आज भाद्र महिना कृष्ण पक्षको औँसी तिथि, अर्थात् बाको मुख हेर्ने दिन। कर्म दिने पिताको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिन।
आज आफ्ना पितालाई थरीथरीका मेवा मिष्ठान्न र अनेक स्वादिला परिकारहरु भोजन गराउँछन् र यथासक्य उपहारहरु दिन्छन् भने बा बितिसकेकाहरुले पितृको सम्झनामा गोकर्ण आदि तिर्थहरुमा विधिपूर्वक जल र पिण्डदान गर्ने गर्छन्।
हुन त जाय जन्म दिएर सक्षम बनाउने माता-पितालाई तिथि विशेषमा सम्झिएर अनि पर्व विशेषमा आराधना गरेर मात्रै नहुने हो। तथापि व्यस्त समयको दौडधुपको बाबजुद पनि मातापिताको सेवामा खट्न सिकाउने यी र यस्ता ऐतिहासिक पर्वहरुको विशिष्ट महत्व रहेको छ।
आजको यस दिनमा ती तमाम पिताहरुमा नमन गर्दै बाहरुको त्याग, समर्पण, लगानी, मेहनत र महानता, बाबुहरुको विवशता, बुवाहरुको विरह, ड्याडीहरुको दैनिकी अनि बाबुहरुको व्यथाको चर्चा गरौँ।
बा शब्द उच्चारण गर्न सजिलो छ, त्यसैले तोते बोलिसँगै सुरु गरिन्छ 'बा' बोल्न। तर सुन्नमा जति छोटो र बोल्न जति सरल छ त्यति सहज छैन बा बन्न। आफूलाई बिर्सिनुपर्छ बा बन्न, जिन्दगीभर असाध्य जिम्मेवारीको बोझ उठाउन सक्नुपर्छ बा हुन। आफ्नो तमाम इच्छा, आकांक्षा, चाहना र सपनालाई तिलान्जली दिएर बाँचुन्जेल सन्तानको लागि जिउनुपर्छ एक असल बा बन्न।
कर्मदाता बा या पिताहरु सन्तानलाई पालन-पोषण गरी शिक्षादिक्षा दिलाई बाटो देखाउने मानवरुपि भगवान हुन्। सन्तान जन्मनलाई विर्यदान गरेको क्षणबाट आफ्नो प्राण पर्यन्त सन्तानको पिर र चिन्ता अनि सन्तानकै सुख, सुविधा, हित र उन्नतीको लागि जीवन बिताउन सक्ने उदारता बाहरुमा मात्रै हुन्छ।
त्यसो त 'पिता' शब्दको उत्पत्ति नै पालन, पोषण र जिम्मेवारीसँग जोडिएको छ। चलन चल्तिमा भनिन्छ 'पाति रक्षति इति पिता'। मूल धातु 'पा' जस्को अर्थ हुन्छ पालन गर्नु, रक्षा गर्नु। अर्थात् जसले पालन गर्छ उही नै पिता हो। 'पिता' शब्दको मूल अर्थ रक्षा गर्नु सँगै जोडिएको छ।
प्राकृत सन्तान होस या दत्तक, पालन गर्ने, खानलाउन दिने, हेरचाह गर्ने, रक्षा गर्ने व्यक्ति नै पिता हो। ऋगवेदको अत्यन्त नजिक मानिएको ग्रन्थ एवेष्टामा पाको अर्थ पोषण गर्नु भनिएको छ। यसै 'पा' बाट पिता शब्दको उत्पत्ति भएको हुनुपर्छ। अन्य भाषाहरुमा पनि पातरम्, पिथ्रि, पिटर, फादर, पता, पाता आदि शब्दको अर्थ हुन्छ- रक्षा गर्नु, पालन गर्नु र यी सबै शब्दहरुले पितालाई नै इंगित गर्छन्।
सबै पिताहरुको मूलभूत दायित्व एउटै हो, पालन-पोषण गर्ने तर समाजमा सबै बाहरुको स्तर र अवस्था एकनास छैन। फरक-फरक स्तर, तह र तप्काका छन् बाहरु पनि। कोही बालाई पिताजी पुकार्छन्, कोही बुवा भन्छन्, केहीले बाउ भनेर बोलाउछन् त नयाँ पुस्ता ड्याडी र बाबा भन्छन्। तर जसरी सम्बोधन गरे पनि बा बा नै हुन्। पालन र रक्षा गर्ने भगवान अनि कर्मदाता इश्वर।
यसो त परापूर्व कालमा रचना गरिएका वेद पुराण र अनेकन शास्त्रहरुमा मानव जीवनमा पिताको सर्वोपरी महत्वलाई यथेष्ट चर्चा गरिएको छ। पद्मपुराणमा एउटा सुन्दर श्लोक छ: 'पिता स्वर्ग पिता धर्म पिताहि परमं तप:। पितरि प्रितिमापन्ने प्रियन्ते सर्वदेवता:।' अर्थात पिता स्वर्ग हुन्, पिता धर्म हुन् र पितानै सबैभन्दा ठूला तप पनि हुन्।
आफ्ना पितालाई प्रेम गर्न सके सम्पूर्ण देवी देवता प्रसन्न हुन्छन्। शास्त्र, साहित्य र दर्शनहरुमा पितालाई आकाशसँग तुलना गरिएको पाइन्छ। जसले बाँचुन्जेल आफ्ना सन्तानलाई छहारी दिइरहन्छन्। आमाको छाती र बाको काख जतिको सुरक्षित स्थान सन्तानलाई अरु कहाँ हुन सक्छ र? त्यसैले त नेपाली समाजमा एउटा लोकोक्ति छ- आमाको होटेलमा खाएर बाको लजमा सुत्न पाउँदासम्म केको पिर, केको चिन्ता!
