लामो समयदेखि अनलाइन कक्षा घरबाट नै पढाउँदै गरेकोले टोल छिमेकका गतिविधिहरु अन्य बेलाभन्दा बढी चासोको विषय बन्ने नै भए। मेरो घरको कोठाबाट तल प्रष्टसँग देखिने एउटा ठूलो घर छ, जुन ८/१० वटा कोठाहरु भाडामा लगाउने र आफू माथिल्लो तलामा बस्नेगरी बनाइएको छ र त्यसै गरिएको पनि छ।
अहिले कोठामा बस्ने मानिसहरु फेरबदल भइरहेको र केही समयसम्म त केही कोठाहरु खालि नै भएको समेत पाएको छु। त्यसो त वरपर छरछिमेकमा समेत अलिक चासो दिएर कोठा खालि भएको विज्ञापन नगर्दासम्म कोठा भाडामा लगाउन समेत पहिलेको तुलनामा अहिले सजिलो छैन, सहरमा। विशेषगरी यो संक्रमण पछिको अवस्थामा।
त्यही ठूलो घरको माथिल्लो तलाको बार्दलीमा बिहानदेखि बेलुकीसम्म दुई जना बुढाबुढी प्रायः देख्दछु। बार्दली उत्तर-पूर्व फर्केकोले जाडोमा घाम ताप्न अनि गर्मीमा समेत वरिपरि तुलनात्मक रुपमा खुला स्थान रहेकाले शितलताको लागि समेत उपयुक्त देखिन्छ, त्यहाँको बसाइ।
त्यसो त बार्दली बाटोतिर फर्केकोले बाटो हिँडडुल गर्ने चिनजानका मानिसहरुसँग गफगाफ गर्न, वरपरका गतिविधिहरु नियाल्न अनि त्यहीँ बसेर आफ्ना विदेशमा रहेका छोराछोरीहरु, आफन्तजन, इष्टमित्र, साथीभाइहरूसँग फोन अनि भिडिओ संवाद गर्न उपयुक्त स्थान भएको छ, बुढाबुढीलाई।
उनीहरूसँग नियमितजसोको भेटघाट अनि छलफलको क्रममा उनीहरूका तीन छोराछोरीहरु मध्ये ठूली छोरीको विवाह भइसकेको र उनको परिवार अहिले अष्ट्रेलियामा रहेको, दुई वटा छोराहरु अमेरिकामा प्राविधिक विषयको उच्च अध्ययन पश्चात् उतै काममा रहेका र घर समेत किन्ने तर्खरमा रहेको थाहा भयो।
गफ गर्दै जाने क्रममा भित्र कोठामा थुनिएर बस्नुभन्दा बाहिर मानिसको चहलपहल हेर्न, गफगाफ गर्न, गर्मीमा शितलताको लागि र जाडोमा घाम ताप्न समेत बार्दलीमा नै रमाइलो लाग्ने गरेको कुरा थाहा भयो।
त्यसो त दुईजना बुढाबुढी मध्ये श्रीमान् आफैँ माध्यमिक शिक्षकको जागिरबाट गत दुई वर्ष अगाडि अनिवार्य अवकाश पाएका अनि श्रीमती गतवर्ष पाठेघरको शल्यक्रिया गरेपश्चात तुलनात्मकरुपमा कमजोर ६० आसपास उमेरकी छन्। उनको शल्यक्रियाको बेला गत वर्ष अमेरिकाबाट एउटा छोरो आएको पनि थाहा भयो, हेरचाह अनि स्याहारसुसारका लागि।
अहिले दुवैजना बुढाबुढी ठिकठाक रहेको, घर सरसफाइदेखि करेसाबारीमा तरकारी खेती, फूलबारी अनि भएको सानो बगैँचा र गमलाको हेरचाह गर्नमा समेत तल्लीन भएको पाउँछु। कति धेरै खुसी छन् देख्दा ती बुढाबूढी, आफ्नो कर्ममा।
छोराछोरीले आ-आफ्नो बाटो समातेकोमा अनि बेलैमा विचार गरेर तिनीहरुलाई विदेश पठाइएकोमा उनीहरुलाई गर्व महसुस भएको छ। 'साँच्चै यहाँको बेथिति, राजनैतिक खिचातानी, अस्वस्थ प्रतिस्पर्धा, भद्रगोल वातावरण, अराजकता आदि भन्दा त उतै ठिक छ नि सर उनीहरुका लागि,' कति सजिलै भन्दछन् बुढाबुढी।
