यथार्थमा हाँस्न नसक्ने मान्छे कसैको वृत्तान्त सुनिरहँदा रून खोजिरहेको छ। साहसिक मुटुलाई चुनौती दिने एउटै शब्द- ब्रेकअप ! सुनिरहँदा पनि समतुल्य जीवनबाट उनको अमूल्य जीवनका प्रभाविला तरङ्गहरूको चित्कारलाई नियालिरहेको छ।
प्रत्येक रातसँग सम्झौता गर्ने प्रकृतिलाई आज दिनले पनि परीक्षा लिइरहेको छ। रंगीविरंगी सपना देख्ने प्रकृतिको मुहार आज फुल्दा फुल्दै ओइलाइरहेको छ। उनको अनुबन्धन सम्बन्धका प्रभाविला क्षणहरूको समागमलाई स्मरण गर्दा पलपल तरंगित बनाइरहन्छ।
ती अधवैंशे व्यक्ति मौसम नामले चिनिन्छन्। करिब छ महिना भयो प्रकृतिको कोठामा देखिन थालेको। उमेरले चालिस कटेका ती अधवैंशे हेर्दा २ छोराछोरीको बाबुजस्ता देखिन्छन्। हातभरि पहेंलै औंठी, गलामा चार/पाच तोलाको सिक्री अनि हातमा ब्रासलेट लगाएका झट्ट हेर्दा हुने खाने जस्ता देखिन्छन् उनी।
हुँदा खानेहरूले कहाँ देखाउन सक्छन् र त्यति भड्किलो आवरण! पक्कै पनि उनी सम्पन्नशाली हुनुपर्छ।
बेला बेलामा प्रकृतिले पुकार्ने बाबाको सम्बोधन मेरो अर्धचेत मस्तिष्कले उनीहरू बाबु छोरी हुन भनि स्वीकार्न सक्दैन। श्रीमान श्रीमती हुन भनौं भने कतैबाट विवाहको परिदृश्य देखिँदैन।
झट्ट हेर्दा कुनै चलचित्र खेल्ने मोडेलभन्दा कम देख्दिनन् प्रकृति। जब साझँ पर्छ तब घरको गेटमा उनको र मेरो सधैंजसो जम्का भेट हुन्छ। मेरो कामबाट घर फर्कने समय र उनको काममा जाने समय एउटै छ।
दिनभरि बन्द कोठामा बस्ने प्रकृति साँझ परेपछि विभिन्न श्रृंगारमा सजिएर घरै बास्ना आउने गरी परफ्यूम छरेर निस्किन्छन्। जनकपुर घर बताउने प्रकृति धेरै भयो काठमाडौंमा बस्न थालेको पनि। कलेज पढ्न बसेकी हुन भनौं भने एक दिन कलेज गएको देख्दिनँ। उनको काल्पनिक दिनचर्या चलिरहेकै थियो। लामो समय टिक्न सकिनछ क्यारे। उनी धेरै दिन भयो कोठाबाट बाहिर निस्किएकी छैनन्।
आजभोलि उनी काममा गएको पनि देख्दिनँ। कहाँ गए ती अधवैंशे मान्छे। बोलेको पनि सुनिँदैन। सोध्ने इच्छा हुँदाहुँदै पनि सोध्ने आँट आएन।
त्यो दिन शनिबार थियो। बिदाको दिन, म आफ्नै काममा व्यस्त थिएँ। यतिकैमा कसैले ढोका ढक्ढकाएको आवाज सुनें। को रहेछ भन्दै ढोका खोलें। अरू कोही नभएर ढोका अगाडि प्रकृति उभिएकी रहेछिन्। अत्यासलाग्दो उनको अनुहार देखेर एकाएक भावुक भएँ।
दुई चार दिनमै उनमा आएको परिवर्तन देखेर अचम्म लाग्यो। समय अनुसार रूप परिवर्तन हुन्छ रे। मान्छेको रूप परिवर्तन हुन धेरै समय लाग्दो रहेनछ क्यारे ! आज उनी मेरा अगाडि रङ उडेको कपडाजस्तो स्वरूपमा उभिइहेकी छन्। पहिले देखिने उत्साहित र मोहित प्रकृतिको सौन्दर्यमा एकाएक बादल लागेर ढाकेको जस्तो देखिन्थ्यो। यतिकैमा मैले उनलाई भित्र बोलाएँ। नजिकै रहेको कुर्सीमा बस्न भनें।
कुर्सीमा नबसी भुइँमा बिछ्याइएको म्याटमा बस्दै भनिन्- आज तपाईंको छुट्टी हो ?