'पराइ इष्ट र बाउ दुष्ट हुँदैनन्' जस्ता उखानहरुले एकातिर पिताको महत्व दर्साउँछन् भने अर्कातिर पिताले निर्वाह गर्नु पर्ने अहम भूमिकालाई। नौ महिनासम्म गर्भमा बोकेर जन्माई, हुर्काउन आमाहरुले जति दुःख, पीडा भोग्छन्, बाहरुले पनि हन्डर पाएका हुन्छन्। तर आमाहरुको जति चर्चा बाहरुको हुन सकेन।
बाहरुले खाएका ठक्कर, पाएका पीडा, खपेका वेदना, भोगेका व्यथा, बगाएका पसिना, लुकाएका आँसु, दबाएका सपना, मारेका इच्छा, बिर्सिएका सपनाको कहिल्यै बयान हुन सकेन। यदाकदा आफ्नो पीडा लुकाउन नसकेर आमाहरु रुनु हुन्थ्यो तर बाहरुले यो सुविधा कहिल्यै पाउनु भएन। कति दुखे होलान् ती घाउहरु, कति पोले होलान् ती छातीहरु तर पनि किँचित पीडा पोख्न पाउनु भएन।
न शिरको बोझ पन्छाउन पाउनु भयो, न घाम भनेर सुख पाउनु भयो, न हुरी-बतास भनेर विश्राम पाउनुभयो। के दिन, के रात, न साँझ, न बिहान, के गर्मी, के जाडो, न चाड न पर्व। केही नभनी अनवरत दुःख गरिरहनु भयो त्यो पनि आफ्नो लागि हैन, सन्तानको लागि। बा तपाईं साँच्चै महान् हुनुहुन्छ।
यथेष्ट जग्गा जमिन र सम्पत्ति भएको घरको सन्तान भइ जन्मिएर, उचित शिक्षा पाई सहज नोकरी या व्यवसाय सम्हालेका उच्च वर्गीय बाहरु बाहेक तपाईं-हामी अधिकांश निम्न मध्यम वर्गीय आर्थिक हैसियतका परिवारका बाहरुले बाँकी बाहरुको तुलनामा झनै बढी दुःख कष्ट सहेका छन्।
ती पहिलो प्रकारका बाहरुले राम्रो कमाए, टन्न जमाए, ड्याडी र पापाको दर्जा पाए, गाडी चढे, घर-घडेरी जोडे। तर दोस्रो प्रकारका तपाईं-हामी अधिकांशका ५० कटेका बाहरु गाउँमा जन्मिए। आमाले घाँस काट्दाकाट्दै, गोबर फाल्दाफाल्दै जन्मिएका कति बाहरु कलिलैमा कालले लगिए, बाँचेका मध्ये पनि थोरैले मात्रै राम्रो स्याहार सुसार, पौष्टिक आहार, रोगविरुद्धका अनेक नामका खोपहरु, बिरामी हुँदा औषधोपचार, चाडपर्वमा राम्रो लाउने र मिठो खान अवसर पाए।
अधिकांश बाहरु शिक्षाको अवसरबाट बन्चित भए भने भाग्यमानी केहीले पूर्ण या आंशिक विद्यार्थी भएर विद्यालय टेक्ने मौका पाए। तर हाम्रो जस्तो सुविधा थिएन उबेला बाहरुले भनेअनुसार। बिहान उठेर गाईबस्तुको धन्दा, घाँस सोतर गरी, डाँडा, पाखा, खोला नाला पार गरेर, पुरानो लुगा र खाली खुट्टा विद्यालय जान पर्थ्यो भने विद्यालयबाट फर्किएर पनि हतार-हतार उही खेतीपाती र गाइवस्तुको सेवामा खट्नु पर्थ्यो।
रातिमा पढ्न बिजुली नहुने अनि दिनमा फुर्सद नहुने। दुई निमेष खाली समय निस्कियो भने दाम्लो बाट्नेदेखि नाम्लो बनाउने, चोया काढ्ने, डोका थुन्से बुन्ने, केतुके काट्ने, पाट बनाउने, गाई बाख्रा चराउन गोठालो जाने, घाँस सोतर गर्ने, पत्कर र सल्लेबिर सोहोर्ने, किला, खामा, खम्बा, डाँडा, छात्रा, भाटा, दाउरा काट्ने, खर बट्याउने यी र यस्तै काममा दिनरात फुर्सद मिल्दैन थियो।