तिनलाई आफ्नो उमेर अनि यो बेला छोराछोरी आफ्नो साथमा नरहेकोमा रत्तिभर चिन्ता छैन। यहीँ राम्रो वातावरण, सुशासन भएको भए त किन पठाउनु पर्थ्यो र बाहिर, कुराकानीका क्रममा यसो समेत भन्न भ्याए- 'पढ्नै गए पनि पढाइ सकेर पढाइ अनुसारको रोजगारीको व्यवस्था अनि स्वरोजगार हुनलाई उपयुक्त वातावरण राज्यले मिलाउन सकेको भए त यहीँ आइहाल्थे नि सर।'
'त्यहाँको प्रत्येक मानिसको सामाजिक सुरक्षाको कुरा गर्दा त त्यहाँ बस्न मिलेसम्मको आउँछ र सर यस्तो बेथितिमा,' उनीहरु निर्धक्कसँग भन्दै थिए, 'यहाँ के नै छ र हामी जस्ताका लागि, भएपनि राज्य संचालनमा रहेका, उनका आसेपासे र केही सीमित मानिसहरूको लागि मात्र।'
त्यसपछि मेले मेरो आफ्नै घर परिवारको कुरा झल्याँस्स सम्झेँ। झण्डै यी बुढाबुढीभन्दा १०/१२ वर्ष जेठा मेरा बुबाआमा पनि त गाउँमा छोराछोरीलाई उज्ज्वल भविष्यको लागि सहर पठाएर त्यसै भनिरहनु भएको त होला। बेलाबेलामा फोन संवादमार्फत सन्चोविसन्चो आदि विषयमा कुराकानी त भइरहेकै छ।
हामीलाई गाउँ नै प्यारो छ, सुन्दर हरियाली, स्वच्छ आहारविहार, पानी, प्राकृतिक वातावरण, उहाँहरु त्यसै भन्नु हुन्छ। यहाँका बा-आमा बस्ने जस्तो ठूलो घर अनि बार्दली कहाँ छ र, मेरो गाउँमा। ७२ सालको विनासकारी भूकम्पपछि मूल घर भत्केपछि बनाइएको दुईकोठे एकतले घरको पिँढीमा फुर्सद हुँदा बसेर आउने-जानेहरुसँग गाउँघरमा बसेपछि समयअनुसार जतिसक्दो खेतीपाती, मौसमअनुसार तरकारी, बस्तुभाउ त गर्नैपर्छ नि उहाँहरु भन्नुहुन्छ रे।
'सातको दशकमा रहेका बुढाबुढी समेत किन यतिधेरै दुःख गरेका?' भनेर म गाउँ जाँदा वरिपरिकाले मलाई नै भनेको अनि अब त अति भयो यी बुढाबुढीको दुःख भनेर कार्यस्थलमा समेत गएर बुबाआमालाई नै भन्दा समेत यो जीवन सकेसम्म गर्नको लागि नै हो र सक्दासम्म सबैले आफूले सक्ने कर्म गर्नैपर्छ भनेर उल्टै भनिदिएको बुबाआमाले घर जाँदा भन्नुभएको ताजा स्मरण छ।
दुवैतिरका बुढाबुढीलाई एकजना बिरामी हुँदा अर्को जनालाई काम थपिने नै भयो। त्यसो त सक्दै नसक्ने अवस्था बाहेक कहाँ आराम गर्न पाउँछन् र ती बुढाबुढी। अन्य कुराको विकास त्यस्तै उस्तै भएपनि सूचना प्रविधि र डोजरे विकासले खनेका बाटाघाटा अहिले गाउँगाउँसम्म पुगेका छन्।
गुणस्तर कमजोर नै भएपनि प्रयोग गर्न जान्नेहरुले त संचार सेवाको उपयोग गरेर आवश्यक प्रबन्ध मिलाउन सक्दछन् आजकल गाउँमै पनि। तर प्राविधिक साक्षरता पनि हुनुपर्यो नि, त्यसमाथि बुढ्यौलीसँगै आँखाको कमजोरीले कहाँ साथ दिन्छ र!
