कोरोना कहरमा जारी लकडाउनको बेला अत्यावश्यकबाहेक सवारीसाधन चलाउन निषेध थियो।
चिकित्सकलाई गाडीमै जान/आउन रोकटोक नभए पनि म धेरैजसो गाडीको सट्टा साईकलमै अस्पताल आउनेजाने गर्थें।
एकदिन मर्निङ्गवाकबाट आउँदै गरेका साथीले मलाई रोकेरै भने, ‘डाक्टरसाब ! सुहाएन है, सुहाएन!’ मैले पनि मज्जाले भनिदिएँ- किन सुहाएन्? जापानका प्राध्यापक, मन्त्रीहरू तथा नेदरल्याण्डका प्रधानमन्त्रीले साईकल चलाउँदा सुहाउने, मलाई नसुहाउने?’
एक जनाले सोधे- सर, बुढेसकालामा पनि साईकल चलाउनु हुन्छ किन?
यो प्रश्न मलाई धेरैले गर्छन्। मैले हाँस्दै भने, ‘छिटो बुढो नहुन। साईकल मेरो पुरानो साथी हो, जसको एउटा लामो कथा छ।
साथीले भने- सर, के कथा हो भन्नुस् न! हामी पनि सुनौं।
मैले भने, ‘अहिले समय छैन। कुनै बेला भनौंला वा लेख लेखौंला।’
घर फर्केपछि मैले सोचेँ, ‘अहिले लकडाउनको बेलामा फुर्सद पनि छ। यहीँ बेलामा मेरो साईकलको पुरानो कथा र स्वास्थ्यको दृष्टिकोणबाट यसको महत्वबारे लेख्नै पर्यो भनि कलम उठाएँ र अतितका केही कुराहरू सम्झँदै लेख्न थालेँ।
साईकल चलाउनलाई कुनै निश्चित उमेर वा चलाउने अनुमतिपत्र चाहिँदैन्। असी–नब्बे वर्षका वृद्धले पनि साईकल चलाउँछन्। साईकल कति उपयोगी र स्वास्थ्यको लागि कति लाभदायक तथा आनन्दप्रदायक छ भन्ने साईकल चलाउनेलाईनै थाहा हुन्छ।
मलाई अचम्म लाग्छ, कति मानिसले लाज मानेर वा नजानेर साईकल चलाउँदैनन्। साईकल धान्न सके त चलाउन सजिलै हुन्छ। मैले पनि आठ–नौ वर्षको उमेरमा भारतको असाममा प्राथमिक विद्यालय पढ्दा साईकल चलाउन सिकेको थिएँ। यसलाई जीवनको एक ठूलो उपलब्धी ठानेको थिएँ। घर गृहस्तीको काम र विद्यालय जानमा साईकल मेरो लागि साथी जस्तै थियो।
बाल्यकालको एउटा घटना मलाई याद आउँछ। एक दिन स्कुलबाट आएपछि खाजा खाएर साईकलमा आमालाई भेट्न खेत जाँदै थिएँ। लगभग पाँच माईल टाढा बरमुडा भन्ने गाउँमा खेत थियो। सिटमा बसेर भन्दा साईकल तलबाटै चलाउँथेँ। ब्रह्म्पुत्रको बाँधको बाटो द्रूतगतिमा गइरहेको थिएँ।
अचानक अगाडि दाहिनेतिर बाँधको छेउमा एउटा कालो सर्प शीर उठाएर ठडिएको देखेँ। रोकौं सर्पले झम्टेर टोक्ला भन्ने डर, बरू कटिन्छ होला भनि तर्केर झनै द्रूतगतिमा कुदाएँ। नजिकै पुग्दा उसले झम्टेर दाहिने खुट्टामा डस्न खोज्यो। तर, मैले पनि हत्तनपत्त दाहिने खुट्टालाई देब्रेतिर ल्याएँ। उसको वार निष्फल भयो। म तुफान अगाडि बढेँ।
केही पर पुगेर साईकल रोकेर हेरेँ। लगभग १२ हात लामो सर्प सललल गरि बाँध कटेर गयो। मेरो सातो गयो र मुटु भडकिन थाल्यो। आज सर्पले मलाई टोकेको भए आज शायद मेरो जीवनको अन्तिम दिन हुन्थ्यो होला। तर, आज मेरो साथीले गर्दा ठूलो कालबाट बाँचियो भन्दै खेततिर लागेँ।