बर्खामा खेती लगाउने अनि हिउँदमा बाली थन्क्याउने र स्वाँरा अनि गोठ सार्नेकै चटारो हुन्थ्यो। अझै परिवारको जेठो सदस्यको रुपमा जन्मिएका बाहरुको झन् ओभरटाइम ड्युटी हुन्थ्यो। बा-आमालाई सघाउने अनि दुई/चार थान भाइबहिनीहरुको हेरचाह गर्ने। छुट्टीका दिनहरुमा मेलापात र पर्म लगाउन जानु पर्थ्यो भने 'आफ्नो खाइ अरुको पढ्न किन जानु?' भनेर घरायसी कामबाट फुर्सद हुँदाको दिनमात्रै विद्यालय जाने अवसर जुर्थ्यो।
आज जस्तो फेसबुक, टिकटक चलाएर पढ्न नपाएका होइनन् कि काम गरेर फुर्सद नभएको हो पिताजीहरुले भने अनुसार।
हाम्रा बाहरु माटोमै हुर्किए, आँगनमा डन्डिबियो र हुतुतु खेले, करेसोमा कुदे, बारीको पाटा र खेतको गह्रामा लुकामारी खेले, मुस्किलले दुई छाक भात खाए, बासीभात र ढिँडो पोलेर खाँदा पनि पिज्जाभन्दा मिठो माने, पपकर्नको साटो भुटेको ठेट्ना मकै चपाए, ठेकीको मही पिए, हर्पेका घिउ खाए, दरमारा र कलब्रेक खेले, ढिकीमा कुटेको चिउरा सिध्याए।
गाउँघरकै मनोरम, सफा पर्यावरणमा रमाए अनि दिनरात घट्ट, मिल, पानि पँधेरो, मेलापात, घाँस दाउरा, खेतीपातीमा दुःख गरे, नुन, तेल, मसला, लत्ता, कपडाको जोहो गरे, बाल बच्चा पढाए, दुःखसुख चाडपर्व मनाए, खेत जोडे, बारी थपे, अनि सन्तानहरुको बिहे दान सम्पन्न गरे तर पनि बुढेसकालको सहारा, ढिकुरोको पूजारीलाई कहिल्यै दुःखको भानसम्म हुन दिएनन्।
१० कक्षासम्म पुग्न नपाउँदै धेरै बाहरुको पढाइ बीचमै रोकियो। कतिलाई पढ्न जाँगर चलेन, कतिलाई 'हात्ति पढेर ठूलो भको होइन' भन्ने उखानबाट प्रेरणा मिल्यो, कतिले नपढे पनि बुढी पाइहालिन्छ, बिहे भैहाल्छ भन्ने महसुस गरे, कतिले शिक्षकको पिटाई खप्न सकेनन्, कतिलाई विद्यालय जाँदा नुहाउन र दाँत माझ्नु पर्ने नियमले साह्रो पर्यो, कति बाहरुलाई केटीसम्म नदेखाइ बाका बाहरुले बिहे गरिदिए, कतिको आर्थिक अवस्थाले दिएन भने कतिका पिताहरुले पुत्र पढाइरहनुको प्रयोजन देखेनन्।
फलस्वरुप सबैको पढाइले निरन्तरता पाएन। पढेका बाहरुले जागिर खाए, बाठाटाठा भए, राजनीति गरे, पैसाको अनुहार देखे भने नपढेका बाहरुले दुःख पाए, दुनियाँ देखे। बीचमै बाटो बिराएका बाहरुले आफ्नै बाको सिको गरे। कतिले हलो, कुटो, कोदालो उचाले, बाख्रा थपे, हलगोरु ल्याए। कतिले अग्नि स्थापना र श्राद्धका किताब समाते, अनि कतिले आरन सम्हाले, त कतिले बाकै कपडाको कलको सहारा लिए एवम् कति ज्याला मजदुरी गर्न बाध्य भए। १५/१६ उमेर नपुग्दै अनि प्रेम के हो बुझ्न नपाउँदै र बिहेको बारेमा सोच्न नभ्याउँदै श्रीमान भए।
