'बाबु दिदीहरुलाई फोन गरिस्?'
पछिल्लो दश वर्षयता, प्रत्येक वर्ष तीजको सम्मुखमा ममीले मलाई सोध्न थालेको प्रश्न हो यो। दरखाने दिनभन्दा तीन/चार दिनअघि विवाहित दिदीबहिनीलाई तीजमा लिन जानुपर्ने मौलिक चलन हो।
म भने पढाइको लागि सहर पसेको यतै जागिर गर्न थालेपछि दशैँ र तिहारमा बाहेक गाउँ जाने गरेको थिइनँ। सोहीअनुसार तीजमा दिदी लिन नगएको दश वर्षै भएछ।
म राजधानी। बाबा सधैँ विदेशतिर। घरमा ममी एक्लै। गोठमा भैँसी, एकसरो मान्छे ममी कतै हिँड्न पाउनु हुन्थेन। धन्न सही बेला फोनको पहुँच बढेछ र सजिलो भएको छ।
'दिदी, लिन आउन पाइनँ केरे, टाढा छु। तपाईंलाई थाहा छँदै छ। यही फोनलाई भाइको माया सम्झेर तीजमा आउनुहोला। ममीले बाटो हेरेर बस्नुहुन्छ।' अनि मैले प्रत्येक वर्ष यस्तै भन्न थालेको थिएँ।
ममी आफै छोरीहरुलाई फोन गरेर बोलाउन सक्नुहुन्थ्यो। बाबा विदेशमै भए पनि चाडबाडमा सबैलाई सम्झिनु हुन्थ्यो। र पनि ममी मलाई भन्नुहुन्थ्यो 'असली माइती भनेका दाजुभाइ हुन्, भ्याएसम्म तीजमा लिनै जानुपर्छ। नभ्याए तैले फोन गरेर बोलाए दिदीहरु खुसी हुन्छन्।'
म एकैछिन सोच्न थाल्छु। म यतै, बाबा उतै अनि ममी घरमै तर, फोन हुँदैनथ्यो भने? जसरी हुन्छ दिदीहरु लिन कि म यहीँबाट जागिरमा बिदा लिएर जानुपर्थ्यो कि ममी नै जानुपर्थ्यो। म जान पाइनँ भने ममी नै जानुपर्थ्यो। गोठको भैँसीलाई दुई/तीन दिन पुग्नेगरी घाँसको व्यवस्था गरेर, छिमेकीलाई भैँसीको रेखदेख गर्न लगाएर भएपनि ममी जानु हुन्थ्यो।
अरे मिलाए त मिल्ने रैछ नि। हामी आफै तर्किन खोजिरहेका रहेछौँ। आखिर मौलिक चलन त यही हो, हामीले जोगाउन खोज्ने हो भने सकिँदो रहेछ। अझ ममीले कुनै हालत नभ्याए पनि गाउँका अन्य छिमेकीमार्फत उनीहरुका चेली लिन जाँदा त्यही बाटो परे, 'लौ न हाम्री छोरीकोमा पसेर सँगै ल्याम्नु होला।' यसरी पनि चलन जीवित राख्न सकिँदो रहेछ।
तीजकै प्रसंगमा म स्यानो छदाँको परिवेश सझिन्छु। ६० को दशक सुरु हुनु पूर्वसम्म तीजको मौलिकतामा आधुनिकता घुसिसकेको थिएन। मामाघरबाट कहिले हजुरबा, कहिले मामा त कहिले हजुरआमा तीजको तीन/चार दिन अगाडि हाम्रो घर आउनु हुन्थ्यो। ममीको साथमा म र दिदीहरु मामाघर जान्थ्यौँ। बाटोमा ठुलीमाको घर पर्थ्यो, त्यहाँबाट पनि मामाघर जानु हुन्थ्यो। बाटोभरि तीजमा माइती जाने चेलीहरु र मजस्तै भान्टाङभुन्टुङ मामाघर जानेको लर्को हुन्थ्यो।
मामाघर टाढा थियो। त्यसमाथि हिँडेर जानुपर्ने। मजस्तै हिँड्नेदेखि बोकेर हिँड्नु पर्ने साना-साना बाबुनानीहरु लिएर यात्रा गर्नु निकै कष्टप्रद हुँदो हो, त्यमाथि बर्खाको समय। झरीको टुङ्गो हुन्थेन। बाटो कतै चिप्लो, कतै हिलो। सबैभन्दा डरलाग्दो खोला तर्नु हुन्थ्यो।