'हो छुट्टी छ मेरो।' यति बोलेपछि उनी मौन बसिन्।
उनी पूर्णतः शान्त भइन्। केही भन्न खोजिरहेको तर भन्न नसकिरहेको जस्तो भाव उनको अनुहारमा झल्किरहेको थियो। उनको मौनता स्तब्धमा परिणत नै थियो। असहजतामा सहजता थप्नकै लागि भए पनि मैले केही बोल्नुपर्छ भन्ने लाग्यो।
यतिकैमा मैले सोधें- तिम्रो कोठामा बस्ने आफन्त कहाँ जानुभयो आजभोलि ? खोई त देख्दिनँ धेरै दिन भयो।
गर्नै नहुने काम त गरेकी छैनन् होला उनले तर पनि उनका नजरहरू एकोहोरो भुइँतिर झुकिरहेका थिए। उनको अनुहारमा एक प्रकारको सन्नाटा छाइरहेको थियो। आँखाबाट आँसु झार्दै बोल्न खोज्छिन् प्रकृति। तर केही बोल्नै सक्दिनन्। उनी खुलेर रून खोज्दैछिन्। जस्तो कि उनी भित्रभित्रै गाँठो परेर बेरिएकी छन्। उनको मुटु भक्कानिएको छ। मुखबाट वाक्य निस्कन खोज्छ तर बीच बाटोमै अड्किन्छ। उनको मुखबाट निस्कने अस्पष्ट वाक्यमा पनि अनुनय झल्किरहेको थियो। बुझ्न नसकिने उनको अनुनय देखेर म नतमस्तक भएँ। केहीबेर शान्त रहन आग्रह गर्दै, सोधें- पानी ?
दुबै हातले आँसु पुछ्दै नपिउने इशारा गरिन्।
केहीबेर पछि उनले व्यक्त गरेका मनोभावहरू जस्ताको तस्तै:
मैले उसलाई नाइट क्लबमा भेटेकी थिएँ। उनी दिनहुँ जसो मैले काम गर्ने नाइट क्लबमा आउँथे। आफूलाई श्रीमतीले छोडेको भन्दै मसँग नजिकिएका थिए।
उनी विराटनगरका कार स्वरूमका मालिक थिए। उसले मसँग विवाह प्रस्ताव राख्यो। ठूलो महलमा भित्र्याउने सपना देखाउँदै स्कुटी किनिदियो। उसले दुई चार महिनाको कोठाभाडा समेत तिरिदियो। त्यसपछि उसले मलाई नाइट क्लबमा काम नगर्न भन्दै जागिर छुटाइदियो। मप्रतिको माया देखेर मैले उसलाई पूर्ण रूपमा विश्वास गरें। त्यसपछि उसलाई आफ्नै कोठामा ल्याएँ। तर उप्रतिको विश्वास धेरैबेर टिकेन। पत्तै नदिई कता बिलाए कता!
समय यति छिटो परिवर्तन हुन्छ जस्तो लागेको थिएन। तर मेरो नियति!
टहटह घामलाई बादल लागेर छोपेजस्तै बदलिरहने मौसमको स्वरूपमा अन्धाधुन्ध रूमलिरहेकी छु।
म रमाइरहेको वर्तमानको यति सहजै अन्त्य होला भन्ने लाग्दैनथ्यो। शरीर जीवितै छ तर बेहोस भएको अनुभूति हुन्छ। जिउने बाटो कतै देख्दिनँ। घरि घरि प्राण त्याग्न मन लाग्छ। जब जब रात छिप्पिँदै जान्छ तब तब मनमा एक एक गरी ती सम्बन्ध झल्किने पाना फर्फराउँछन्। म पढ्ने कोसिस गर्छु ती अस्पष्ट मधुरा अक्षरहरू। क्षणभरमै बिलाएर जान्छन् र मन आत्तिन थाल्छ।
मलाई आजभोलि बत्तीको उज्यालोभन्दा आकाशको अँध्यारो रात मनपर्छ। जून लागेको रातभन्दा तारा खेलिरहेको रात मनपर्छ। आकाशमा एकतन्त्र हिँडिरहने ताराहरूको चमकता हेर्छु। स्थिर ताराहरूको बीचमा डुलिरहने एउटै तारालाई हेरेर टोलाउन मन लाग्छ। मन्द मन्द प्रकाश दिने त्यही तारा छिनभरमै विलिन हुन्छ। आफूलाई त्यही विलिन तारासँग तुलना गर्न मन लाग्छ। जाँच्न मन लाग्छ कि म पनि चम्किरहेको तारा रहेछु क्यारे ! मट्टितेल सकिन लागेको लालटिनको प्रकाशजस्तै मन्द मन्द, कति बेला निभ्छ पत्तो छैन।
