अर्थहीन विषय आफू अनुकूल नहुँदा विरोध गर्ने समाजमा जन्मेर त्यही अनुसरण गर्दै हुर्केर बढेको मान्छे हुँ। त्यसैले अहिले ती विगतलाई सम्झेर विरोध गर्दै मैले यो ब्लग लेख्न हुन्छ या हुँदैन, त्यो समीक्षा तपाईंहरूले नै गर्नुहोला।
म चाहिँ नेपालमा हुने अर्थहीन विरोध अनि अमेरिकामा हुने सकारात्मक सन्देशको पाटो लेख्छु।
राजनीतिक खिचातानीका कारण विपक्ष दलमा बस्नेले सरकारका हरेक काममा विरोध प्रदर्शन गर्ने देश हो नेपाल। हिजोका दिनमा म आफैं पनि त्यसमा प्रत्यक्ष संलग्न थिएँ, त्यसैले पनि आज लेख्न डराउँदैछु।
तर यता अमेरिका आएपछि देखिने सकारात्मक सन्देशहरूले आफैंमा आत्मग्लानी हुन्छ अनि नलेखी बस्न सकिएन।
केही महिनाअघि नेपालमा अघिल्लो सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, विपक्षहरूले विरोधमा सडक तताए। सरकारलाई जनताप्रति गैर–जिम्मेवारीको आरोप लगाए।
त्यसको केही समयपछि सरकार परिवर्तन भयो, लोकप्रियताको लागि सबभन्दा पहिले त्यही पेट्रोलियम पदार्थको मूल्य घटायो।
आयल निगमभित्र घाटा नाफाको पाटो अर्कै होला, त्यो अर्थविदहरूले बुझुन् तर सरकारद्वारा सस्तो लोकप्रियताको लागि चालिएको पहिलो कदम थियो यो।
सरकार परिवर्तन भएको महिना दिन पुग्दानपुग्दै आफैंले सस्तो बनाएको पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरेर फेरि महँगो बनायो यही सरकारले।
विरोध गर्ने विपक्ष छँदैछ, सडक सदनलगायत सामाजिक सञ्जाल तातिन्छ। चारैतिर विरोध। विपक्ष दलका नेता बुरूक्क उफ्रनका लागि दिन कुर्नु नै पर्दैन, अर्को दिनदेखि नै सडक तातियो। सामाजिक सञ्जाल भरियो 'मूल्य वृद्धि फिर्ता गर !' का नाराले।
कोरोना कहर भएर मात्र हो, नत्र नेपाल बन्द हुने अवस्था हुन्थ्यो! सडकमा टायर बाल्ने त सामान्य भैसक्यो।
अब यताको गफ गरौं !
यता अमेरिकामा मूल्य वृद्धिको मात्र कुरा एकछिनमा गरौंला, पहिला असमान मूल्यका कुरा गरौं।
यहाँ हरेक पसलमा अलग-अलग मूल्य हुन्छ। घरायसी या दैनिक अत्यावश्यक वस्तुका मूल्य पसलै पिच्छे फरक–फरक हुन्छ यहाँ।
मैले काम गर्ने पम्पमा दुई डलर पचास सेन्ट प्रतिग्यालेन पर्ने पेट्रोल अर्को साइडमा भएको पम्पमा दुई डलर पैसठ्ठी सेन्टमा बेच्दैछ।
यो हालको मूल्य हो। अलि परको पम्पमा दुई डलर असी सेन्ट प्रतिग्यालेन पर्छ, उसकै साइडको पम्पमा दुई डलर चालिस सेन्टमा बेचिरहेको छ।
उही क्वालिटीको पेट्रोलको मूल्य दस मिटरको दूरीमा समेत अलग-अलग मूल्य छ। अझ स्टेट फरक हुँदाको मूल्य त आकाश जमिनकै छ।
गएको महिना आफ्नै गाडी लिएर टेक्सास राज्यबाट क्यालिफोर्निया राज्यमा जाँदै थिएँ। करिब दुई हजार माइलको यात्रा थियो मेरो।
टेक्सासको ह्युस्टन एरियामा दुई डलर पचास सेन्ट प्रतिग्यालेन पेट्रोल हालेर हिँडेको म अरिजोना राज्यमा पुग्दा तीन डलर चालिस सेन्ट प्रतिग्यालेन तेल हालेको थिएँ।
क्यालिफोर्निया राज्यमा प्रवेश गर्नेबित्तिकै पेट्रोलियम पदार्थको मूल्य देखेर तीनछक परे। टेक्सास राज्यभन्दा लगभग शत प्रतिशत महँगो।
अढाइ डलर प्रतिग्यालेन हालेर हिँडेको मान्छेले क्यालिफोर्निया राज्यमा उस्तै क्वालिटीको पेट्रोल चार डलर साठी सेन्ट प्रतिग्यालेन हाल्नुपर्ने भयो।
एउटै देशभित्र पनि पेट्रोलियम पदार्थको मूल्यमा आकाश जमिनको फरक ? छक्क नपरी सुख!
