केही हप्ताअघि फेसबुक र इन्स्टाग्रामभरि छोरीमैया महर्जनको कथाले अग्रस्थान पायो।
प्राय: जसो युवायुवतीले यस कथाबारे खोजीनीति, प्रश्न प्रतिप्रश्न गरें। छोरीमैया महर्जनको खोजी, उनी र उनको परिवारप्रति न्यायको लागि राम्रै संख्याको प्रयोगकर्ताले आ-आफ्नो ठाउँबाट आवाज उठाएका थिए।
जसरी अप्रत्यासित रूपमा यो घटनाले चर्चा बटुलेको थियो। त्यही अनुरूप अहिले यो घटना सेलाएको छ। तर दु:खको कुरा के हो भने, करिब एक दशकपछि फेरि ब्युँतिएको यो विषय कुनै खास निचोडमा भने पुग्न सकेन।
१६ फागुन २०६८ मा हराएकी छोरीमैया कहाँ छिन्, यो कसैलाई पनि थाहा छैन। 'हाइ प्रोफाइल ' मानिएको यो केश जसरी एक्कासि १० वर्षपछि सन्जालका भित्ताभरि रंगियो, त्यसैगरी अहिले विलिन हुँदै गएको छ। यतिका वर्षपछि चर्चामा आएको यो केस खास निचोडमा पुग्न चाहिँ सकेन। यसरी यतिका वर्षपछि संजाल तताएको यो घटनाले केही युट्युब च्यानल र सामाजिक सञ्जालका अकाउण्टलाई कन्टेन्ट र परिवारको घाउमाथि नुन छर्नुबाहेक केही उपलब्धि हासिल भने गर्न सकेन।
त्यसो त अलि समय अगाडि कलाकार पल्पसा डंगोलको अस्वस्थताको खबरले सामाजिक संजालको भित्तामा अग्रस्थान पाउन सफल भएको थियो। दुवै किड्नी फेल भएर सहयोगको अपेक्षा गरेकी उनको तस्बिर सबैतिर फैलिएको थियो। अहिले उनको अवस्था कस्तो छ, उनले किड्नी पाइन् पाइनन् र अहिले के गर्दै छिन् भन्ने कुरा को खासै चर्चा चलेको छैन। एक्कासि सामाजिक संजालमा चर्केको यो घटना फेरि सुनसान हुनु दु:खद् कुरा पनि हो।
उनको स्वास्थ्य अवस्थाको अपडेट नहुनु आफैंमा दुखद कुरा हो।
करिब एक दशकदेखि गुमनाम रहेकी सुमधुर आवाजकी धनी बिष्णु माझी अहिले सामाजिक संजालमा फेरि एउटा चर्चित विषय बनेकी छन्। आफ्नो सुमधुर आवाजका कारण उनी लोकप्रिय बनेकी हुन्।
स्याङ्जाको रत्नपुर गाउँमा २०४३ सालमा जन्मिएकी माझीले १३ वर्षको उमेरदेखि छिमेकी गाउँका गायक नारायण लेकालीको सहयोगमा गीत गाउन थालेकी हुन्। विभिन्न लोकदोहोरी प्रतियोगितामा माझी र लेकालीले भाग लिएर जितेका पनि थिए।
यसै क्रममा पाल्पामा भएको एक प्रतियोगितामा लेकाली र माझी प्रथम भएका थिए। सोही कार्यक्रममा आफू पनि प्रतियोगी रहेका सुन्दरमणि अधिकारीले बिष्णु माझीलाई पहिलो पटक देखेका थिए। त्यसपछि अधिकारीले माझीको परिवारलाई आफ्नो अभिभावकत्वमा बिष्णुलाई पोखरा लैजान 'फकाएको' भन्ने मानिन्छ। त्यसलगत्तै पोखराको लेखनाथमा भएको एक कार्यक्रममा उनीहरू प्रथम पनि भएका थिए। त्यसपछि अधिकारीले उनलाई काठमाडौंमा ल्याए र केही समयपछि उनीहरूले पोखरामा विवाह गरेको सुनिन्छ।
अधिकारीसँगको सहकार्यपछि बिष्णु गुमनाम भइन्। बेला-बेलामा गीत गाइरहने माझी रेकर्डिङ गर्न जाँदा पनि शरीर पूरै ढाकेर अनुहार पनि पछ्यौरा र मास्कले छोपेर जाने गर्छिन्।
अहिले भने 'चरी जेलैमा' बोलको गीत सार्वजनिक भएसँगै माझीको खोजी सामाजिक संजालमा बढेको हो। उनी गुमनाम हुनुको विभिन्न आंकलन फेसबुक, युट्युब र ट्विटरमा अहिले चर्चाको विषय बनेको छ। कतै बिष्णु माझी घरेलु हिँसाको सिकार त भैरहेकी छैनन् भन्ने कतिको सरोकार रहेको छ।
गीतमा दर्शाएजस्तै कतै उनी घर रूपी 'जेल'मा बन्द भएर बस्न विवश त छैनन् भने दर्शकस्रोताको चासोको विषय बनेको हो।
केही वर्षअघि माझीको स्वरमा रहेको 'सालको पात टपरी हुने' बोलको गीत सर्वाधिक लोकप्रिय बनेको थियो। त्यस समयमा पनि सामाजिक संजालमा उनको बारेमा तथ्य सार्वजनिक गर्न माग भएको थियो तर जसरी समय बित्दै गयो उनको कुरा सेलाउँदै गयो र अहिले फेरि चर्चामा आएको छ।
त्यहीताका स्याङ्जाका सिडिओको आमन्त्रणमा माझी दम्पती पुगेको र माझी आफैंले स्वइच्छाले सार्वजनिक हुन नचाहेको बताएकी थिइन् भन्ने सुनिन्छ। कतै उनको अनुहारमा दाग त छैन भनि मास्क खोल्दा त्यस्तो केही नभएको र उनी दुब्लाउनुको कारण सोध्दा आफूलाई अझै दुब्लाउन मन लागेको बताएको भन्ने कुरा आएको थियो।
उनी र उनका पतिले माझी कक्षा ५ सम्ममात्र पढेको र अशिक्षित भएका कारणले खासै बोल्न नआउने भएर सार्वजनिक हुन नचाहेको बताउने गरेका छन् भन्ने सुनिन्छ। तर यस विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी भने आएको छैन। उनी अहिलेको सबभन्दा महंगी गायिका पनि हुन्। कतिपयले भने गीतको मूल्य धेरै राख्नकै लागि पनि सुन्दरमणिले उनलाई सार्वजनिक हुन नदिएको आरोप पनि लगाउने गरेका छन्।
उनले गाउने गीतको लागि पनि सुन्दरमणि आफैंले छलफल गर्ने र आयस्रोत पनि सुन्दरमणिले नै लिने गरेको बताइन्छ।
यसरी फेरि एकपटक चर्चामा आएको उनको विषय पनि चर्चामा आउँदै सेलाउँदै जाने गरेको र कुनै निचोडमा नपुगिने केस हो। आफू सार्वजनिक हुनु वा नहुनु त्यो एक व्यक्तिको नितान्त व्यक्तिगत निर्णय हो तर उनी आफैं सार्वजनिक हुन नचाहेको हो वा नदिइएको हो भन्नेबारे सम्बन्धित निकायले उचित छानबिन गर्न जरूरी छ।
एउटा सार्वजनिक वक्तव्य जारी गरी खुलाएमात्र लाखौं दर्शकस्रोताको जिज्ञासा मेटिने थियो।