माथिको हेडलाइन पढ्दै गर्दा असल र राम्रा कर्मचारीलाई लाग्नसक्छ यो एउटै टोकरीमा हालिएको तोरी र कोदोजस्तो भयो! तर, बिल्कुल होइन तपाईंहरूले सुरूदेखि अन्त्यसम्म यो लेख पढ्दै गर्दा आफूलाई छुने खालको केही विषय भेट्टाउनु भयो भने यो लेख तपाईंलाई नै केन्द्रबिन्दु बनाएर लेखिएको हो।
यदि यो लेख पढिसक्दा पनि कहीँकतै आफूलाई पाउनुभएन भने मान्नुहोस् यो लेख तपाईंको लागि होइन।
सेवाग्राहीप्रति कर्मचारीको व्यवहार, बोली, ढाँचा के यस्तै हुन्छन् त ? यसका लागि आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई आफूले गर्ने व्यवहार सम्झेर पढिदिनुहुन अनुरोध गरेँ।
विश्वका हरेक राष्ट्रमा कर्मचारीतन्त्र छ, कर्मचारीहरू छन्, जसलाई हरेक राष्ट्रका राष्ट्रसेवकको रूपमा लिइन्छ। नेपालमा पनि सरकारी कर्मचारीलाई राष्ट्रसेवकको रूपमा लिने गरिएको छ।
राष्ट्रसेवकको अर्थ हो देशको सेवा, देशबासीको सेवक। राष्ट्रसेवक सरकारी कर्मचारी र नेपाली नागरिक भनेको सेवा दिने र सेवा लिनेभित्र पर्दछन्।
हाम्रो देश नेपालमा सरकारी कार्यालय र सरकारी कर्मचारीलाई हेर्ने दृष्टिकोण नै फरक छ।
सामान्यतया सरकारी कार्यालयको समय भनेको बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुन्छ। ५ बज्यो भन्नुको अर्थ अब घाम अस्ताउने समय भयो भन्नु नै हो।
हामी सबैले 'सरकारी काम कहिले जाला घाम' भन्ने उखान सानै उमेरदेखि सुन्दै आएको छौं। जसलाई सरकारी काम भनेको घाम कटाउने मेलो मात्रै हो भन्ने अर्थको रूपमा लिने गरिन्छ।
सबै सरकारी कार्यालय र सबै कर्मचारीको हकमा यो उखान लागु नहुन पनि सक्छ तर उखान प्रायः कर्मचारीको हकमा भने मेलखाने देखिन्छ। यो अवस्था किन आयो ? यो उखान किन बन्यो ? भन्ने विषयमा धेरै गहिरो अध्ययन गरिरहनु पर्दैन। एउटा सरकारी कार्यालयलाई उदाहरणको रूपमा हेरे पुग्छ।
आजको समयमा कुनै न कुनै काम विशेषले सरकारी कार्यालय नपुग्ने नागरिक सायदै हुन्छन्।
स्थानीय तहको वडामा लिने सिफारिस, तिर्ने करदेखि कुनै काम विशेषले मन्त्रालयसम्म धाउने धेरै छन्। वडादेखि मन्त्रालयसम्म पुग्दा धेरै सार्वजनिक निकायसँग जोडिनुपर्ने हुन्छ।
नागरिकको वडाबाट सुरू हुने जन्मदर्ताको प्रक्रियादेखि स्थानीय तह, जिल्ला, प्रदेश र संघीय तहमा रहेका कुनै न कुनै निकायसम्म केही न केही काम पर्ने नै गर्छ। शैक्षिक प्रमाणपत्र, नागरिकता, राहदानी, भूमि, मालपोत र स्वास्थ्य लगायतका सम्पूर्ण काम सरकारी कार्यालयमा हुने कामभित्र पर्दछन्।
सरकारी कार्यालय चलाउनेदेखि लिएर उनीहरूले थाप्ने पारिश्रमिक नागरिकले बगाएको पसिनाको मूल्य हो।
नागरिकको करबाट चल्ने सार्वजनिक निकाय र कर्मचारी नागरिकप्रति सेवामुखी, उत्तरदायी, जवाफदेहीका साथै पारदर्शी बन्नुपर्छ। तर, सरकारी कार्यालयमा काम विशेषले जाने नागरिकले कर्मचारीको टर्रो बोलीको सामना गर्नु नपरेको सायदै भेटिन्छन्।
यस्तै, दौरानमा सरकारी कर्मचारीबाट आउने टर्राे बोली नसुन्ने, नभोग्ने, नखेप्ने प्रायः हुँदैनन्। सबैले सरकारी कर्मचारीको प्रथम, दोस्रो वा तेस्रो रुखो 'डोज' भेटेकै हुन्छन्।
नेपाली बुझ्नुहुन्न ? एकपटक भनेको सुन्नुभएन? लगायतका बोली प्रायः कर्मचारीको 'मन्त्र' नै बनिसकेको छ।
भौगोलिक विकटता भएको हाम्रो देशमा सार्वजनिक कार्यालय भने सुविधासम्पन्न स्थानमै राख्ने गरिन्छ। एउटा सामान्य कामको लागि पनि धेरै दिनको समय खर्चेर आउने सेवाग्राही अझै वृद्धवृद्धा अवस्थाका आमबुवालाई सम्झनुहोस् त ? शारीरिक अशक्त, यातायातको असुविधा हिँडेरै कुनै सरकारी कार्यालयमा आउने आमाबुवाको पीडा।