लाज र सरममै श्रीमती स्वीकारे। अनि आफ्नो र बच्चाको बारेमा कल्पना नगर्दै बा बने। जाने बुझेका बाहरुले २/३ सन्तानपछि विश्राम लिए भने परिवार नियोजनको साधन र ज्ञानको अभावमा कतिपय बाहरुले एकाध वर्ष बिराएर ८/१० सन्तान पनि जन्माए। जति सन्तान भए पनि भोको राखेनन्, नाङ्गो हुन दिएनन् र शिक्षाको अवसरबाट बिमुख गराएनन् भलै आफूले जति दुःख पाउन्।
अचम्म लाग्छ, ५/६ सन्तान कसरी हुर्काए होलान् त्यो बेला? दुई सन्तान धान्न हम्मेहम्मे छ अचेल। बाहरुको कठोर परिश्रमबाट निरन्तर कर्तव्य पथमा लागिरहेन प्रेरणा मिलोस् हामीलाई।
सानै उमेरमा बिहेबारीपछि बाहरु बीचमा जेठो, कान्छो, बलियो र निर्धो बीचमा भेदभाव सहित बाक्लो दाल खाने नाममा छोटो समयमै छुट्टै राखिदिने चलन थियो। अंशबन्डामा कान्छोले रोज्न पाउथ्यो भने जेठोले या सोझोले गैरी, टारी, पाखा बारी र कुलो माथिको खेतमा चित्त बुझाउन पर्थ्यो।
कलिलो अपरिपक्व उमेर, कलिलै उमेरकि श्रीमती अनि दूधे बालक, बाठाटाठा बलिया बांगा गाउँलेहरु, साँधको ढुँगा सार्ने सँधियार, घाँस सोतर चोर्ने छिमेकी, छोराछोरीलाई कुटपिट र थिचोमिचो गर्ने दाजुभाइ आदिको ज्यादती र अनेक तरहका दुःख र दानवी प्रवृत्ति बीचको चुनौतिपूर्ण यात्रा कति पनि विचलित नभइकन पूरा गर्नुभयो तपाईं हाम्रा बाहरुले।
तर सबैका बा सम्मान गर्न लायक सज्जन नि हुँदैनन्। आफ्नै छोरी या छोरी उमेरका माथि कुदृष्टि लगाउनेदेखि व्यभिचार गर्ने, वर्षैपिच्छे नयाँ-नयाँ आमाहरु भित्र्याइरहने, कोही दिनरात मदिरामा लठ्ठ भएर घर व्यवहार लथालिंग पार्ने, छिमेकीलाई दुःख दिएर चोरी चकारीमार्फत आफ्नो भकारी भर्ने लगायत विविध प्रकारका कुकृत्य गर्नसम्म पछि पर्दैनन् कतिपय बाहरु। तर आफूमा जतिसुकै कमि कमजोरी भए पनि, कुबाटोमा हिँडे पनि आफ्ना सन्तानहरु असल र अब्बल भएको हेर्न चाहन्छन्।
शत्रु भड्काएर आफ्ना उपर निरन्तर प्रहार गरिरहे पनि, श्रीमतीलाई टोकसिरहे पनि, अनेक तरहबाट दुःख दिरहेपनि बाका खुट्टा ढोगिरहनु भयो हाम्रा बाले, आमालाई वचन लगाउनु भएन, विशाल हृदय बनाएर सबैलाई माफी दिनुभयो। न कहिले रिसाउनु भयो, न आत्तिनु भयो न मात्तिनु नै भयो।
सोच्दा पनि कहाली लागेर आउँछ स्वजनबाटै गरिएका ती प्रहारहरु, ती असह्य धोका, अक्षम्य अपराध, र अमानवीय कर्तुतहरुलाई बाले कसरी सहन गर्नु भयो होला! न कसैलाई अपशब्द बोल्नुभयो, न अन्याय र अत्याचार गर्नुभयो, समृद्धि सम्भाव र पर द्रव्येषु लोष्टवत भनेर बाले सिकाएका अर्ति उपदेश अझै पनि यो मानसपटलमा ताजै छ।
अझै कति बाहरुका भूकम्पमा घर भत्कियो, बाढीले खेत बगायो, पहिरोले घर कटेरो र बारी लग्यो, आगो लागेर मटान खरानी भयो, दुना भैँसिहरु थलैमा मरे, सन्तानहरु दैवले चुँडेर लग्यो तैपनि सहनु भयो चुपचाप। त्यसैले लाग्छ हाम्रा बाहरु भनेका मानव होइनन् सिङ्गो इतिहास हुन जो जस्तासुकै दुःख पीडा डटेर सामना गर्न सक्छन्। नमन छ बा तपाईंको स्वाभिमान, आत्मविश्वास र साहसलाई।
