आमाले दिउँसै मसिना चामलमा घिउ मोलेर राख्नु भएको थियो। चामलमा घिउ मोलेको देख्दा अचम्म लाग्यो। 'काँचो चामलमा किन घिउ मोलेको आमा?'
'आज दर खाने दिन हो। भरे गाईको दूधमा पकाएर खानु पर्छ। बिरालोले भेट्यो भने बर्बाद पार्छ' भन्दै जतन साथ छोपेर राख्नुभयो।
मेरो एकजना मात्रै फुपू हुनुहुन्थ्यो। हाम्रो घरभन्दा पारिपट्टि उहाँको घर थियो। करिब २ घण्टा जति लाग्दो हो हिँडेर जान। बुवा फुपूलाई लिन जानु भएको थियो। बेलुकी फुपू आउनु भयो।
आमाले मालीगाईको दूध दोएर ल्याउनु भयो र भन्नु भयो 'आज गाईले दूध थोरै दियो, पुग्दैन जस्तो छ यसो गाउँ तिर गएर ल्याए हुन्थ्यो।'
यत्तिकैमा बाले भन्नुभयो, 'नपुगेर के गर्नु? आजको दिन सबैको चाड। सबैका चेलीबेटी आएका छन्। कसले दिन्छ र?'
'तैपनि जानु न' आमाले अलि कर गर्नु भयो। आमाको करले बा गाह्रो मान्दै गाउँतिर लाग्नु भयो।
फुपू माइती आउनु भएकोले होला निकै खुसी हुनुहुन्थ्यो। खुसी पनि किन नहुनु, दसैंमा टीका थापेर गएदेखि आउनु भएको होइन। तिहारमा बुवा आफैं जानु भएको थियो। म झन् दंग थिएँ।
त्योबेला एक रुपैयाँमा ४ वटा पाउने सुन्तले रंगका मिठाई खुब मिठो लाग्थ्यो। फुपूले त्यही चकलेट ल्याइदिनु भएको थियो। मलाई गाउँका साथीहरुलाई फुपूले ल्याइदिएका मिठाई बाढ्नलाई निकै रमाइलो लाग्थ्यो। म मिठाई बोकेर गाउँ तिर लागेँ।
मसँगै बा घर फर्कनु भयो। दूध कतै पाइएन। बा निरास देखिनु हुन्थ्यो। फुपूले भन्नु भयो, 'पाइएन भने जति छ त्यसैमा पकाएर बाँडेर खाउँला।' फुपूलाई ढकने तिर ध्यानै थिएन, माइती आएकैमा खुसी हुनुहुन्थ्यो।
ढकने पाक्यो। ढकनेको साथमा दाल भात तरकारी, आलु र फर्सीका बियाँको छोप राखेर बनाएको अचार पनि तयार भयो। आलुमा फर्सीको बियाँको छोप राखेर बनाएको अचार निकै मिठो हुन्थ्यो। ढकने राति दरको लागि राखियो। दालभात साँझको खाना भयो।
राति आमाले दर खान उठाउनु भयो। घिउमा चामल मोल्दा नै खान मन लागेको ढकने खाने पालो बल्ल आयो।
'दूध थोरै भएर होला अलि काँचै पो भएछ' आमाले भन्नुभयो।
मैले काँचो र पाकेको छुट्टाउनै सकिनँ। कुटुकुटु टोकिँदै थियो। गुलियो, मिठो भयो। फुपूले आमाको कुरामा सही थप्दै, 'अँ हो, अलि पाकेन छ है तर मिठो भएछ।'
'अब सुतौँ, एक प्रहर निदाउनु पर्छ दर खाएपछि। ननिदाई व्रत लिन हुँदैन' भन्दै आमा सुत्नु भयो। सबै सुत्यौं।
गाउँको बीचमा ठूलो ढुंगा बिच्छ्याएको कुवा थियो। ३० घर जति गाउँलेहरुको पानी खाने कुवा। गाउँभरीका गाईवस्तुले पौडी खेल्ने, पानी खाने आहाल पनि कुवाको पानी चुहिएर बनेको थियो। नुवाउने, लुगा धुने, बाटो हिँड्ने बटुवाको तिर्खा मेटाउनेसम्मको जिम्मेवारी समेत त्यही एउटा कुवाले बोकेको थियो।
अरुबेला त पानी भर्न, नुहाउन पालो कुर्नु पर्ने, कुवाको दशा आज के होला!