कोही-कोहीलाई त्यही खोलाले बगाएको घटना हजुरबाले सुनाउँदा मामाघर बेकार आएछु जस्तो लाग्थ्यो। म बच्चै हुँदा मलाई पनि मेरो ममीले त्यसरी नै बोकेर त्यो बाटो हिँड्नु भएको थियो होला। कति गाह्रो भयो होला। म अहिले अनुमान मात्र गर्न सक्छु।
त्यो बेला पहाडी इलाका सबैतिरको परिवेश यस्तै हुँदो हो। कतै कच्ची सडक पुगेको भएपनि बर्खामास यातायात नचल्ने। बौलाएर बग्ने खहरे खोला तर्नुपर्ने। फाट्टफुट्ट झोलुङगे पुल भएपनि मक्किएका काठ टेक्दा घच्याक्क गैहाल्छ कि भन्ने डर, फेरि झोलुङ्गे पुल कोक्रो झैँ मच्चिने उस्तै, मुटु हत्केलामा राखेर पार गर्नुपर्ने।
जोखिम अनि कष्टपुर्वक यात्रा गरेर चेलीहरु माइतीमाजम्मा भएर मनाउने तीज। अनि बल्ल-बल्ल जम्मा भएका दिदीबहिनीका पिरका पोका गीतबाट पोखिँदाको मौलिक परम्परा अहिले सम्झिन्छु मात्र।
तर अहिले अवस्था त्यस्तो रहेन। मानिलिउँ अहिलेकै अवस्थामा म घरमै भएको भए दिदीहरु लिन जाने जाँगर चलाउदिन थिएँ। भन्थेँ, 'फोन गरेर हुन्छ भने किन दुःख गर्नु?' त्यसैले दिदीबहिनी लिन जाने तीजको मौलिक परम्परा मेटाउनुमा म आफै दोषी छु।
अहिले चाह्यो भने दिनदिनै कुरा हुनसक्छ, त्यो पनि भिडिओ कलः
छोरीः आमा, तपाईंको कपाल फुलेछ।
आमाः अब बुढी भैन तनि!
फेरि आमा भन्नुहुन्छ।
आमाः अहिले अलि मोटाको होस् कि, गाला रातापिरा देखिरान्।
छोरीः अँ.. यतिखेर मोटाइचु।
यसरी दिनहुँजसो कुरा हुन थालेसी, तीजमा लिन जानु बाहना मात्र जस्तो हुन थाल्यो। प्रविधिले दूरी निकै छोट्याइदियो। विदेशै भएकी छोरीसँग पनि नजिकै बसेर कुराकानी गरेजस्तो हुनथाल्यो। यता आमाले परिकार बनाएर भिडिओ कलबाट देखाएसी, मुखमा नपरे पनि खाए जत्तिकै मन अघाए जस्तो भो, अरु के चाहियो।
यसरी तीजमा लिन जाने परम्परा विस्तारै हराउन थालेको छ। त्यसरी नै हराउन थालेको छ, तीजमा चेलीले गाउने तीज गीतको मौलिकता।
उबेला बुहारी भएर घरगरी खाँदाका तिता मिठा अनुभव चेलीले माइतीको आँगनमा लय हालेर गीत मार्फत भनिरहँदा माइतीको मन कटक्क दुख्थ्यो। घरमा सासुले दिएको दुःख। नन्द-अमाजुका वचन। देउरानी-जेठानीसँगको नोकझोक। श्रीमानको माया वा तिरस्कार गीतमा आउँथे। बाबा-आमा, दाजु-भाइ माइतीघरको याद। संगीसाथीसँगको बाल्यकाल सम्झेर रोएका पलको जब चेलीले गाउँथिन्, वरिपरि सबैका आँखा भरिएर पोखिन्थे।
त्यतिमात्र होइन, आमाबाबुले रोजिदिएको लोग्नेका गुण, अवगुण बारे चर्चा गरेर आमाबाबुसँग गुनासो पोख्ने माध्यम तीज गीत बन्थ्यो। कुनैबेला आफ्नै ठानेर हाँसिखेलेको माइतीघरमा, अहिले दाजुभाउजू-भाइबुहारीले पराइ झैँ व्यवहार गर्न थालेको दुखेसो हुन्थ्यो। त्यतिखेरको परिवेश यस्तै थियो। त्यही कुरा स्वाभाविक रुपमा त्यतिखेर सृजना हुने, तीज गीत भित्र बढी समेटिन्थे।