एकतन्त्र घुमिरहने तारालाई साथी बनाउन मन लाग्छ। उज्यालो बिनाको अन्धकार कोठा अनि आकाशमा डुलिरहेको त्यो तारा आज पनि म सँगै एकतन्त्र डुलिरहन्छ। आफन्तहरू धेरै छन् वरिपरि तर आफ्ना कोही छैनन्। गाउँ फर्की वृद्व बाबाआमाको अगाडि न्याय माग्न जान सक्दिनँ।
गाउँको नियम पञ्चायत बस्ने र पञ्चहरूले गर्ने पैसाको वार्गेनिङ! इज्जतसँग पैसाको मोल गरेर उल्टै पीडितलाई दोषी ठहर्याउने समाज! आज मलाई आफ्नै कथाको पात्र बन्न मन छैन। यहाँ बसेर बाँच्न सक्दिनँ, जाने ठाउँ कतै देख्दिनँ। गुमनाम भई लुकेका ती विवाहित पुरूष स्मरणमा छन्। उनकै सम्झनामा रातभर निदाउन सक्दिनँ। कसैगरी निदाइहाले भने पनि बीच रातमा झस्किँदै बिउँझन्छु।'
रातो फूलसँगै फुलेकी प्रकृतिलाई कसैले चुम्दैमा निर्वस्त्र ओइलाइरहेकी छन्। सुन्नै नसकिने आवाज निस्कन्छन्, हेर्नै नसकिने दृश्य देखिन्छन् उनको मोबाइलबाट। आँखा प्रत्यक्षदर्शी हुँदाहुँदै पनि मौन बसेका छन्। बस आकलनमात्र गर्न सक्छन्। तामुल दिएर माया साट्ने मौसमसँगको सम्झौताको लिखित प्रतिलिपि प्रकृतिसँग छैन।
अर्को दिन मनमा झिनो आशा लिएर मेरा निद्रा खुल्छ। कोसिस नै नगरी बस्नुभन्दा कोसिस गर्दागर्दै असफल हुँदा पनि शान्ति मिल्ला कि भनी घरबाट निस्कन्छु। प्रकृतिको कहानी कसैलाई सुनाउन पनि असहज थियो। आफैंले भोगेको भनि कसैले गलत सोच्लान् कि भन्ने डर!
सधैंको कामभन्दा फरक काम, फरक ठाउँ, फरक मान्छेसँग सल्लाह लिने जिज्ञासा। किताबमा छापिएको कानुनले सबै पीडितलाई न्याय दिन सक्दो रहेनछ। कानुनविदसँग सल्लाह लिनु, कोठामा आएर एकरति भए पनि सान्त्वना दिने उत्सुकता विलिन भयो।
कोठामा फर्कंदा प्रकृतिले कोठा छोडेको खबर पाएँ। फोन हानें, उनको मोबाइल अफ रहेछ। कोठा भाडा तिर्न नसकी घरभेटीलाई सामान छोडी निस्केकी प्रकृतिको अन्तिम म्यासेज थियो।
'म भूमिगत जीवन बाँच्न चाहन्छु। कसैले नचिनोस्, कसैले नखोजोस् ताकि म एक अदृष्य नारी बन्न सकूँ। म भूमिगत बन्न सकूँ। म सति नै नभए पनि सतिजस्तै बन्न सकूँ। म गुमनाम हुन चाहन्छु'
प्रकृतिलाई सत्य सावित्री प्रमाणित गर्न नसके पनि उनको सर्वश्व हरण हुनु कुनै सामान्य विषय थिएन। प्रेमका अनुबन्धन रसहरू चाहर्दैमा कपिराइट हुँदैनन्। जुन उनीमाथि पेष्ट भएका थिए।
उनको पराजयमा विजय नदेखिएता पनि प्रकृतिमाथि भएको प्रलयको अमूल्य क्षति सहजै स्वीकार्य थिएन। म न्यायालयको वकालत गर्ने मान्छे नभएता पनि उनलाई अन्याय भएको महसुस गर्न सक्थें।
आजभोलि एउटै कुराले मन पिरोलिरहन्छ। कहाँ छिन् होला उनी? उनको लागि केही गर्न नसक्दा पश्चाताप लागिरहन्छ।