म एउटा सरकारी विद्यालय पढेकी विद्यार्थी हुँ। मलाई गाउँ छाडेर सहर पस्ने रहर थिएन। तर पनि २०७०/०३/०७ गते म धरान झरें। सानो खुसी लिएर सपना किन्नलाई एक पोको पैसाको थैली बोकेर।
मेरो लागि धरान एउटा विशाल सहर थियो। ओहो! कति ठूला घरहरू, कति धेरै गाडीहरू कुद्ने रहेछन्। म तिनै गाडी हेरेर दिन बिताउँथें।
अब क्याम्पसमा भर्ना हुने समय नि आयो। म पनि एउटा टेक्निकल कलेजमा नर्सिङ विषय पढ्ने भएँ।
पढ्न मलाई खुब आनन्द आउँथ्यो, सबै केटी साथी मात्र आहा! कति रमाइलो पढाइ हुन्थ्यो।
कहिले १२ बजे, कहिले १ बजे कलेजबाट फर्किएर हतार हतार चिसो भात खाएर मात्र म झ्यालबाट बाहिर हेर्थें।
धरानको बसाइ निकै लोभ लाग्दो थियो। छुट्टीको दिन म भाउजुसँग धेरै ठाउँ घुमेकी छु। भदा जन्मिँदा खेरी त्यो धोपाको चिसो भुइँमा ८ रात बिताएकी पनि छु। त्यहाँबाट पनि मान्छे जन्मे पछि मर्नुपर्ने रहेछ भनेर बुझें। गाउँबाट बाहिर ननिस्केकी एउटी अबोध केटी सहरको रंगीन संसारमा खुब नयाँ नयाँ सपना बुन्थें।
ठूला-ठूला अस्पतालमा काम गर्न पाए हुन्थ्यो भन्थेँ। यही सेतो एप्रोन लगाए डाक्टरको अघि पछि हिँड्ने सपना देख्थें।
नभन्दै म गाउँकी केटी पढाइ सकेर गाउँ नै आएँ। गाउँकै प्रा.स्व.के.मा स्वयमसेवकको रूपमा गर्न थालें। फेरि मलाई आफ्नै गाउँ रमाइलो भयो। गाउँमा बिना तलब काम गर्दा नि छुट्टै आनन्द आउन थाल्यो। केही महिना यसरी नै बित्यो। एउटा करार जागिर खुल्यो। मलाई नि त्यहाँ फाराम भर्न आग्रह गरेपछि फाराम भरें अनि म नै नियुक्ति पनि भए।
अहो! अब त मेरो नि महिनावारी तलब आउँछ। आफू सानै छु भन्ने लाग्दालाग्दै पैसा आफैं कमाउने भए। त्यो खुसी बाँड्नै सक्दिनँ। मेरो बोली वचन, अरूको कुरा सुन्न सक्ने मेरो धैर्यता देखेर गाउँ दंग थियो।
२/३ वर्षको काम धेरै रमाइलो भयो। अब म गाउँकी प्यारी भएकी थिएँ 'सानी सिस्टर' भनेर।
मलाई त्यति काम गरेपछि फेरि बर्थिङ सेन्टरमा काम गर्ने रहर जाग्यो। त्यहाँ नि २२ महिना जति काम गरें। त्यही काम गर्दागर्दै अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम आयो हाम्रो नगरपालिकामा।
मलाई एउटा नयाँ काम गरौं भन्ने हिम्मत आयो। मेरो गाउँदेखि गाउँसम्मको यात्रा गाउँमै रमाउन थाल्यो। म एउटा अनमी भएर समुदायमा आधारित पुनर्स्थापना सहजकर्ताका रूपमा काम गर्न थालें।
सधैं अफिसमा काम गर्ने मान्छे म, यहाँ गाउँ-गाउँ, घर-घर हिँड्नु पर्ने। नचिनेको गाउँ, नचिनेका मान्छेसँग काम गर्नुपर्ने।
हरेक पटक परिचय फरक भयो। कसैले हामी को कहाँको कर्मचारी भनेर चिन्नु भएन। कहिले पालिकाको कर्मचारी, कहिले करुणाको कर्मचारी, कहिले स्वास्थ्य चौकीको कर्मचारी भनेर चिनिए।