कहिलेकाहीँ मैले यताबाट तलमाथि घरका भाइबहिनीहरुलाई फोन गरेर कैयौँ दिनसम्म स्विचअफ रहेका मोबाइल फोनको बारेमा जानकारी गराउनुपर्छ र उनीहरुले भनिदिएपछि अनि कहिलेकाहीँ त हेरेर जाँचबुझ गरेपछि मात्रै स्विचअन भएर सम्पर्क भएका कैयौँ उदाहरण मसँग छन्।
त्यतिनै बेला फोन गर्दा उहाँहरु केटाकेटीहरु सहरमा व्यस्त भएर फोन गर्ने समय मिलेन होला र गरेनन् भनेर पो हामी त! भनेर कति सजिलै कस्तो महानता देखाएको याद छ मसँग। अनि बिरामी पर्दा एम्बुलेन्स वा यातायातका साधन बोलाएर उपचार गर्ने ठाउँसम्म आफै जाने भन्ने कुरा त आकाशको फल जस्तै छ, गाउँका बुढाबुढीको लागि।
अनि वर्षातको बेला त्यो बाटोमा यातायातको साधन गुडाउन पनि कहाँ सजिलो छ र! अनि सार्वजनिक यातायात चलाउनेहरुमा पनि सामाजिक उत्तरदायित्वभन्दा पनि अप्ठ्यारो स्थितिमा रहेकाहरुलाई झनै आर्थिक शोषण गर्ने प्रवृत्ति पो पाएको छु, गाउँघरतिर जाँदा मैले समेत। फेरि सबैथोक चेकजाँच गर्ने सुविधासम्पन्न अस्पतालहरू पनि नजिकै कहाँ छन् र गाउँघरमा। त्यसो त नियमित स्वास्थ्य चेकजाँच गर्न प्रचलन पनि कहाँ छ र!
जीवनको उत्तरार्द्धमा समेत केबल सन्तान सुख भएमात्रै पुग्दछ तिनलाई, चाहे गाउँका बुढाबुढी हुन् चाहे सहरका।
तिनका दुःखपीडा आ-आफ्नै खाले होलान् ठाउँअनुसार तर आफ्नो भविष्यप्रति कुनै पर्वाह छैन, चिन्ता त केबल सन्तानको भविष्यप्रति छ। त्यसो त समाज सुहाउँदो खर्च गर्न समेत यी दुवै ठाउँका बुढाबुढीलाई के नै नपुग्दो छ र! सहरमा बस्नेका आर्थिक अवस्था र आम्दानीका श्रोतका कुरा त मैले माथि नै भनेँ, गाउँका बुढाबुढीको भाडा उठाउने घर नभए पनि आत्मनिर्भरताका लागि आर्थिक श्रोतको खाँचो देख्दिनँ।
गाउँमा बस्ने बुढाबुढीले सहरमा अनि सहरकाले विदेशमा अवसर भएको सुनेका, देखेका छन् र त्यसकै खोजीमा आफ्ना सन्ततिलाई पठाएका छन्। तर कहिलेसम्म भन्ने प्रश्न अनुत्तरित नै छ।
त्यसैले यो प्रश्नको उत्तर म जस्ता गाउँ छोड्नेहरुले अनि मेरो तल्लो घरका विदेशिने भाइबहिनीहरुले खोज्न अब ढिलो गर्नुहुँदैन। त्यसो त सहर र विदेश पस्नैहुन्न भनेर भन्न खोजिएको कहाँ हो र! पस्नुको प्रयोजन पूरा गरेपछि ज्ञान, सिप समेत लिएर फर्कँदा आफ्नो ठाउँको विकास गर्न पनि सकिने अनि ती बुढाबुढीको साथमा रहन पनि पाइने।
बुढाबुढीहरु सधैँ सन्तानको सुखमा रमाइरहने अनि सन्तानहरु फेरि आफ्ना सन्तानको उज्जवल भविष्य मात्रै चाहेर अघि बढिरहँदा कतै प्रत्येक अघिल्लो पुस्ताले आवश्यक हेरचाह, स्याहारसुसार, मायाममताको अभावमा सधैँजसो तड्पिरहने स्थिति त बनेको छैन? त्यसो त आफू बसेकै ठाउँमा बुढाबुढी पनि बस्ने व्यवस्था मिलाउन नसक्नेका नक्कली कुरा भनेर पनि त भन्न सकिएला।
जीवनको उत्तरार्धमा आफ्नो थातथलो छोड्न कसलाई रहर हुन्छ र? अनि आफ्नो हातगोडा चलुन्जेलसम्म आश्रित हुन पनि त कमैलाई मन पर्ला। आखिर यो आत्मसम्मानको रक्षा गर्ने पाटो पनि त हो। हाम्रै गाउँठाउँबाट केही समयको लागि सहर आएका अनि निश्चित समयावधिको लागि भिसा लगाएर छोराछोरीले विदेश लगेका बुबाआमाहरु समेत उक्त अवधिभर त्यहाँ रमाउन नसकेर छिट्टै फर्कनुको कारण छोराछोरीले माया नगरेर अनि आफूसँगै खास अवधिभर राख्न नचाहेकोले होला र!