कुवामा निकै भिड थियो। कोही नुहाउनमा व्यस्त थिए, कोही लुगा पखाल्नमा, कोही पूजा गर्नमा। कोही भन्दै थिए लुगा त भोलि धोए पनि हुन्छ। आज व्रतको दिन सबैलाई नुहाउन पालो पुर्याउन गाह्रो छ। अलि छिटो छिटो गरेर अरुलाई पनि पालो छोडौं न।
सबैले व्रत बसेको देख्दा मलाई पनि व्रत बस्ने रहर पलाकै थियो। पालो कुरेर बस्नेहरुको भिडमा म पनि थिएँ। कोही नुहाइसकेर पूजाको तयारीमा जुटेका थिए। मलाई अचम्म लागिरहेको थियो। अरु त खासै याद छैन। दुई वटा एकै साइजका ढुंगा र काँक्राका फूल र चिचिलालाई पूजा गरेपछि तीजको व्रतको सुरुआत गर्थे।
त्यो दिन मसिना ढुंगा, काँक्राका फूल र काँक्राका चिचिलाले कुवाको डिल सजिएको थियो। १२ बजेपछि बल्ल मेरो पालो आयो। फुपूको पनि मसँगै पालो थियो। नुहाई सकेपछि फुपूले ढुंगा र काँक्रोको पूजा गर्नु भयो। सबैले सानी केटी भनेर टीका लगाएर पैसा दिए। मलाई र अरु मजस्ता गाउँका छोरीहरुलाई।
निकै रमाइलो हुन्थ्यो। गाउँभरिका महिलाहरु एउटै कुवामा नुहाउँदा, पूजा गर्दा अनि मन्दिरमा भेला भएर नाच्दा। दिनभरि नाच्यौँ, गायौँ र बेलुकी भएपछि पूजा लगाएर व्रत फुकायौँ। पूजा लगाउँदा लगाउदै फुपू रिंगटा लागेर लड्नु भयो।
फुपू दूई जिउकी हुनुहुँदो रहेछ। 'यस्तो बेलामा व्रत बसेर केही त खाएको भए पनि हुन्थ्यो नि' भन्दै बुवा कराउन थाल्नु भयो। केहीछिनमा फुपूको होस खुल्यो, आमाले केही फलफूल र सर्बत पानी ल्याएर दिनुभयो। फुपूले खान मान्नु भएन। कारण व्रतको समाप्ती त बेलुकी भिनाजुको पूजा गरेर गोडाको पानी खाएपछि मात्र हुँदोरहेछ।
आमाले बाको पूजा गरेर गोडाको पानी खानुभयो। फुपूले आज पनि खानु भनेको श्रीमानको रगत खाए सरी हुन्छ भनेर केही खानु भएन। पानी पिउँदा कसरी रगत पिइन्छ म छक्क परे!