तीज गीतमा चेलीका कथा मात्र होइन, समाज भित्र घटेका अनेक घटनालाई गीतद्वारा सुनाउने गरिन्थ्यो। बाढी पहिरोले गरेको क्षती। परदेशी घर नफर्केर आमा बाटो कुरेर बसेकादेखि देशमा घटित अनेक घटनामा तीज गीत तीजकै भाकामा गाइन्थ्यो। यसरी गाइने गीतमा ठाउँअनुसार शब्दवाली फरक-फरक हुँदा हुन्, लयभाका मिल्दाजुल्दा हुन्थे। ती लयभाका सबैका साझा थिएँ। घटनाको प्रस्तुतीकरण र शब्द चयन, असाध्यै मिठो हुन्थ्यो।
'दुई हजार अन्ठाउन साल जेठको महिना,
दरबार हत्या काण्डबारे सुन बइन।
उन्नाइस गते शुक्रबार रात्रिभोज चलेको
आयो आवाज अचानक गोली चलेको।'
यस्तै शब्दहरु जोरजाम गरेर तीजमा आमाहरुले गीत गाएको म अहिले पनि ठिकठाक सम्झिन्छु। पचास सालको दासढुंगा घटनाको बारेमा तयार पारिएको गीतको चक्का हाम्रो घरमा निकै पछिसम्म थियो। कुइरो लाग्यो, बोलको गीत सदाबहार क्यासेटमा बजिरहेको याद अझै ताजा छ।
स्पष्ट छ, तीजमा चेलीको वेदना मात्र नभएर स्थानीय, राष्टिय, सामाजिक, राजनीतिक घटनाको समेत कथा भन्ने मौलिक परम्परा थियो। अहिले घटनाको बारेमा तीज गीत बन्न छाडेका हुन् कि भन्ने भान हुन थालेको छ।
अहिले उही र उस्तै समय रहेन। चेलीहरुले भोग्ने समस्या, उनीहरुको अवस्था, समाजको चेतना स्तर, परिस्थितिमा ठूलो बदलाव आएको छ। चलायामान समयसँगै उही र उस्तै परिवेश अहिले खोज्नु पनि सही होइन। आज टाढा भएकी छोरी लिन जाँदा कम्तीमा यातायात पुगेको छ। खोलाहरुमा पक्की पुल बनेका छन्। कुनै कारण छोरी लिन जान सकिएन, सञ्चारको विकासले झनै दूरी छोट्टिएको छ।
परिवेश उही छैनको मतलब अब चेलीका समस्या सकिए भन्ने होइन। समस्या छन्। मात्र समस्याको प्रकृति फेरिएका छन्। स्वाभाविक छ, जब समस्याका प्रकृति फरक छन्, परिवेश फरक छ भने चेलीका भोगाइ, अनुभव उस्तै हुँदैनन्। त्यसैगरी गीतमा आउने शब्दावली, सृजनामा फरकपन आउनेनै भयो।
त्यसैले उहीलेको परिवेशसँग अहिलेको परिवेशलाई तुलना गर्न मिल्दैन। अनि गीत भित्र उस्तै नालीबेली भएन भन्नु पनि सान्दर्भिक नहोला। तर त्यसो भन्दैमा मौलिकरुपमा रहेका हाम्रो लोकभाका, लोकलयमा आधारित तीज गीतलाई बिगारेर, अन्यत्रै मोडेर आधुनिकीकरण गर्दै लैजाने कार्य कहीँकतैबाट सह्य पटक्कै हुँदैन।
जस्तो कोरोना पूर्वका वर्षहरुमा, एक महिना अगाडिबाट दर खाने निहुँमा महिलाहरुबाटै तीजको मौलिकतामा सबभन्दा बढी प्रहार भएको थियो। महिलालाई दर खुवाउने निहुँमा विभिन्न समूह, सामाजिक संघ-संस्था, राजनीतिक दल, संगठन लगायत धेरैले पार्टी-प्यालेसमा दर खुवाउने चटकको प्रतिस्पर्धा गरेर विकृति फैलाएका थिए।
यसरी महिना दिन अगाडिबाट दर खान थाल्ने हो भने, जुन दिन दर खाने भनेर छुट्याइएको छ, त्यसको महत्व के? कसै-कसैले भन्ने गरेको सुनेको थेँ 'त्यो एक दिनमा सबै आफन्त, संगीसाथीसँग दर खान भ्याइँदैन। त्यो दिन आफ्नै घरमा परिवारसँग दर खाँदा ठिक्क हुन्छ।' मलाई यस्तो जवाफ सुनेर हाँसो उठ्थ्यो।
