आजको ब्लगमा तीज विशेष कुरा लेखौं भन्ने सोच्दैछु। त्यसैले सहरका कुरा छाडौं, गाउँ घरका कुरा गरौं। किनकि सभ्यता र परम्परा गाउँघरले सिकाउँछ, सहरले बाँच्न र कमाउन मात्र सिकाउँछ।
तीजका कुरा गर्दा सबभन्दा याद आउने क्षण भनेकै घरमा आउने पाहुना हुन्थे। खुसी पनि त्यहीँ भेटिन्थ्यो। पाहुना आउँदा घरै उज्यालो, आहा!
कस्तो जमाना थियो भने नि ! सम्झँदा पनि अचम्म लाग्छ। चाडपर्व आउँदा घरमा पाहुना आउथे अनि हामी बच्चाबच्चीलाई संसार भरको खुसी मिल्थ्यो।
त्यति खुसी मिल्नुको पछाडि आ–आफ्नै स्वार्थ हुन्थे। आउने पाहुनाले कोशेली ल्याउथे, बिस्कुट चकलेट या चाउचाउ। घरमा पाहुना आउँदा बाआमा हामीसँग रिसाउन पाउनुहुन्थेन। हाम्रा गल्ती सबै माफ हुन्थे।
घरको काम पनि उस्तै सजिलो हुन्थ्यो, आएका पाहुनाले हातेमालो गर्दा दिनभरको काम केही घन्टामै खतम!
फेरि तीजमा आउने पाहुना भनेकै महिला हुन्थे।
उतिबेलाका तीजमा आमापट्टिका दिदीबहिनी या बापट्टिका दिदीबहिनीले घर भरिन्थे। घरभरि सानिमा र फुपूहरू भएसी हामीलाई मस्ती मात्र।
लोग्ने मान्छे पाहुना आउँदाभन्दा आइमाइ आउँदा हामीलाई फाइदा हुन्थ्यो, कोशेली बढी ल्याउँथे अनि घाँस दाउरा लगायत घरायसी काम बढी गर्दिन्थे।
पाहुना आउँदाको खुसी आजभोलिका केटाकेटीलाई के थाहा! उबेला जस्तो दुई चार दिन बस्ने पाहुना आउने जमाना पनि छैन आजभोलि।
आजभोलि आउने पाहुना भनेकै कि ऋण सापटी माग्न कि ऋण सापटी उठाउन। मर्दा पर्दाको कुरा अलग भैगो।
अब एकछिन तीजमा दरकै कुरा गरौं !
दर भन्नेबित्तिकै हामी खिरलाई बुझ्थ्यौं। हुन त गाउँघरका मान्छेलाई खिर खानका लागि कुनै विशेष दिन कुर्नु पर्दैन।
उबेला आमाले तरकारी पकाउन अल्छी लाग्यो भने उम्लँदै गरेको दूधमा एक माना चामल र एक बटुको चिनी हालेर खिर बनाइदिनु हुन्थ्यो। हामी खिर खाएर वाक्क भैसकेका हुन्थ्यौं। तातो खिरभन्दा बासी खिर मीठो लाग्ने भएर अर्को दिन खाने चलन थियो मेरो चैं।
तर दरको दिन खाइने खिरको बेग्लै महत्व हुन्थ्यो उतिबेला । दरमा खिर एक्लै पाक्दैनथ्यो, उस्तै खाले ढकनी पाक्थ्यो जसमा दूध बराबर घ्यु हालिन्थ्यो। हामी केटाकेटीमा खिरभन्दा ढकनी नै बढी मीठो मान्दै खान्थ्यौं।
ढकनी, खिरबाहेक आलुका चाना फ्राई, साग, काक्राको अचार लगायतका विभिन्न परिकार पाक्थे दरमा।
आमाले अल्छी लाग्दा बनाउने खिर जस्तो हुन्थेन दरमा खाइने खिर। खिरभित्र गडी ( नरिवल ) का टुक्रा अनि काजु किसमिस पनि भेटिन्थे।
निद्रा लाग्नुभन्दा अघि आएका सबै पाहुना बसेर खाइन्थ्यो दर। त्यसैले त आज भोलि सम्झन्छु ,'आहा त्यो दर !'
आजभोलिजस्तो होटलमा पाक्दैनथ्यो दर, संस्थामा पाक्दैनथ्यो दर ! अनि पिकनिकमा पनि पाक्दैनथ्यो दर। दर दिउँसै खाएर झ्याप हुने चलन त झन् अस्ति भर्खरबाट आयो। पुराना मान्छे छक्क पर्छन्, मजस्तै!