केहीगरी मान्नु भएन। भोलि बिहान मात्र बल्ल फुपूले खानेकुरा खानुभयो। यसरी नै बर्षै पिछेका तीज मानिन्थ्यो। गाउँभरिका चेलीबेटी भेला हुँदा अनि कुवामा जम्मा भएर नुहाउँदा छुट्टै रमाइलो हुन्थ्यो। प्रत्येक तीजमा खिर र ढकने पाक्ने गर्थ्यो। तीज भन्नासाथ खिर र ढकने नै विशेष सम्झनामा बस्ने गर्थ्यो। २/४ वर्षपछि फुपू १/२ वर्ष बिराएर आउन थाल्नु भयो। किन-किन फुपू नआएको तीज खल्लो लाग्थ्यो।
अहिले म काठमाडौँमा छु। विगत ७ वर्षदेखि मेरो तीज काठमाडौँमा नै बितिरहेको छ। फुपूझैँ विवाहपछि म तीजमा माइत गइनँ। माइती गाउँमा थियो, जान सम्भव पनि थिएन। तीजमा खासै माइतीको याद पनि आएन।
तीज आउनुभन्दा २/३ महिना अगाडिदेखि काठमाडौँका होटल र पार्टी प्यालेसहरुमा विभिन्न संघ-संस्थाले दर खाने कार्यक्रम राखेका हुन्थे। तिनै कार्यक्रममा दर खान भ्याइ-नभ्याई हुन्थ्यो। जसलाई जे खान मन लाग्यो त्यही खान पाइएको थियो। खिर, मिठाई, फलफूल, मासु वाइन जे खाए पनि।
छानी-छानी गीत बजाएर नाच्न पनि पाइन्थ्यो। आफन्तहरुकोमा पनि पालैपालो दर खुवाउने चलन थियो। त्यो पनि दिउँसोको समयमा। तीजको दिन राति उठेर दर खाने चलन प्रायः हराइसकेको छ। सायद यही रमझमले नै होला माइतीको याद नआएको।
सदा ३ महिना अघिदेखि सुरु हुने तीज, दर खाने दिन नजिँकिदा पनि, तीजको कुनै माहोल नै छाएको छैन। अघिल्लो साल पनि तीजको कुनै रौनक छाएको थिएन। कुनै होटल र पार्टी-प्यालेसमा दर खाने कार्यक्रम पनि आयोजना भएका छैनन्।
न त तीजका गीत नै बजेका छन्। न कोही आफन्तले नै दर खान निम्तो गरेका छन्। यस वर्ष फुपूलाई पनि सहरमा निम्तो गरेर पार्टी प्यालेस र होटलको दर कार्यक्रममा सहभागी गराउने योजना बनाएको थिएँ।
कोरोनाको महामारीले विश्व नै अस्तव्यस्त भएको समयमा सरकारले भिडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ। अघिल्लो साल कोरोनाकै डरले तीज खासै मनाइएन, बाचे अर्को सल मनाउँला भनेर घरमै बस्यौँ। यस पटक झन् कोरोनाले तहल्कानै मचायो। फुपूको कोरोनाकै कारणले निधन भयो।
फुपूलाई सहरको दर कार्यक्रममा सहभागी गराउने सपना पनि सपना नै भयो। अरु पनि धेरै मानिसको अकालमै ज्यान गएको छ। तीजको खासै रौनक छैन। गाउँमा मनाएको तीजको भने खुब याद आइरहेछ। आमाले पकाएको कुटुकुटु टोकिने ढकने, फुपूले कोसेलीमा ल्याएको सुन्तली चक्लेट, त्यो ढुंगा छापिएको कुवा, व्रत लिँदा पूजा गरिएका ढुंगा र काँक्राका चिचिला।
सानोमा त तीजको महत्व खासै बूझेको पनि थिइनँ। हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड रहेछ भन्ने कुरा अहिले बुझेको छु। भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन हिन्दु महिलाहरुले मनाउने यो पर्व नेपालभर र भारतका केही स्थानहरुमा पनि मनाइँदो रहेछ।
कोरोनाको महामारीले नै गर्दा यस पटक सानोमा खाएको दरको याद आएको होला। साँच्चै गाउँको तीज जस्तो पार्टी प्यालेसको तीज रमाइलो थिएन। ३ महिना अगाडिदेखि खाइने दरले तीजको मौलिकता पार्टी प्यालेसको तीजमा छाएको थिएन।
परम्परगत रुपमा खाइने दर जस्तो कुनै मिठास थिएन। अर्को वर्षको तीज गाउँमै मनाउने योजना बुनेको छु। फुपूलाई सम्झँदै मालीगाईको दूधमा आामाले पकाएको ढकने दर खानेछु। ढुंगा छापिएको कुवामा पालो कुरेर नुहाउने छु।