रातिको २ बजे सगिनाको फोन आउँछ मलाई। ऊ एकदमै डराएको आवाजमा हुँक्क हुँक्क गर्दै बोल्छे।
‘म अब जागिर गर्दिनँ, म कहिल्यै पनि जागिर गर्दिनँ। म...म कहाँ आएर फसेछु साथी। मैले मान्छे चिन्न सकिनँ।’
ऊ रुँदै थिई। मैले के भयो- तिमी ठिक त छौ नि? कहाँ छौ अहिले? भनेर सोधें।
ऊ रुम नम्बर ३०८ को बाथरुममा भएको जानकारी गराउँदै आफू सुरक्षित भए पनि एकदमै डराएकोले मलाई फोन गरेको बताउँछे।
‘सबै कुरा म त्यही आएपछि बताउँछु तर बिहानै मलाई लिन गोदावरी आऊ, म एक्लै त्यहाँसम्म आउन पनि सक्दिनँ होला, म एकदमै डराएकी छु, ब्याट्री ३% मात्र छ ल’ भनेर फोन राख्छे।
उसको फोन गराई र बोलाइको तरिकाबाट पक्कै पनि उसलाई ठूलो समस्या परेको हुनसक्छ भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो। त्यसपछि त म के निदाउन सक्थें र। कतिबेला उज्यालो होला भनेर छटपटी भइरह्यो।
आत्तिएको बेलामा त घडीको सुइँ पनि कत्ति ढिलो चलेको जस्तो लाग्ने। ४ बजे भन्दाअघि होस्टेलको गेट खुल्दैन थियो। एक मनले सोच्यो वार्डेन दिदीलाई भनेर अहिले नै गोदावरी जाऊँ कि क्याहो! फेरि सगिनाले कसैलाई मेरो बारेमा नभनीकन एक्लै आउनु भनेकोले सगिनालाई अरु नै अप्ठ्यारो पर्ने हो कि भन्ने सोचें।
आखिर घडीले ४ बजाउने प्रतीक्षा नगरी सुखै भएन। होस्टेलको गेट खोल्नासाथ वार्डेन दिदीलाई मेरो जरुरी काम पर्यो भनेर उहाँकै स्कुटर मागेर निस्किएँ। मलाई एकदमै विश्वास गर्नुहुन्थ्यो दिदीले। अरु सबै टिनएजका विद्यार्थी मात्र बस्ने गर्ल्स होस्टेलमा सगिना र ममात्र अलि परिपक्व थियौं। वार्डेन दिदी ३,४ वर्ष मात्र जेठी भएकोले हामीसँग कुरा मिल्थ्यो।
बाटोभरि सगिनाको रुन्चे आवाज, उसले भनेका शब्दहरू सम्झिरहें। ऊ सिराहाकी, म रुपन्देहीकी। हामी यही होस्टेलमा आएपछि चिनजान भएको थियो। ऊ समाजशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दै जागिर खोज्ने क्रममा थिई। म एक संस्थानको कार्यालय प्रमुखमा जागिरको लागि परीक्षाको तयारी गरिरहेकी थिएँ। हामी एकदमै मिल्ने रुम पार्टनर थियौं।
दुई दिनअघि मात्र सगिनाले होस्टेलमा म:मको पार्टी दिएकी थिई आफूले जागिर पाएको अवसरमा। कोल्ड ड्रिङ्सको गिलास ठोक्काउँदै चियर्स भनेर उसले ‘अब म पनि प्रोग्राम कोअर्डिनेटर भएँ केटी हो’ भन्दै कति हाँसेकी थिई।
उसको अंकल पर्नेले भनसुन गर्दिएपछि एक जना आइएनजिओ प्रमुखले उसलाई जागिर दिएको भन्दै थिई।
प्रायः बाहिर फिल्डमा हिँड्नु पर्ने भए पनि अफिसकै गाडी हुन्छ। प्रायः फ्लाइटमै हिँडिन्छ, एयरपोर्टमा टक्क गाडी लिन आउँछ भन्दै ऊ फुरुङ्ग थिई। तलब, सुविधा पनि फुरुङ्ग हुने खालको थियो उसको कुरा सुन्दा।
‘एक हप्तापछि अफिस जोइन हुने रे, आज चाहिँ गोदावरीस्थित एक रिसोर्टमा के-के काम गर्ने भन्ने बारेमा दुई दिनको तालिम रे’ भन्दै ऊ निस्केकी थिई।
