर तर राज्यइतर कोही भइदिएन। म तिमीलाई मेरो भोगाइ सुनाउँछु सुन है नानी।
मैले ३५ सय रूपैयाँबाट पत्रकारिता सुरू गरेको हुँ। जुन पैसाले मेरो कोठा भाडा समेत तिर्न भ्याइनभ्याई हुन्थ्यो। अहिले बढेर यस्तै १२,१४ हजारसम्म छ। यो पैसा पनि केही हैन सहरको बसाइ घर भाडा तिर्नु, खाना किनेरै खानु, पानी, बिजुली लगायत सबैतिर रूपैयाँ नै चाहिने, काम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्नैपर्ने तर जब तलब खातामा आउथ्यो त्यो बेला खुसी हैन अपमान भएझैं लाग्छ किनकि त्यत्रो मेहनत र समय खर्च गरेर पनि जाबो दश, बाह्र हजार रूपैयाँ!
यो पैसाले न त ढङ्गले जीवन जिउन मिल्छ न त यो पेसाबाट भाग्न नै, पत्रकारिता क्षेत्र सबै क्षेत्र भन्दा फरक र असहज पक्कै पनि हो। तर यहाँ पैसाको जमातसँग मात्रै मान्छे जोडिएका छन्।
उहाँ लामो-लामो म्यासेज पठाउँदै हुनुहुन्थ्यो म दत्तचित्त भएर पढिरहेको थिएँ। उहाँ भन्दै जानु भयो।
'नानी जागिर खाएपछि म दशैंको बेला पहिको पहिलो पल्ट घर जाँदै थिएँ। छोरो जागिरे छ केही न केही कुरा त आउने बेला ल्याउँला नै भन्ने मनमा आशा आमाबुबाको हुन्छ तर मलाई भने घर जाने भाडा समेत जुटाउन धौधौ भइरहन्थ्यो।
एक दिनको दशैंको बेला नै थियो घर जानलाई टिकट लिने भनेर म बस काउन्टरतिर पुगें र त्यहाँबाट टिकट पनि ल्याएँ। आउँदा बजारको बाटो भएर आए दशैंको बेला भएकाले बजारमा सरसमान किनबेच गर्नेहरूको घुइँचो थियो।
त्यही बेला मेरो नजर एक पसलको साडीमा गएर अड्कियो। मन र मस्तिष्कले त्यो साडी आमाको लागि रोजिसकेको थियो। तर बिडम्बना मन र मस्तिष्कले भनेका र सजाएका ती क्षणिक सपना एकछिन खल्ती छाम्दा हराए।
मेरो छातीमा ठूलो गाँठो पर्यो। मन थाम्न सकिनँ। आँखाको परेली झिम्म गर्दा बरर आँसु झर्यो।
उहाँका म्यासेज देख्दा मैले आफूलाई समाल्न सकिनँ। म्यासेज पढ्दै गर्दा आँखाबाट आँसु कतिखेर खसेछ थाहा समेत पाइनँ।
फेरि उहाँकै म्यासेज पढ्न थालें।
'उसो त मलाई मेरो परिवार, गाउँले बुद्धीजीवीहरूले पनि पत्रकारिताभित्र नछिर नभनेको कहाँ थिए र तै पनि म आफ्नो जबरजस्तीले देश, समाजका लागि पत्रकारिता पेसा अंगाल्न पुगेँ।
त्यसपछि मैले केही पाइनँ। पाए त केबल वितृष्णामात्रै। आममानिसहरूलाई छिटो, छोटो र मिठो कन्टेन्ट चाहिन्छ तर त्यसका लागि हामीजस्तो मान्छेले कम्तीमा दुई छाक नमीठो भए पनि खान र एक जोर लुगा फेर्न सक्ने हैसियत त बनाउन पाउनुपर्ने हो ? हैन र नानी' उहाँका ती कुरा सुन्दा बढो नमीठो लाग्यो।
उहाँसँग त्यो कुराकानी भएको केही समयपछि उहाँले आफ्नो फेसबुक आइडीमा, पत्रकारिताको दुनियाँबाट विश्राम लिएर नयाँ दुनियाँ, नयाँ बाटो पहिल्याउनुतिर अबको यात्रा यति लेखिएको स्टाटस दिदीले मलाई देखाउनु भएको थियो। त्यो स्टाटसबाट सहजै थाहा हुन्थ्यो कि उहाँ पत्रकारिताबाट बाहिरिनु भएको कुरा।
जब आफैं पत्रकारिता क्षेत्रभित्र छिरें, तब सबै कुरा अझै नजिकैबाट नियाल्ने मौका पाएँ। पत्रकारितामा मेहनत गरिरहेका पत्रकार साथीहरूले देश र पेसा परिवर्तन गर्नुको कारण बुझें।
विभिन्न अनलाइन पत्रपत्रिका चलाइरहेका साथीहरूले भनेका कुरा खोतल्न थालें। केही रेडियोमा आबद्ध साथीहरूका रेडियो महिना महिनामा परिवर्तन भएका कुराहरू पनि मनमष्तिष्कले सम्झिन्छ।
पत्रकारिता गर्ने भनी सहर पसेका साथीहरूको अवस्था पनि सम्झिएँ। पावर र पैसाले पत्रकार भई प्रेस कार्ड घाँटीमा झुड्याएर म पत्रकार हुँ भनेर सान गरेर हिँड्ने पत्रकारहरूलाई पनि सम्झिएँ। जगदीशको आज भन्दा करिब करिब चार वर्ष अघिको स्टाटस पनि सम्झिएँ। जगदीश र जगदीशको स्टाटसलाई जति सम्झिए पनि, जगदीशलाई भने भेट्न असमर्थ भएँ।
फेसबुक, मोबाइल नम्बर सबै बन्द गरेछन्। दिदीले पनि उहाँको मोबाइल नम्बरमा आजसम्म पनि कल गरिरहनु हुन्छ तर उहाँको मोबाइल जहिले पनि अफ हुन्छ रे, उहाँ कहाँ ? कुन अवस्थामा हुनुहुन्छ होला ?
उहाँजस्तै पेसाबाट यसरी भाग्ने कति पत्रकार साथी होलान्। त्यो त थाहा भएन तर एउटा कुरामा प्रष्ट भइयो यहाँ पावर र पैसामा टेक्नेको जमात छ।