आज ११ सेप्टेम्बेर अर्थात अमेरिका रोएको दिन। यही दिन सम्झिएर २० वर्ष पछि पनि अमेरिका छट्पटाइरहेको छ। अमेरिका र समग्र विश्वलाई यो दिनले घृणा र मृत्युको अर्थ सिकाएको थियो।
मानवन हत्याको योभन्दा विकृत स्वरूप सायद विश्वले यसअघि देखेको थिएन। पेन्टागन, एफ.बि आई, सिआईए र सबैभन्दा शक्तिशाली सेनाद्वारा सुसज्जित देशको मुटुमा घुसेर केही मुट्ठीभर ब्यक्तिले अमेरिकी आकाशमा मृत्युको तान्डव देखाए।
यसबेला म नेपालमै थिएँ। नेपालमा सशत्र द्वन्द्व चलिरहेको थियो। म माओवादप्रति आकर्शित भइनँ, कारण वास्तविक कम्युनिज्म किताबमा हुन्छ भन्ने मैले बुझिसकेको थिएँ।
व्यक्तिगत चाहना, आशक्ति र आवश्यकता भएको मान्छे साम्यवादी हुन सक्तैन भन्ने मेरो सानैदेखिको बुझाइ हो, जो अहिलेसम्म कायमै छ। तर आफ्नै टोल छिमेकमा जब जातको आधारमा अपमानित गरिन्थ्यो, मेरी आमालगायत परिवारका सद्स्यलाई घर नजिकको मन्दिर प्रवेश गर्न लाग्दा कुट्पिट गरेको घटना याद आउँथ्यो। नचाहेर पनि माओवादी युद्वप्रति सहानुभूती जाग्थ्यो।
म आफैंलाई कहिलेकाहीँ प्रश्न गर्थेँ- म हिंसालाई प्रत्यक्ष नभए पनि मौन समर्थन कसरी गर्न सक्छु? मैले आफैंलाई जवाफ दिन सकिरहेको थिइनँ। त्यो मेरो समर्थन थिएन। जमेर बसेको मेरो पीडाको एक रूप थियो। जसबाट मैले छुट्कारा पाउनुथियो। तर मलाई थाहा थियो आफू हिंश्रक कहिल्यै हुन सक्दिनँ।
त्यसपछि भयो नाइन इलावेन। म समाचार बनाउन कैलालीको मसुरिया गएको थिएँ। यो क्षेत्रमा माओवादीको जबर्जस्त उपस्थिति थियो। केही सुरक्षाकर्मीसँग कुरा गरेपछि म धनगढी फर्कदै थिएँ। बाटोमा एक जना साथीले रोकेर अमेरिकाको ट्वीनटावर र पेन्टागन माथि भएको हमलाबारे खबर दिए।
घर पुगेर कम्प्युटर खोलेँ। इन्टरनेटमा जताततै टुइनटावरमा हवाइजहाज आक्रमणको दृश्य थियो। त्यो कोलाहल, त्यो भागाभाग र ११० तले भवन तासको पत्ताझैं केहि मिनेटमा माटोमा मिलेको दृश्य थियो। म बेचैन भएँ।
न्यूयोर्कमा रहेकी मेरी डेन्मार्ककी एक मित्रले मलाई फोन गरेर रूँदै भनिन्, ‘आज मैले महशुस गरेँ यो विश्वलाई गान्धी किन चाहिन्छ।’ म केही बोलिनँ। म भित्र भएको अलिकति पनि तिक्तता थियो त्यो कता हरायो मैले थाहा पाइनँ।
पलभरमा म बद्लिसकेको थिएँ। पवित्र भईसकेको थिएँ। मैले त्यसै दिन प्रण गरेँ- मैले कुनै सृजना गर्न सकिनँ भने पनि मबाट विध्वंश र विनासको हिंशा कहिलै हुनेछैन।
त्यसपश्चात मैले आफ्ना हरेक समाचारमा हिंशाको कुरूपता देखाउने प्रयास गरेँ। मलाई कैलालीबाट विस्थापित गरियो। युद्वले मलाई काठमाडौं पुर्यायो। केहि वर्षपछि म अमेरिका पुगेँ। इच्छाले नभइ अवस्था र बाध्यताले मलाई अमेरिका पुर्यायो।
मलाई अमेरिका जाने मोह कहिलै थिएन। अमेरिका पुगेर पनि मेरो अस्तब्यस्त, अलपत्र जिन्दगीमा खासै परिवर्तन आएको छैन। यसले पनि मलाई अमेरिकाप्रति मोह छैन भन्ने प्रष्ट हुन्छ।
खैर, जे सुकै होस्। अमेरिका पुगेपछि म केही दिनमै ट्वीनटावर भएको स्थान पुगेँ। त्यहाँ पुननिर्माण सुरू भइसकेको थियो। मैले मोबाइल फोनलाई समातेर लाईभ रेपोर्टिङमाझैं भनेँ, ‘ट्वीनटावर फेरि उठ्दैछ। ट्वीनटावर ढलेको अवश्य हो, अब घृणाको ट्वीनटावर ढल्नुपर्छ। अमेरिका ९/११ होईन ९/१२ बन्नुपर्छ। अर्थात ढल्नु अमेरिका होईन, उठ्नु अमेरिका हो।’