तर यहाँ असमान मूल्य या फलानोले महँगोमा बेच्यो भनेर विरोध हुँदैन। ठूला होर्डिङ बोर्डमा मूल्य लेखिएको हुन्छ, सक्नेहरू हाल्छन्, नसक्नेहरू सस्तो खोज्दै अर्कोमा धाउँछन्। व्यापारप्रति व्यवसायी आफैं जिम्मेवार हुन्छ ! ग्राहक चित्त बुझे जान्छन्, नबुझे फर्कन्छन्।
अनि राज्य अनुसार मूल्य फरक देख्दा सरकारलाई औंला उठाउँदैनन् बरु बचततिर लाग्छन्। इलेक्ट्रोनिक गाडी खरिदबारे सोच्छन् या अहिले निक्कै लोकप्रिय भएका हाइब्रिड गाडी खरिदतिर ध्यान दिन्छन्।
क्यालिफोर्निया राज्यमा पेट्रोलियम पदार्थको मूल्य उच्च हुनुकै कारण अरू राज्यभन्दा बढी टेस्ला नामको इलेक्ट्रिक कार बढी बिक्छ अनि अरू ब्राण्ड रोज्नेहरू पनि हाइब्रिड नै रोज्छन्। किनकि पेट्रोल हालेर चढ्न निक्कै गाह्रो छ त्यहाँ। तर टेक्सास राज्यमा पेट्रोलियम पदार्थको मूल्यलाई लिएर गाडी फेर्ने सोच्दैनन्। किनकि यहाँ सस्तो नै छ।
यदि नेपालमा पसलै पिच्छे मूल्य फरक हुन्थ्यो भने! अझ प्रदेश अनुसार मूल्य फरक फरक हुन्थ्यो भने ?
भो कल्पना नगरौं!
पत्रकार पुगेर समाचार बनाउँथे, पसलेको उठिबास लगाउँथे।
तर यहाँ त्यस्तो हुँदैन। ग्राहक आफैं सजग हुन्छ, आवश्यकता हेरेर पाइला चाल्छ।
यो त भयो मूल्यमा फरकका कुरा, पसलैपिच्छे अलग-अलग मूल्यका कुरा।
अब दैनिक हुने मूल्यवृद्धिका कुरा गरौं।
गएको वर्ष अर्थात् २०२० को सुरूआती दिनमा मैले एक डलर पचास सेन्ट प्रतिग्यालेन पेट्रोल हाल्थें, अमेरिकाको टेक्सास राज्यमा। यहाँ राज्य किन लेख्देको भने पसलै पिच्छे मूल्य फरक हुने देश हो, राज्यमा फरक हुने कुरा माथि नै उल्लेख गरिसकें।
फेरि अर्को कमेन्ट गर्ने आएर त्यतिबेला मैले अढाई डलर प्रतिग्यालेन हालेको हुँ भन्न सक्छन्, त्यसैले टेक्सास राज्यको कुरा गरेको हुँ।
आठ दस सेन्ट तलमाथि भए पनि टेक्सास र क्यालिफोर्नियाजस्तो आकाश जमिनको फरक हुँदैन पसलहरूमा।
गएको वर्ष डेढ डलरमा हालेको पेट्रोल आजको मितिमा दुई डलर साठी सेन्टमा हाल्दैछु यहाँ। यो मूल्य एकै दिनमा ह्वात्तै बढेको भने हैन।
आजभोलिकै कुरा गरौं ! अस्ति दुई डलर चालिस सेन्टमा बेचेको पेट्रोल गएको सोमबार साहु आएर दस सेन्ट बढायो अनि अढाइ डलर प्रतिग्यालेन भयो।
फेरि आज यो लेख्न बसेकै दिन बिहान साहुले दस सेन्ट बढाएर दुई डलर साठी सेन्ट बनाएको छ।
मैले काम गर्ने पम्पकै अगाडि पल्लो साइडमा एउटा ठूलो पम्प छ, उसको होर्डिङ बोर्डमा दुई डलर सत्तरी सेन्ट प्रतिग्यालेन मूल्य टाँसेको छ।
हप्तामा दुई पटकभन्दा बढी मूल्य परिवर्तन हुन्छ यहाँ। धेरैजसो बढ्छ, कहिलेकाहीँ घट्छ पनि। तर खै, मूल्यवृद्धि भएको मौकामा कसैले सामाजिक सञ्जाल रङ्गाउँदैनन्, विरोध भएको देख्दिनँ म।
ममात्र होइन, अमेरिकामा बस्ने कसैले पनि पेट्रोलियम पदार्थको मूल्य बढेकोमा विरोध प्रदर्शन भएको देखेका छैनन् होला किनकि यहाँ त्यस्ता कुरामा विरोध गर्नुभन्दा कसरी बचत गर्ने भन्ने बारेमा सोचिन्छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा कहिले घट्ने र कहिले बढ्ने भैरहन्छ। तर आफ्नो पालामा बढ्दा 'बाध्यता' अनि अर्काको पालामा बढ्दा 'जनताप्रति गैरजिम्मेवार' सोच्ने राजनीतिक मानसिकताले गर्दा नै विरोधमाथि विरोध भैरहेका छन्।
सरकारले आफ्नै स्वेच्छाचारी ढंगले मूल्य बढाएको हो भने विरोधको अर्थ रहन्थ्यो, तर अन्तर्राष्ट्रिय बजारमै तेलको भाउ बढ्दा अलिकति मूल्य बढ्ने बित्तिकै तीन बित्ता उफ्रेर सरकारको विरोध गर्नुको अर्थ रहँदैन।
म आज पेट्रोलियम पदार्थको मूल्य हरेक दिन घटबढ हुने देशमा बसेर हिजोको आफ्नो क्रियाकलापलाई सम्झँदै पश्चतापमा छु।
आफू अनुकूलको राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्न विरोधको नाममा जनता उचाल्ने परिपाटी बन्द नहुँदासम्म न त नयाँ नेपाल बन्छ, न त हामी बन्नेछौं।