यस्ता धेरै पीडा सहेर आउने वृद्धवृद्धामा समेत कर्मचारीको चोटिलो शब्द प्रहार हुने गरेको हामी सबैले देख्दै आएका छौं। यो समस्या वडामा मात्रै होइन, वडादेखि राजधानीमा रहेका प्रायः सार्वजनिक कार्यालयमा नागरिकले भोग्नु परेको नियति हो।
कुनै कागजपत्र अथवा प्रक्रिया नमिले त्यसलाई सरल र सहज बोलीले सम्झाउन पनि सकिन्छ। तर, कर्मचारीहरू सम्झाउने भन्दा झपार्नेतर्फ उद्दत छन्। मानौं कि उनीहरू राजा र सेवाग्राही भनेका रैति हुन्।
सबै सेवाग्राही बुझेका हुँदैनन्, कसैको त्रुटि अथवा प्रक्रिया नमिलेको हुनसक्छ त्यहीँ विषयलाई राम्रोसँग बुझाउने र प्रक्रियाबारे बताउने गर्नु कर्मचारीको दायित्व हो। यस दायित्वलाई कर्मचारीले सदैव आत्मसात गर्नुपर्छ।
सायदै कर्मचारी हुन्छन् जसले मिठास ढंगले सेवाग्राहीलाई सेवा दिइरहेका हुन्छन्।
सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीका यस्तै गुनासा छन्। एकै दिनमा काम भएकाहरू भेट्न मुस्किल पर्छ। कम्तीमा पनि दुईदेखि चार दिनसम्म कुरेर बसेका सेवाग्राही भेटिन्छन्। धेरैजसो सरकारी कार्यालयमा सेटिङ मिलाउने (बिचौलिया) हरू हुने गर्छन्। जसको कार्यालय प्रमुखसँग सिधै सम्पर्क हुने गर्छ।
सबै प्रक्रिया मिलेको अथवा केही सानो त्रुटि भएको विषयमा पनि कर्मचारीले भोलिको भाका तोकिदिन्छन्। हो, यस्तै भोलिको भाका तोकेका सेवाग्राहीलाई केही पैसा खर्च गर्न पर्ने काम आजै बन्छ भन्दै बिचौलियाले समात्ने गर्छन्। जुन बिचौलियाको कार्यालय प्रमुखसँग सम्पर्क हुने गर्छ। यस्ता धेरै समस्या पनि सरकारी कार्यालयमा छ्यापछ्याप्ती भेटिन्छन्। यस समस्याको जड को हुन् त ?
केही वर्ष अघि कृष्णहरि बाँस्कोटा अर्थ सचिवको रूपमा कार्यरत हुँदा आफ्नो र मातहतको कार्यालयमा मुस्कान सहितको सेवा सुरू गर्नुभएको थियो।
सेवा लिन आउने सेवाग्राहीलाई सहज र सरल रूपमा मीठो बोलीले सम्मानका साथ सेवा दिनुपर्छ भन्ने उहाँको मान्यता थियो।
सरकारी कार्यालय र कर्मचारीप्रति नागरिकले हेर्ने दृष्टिकोण परिर्वतन गर्नका लागि बाँस्कोटाले सो सेवा सुरू गुर्नभएको थियो। उहाँको अवकाशपछि त्यो सेवा त्यही थन्कियो।
कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहार हेर्दा लाग्छ, यो मुस्कान होइन ठुस्कानसहितको सेवा हो। जहाँ सेवा लिन जाने सेवाग्राहीले कर्मचारीको हेपाहा व्यवहारको सामना गरिरहनु परेको छ।
कर्मचारीलाई सेवा दिएबापत उचित व्यवस्थापन छैन, दिनभर खटिएर काम गर्दा, सयौं सेवाग्राहीलाई सेवा दिँदा प्रोत्साहनस्वरूप केही सुविधा छैन। यस विषयको गुनासो र कर्मचारीको उचित व्यवस्थापनको लागि सम्बन्धित निकायमा, सम्बन्धित व्यक्तिलाई गर्नुपर्छ। तर, निकै दुःख पाएर धेरै दिन लगाएर सेवा लिन आएका सेवाग्राहीप्रति यी सबै अभावको आवेग थुपार्दैमा मागको सम्बोधन हुँदैन होला ? यस विषयमा को सच्चिनु पर्ला ?
सेवाग्राहीलाई कार्यालयमा आउनेबित्तिकै मुस्कानसहितको अभिवादन गर्नुहोस्, मीठो बोलीमा प्रश्न–उत्तर गर्नुहोस्, राम्ररी अनुहारमा हेरिदिनुहोस्, कामलाई सहज बनाइदिनुहोस्, सहानुभूति दिनुहोस्, गुनासा सुनेर सम्बोधन गर्ने गरिदिनुहोस्, सरकारी सम्पत्तिलाई निजी सम्पत्तिजस्तै माया गर्नुहोस् नागरिकले कर्मचारीप्रति हेर्ने दृष्टिकोणमा फरक आइहाल्छ।
रुखो बोलेर दुःख दिने स्वभावमा नकारात्मक बन्नुभन्दा नम्र रूपमा प्रस्तुत भएर सहज रूपमा सेवा दिने उदारणीय कर्मचारी बन्नुहोस्। शुभकामना!