त्यतिबेला मैले किन यसो भनेँ थाहा छैन। तर मैले भनेँ। नभन्दै आज ट्वीनटावर शानदार तरिकाले खडा भएको छ। मैले देखेँ, सृजना गर्न कति कठिन हुन्छ, विध्यंश कति सहज।
त्यसपछि मैले अमेरिकी राजनीति, समाजलाई नियाल्ने प्रयास गरेँ। म कुट्नीतिको जानकार त होईन। तर मैले अमेरिकी राजनीतिमा अन्तराष्ट्रिय सम्बन्धको आधार अर्थसाश्त्र र अमेरिकी सुरक्षा रहने बारे बुझेँ। यसले न भावना हेर्छ न स्थायीत्व खोज्छ। जुन कुराले अमेरिकी सर्वोच्चता कायम हुन्छ, त्यहीँ अमेरिकाले जायज ठान्छ। यसमा ढाकछोप गर्दैन। यसलाई कतिपयले दोहोरो मापदण्ड भन्छन्। म त्यसो मान्दिनँ किनकि, अमेरिकाले ढाकछोप गरेजस्तो लाग्दैन।
यो कस्तो प्रवृत्ति हो, म कुनै विशेषण प्रयोग गर्न चाहन्नँ। बस, यति भन्न चाहन्छु- जबसम्म यो प्रवृत्ति रहन्छ, अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र रहिरहने छ।
अमेरिकी समाज अनौठो छ। यहाँ रङभेद छ। यहाँ गरिबी छ। तर जब रङभेद हुन्छ, तब गोरा जाती नै कालाको पक्षमा बोल्छन्। जसले यहाँ रङभेद गर्छ त्यो त्यसका लागि मृत्युको चुम्बन साबित हुन्छ। हो अमेरिकामा गरिबी छ। होमलेस छन्। तर सरकारले उनीहरूका लागि यथोचित ब्यवस्था गरेको छ।
सबैभन्दा ठूलो कुरा यहाँ विधिको साशन छ। कानून नियमको पालन गर्नु यहाँ बाध्यता होईन संस्कार हो। अमेरिकाका खुंखार विरोधी पनि यहाँ आएर स्वतन्त्रताको सास लिन्छन्। अमेरिकी जीवनशैलीको भरपुर आनन्द लिन्छन्। आफ्नो देश फर्केर तथानाम गाली गर्छन् र घृणाको आगो उकेल्छन्।
के यो दोहोरोपन होईन? के यो पाखण्ड होईन? अमेरिकाले यो पाखण्डलाई पनि स्थान दिन्छ। यही अमेरिका हो। जसले कानून नतोडी आफ्नो तरिकाले स्वच्छन्द भई बाँच्ने ठाउँ सबैलाई दिन्छ।
हो यहाँ पनि अज्ञानता छ। नेपाल जस्ता देश कहाँ पर्छ थाहा नपाएका लाखौ छन्। यहाँ नेपाल जस्ता अन्य मुलुकका खबर बिरलै छापिन्छन्। आफ्नै घरेलु मुद्दामा ठूलो अमेरिकी समाज अभयस्त रहन्छ। तर ठूलो जमात विश्व नागरिकको रूपमा पनि बाँच्छ। विविधता र समावेसितालाई राष्ट्रको शक्ति ठान्छ।
समग्रमा भन्नुपर्दा विविधता नै अमेरिकाको पहिचान भएको छ। यहाँ हरेक नागरिकको जीवनलाई उत्तिकै महत्व दिइन्छ।
वास्तविक अमेरिका यहाँको जनता हो। त्यो जनता जसको चेतना खुलेको छ। त्यो जनता जो नेपालमा आएर धागाको टोपी लगाएर निधारभरी टिका लगाउँदा आफ्नो धर्म नाश भएको मान्दैन। त्यो जनता जो गरिब र कमजोर मुलुकमा विपदपर्दा सहयोगको लागि ज्यानको बाजी राखेर पुग्छ। त्यही वास्तविक अमेरिकन जनता हो जो गरिब र कमजोरको हाँसोमा आफ्नो हाँसो देख्छ।
त्यसैले जसले अमेरिकामाथि आक्रमण गर्यो, त्यो केवल आतंकवादी थिएन। त्यो एक सोच थियो। एक मानसिकता थियो। जसले अमेरिकी नीति र सरकार मात्र होईन यो भावना स्वच्छन्द र स्वन्तन्त्रतालाई निमिट्यान्न पार्न चाहन्थ्यो।
मानव र मानवीय जीवनलाई नचिन्ने मानव कसरी हुनसक्छ। एउटा मान्छे जो पृथ्वीमा एक पटक मात्र आउँछ, उसलाई जिन्दगी जिउने र बाँच्ने अधिकारबाट बञ्चित गर्ने शक्ति अर्को ब्यक्तिले कसरी पाउँछ? उसले त्यो अधिकार कसरी प्राप्त गर्यो?
अमेरिकी राजनीति भित्रको कुट्नीति र अमेरिकालाई घृणा गर्ने बिश्वका ती सबै कट्टरपन्थी र हिंसाद्वारा परिवर्तन ल्याउँछु भन्ने सबै शक्तिलाई हरेक ११ सेप्टेम्बेरले सधै यही प्रश्न गरिरहने छ। ९/११ एक दिन होईन, एक अनुतरित प्रश्न भएको छ।