असामको पूर्वोत्तरमा ब्रह्मपुत्र नदीको तटमा धौलाबजारमा म हिन्दी स्कुलमा पढ्थेँ। पाँच/छ कक्षामा हुँदा बिहान ६ बजे उठेर चियानास्ता गरि साईकलमा दुधको ड्रम बाँधेर बाँधको बाटो ५/६ माईल टाढा हात्तीघोलीको नेपाली बस्तीमा दुध लिन जान्थेँ। घरमा दुध खन्याएर स्कुल जाने र विदा हुने बित्तिकै दौडेर घरमा खाजा खाएर आमालाई खाजा लिएर साईकलमा खेतमा जान्थेँ। बेलुकी आमासँगै साईकलमा दाउरा र घाँसको भारी लिएर फर्कन्थेँ। त्यतीखेर साईकलकै जमाना थियो र साईकल चलाउने मेरो शोक थियो।
स्कुलको वार्षिकोत्सवमा मन्द र द्रूत गतिको साईकल दौडको प्रतियोगितामा म सधैं प्रथम हुने गर्थेँ। त्यो बेलाको बाल्यकाल, आमाको माया र साईकलको साथ सम्झँदा आहा! जीवन कति आनन्दमय थियो। घरमा दुई वटा पुराना साईकलहरु थिए। थोत्रो साईकल कहिले पञ्चर हुने, कहिले चेन फुत्कने त कहिले केही बिग्रने हुँदा मरम्मत गरि राख्नु पर्थ्यो। मिस्त्रीले साईकल बनाएको हेर्दा हेर्दै मैले धेरै कुरा जानिसकेको थिएँ र सानोतिनो मरमत आफै गर्थेँ। कुनै पनि काम सिक्नु भनेको जीवनोपयोगी हुँन्छ, जसले मानिसलाई आत्मनिर्भर बनाउँछ।
सन् १९६८ ताका म कक्षा ६ मा पढ्दै थिएँ। साईकलहरू थोत्रो भयो भनि मैले बुबाआमालाई नयाँ साईकल किन्न भने। त्यस बेलाको नाम चलेको र बलियो साईकल भनेको हरकुलिसनै थियो। बुबाले साईकल दोकानीलाई नयाँ साईकल मगाई दिन भन्नुभयो। दुई दिनपछि बुआसँगै गएर साईकल दोकानबाट नयाँ साईकल लिएर आएँ।
साईकलको दाम १५ रूपैयाबाट बढेर १८ रूपैया भएको रहेछ। भोलिपल्ट साईकलको पूजा गरि खेतसम्म चलाएर आएँ। साईकल बलियो रहेछ, जो लगभग १५–१६ वर्षसम्म चल्यो। एकदिन स्कुल छुट्टीपछि डम्मरी बहिनीलाई पनि साईकल पछाडि राखेर आमालाई भेट्न खेतमा गयौं।
बाटोमा बहिनीको खुट्टा पांग्रामा परेर घाउ भएर रून थालिन्। बडा मुश्किलले पांग्राबाट खुट्टा निकालेँ। कुर्कुचोमा घाउ भएर रगत बग्न थाल्यो। चोट लागेमा घाउमा पातीको रस लगाए च्वाट्टै सञ्चो हुन्छ भनि आमाले भनेको सम्झेर तुरुन्तै पाती टिपेर ल्याएँ र मिचेर घाउमा दलेँ। केही बेरमा रगत बग्न कम भएपछि अलिकति पाती मिचेर घाउ ढाक्ने गरि रुमालले बाँधेँ। हामीलाई देखेर आमा खुशी हुनु भयो र सँगै चिया खाजा खायौं। फर्कनेबेलामा खुट्टा खोच्याएको देखेर आमाले के भयो ? भनि सोध्नुभयो। मैले बाँधमा लडेर ढुङ्गाले चोट लागेको भनि ढाँटें। फर्कंदा साईकलमा दाउरामाथि बहिनीलाई बसाई पछाडि घाँसको भारी राखेर आमासँगै फर्क्यौं।