नभ्याइने कुरा गर्ने हो भने दशैँको टीका पनि नवदुर्गा लाग्ने बित्तिकै सुरु गरे भैगो नि। एक दिनको टीकामा सबैतिर जान भ्याइँदैन भनेर, पहिल्यै टीका लगाउनुको के महत्व? एकैदिन छ र त त्यसको महत्व छ। भ्याइनभ्याई टाढा-टाढासम्म राति अबेरसम्म पुगेर टीका ग्रहण गर्नु पो दशैँ त।
खासमा मौलिकताको कुरा गर्ने नै हो भने, रेकर्डेड तीज गीत हाम्रो मौलिक चाडको परम्परा होइनन्। यद्यपि यो समयको माग हो। मौलिक रुपमा सृजना भएका गीतसंगीतले चाडको मौलिकता घटाउँदैन बरु बढाउँछ। बरु व्यवसायिक रुपमा आएका गीतसंगीतले वास्तविक चाडको स्वरुप र ढाँचालाई तोडमोड गर्ने, समाजमा अपाच्य शब्दावलीको प्रयोग गर्ने प्रवृत्तिप्रति भने नागरिक चनाखो हुनैपर्छ। स्वयम गीतका सर्जकहरु समाजिक सांस्कृतिक पर्वका मौलिकताप्रति बढी जिम्मेवार हुनैपर्दछ।
समयानुकूल मौलिक सृजना स्वरुप तीज गीत बजारमा आउनु ठिकै भनेर स्वीकार्दै गर्दा यसको निम्त्याएको नकरात्मक पाटा पनि छन्। जब व्यवसायिक रुपमा तीज गीत बजारमा आए, र सजिलै सबैसामु पुग्न थाले। त्यतिखेरबाटै चेलीहरु जम्मा भएर आफैले सृजना गरेका वा आफ्ना पिरका पोका गीतमार्फत पोख्ने चलन विस्तारै कम हुँदै गयो।
हुनसक्छ चेलीहरुका सुखदुःखका कुरा, उनीहरुका भोगाइ रेकर्डिङ गीतमार्फत सर्जकहरुले समेट्न थालेकोले त्यही गीत भित्र आफूलाई देखेर उस्तै प्रकारको गीत गाउन जाँगर नदेखाएका होलान्। त्यसको सट्टा स्पिकरमा गीत घन्काएर नाच्न थालेका हुन् कि भनेर अनुमान गर्न सकिएला।
यसरी रेकर्डेड गीतमा नाच्नु खराबी त होइन। तर त्यसैको कारण चेलीले आफ्नो कथा भन्ने, समाजका घटनाको बेलिविस्तारमा सुनाउने मौलिक परम्परा हराउँदै गएकोमा सचेत भने हुनैपर्ला।
अब हामी पछाडि फर्किन सक्दैनौँ। न त प्रविधिलाई बेवास्ता गर्न सक्छौँ। स्वभाविक छ, प्रविधिले सजिलो बनाउँदै गर्दा हाम्रा मौलिक परम्परा माथि प्रहार भएको छ। यद्यपि हामी प्रविधि अपनाउन बाध्य छौँ। यदि नअपनाउने हो भने दुनियाँ अगाडि बढिरहन्छ, हामी जहाँको त्यहीँ।
यति हुँदाहुँदै पनि हाम्रा मौलिक चाड, रहनसहन, संस्कृति जोगाउनु अबको चुनौति हो। एकजनाले मात्र मौलिकता अपनाएर संस्कृतिको संरक्षण हुँदैन। नागरिक र सरकार हातेमालो गर्दै जति सकिन्छ, जे सम्भव छ, त्यसलाई जोगाउनु हाम्रो कर्तव्य हो।
तिर्खा लाग्दा बजारका आधुनिक पेय पदार्थ पिएर धित मर्छ होला, त्यो बाध्यता पनि होला। तर मुलको चिसो पानी र मोही पिएर मेटिएको तिर्खा जति आनन्द पक्कै आउँदैन। चेलीहरुले माइतीको आँगनमा लय हालेर तीज गीत गाए जस्तो मौलिकता अन्तकतै भेटिँदैन।
समय जतिसुकै फेरियोस्। जे-जस्ता परिवर्तन आउन्। तर तीजको बेला दाजुभाइ दिदीबहिनीलाई लिन जाने अनि दिदीबहिनी माइतीघरको आँगनमा तीज गीत गाएर नाच्ने परम्परा कहिल्यै नहराओस्। मौलिकता नमरोस्।