हुन त नेपालको संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनेर प्रष्ट लेखिएको छ तर राज्यको दायित्व सामाजिक सुरक्षा भत्ताको नाममा मासिक रुपमा केही रकम उपलब्ध गराउने बाहेक अन्य सेवासुविधा अनि आवश्यक वातावरण मिलाउन त्यति धेरै ध्यान पुग्न सकेको देखिँदैन।
जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३, मुलुकी देवानी संहिता २०७४, सामाजिक सुरक्षा ऐन २०७५, जनस्वास्थ्य सेवा ऐन २०७५, जेष्ठ नागरिक सम्बन्धी नियमावली २०६५, जेष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६१ मा कति राम्रा कुरा लेखिएका छन् बुढाबुढीहरुका लागि। न बुढाबुढी जानकार छन् न जानकारी नै गराइएको छ उनीहरुलाई यी कुरा।
आजसम्म हाम्रो उज्ज्वल भविष्यको कामना गरिरहेका बुढाबुढीलाई अब सँगै रहेर बाँकी जीवनमा उनीहरुलाई सन्तान बाहिर रहेकोमा गर्व होइन आफूसँगै रहेकोमा गर्व गर्ने वातावरण बनाउन सक्नुपर्छ। उनीहरुको मुहारमा सँगै रहेर खुसी थप्नुपर्छ नकि सधैँभर सहर पसेर अनि विदेशिएर। साँच्चै लगनपछिको पोतेको काम छैन भनिन्छ नि, नत्र भोलिका दिनमा पश्चातापको शिकार हुनु सिवाय केही हुनेछैन।
पैसा र आश्वासनलाई मात्रै सहयोग नसम्झौँ। त्यसैपनि साथ चाहिने त्यो बुढ्यौली बेला, अहिलेको यो कोभिड-१९ को तीव्र संक्रमण गाउँ, सहर, विदेश जतासुकै फैलिएको बेला सबै परिवारका सदस्य एकसाथ रहनु बाहेक अरु खुसी खोजेर पाउन सकिएला र!
अब सबैले आ-आफ्नै ठाउँमा सम्भावनाहरुको खोजी गर्नुपर्छ। व्यक्तिगत रुपले कहाँ के गर्न सकिन्छ, सामूहिक ढंगबाट कसरी जाने आफ्नो टोल छिमेकमा छलफलपछि तुरुन्त योजनावद्ध ढंगले अघि बढ्नुपर्छ। आफ्नो ठाउँमा सामाजिक विकासका प्राथमिकता तय गर्नुपर्छ।
सबैलाई सँगसँगै कसरी लैजान सकिन्छ पर्याप्त बहस गरी अगाडि बढ्न कतै ढिलो त भैसकेन। आश्वासनले होइन साथ, सहयोगले मात्रै बुढाबुढीप्रतिको आफ्नो कर्तव्य पूरा गर्न कत्ति समय खेर नफालेको राम्रो भन्ने ज्ञान यो निरन्तरको घरबाट काम गर्ने अवसरले भयो। अब यसलाई मूर्तरुपले अघि बढाउन छलफल र परामर्शमा रहेकोले आशा गर्दछु, छिट्टै सफल हुनेछु, अनि तपाईं नि?