दशैं अगाडि एक दिन साईकलको माझमा र अगाडि धानको बोरा बाँधेर चिउरा कुटाउन पाँच माईल टाढा हाँहकाटी गाउँमा अक्कल सिंहको मिलमा जाँदै थिएँ। तीन माईल पर अढाईमुडिया गाउँ कटेपछि लगभग एक–डेढ माईलको घना जंगल आउँथ्यो। जंगलको बिचमा पुग्दा देब्रे तिरको झाडीबाट लगभग दुई–तीन सय मिटर पर हात्तीको एक झुण्ड कराउँदै आएको देखेँ।
मलाई लखेटेर मार्लान् भन्ने डरले सातो गयो। साईकलको स्टैण्ड लगाई त्यहीँ लुकेर नबोली बसेँ। मनमनै गणेश र हनुमानको आराधना गर्न थालेँ। भाग्यवश हात्तीहरू आफ्नो बाटो लागे। एकछिनपछि अगाडि पछाडि हेर्दै सकेसम्म छिटो हिँडेँ। बीचमा धानको बोरा भएकोले पैडल मारेर साईकल छिटो हाँक्न मिलेन। साईकल छाडेर दौडिने कुरा पनि भएन। फर्कंदा चिउराको एउटा बोरा मात्र भएकोले चनाखो भएर साईकल कुदाउँदै घर फर्किंएँ।
अर्को वर्ष ६ कक्षापछि धौलाबजारमा हिन्दी माध्यमको स्कुल नभएकोले त्यहाँबाट १६ किलोमिटर टाढा दुमदुमा भन्ने ठाउँमा पढ्न जान पर्ने भयो। बाटोमा डाँगरी र टिपुक भन्ने ठाउँबाट छबिनाथ र मुन्सीरजक धोबी भन्ने साथीहरू पनि साईकलबाटै विद्यालय जाने गर्थेँ। मैले पनि उनीहरूसँगै जाने सल्लाह गरेँ।
बिहान साढे सात बजे मेरो नयाँ साथी हर्कुलिस् साईकललाई लिएर बाटोमा साथीलाई भेट्दै गफ गर्दै साढे नौ बजे विद्यालय पुग्थ्येँ। राम्रो बाटो र गफले गर्दा बाटो कटेको थाहै हुँदैन्थ्यो। एक दिन बाटोमा जंगली मौरीले लखेट्यो, तर भाग्यवस उताबाट तिब्रगतिमा आएको गाडीको हावाको झोँकाले दिशा परिवर्तन भै मौरी अन्तै लागे र बाँचियो। मैले मेरो साईकलको राम्रो हेरचार गर्ने हुँदा कहिले पनि बाटोमा दुःख दिएन।
मलाई आउन जान धपडी र पढाईमा पनि बाधा हुने भयो भनि एकदिन रामेश्वर गुरुजीलाई कुरा राखेँ। उहाँले मलाई विद्यालय नजिकैको एउटा घरमा निःशुल्क बस्ने ब्यवस्था मिलाई दिनुभयो र मेरो साथीलाई मैले घरै छाडेर आउनुपर्यो। बिदामा घर जाँदा साथीले मलाई कुरेर बसेको हुन्थ्यो। उसलाई लिएर म खेततिर जाने गर्थें। हाईस्कुल पास गरेपछि सन् १९७२ मा नेपालमा अध्ययन गर्न आएँ र सन् १९७४ मा चिकित्सा शास्त्र अध्ययनको लागि सोभयत संघ गएँ। यो बीचमा म साईकलसँग भईन्।
सन् २००९ मा जापानको गुन्मा विश्वविद्यालयमा क्यान्सर उपचार पद्यतिमा विद्यावारिधि गर्ने मौका मिल्यो। त्यहाँ अध्ययन सकेर घर फर्कने एक जना नेपाली साथीले मलाई आफ्नो जीप सित्तैमा दिने कुरा गरे। तर, त्यसको बीमा, पार्किङ र अन्य शुल्कहरू मैले धान्नै नसक्ने कुरा बुझेर मैले स्वीकार गरिन। त्यो भन्दा पैदल वा साईकलमै हिँड्न ठीक लाग्यो। विश्वविद्यालयबाट निवास नजिकै भएकोले एक वर्षसम्म पैदलै हिँडे।