तर सानामा बाका आफ्नै कठोर नियमहरु हुन्थे, त्यसैले बासँग रिस पनि उठ्थ्यो। धान चुट्दा चप्पल लगाउन नपाइने, मंसिरमा छाता ओढ्न नहुने, सिमसार क्षेत्र र पानीको मुहान नजिक पिसाब फेर्न नपाइने, दिनहुँ नुहाउनु पर्ने, व्रतबन्ध नहुँदासम्म अनि सफा कपडा बिना चुल्होमा जान नहुने,
दिसा-पिसाब गर्न जाँदा जनै कानमा झुन्डाउन पर्ने, दसैँमा नयाँ कपडाको नाममा स्कुलकै पोसाक किनिदिने आदि। तर सधैँ माया मात्रै गर्नु भएन, उपद्रो गर्दा अनि अनुशासनबाट बिमुख हुँदा सिस्नु पानी लगाउनु भयो, कान समातेर ऊचाल्नु भयो तर बाको रिस तत्क्षण नास हुन्थ्यो र पूर्ववरत स्नेह पनि गर्नु हुन्थ्यो।
अचेलका आधुनिक बाका सन्तानहरुलाई अपवादमा राख्ने हो भने हामी कहिल्यै पनि बासँग आमा जति नजिक हुन सकेनौँ। एकअर्काप्रति अपार माया र अगाध स्नेह भए पनि केही अदृश्य दूरी सदैव कायम रहिरहन्थ्यो। बा भनेपछि मायासँगै डर लाग्थ्यो, आदर र सम्मान प्रकट गर्थ्योँ।
बासँग हमेसा एकै मात्र प्रश्न हुन्थ्यो- बा आमा कता हुनुहुन्छ? बिहान उठ्दा पिताजी कहिल्यै घरमा भेटिनुहुन्न थियो अनि साँझमा हामी निदाइसक्दा पनि फर्किनु हुन्न थियो। कहिल्यै मिठो खान पाइएन भन्नु भएन, आमालाई राम्री भइनस्, यो गरिनस् त्यो गरिनस् भन्नु भएन।
आमाको अनुपस्थितिमा दायाँबायाँ गर्नु भएन, अनावश्यक समय खेर फाल्नु भएन तर मौका पर्दा कलब्रेक र कौडा हान्न बाँकी राख्नु भएन। राम्रो र नयाँ कपडा पर्व विशेष बाहेक फेर्नु भएन। बा, हाम्रा हजुरबुवा-हजुरआमाका तिनै सन्तान हुन् जसले आफ्ना इच्छा निमोठे, चाहनालाई कुल्चिए, ऐस आरामलाई बिर्सिए अनि सदैव हाम्रै सुख र सफलतालाई आफ्नो अभिष्ट ठानेर अनवरत लागिरहनु भयो।
यदाकदा बाहरु असीमित दुःखबाट आजित भएर भन्ने गर्नुहुन्छ 'मुलाको डोब मुलालेनै खन्छ', 'हात गोडा लगाइदियौँ अब गरेर खाइहाल्छन्', 'सानो हुँदा मर्लान् कि भन्ने डर ठूलो भएसी मार्लान् कि भन्ने डर' तर सन्तानहरु बुढा भइसक्दा पनि बा-आमाको मन छोराछोरी माथि नै हुँदो रहेछ। अतः हातका ठेला, मुजा परेका निधार, चाउरिएका गाला, सेतै फुलेका कपाल, बुढो रोगी शरीर भैसक्दा पनि सन्तानकै सुखको लागि दुःख गरिरहनु हुन्छ। चासो र चिन्ता गर्नुहुन्छ। सुझाव र सल्लाह दिनुहुन्छ। स्याबासी र गाली गर्नुहुन्छ।
सन्तानको लागि जवानी र जीवन नै समर्पण गर्नसक्ने बाहरु साँच्चै नै महान् हुनुहुन्छ। उहाँहरुको हेरचाह गर्न कन्जुस्याइँ नगरौँ। सबै बाहरुमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना।