'यसपालि तीजमा म घर जान लागेको छु। केही लगिदिनु छ?' झरनाले चियाको कप टेबुलमा राख्दै भनिन्।
'खासै त्यस्तो केही छैन। हजुरआमालाई चिठी लेखेको छु। त्यही लगिदेऊ न है।'
'छ्या भिडिओकलको जमानामा पनि के चिठी लेखेको ?'
'भिडिओ कलमा त कुराकानी पो गर्ने हो। चिठी वाचन त गरिँदैन नि तै पनि हाम्री हजुरआमा चिठीकै जमानाको मान्छे। हामीलाई पो पाउरोटी, कर्नफ्लेक्स मन पर्छ।हजुरआमालाई त रोटी, भुटेको मकै नै मनपर्छ नि!'
मैले पिउँदा पिउँदैको चिया बैठक कोठामा छोडेर हिजो साँझ हजुरआमालाई लेखेको चिठी बेडरुमबाट ल्याएर झरनालाई दिएँ।
'लौ यो चिठीको खाम त बन्द छैन त। मैले बाटोमै पढें भने केही फरक त पर्दैन?' झरनाले मतिर हेर्दै भनिन्।
'पर्दैन पर्दैन.. बाटोमै किन अहिले नै यहीँ पढे पनि हुन्छ। केही फरक पर्दैन।
झरनाले चिठी पढ्न सुरू गरिन्।
मितिः २०७८/भदौ/
आदरणीय हजुरआमा
सादर नमस्कार
चिठी लेख्न छोडेको पनि धेरै वर्ष भएछ। म सानो छँदा हजुरले चिठी लेख्न सिकाएपछि मैले मामाहरूलाई केही चिठी लेखेको थिएँ तर पछि विस्तारै घरमा फोनको सुविधा भएपछि चिठी लेख्न आवश्यक ठानिएन त्यसैले चिठीको ढाँचा नमिले पनि मनको कुरा लेख्न त बाधा हुन्न नि!
हुन त मैले हजुरलाई बिर्सेको कुनै दिन छैन। तर पनि प्रत्येक वर्ष भदौ लाग्दा हजुरले भनेको त्यही कुरा सम्झन्छु।
'नानी यसपालि त अनिवार्य पन्चमी ब्रत गर्नुपर्छ है। महिनावारी भएको पाप पखाल्नु पर्छ नि!'
म कक्षा आठमा पढ्दादेखि नै हजुरले यो कुरा प्रत्येक भदौमा दोह्राई रहनुभयो। कक्षा आठदेखि बाह्रसम्म पाँच वटा भदौ गए तर मैलै कहिल्यै टेरिनँ।
गाउँबाट १२ कक्षा सकेपछि मलाई काठमाडौं जाने बस चढाउने बेलामा नानि अब तँ गाउँ आउने त दसैंमा त होला नि। तीजको पन्चमी पूजा काठमाडौं त्रिपुरेश्वरको मन्दिरमा गर्नू है! अब तँ ठूली भइस्। पाप कटाउनु पर्छ के!
'राम्रोसँग पढेस् नातिनी भन्नुस् न। खाली त्यही कुरा। अरु कुरा हुन्नन् र बुढीमाउँ।'मैले झर्किंदै भनेको थिएँ।
हजुरले टेक्दै गरेको लौरो मेरा टाउकोमा ट्वाक्क बझाउन नपाउँदै म चढेको गाडी गुडेको झलझली सम्झेको छु।
हजुरआमा जुन कुरा आफ्नो आत्माले स्वीकार्दैन त्यो कुरा अरूले जति सम्झाए पनि नलाग्ने। मेरो लागि संसारको सबभन्दा आदरणीय व्यक्ति हजुरले मलाई धेरै संस्कार सिकाउनु भएको छ। कुनैमा असल संस्कार झल्किन्थे भने कुनैमा वैज्ञानिक कारण पनि हुन्थे। आफू लगायत सम्पूर्ण परिवारको सुस्वास्थ्यका एवम् दीर्घयूका लागि, विद्या बुद्धि तथा धन प्राप्तिका लागि, हजुरले विभिन्न प्रकारका पूजा एवम् ब्रत बस्न सिकाउनु भयो जुन मैले आजसम्म पनि मान्दै आइरहेको छु तर महिनावारी भएको पाप कटाउने ब्रत बस्न भने मेरो मनले मान्दै मानेन। मैले पाप गरेको छु भनेर मेरो ब्रम्हले भन्दैन भने मैले किन पाप कटाउने ब्रत बस्ने?
हजुरले मलाई जति डर देखाए पनि स्कुलमा साइन्स सरले महिनावारी हुनु भनेको महिलाको प्रजनन स्वास्थ्यको एउटा सामान्य शारीरिक प्रक्रिया मात्र हो भनेर चित्र बनाएर बुझाएपछि मलाई झन् छ्याङ्ग भयो। यो कुनै पाप होइन भनेर। हजुरले भनेको र सरले भनेको कुरा फरक पर्यो।
अँ साँच्चै, हजुरले भन्नुभएको र सरले भन्नुभएको एउटा कुरा भने लगभग मिल्यो।
हजुरले मान्छेजस्तै अरु प्राणीमा आत्मा हुन्छ र सरले सबै प्राणीहरू पनि मान्छैजस्तै सजिव वर्गमा पर्दछन् भन्ने कुरा।
हजुरले सबै प्राणीमा हाम्रोमा जस्तै आत्मा हुन्छ भनेपछि र स्कुलमा सरले सजिव र निर्जिव पढाउँदा मान्छे र खसी, कुखुरा एउटै वर्गमा राखेपछि मैंले मासु खान नै छोडिदिएँ। मैले पाप गरेँजस्तो लाग्यो। मासुको स्वाद र तागत मेरो लागि गौण भयो। तर हजुरले जति डर देखाए पनि महिनावारी भएको कुरा मलाई पाप महसुस नै भएन।
देवीहरू हरेक दिन पुजिने। तिनै भगवान् बस्ने हाम्रो शरीर किन अपवित्र हुने ? हजुरले नै भन्नुभएको होइन र हाम्रो आत्मामा भगवानको बास हुन्छ भनेर।
जसरी बिरुवाहरू उम्रने, बढ्ने, फुल्ने र फेरि आफूजस्तै बिरुवा उत्पादन गर्ने प्राकृतिक प्रक्रिया हो। त्यसै गरेर मानिसको शरीरमा पनि परिवर्तन आउनु एउटा प्राकृतिक प्रक्रिया हो। महिनावारी महिला प्रजनन स्वास्थ्यको एउटा महत्वपूर्ण हिस्सा हो।
यदि शारीरिक परिवर्तन हुनु नै पाप हो भने केटा मान्छेले पनि पाप कटाउने ब्रत बस्नु पर्थ्यो होला। महिलालाई मात्र किन? शारीरिक परिवर्तन त पुरूषको शरीरमा पनि त आउँछ।
हजुरआमा, यसको अर्थ मैले जीवनमा पाप नै गरेकी छैन भनेकी होइन। खाना नै नखाएको बेलामा तीन वटा रोटी तरकारी खाए भनेर झूट बोलेर, ममीको झोलाबाट बीस रूपैयाँ चोरेर, रेडियो फकालफुकुल पारेर बिगारेर मैले रेडियो छोएकै छैन भनेर डेडीलाई ठगेर, समीलाई चुक अमिलो भनेर कुखुराको दिशा चटाएर, रश्मिको आँखामा मसला पानी छ्यापिदिएर, होमवर्क नगरे पनि कपी घरमै छुट्यो भनेर सरसँग झूट बोलेर, स्कुलमा साथीहरू बेन्चमा बस्न लाग्दा बेन्च पछाडि सारेर साथीहरूलाई भुइँमा पछारिदिएर, स्कुल कलेजका फूल र फूलका हाँगा भाँचेर, घरमा आउनु भएको पाहुनाको जुत्ता चप्पल लुकाइदिएर मैले कति हो कति बदमासी गरेको छु। यी सबै बदमासीको पाप पखाल्न कुन ब्रत बस्नुपर्छ म बस्न तयार छु तर जुन पाप नै होइन त्यसको पाप किन पखाल्ने?
यतिमात्रै हो र! हजुरआमा गाईलाई लठ्ठीले पिटेकी छु। कुकुरलाई चप्पलले हानेकी छु। कुखुरालाई डोकाले थुनेकी छु। जुनकीरी छोपेर पातमा पोको पारेकी छु। गाइने किरा ड्रागन फ्लाइ छोपेर पुच्छरमा डोरीले बाँधेर उडाएकी छु।
आँप र बेलौतीका रुखमा चढ्दा कति चराहरूका गुँडहरू भुइँमा झरेका छन्। विस्कुन खाना आएका चराहरूलाई बिस्कुन छर्दैछर्दै कोठासम्म लगेर झ्याल ढोका थुनेर ती चराहरूलाई छोपेर उनीहरूको तातो छाती भट्याक भट्याक गर्दै पखेटा फटफटाउन खोज्दा मैले झन् चपक्क चराहरूलाई समाएकी छु। भलै मैले ती चरालाई मारिन तर मैले तिनीहरूलाई दुःख दिएर पाप गरेँ।
म हजुरसँग पछि-पछि लागेर खेतबारीमा जाँदा मेरो अन्जानमा खुट्टाले कुल्चेर कति प्राणीको ज्यान गयो होला। जुम्रा, लामखुट्टे, साङ्ला त मैले जानाजान मारेकी छु।हजुरले नै भन्नुभएको हो नि यी सबै किट पंतङ्गमा हाम्रोमा जस्तै आत्मा छन्। मेरा यी सबै पाप कटनीको कुनै उपाय छन् भने म पाप कटाउन चाहन्छु तर महिनावरी कुनै पाप नै होइन यो त सृष्टिको निरन्तरताको लागि अमूल्य वरदान हो।
चिठी न हो कति लामो लेखूँ। म दसैंमा घर आएपछि लामो कुरा गरौंला। अब, चिठीको अन्तमा एउटा कुरा। हजुरआमाले भनेको नमान्ने नातिनीलाई कुन पाप लाग्छ? अनि त्यो पाप कटाउन कुन ब्रत पूजा गर्नुपर्छ? यो चिठी पढिसक्नेबित्तिकै मलाई फोन गरेर भन्नुहोला है!
हजुरले भनेको नमान्ने नातिनी
रेशा भट्टराई
चिठी पढिसकेर झरनाले चिठी खाममा राखिन्। उनको कपको चिया त अघि नै चियापत्तिवाला सरवतमा परिणत भैसकेको थियो।