त्यहाँका धेरैजसो मानिसहरू सजिलोको लागि साईकल प्रयोग गर्दा रहेछन्। विभागका प्राध्यापक पनि सवारी साधन पार्किङमा राखेर परिसरका अन्य भवनमा जान/आउन साईकल प्रयोग गर्दारहेछन्। त्यो देखेर मलाई पनि मेरो पुरानो साथीको सम्झना आयो र सोच्न थालेँ आज मसँग पनि साईकल भएको भए म कति आनन्दले डुल्थेँ होला। मलाई पैदल हिँडेको देखेर गाह्रो भयो भनि विभागले पछि फिर्ता गर्नेगरि साईकलको ब्यवस्था गरिदियो।
अब मलाई साथीसँग यताउता जान निकै सजिलो भयो। अर्को वर्ष स्वदेश फर्कने अर्का साथीले दुई वटा साईकल दिएर गए। मैले विभागको साईकल फर्काई दिएँ। दुई वर्षपछि बुढी पनि जापान आईन् र हामी दुवैजनालाई एक एक वटा साईकल भयो। विदामा हामी टाढा टाढासम्म र कहिले अर्को शहर पनि डुल्न जान्थ्यौं। बेलुकी साईकलमा आधाघण्टाको यात्रा गरि तातोपानीको कुण्डमा डुबेर स्वास्थ्यलाभ गर्न जान्थ्यौं। काम नभएकोले बुढी दिउसो साईकल लिएर घुम्न जान्थिन्। साईकल हुनाले जीवन एकदमै रमाईलो र आनन्दमय भएको थियो। अर्कोवर्ष फिलीपिन्सको साथीले पनि फर्कने बेलामा मलाई नयाँ साईकल उपहार दिएर गयो।
अब मसँग तीन वटा साईकल भए। कुनै एउटा बिग्रेमा समस्या थिएन् अर्को थियो। बिग्रेको साईकल बिदाको दिनमा आफैं मरमत गर्थेँ। सानैमा सिकेको साईकल मरमत गर्ने तालिम जापानमा काम लाग्यो। एकदिन हामी बस्ने मकानको तल्लो तल्लामा बस्ने एउटी बुढीमाउले साईकल मरमत गरेको देखेर मेरो पनि बनाई दिनुस न। भनि अनुरोध गरिन्। हजुरआमा जस्ती महिलालाई मैले नाई भन्न सकिनँ र हुन्छ भनि बनाई थिएँ। उनले मलाई १५०० येन दिईन्। मैले लिन्न भन्दा पारिश्रमिक नदिई उनी मानिनन्। जापानमा काम गरेर कमाएको यो मेरो पहिलो र एक मात्र कमाई थियो।
सन् २०११ ताका मेरो अनुसन्धानको क्रममा मलाई १४ किलोमिटर टाढा ताकासाकी शहरको रेडिएसन सेण्टरमा तीन महिनाको लागि पालो मिलाएर जानुपर्ने भयो। सँगै अध्ययन गर्ने साथीको पनि पालो परेमा उनकै सवारीसाधनमा ४५ मिनेटमा पुग्थेँ। बस र रेलमा जाँदा २–३ घण्टै लाग्थ्यो। लामो समयसम्म अनुसन्धानका सामग्रीहरु बाहिरको वातावरणमा राख्दा बिग्रने भएकोले सकेसम्म एक घण्टाभित्रै पुर्याउनुपर्ने हुन्थ्यो।
मसँग मेरो भरपर्दौ साथी नयाँ साईकल भएकोले एकदिन विचार गर्न साईकलमै गएँ। साईकलमा मेहनत निकै लाग्यो, तर ठ्याक्कै एक घण्टामा पुगेँ। अब साईकलमै जान थालेँ, तर कहिलेकाहीं तुफान र द्रूतगतिको हावा चल्ने हुँदा निकै गाह्रो हुन्थ्यो। गोर्खाली मान्छे हिम्मत हारिनँ। साईकल यात्रा गरेर पनि आफ्नो अनुसन्धान जारी राखेको थाहा पाएर मेरा गुरूले कुरा गर्दै थिए कि, यो नेपाली मान्छे कति बलियो हुँदो रहेछ?
५६ वर्षको उमेरमा पनि यस्तो मेहनत गर्न सक्ने। यसले त जापानीलाई पनि मात गर्ने भयो भन्दै हाँस्दै थिए। सानैदेखि साईकल चलाउने र मेहनत गर्ने बानीले होला मेरो लागि यो सामान्य जस्तै थियो। तर, जेहोस् मलाई हौसला र सहयोग थियो मेरो साथीको। ऊ साह्रै गुनी थियो, जसले धोका कहिले दिएन।
दुर्भाग्यवस सन् २०११ मार्च ११ मा जापानमा अहिलेसम्मकै ठूलो (९ रेक्टर स्केल) भुकम्प र सुनामी आयो। यस्मा ठूलो जनधनको क्षति भयो। लगभग २० हजार मानिसहरुको मृत्यु भयो र कति बेपत्ता भए। भुकम्पले अनुसन्धान केन्द्रमा पनि क्षति पुग्यो र मेरो काम स्थगित भयो। अब पुनः अर्को अनुसन्धान गर्नुपर्ने भयो र सन् २०१३ को अप्रिलमा विद्यावारिधि सम्पन्न गरि नेपाल फर्केर आएँ।
नेपाल फर्केर पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको पूर्वपदमा काम गर्न थालेँ। जापानबाट आएर नेपालको अस्थिर राजनीति र बन्द हडताल देख्दा दिक्क लाग्यो। जापानमा यस्तो कहिले देखिएन्।
वि.सं.२०७० सालमा नेपाल कम्युनिष्ट (क्रान्तिकारी माओवादी) पार्टी मोहन वैद्य पक्षले सातदिने नेपाल बन्दको आव्हान गरे। नेतालाई काम गर्नु पर्ने होईन। जति दिन बन्द गरे पनि के भयो ? दुःख जनताले पाउने हुन्। मैले मात्र बिरोध गरेर भएन् र जस्तै बन्द भए पनि चिकित्साकर्मीले अस्पतालमा बिरामीको सेवा गर्न अस्पताल जानै पर्यो। मलाई फेरि मेरो पुरानो साथीको सम्झना आयो। मैले बन्दको कार्यक्रमलाई स्वास्थ्य र सेवाको लागि सकारात्मक रुपमा प्रयोग गर्ने विचार गरेँ। म तुरून्त मेरो साथी अशोक चालिसेको साईकल पसलमा गएँ। त्यहाँ मेरो जापानी प्राध्यापकले चढ्ने जस्तै सानो चिटिक्क परेको जायण्ट साईकल देखेर खुशी भएँ। मोलतोल गरि किनेर चढेर घर आएँ।
बाटोमा केही परिचित ब्यक्तिहरुले भन्दै थिए ओहो ! डाक्टरसाब पनि साईकलमा ! मैले हाँस्दै भने, ‘भाइ! यो मोहन वैद्य बाको उपहार हो।’
त्यसपछि बन्द र बिदाको दिनमा म साईकलमा क्लिनिक जान थालेँ। अहिले पनि ब्यायामको रुपमा वा साईकल महोत्सवमा साईकल चलाउँछु।
साईकलले मानिसको जीविका र स्वास्थ्यमा धेरै सहयोग गर्छ। साईकल चलाउनु स्वास्थ्यको लागि विशेषगरि फोक्सोका रोगी र मोटापा हुनेहरुलाई ज्यादै लाभदायक छ। साईकलले ईन्धनको खर्च बचाउँछ र बोसो पगालेर मोटापा घटाउँछ। जापानमा धेरैजसो बुढाबुढीहरुले साईकल चलाउने गर्छन्। चारपांग्रे सवारी साधन भए पनि उनीहरुलाई साईकल नभै हुँदैन्।
विदेशमा साईकलको छुट्टै बाटो भएकोले धेरैले साईकल चलाउने गर्छन्। नेपालमा साईकलको लागि छुट्टै बाटो नभए पनि अचेल धेरैले यसको महत्व बुझेर चलाउन थालेका छन्। नेपालमा साईकलको बाटोको विकासमा सरकारले ध्यान दिए धेरैले साईकल चलाउँथे। यसले सवारी साधनको संख्यामा कटौती भै दुर्घटना न्युन हुने र धेरैले स्वास्थ्य लाभ गर्दै विदेशमा जाने धनराशिको बचत हुने थियो।