दरको नाममा दारु स्वाट्ट पारेर खुट्टा लर्खराउँदै नाच्ने जमात थिएन त्यतिबेला। दिदी बहिनीहरू मुखैले गीत गाउँथे, आमाहरू नाच्थे। हामी बा पुस्ता लगायतका केटाहरू थपडी बजाउथ्यौं।
दर पार्टीको नाममा आमाहरू बजार धाउने चलन थिएन। पार्टी प्यालेसमा दरसँग दारु लगाउने चलन थिएन। साउण्ड सिस्टममा ठुम्का लगाउने चलन झन् हुने कुरै भएन।
दर रातिमै खाइन्थ्यो, खाइसकेपछि नजिकैको चौतारोमा मादल घन्किन्थ्यो। मादलको घन्काइसँगै सबै जम्मा हुन्थे अनि सुरू हुन्थ्यो रौनकता।
दरभित्र दारु र मासुको प्रवेशसँगै तिजको मौलिकता हराउँदै गयो। चौपारीको नाचगान पार्टी प्यालेस सर्यो, आमाहरुको मौलिक भाकालाई आधुनिकताले कता सार्यो कता।
तीजको दिनको पनि आफ्नै महत्व र रमाइलो थियो उतिबेला। तीजको दिन नाच हेर्न जाने भनेर चार दिनलाई पुग्ने घाँस काट्नु पर्थ्यो उतिबेला।
दर खाने दिनको अघिल्लो दिनबाट हाम्रो छुट्टिजस्तै हुन्थ्यो। स्कुलको छुट्टी अनि घरको कामको पनि छुट्टी।
फिल्म हलहरूमा नेपाली फिल्म लाग्थे। बगैंचामा नाच घन्किन्थ्यो, नाचमा रस पर्नेहरू बगैंचामै हराउँथे। नपर्नेहरू हलमा छिर्थे।
समय पनि कति मीठा थिए भने ! तीजको समयमा फिल्म पनि तीजकै कथा भएका लाग्थे। वर्षमा एउटा दुइटा फिल्म बन्ने जमाना थियो।
तीजमा तीजकै कथावस्तुको फिल्म लाग्थ्यो, हल छिरेकाहरू रुँदै निस्कन्थे। फिल्ममा देखाइएको कथा र पात्र काल्पनिक हो भन्ने कस्लाई थाहा ? आमाहरूका आँखा दुई दिनसम्म रसाउथे, सम्झाउने कस्ले ?
'फलानीले कस्तो दु:ख पाएको, सासू कति कडा हुन्, पोइले किन हेला गरेको होला है ?' तीजमा हेरेका नेपाली फिल्मका समीक्षकहरू पँधेरामा, खेतमा अनि भैंसी ग्वालामा भेटिन्थे। उनीहरूले फिल्ममा हिरोइनले दु;ख पाएकोमा दु:ख मनाउ गर्थे, दु:ख दिने भिलेनहरूलाई भगवान पुकार्दै सराप्थे।
आजभोलि जस्तो सामाजिक सञ्जालमा विश्लेषण गर्ने जमाना थिएन। खबर ल्याइपुर्याउनेको नाम त आमाहरूले बीबीसी राख्दिन्थे उबेला। झन् सामाजिक सञ्जाल कहाँ हुनु।
कोरोना कहरसँगै कोठामा सीमित भएको तीजको नाच आजभोलि टिकटकमा देख्न सकिन्छ। उबेला चौपारीमा नाचेजस्तै गरी नाचेको पनि देखिन्छ तीजको गीतमा। तर नाचउस्तै भए पनि परिस्थिति र स्थान फरक छ।
उबेला आमाहरू खुला चौपारीमा मादल र थपडी मै नाच्दिन्थे, आजभोलि बन्द कोठाभित्र उत्ताउलो तीज गीतमा नाच्छन् बुहारीहरू अनि अपलोड गर्छन् टिकटकमा।
आजभोलि मौलिक तीजका भाका सुन्दा त्यो खोलो सम्झन्छु, अलिपरको चौपारी सम्झन्छु। मादल बजाउने साथीभाइ काका ठूलाबा सम्झन्छु। गीत निकालेर थपडीको तालमा आफैं गाउँदै आफैं नाच्ने ठूली आमाहरू सम्झन्छु।
सबै हरायो। सबै हामीले भोग्यौ, हामीले नै लोप गरायौं। अरु दस वर्षपछि छोरोलाई 'एकादेशको कथा' भन्दै उबेलाको तीज कथा भन्दिए भने उ पत्याउने छैन, सोच्नेछ 'बाको कथा काल्पनिक हो !'
उसलाई के थाहा ! दरमा दारु हुन्थेन, दर राति खाइन्थ्यो, घरमा पाहुना आउथे, चौपारीमा नाच घन्किन्थ्यो, गीत आमाहरूले गाउथे भन्ने कुरा ?
उसलाइ त यो थाहा हुनेछ ! दरमा दारु अनिवार्य छ, दर महिना दिन अघिबाट खाइन्छ, तीज गीत साउण्ड सिस्टममा लगाउने अनि केटा र केटी ठुम्का लगाउने हो।
धन्न अलिकति चाँडो जन्मिएछु, अनि मौलिकता र हाम्रा परम्पराहरूको मिठास चाख्न पाएछु। अरु दस वर्षपछि जन्मिएको भए त्यो मीठो अनुभव कहाँ हुथ्यो र ?