कुनै पनि ठाउँमा समृद्धि आउन विकासका पूर्वाधारहरू अपरिहार्य छन्। यसमध्ये पनि यातायात पूर्वाधार सम्पूर्ण विकासको मेरुदण्ड हो। यातायात बिना न हामी अन्य पूर्वाधार सुरु गर्ने सक्छौँ न त संचालन नै।
मानव जातिको विकासक्रम सँगै मानिसले विभिन्न प्रकारका यातायातका साधनहरू प्रयोगमा ल्याए। कार्ल बेन्जको टिमले मोटरगाडी, राइट ब्रदर्सले एरोप्लेन, इजिप्टसियनहरूले पानीजहाज, रिचार्ड ट्रेविथिकले रेल आविष्कार गरेपछि प्राचिन समयमा रथ, डुङ्गा, घोडा, गाडा आदिमा सीमित यातायातका साधन विस्थापित भई संसार नयाँ युगमा प्रवेश गरेको छ।
नेपालको भौगोलिक बनावट र आर्थिक अवस्थालाई हेर्दा अरु साधनको तुलनामा मोटरगाडी सान्दर्भिक र सहज छ। सन् १९२२ मा १० जनाको काँधमा चढेर नेपाल छिरेको मोटर अहिले देशको अधिकार गाउँ र गल्ली छिरिसकेको छ। यसमा दुई मत छैन कि यातायातका सुविधाले आम नेपालीको जीवनमा आमूल परिवर्तन ल्याइदिएको छ।
हामी पनि विश्वको प्रविधि र विकासको प्रतिस्पर्धामा अघि बढ्न पाएका छौँ। तर जति हामी विकासमा फड्को मार्दैछौँ, उति विनाशको जोखिम पनि निम्ताएको हो। यसमा प्रविधिको दोष केही पनि छैन, हामी आफ्नो खुट्टामा आफै बन्चरो हान्न उद्धत छौँ।
सडक पूर्वाधार ईन्जिनियरिङ क्षेत्रमा विश्वभरमै सम्वेदनशील र महत्वपूर्ण अंग हो। यसमा सही सर्भे र उत्कृष्ट डिजाइनको आवश्यक पर्छ। गलत सडक डिजाइन र जोखिम मूल्यांकन नगरेकै कारण अर्बौंको सम्पत्ति, जनधनको क्षती र वस्ती नै स्थानान्तरण गर्नुपरेका घटना यत्रतत्र पाइन्छन्।
नेपालमा सडक निर्माणमा असंवेदनशीलता नै जोखिमको मुख्य कारण हो। विगतका दशकमा नेपालमा बाटो खन्नु भनेको एउटा डोजर/एग्जाभेटर ल्याउने गाउँका नेता वा अगुवाले जता-जता भन्यो त्यतै बाटो खन्ने नै हो। न कुनै सर्भे छ न कुनै डिजाइन नै।
बिना पिल्लर ढुंगा माटोले बनेको घरको जगमा डोजरले धमाधम खन्छ, ढुङ्गा फोर्छ, रातदिन टेक्टर गुड्छन्। त्यो घरमा पर्ने असरबारे ध्यान दिइँदैन। जसले घरमा बाटो ल्याइदियो ओहो! त्यो नेता प्यारो, जसले यस्तो गर्दा असर गर्छ भन्यो ऊ विकास विरोधी। यदि यस्तै मानसिकता र भोटको खेती नरोकिए नेपालको गलत सडक संरचनाका कारण हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ।
नेपालको अधिकांश भाग पहाडी क्षेत्रले ओगटेको छ। २०७२ सालको भूकम्प र त्यस यताका कयौं पराकम्पले जमिनको भूबनोट तहसनहस पारेको छ। त्यसैमाथि कुनै अध्ययनबिना धमाधम बाटो खनिन्छ र संरक्षण र सबलीकरणका उपाय केही पनि अपनाइएको छैन।
जब पहाडमा मोटरबाटो खनिन्छ त्यसले वर्षाको पानीको प्राकृतिक बहाबलाई अवरोध गर्छ। भिरालो जमिनमा बाटो माथिको ठूलो भागको पानी बाटोमा संकलन हुँदै जाँदा बाटोको माटो र ग्रेगर मिसिइ ठूलो आकार लिन पुग्छ। नेपालको अधिकांश ग्रामीण बाटोमा जल निकासको व्यवस्था छँदै छैन। त्यसकारण यो पानी कुनै निश्चित बाटो नभै आफै बाटो बनाएर बग्ने हुँदा बाटोमुनिका हरेक क्षेत्र जोखिममा छन्।
विगतका केही वर्षहरुमा सुरक्षित मानिएका ठाउँहरू पनि राम्रो जलनिकासी नहुँदा बाढी र पहिरोले पुरेका हजारौँ घटना हामीले सुनेका हौँ। केही वर्षयता अत्याधिक बढेको पहिरो र भूक्षयको कारण प्रथमतः भूकम्प नै होला तर अव्यवस्थित विकास पनि यसमा कम जिम्मेवार छैन।
यहाँ मूलतः मोटरबाटोको कुरा आयो तर जुनकुनै पूर्वाधार सुरु गर्नु पहिले त्यसको ईन्जिनियरिङ अध्ययन अपरिहार्य छ। २० लाखमा बन्नसक्ने मोटरबाटो सुरुमा राम्रो सर्भे र डिजाइन नहुँदा करोडौं रुपैयाँ खर्च गर्दा पनि नबनेको घटनाले हाम्रो दिगो विकासको अवधारणालाई नै चुनौती दिएको छ।
घरमा बाटो आउने भयो भन्दैमा जथाभावी सडक खन्ने काम नगरौं, त्यो नै भोलि विनाशको कारण पनि बन्न सक्छ। घर बनाउँदा होस् या सडक, विज्ञहरुले दिएका सुझाव र मापदण्ड पालना गरौं। भिर, पाखा, पहाडमा बाटो खन्दा पहिरो नियन्त्रण सवलीकरण र जल निकासको व्यवस्था तत्काल सुरु गरौं।
यदि राम्रो जल निकासको व्यवस्था हुने हो भने मात्र ग्रामीण सडक ६०% समस्या समाधान गर्ने सकिन्छ। पहाडी क्षेत्रमा यत्रतत्र छरिएका वस्तीहरु जुन बाढी-पहिरोको उच्च जोखिममा छन्, तिनमा सडक संजाल पुर्याउनुभन्दा पनि कुनै सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत वस्ती निर्माण गर्नु आवश्यक छ।
यसको लागि असुरक्षित क्षेत्रको निजी जग्गा सरकारले अधिकरण गर्न सक्छ भने सुरक्षित स्थानको सार्वजानिक जग्गामा वस्ती विकास गर्न सक्छ। यदि कुनै ठाउँमा सडकभन्दा अरु यातायातका साधन आर्थिक र भौगोलिक र सहजताका हिसाबले उत्कृष्ट छन् भने ती साधनहरूमा जोड दिनुपर्छ।
अझै पनि सरोकारवाला निकाय र जनसमुदायको ध्यान नपुग्ने र यसैगरी बाटो खनिँदै जाने हो भने आउने दिनहरूमा सडक संजाल हाम्रा लागि गम्भीर समस्या बन्न सक्छ। त्यसैले आजैबाट विकासका कार्यहरूमा दिगो विकास, अध्ययन अनुसन्धान र वातावरण सम्वर्द्धनमा ध्यान दिई सडकजस्ता अत्यावश्यक पूर्वाधारहरुलाई विनाशको कारक हुनुबाट जोगाउनु पर्छ।