यसरी काम गर्ने शिलशिलामा आफूलाई मैले निकै परिवर्तन गर्ने मौका पाएँ। म जुत्ता नलगाई कतै हिँड्दा अप्ठ्यारो महसुस गर्ने मान्छे, यहाँ खुट्टै नहुने मान्छे नि खुसी देखें। त्यै भएर अहिले म चप्पल लगाएर पनि सबै ठाउँ खुलेर हिँड्न सक्छु। सबभन्दा ठूलो कुरा खुसी रहेछ। म आफ्नो सानो घर भयो भनेर आमा बाबुसँग झगडा गर्थें।मैले काम गर्ने ठाउँमा एउटा छानामात्र गतिलो देखें। तीनपट्टि आधा बारेको बेरा अनि न त झ्याल छ, न त एउटा ढोका नै छ। पूर्णरूपमा अशक्त ६८ वर्षको सेतै दाह्री फुलेको बुढो मान्छे मलाई देखेर रुनु भयो।
सायद मेरो अनुहार अनि बोली चिन्नु भएछ। बाहिर मुसलधारे पानी परेको थियो। मैले आफ्नो छाता मारेर, यसो अर्पालीमा टाउको ओताउँदै बुढा बालाई बोलाएँ। बुढा बा झन् धेरै रुनु भयो।
त्यहाँ बुढी आमाले बुवालाई उठाएर मलाई बस्ने पिरा दिन भन्नु भयो। मैले भो म उभिँदै ठिक छु भनें, गलेर हैरान मेरा खुट्टाहरू त्यहाँ पुगेर आफैं थकाइ मरेको आभास गरे। घरमा एउटी बुढी आमा, एउटी छोरी त्यै छोरी पनि दुवै आँखा नदेख्ने, काखमा दूधे नानी, अर्को ५ वर्ष जतिको नानी पनि रहेछ। बुढी आमा भन्दै हुनुहुन्थ्यो- ज्वाइँ भनाउँदो पनि आको थियो एउटा चकलेट नि ल्याएको थिएन नानीलाई। उल्टै दुई रात बस्यो भात मात्र खाएर गयो।
त्यो सानो छोरो भन्दै थियो- मेरो बाबाले अब आउँदा मिठाई ल्याई दिनुहुन्छ रे।
कति आशाका साथ त्यो नानीले आफ्नो बाबा छिट्टै आउने कुरा गर्यो। बुढा बा मलाई हेर्दै रोइरहनु भयो।
मेरो झोलामा केही कागज अनि दुइटा बिस्कुट र एक बोतल पानी मात्र थियो। त्यो बिस्कुट निकाले अनि एउटा नानीहरूलाई खोलेर बाँडिदिएँ। अर्को बुवालाई हातमा राखी दिएँ। बाको एउटा हात मात्र चल्थ्यो। खान खोजेजस्तो लाग्यो र त्यो बिस्कुट खोलेर थालमा राखिदिएँ। बुढा बुवाले बिस्कुट कपाकप खानुभयो। आँखाबाट आँसु झर्दै मलाई हेर्नुभयो मैले दुवै आँखाको आँसु पुछेर नरुनु बुवा भनें।
बुढा बुवालाई घरमा सबैले हिँड्न नसक्ने भनेर कुट्दा रहेछन्। विभिन्न नामले सम्बोधन गर्दा रहेछन्। सामाजिक सुरक्षा भत्ता पनि आमा छोरी भएर चलाउँदा रहेछन्। बुवालाई केही नदिँदा रहेछन्। त्यै भएर नि बुवा धेरै रुनु भएको रहेछ।
मैले आफ्नो दिउँसोको खाजा ती बूढा बा र नानीहरूलाई दिँदा उहाँहरू निकै खुसी देखें। मैले बिहान टन्न खाना खाएर आकी छु। दिउँसो किनेर भए नि खाजा खान सक्छु। अहिले यही भए नि हातमा राखी दिने सोच आयो। मेरो गाउँमा खुसी सकिन्छ। म कहिले खुसी सक्दिनँ भन्ने मान्छे आज धेरै खुसी लाग्यो। कसैको पीडामा थोरै भए नि मल्हम लगाएको आभास भयो।
मेरो गाउँप्रतिको विचार जे थियो। त्योभन्दा फरक रह्यो मेरो अनुभव।
मेरो गाउँदेखि गाउँसम्मको यात्रा गर्दागर्दै समाजशास्त्रमा स्नातक तहको पढाइ पूरा भयो। अझै गाउँमै रहेर अरूको मल्हमपट्टी बन्ने सोच छ। आफ्नो सानो त्यागले अरूको मुहारको खुसी देख्न पाइने रहेछ। अहिले गाउँ मेरो सोचभन्दा धेरै प्यारो भएको छ।