सगिनाले बताएको रिसोर्टको नाम सोध्दै म त्यहाँ पुगेर उसलाई फोन लगाएँ। ऊ बाहिर निस्किएर हतार-हतार स्कुटरमा बसेपछि हामी त्यहाँबाट निस्कियौं। बिहानै भएकोले बाटो पनि खाली थियो। समयमै उसलाई लिएर म होस्टेलमा आइपुगें। वार्डेन दिदीलाई केही न केही गडबड छ जस्तो लागेछ। उहाँ पनि हाम्रो पछि लाग्नुभो। हामी तीन जना कोठाभित्र पसेपछि सगिनाले ढोकाको चुकुल लगाई अनि रुन थाली। एकछिनसम्म रोएपछि उसले हामीलाई सबै घटनाबारे बताई।
म गलत ठाउँमा जागिर खान पुगेछु। मेरो क्षमताको होइन, नियतको जाँच गर्न बोलाइएको रहेछ। त्यो मान्छेले मलाई दुर्व्यवहार गर्न खोजेको हो। सुरूबाटै उसको हेराइ, बोल्ने तरिका, छुन खोज्ने शैलीबाट उसको नियत नराम्रो भएको अड्कल गरिसकेकी थिएँ। जुन तालिमका लागि भनेर त्यहाँ बोलाइएको थियो त्यो केही भएन। साँझसम्म उसले आफ्नो गाडीमा घुमाइरह्यो मलाई। साँझ एक रिसोर्टमा लग्यो। बेलुकाको खाना खाएपछि मलाई भोलि बिहानदेखि तालिम सुरू हुन्छ आज यहीँ बस्नु तिमी भनेर रुम नम्बर ३०८ को चाबी थमाइयो।
एक खालको डर लागिरहेको थियो। त्यहाँ बस्न मन थिएन। तर फर्क्यौं भने राति भइसकेको थियो। त्यसपछि म आफ्नो रुममा गएर आराम गरिरहेकी थिएँ। मोबाइलमा उसले फोन गर्यो। रातको ११ बज्न लागेको थियो।
‘तिमीसँग केही कुरा गर्नु छ म तिम्रो रूममा आउँदैछु,’ उसले भन्यो।
‘यति राति भइसक्यो भोलि कुरा गर्द हुँदैन र सर,’ मैले भने। यति भनेपछि उसले फोन काट्यो।
एक छिनपछि मेरो ढोका ढकढक गर्छ। उसले फेरि फोन गर्छ - ढोका खोल त म यहाँ आइसकेको छु।
उसको कुरा सुनेर मैले फोन काटें। मेरा हातखुट्टा काँप्न थाले। मैले केही सोच्न सकिनँ। डरले गर्दा मैले आफूलाई बाथरुममा लक गर्न पुगें।
केही गरी उसले ढोका खोल्न सफल भयो भने पनि म बाथरुममा सुरक्षित हुनेछु जस्तो लाग्यो। धेरै बेरसम्म उसले मोबाइलमा फोन गरिरह्यो। न त फोन उठाउन सकेँ न त बाथरुमबाट निस्कने हिम्मत नै आयो।
उसले यो सब घटना सुनाइरहँदा वार्डेन दिदी र मेरो आँखा पनि आँसुले भरिए। सँगै रोयौं एकछिन तीनै जना।
‘यो कुरा हामी तीन जनामा सीमित रहोस्, कसैले थाहा नपाओस्, अब त्यो मान्छेलाई मैले कहिल्यै भेट्ने छैन,’ सगिनाले भन्छे।
यत्तिकैमा दिदी बोल्नुहुन्छ- गल्ती अरु कसैले गरेको छ, दोषी त्यो व्यक्ति छ तर डर चाहिँ तिमिलाई छ है? त्यसलाई छोड्नु हुँदैन, आज तिमीले छोड्यौ भने भोलि अरु कसैलाई यस्तै व्यवहार गर्ला, त्यसलाई कानुनको जिम्मा लगाउनुपर्छ।’
एकछिनपछि सगिना बोल्छे- यति सजिलो छ र दिदी कानुनी लडाइँ लड्न? मलाई पनि उसलाई सजाय दिने मन त थियो नि तर पैसा र पावरमा अपराध लुक्ने देशमा हामीले न्याय र अपराधीले सजाय पाउलान् र? उसको त नेतादेखि पुलिससम्म सबै आफ्नो मान्छे छन्, पावरफुल छ ऊ। त्यसैले त ममाथि त्यस्तो दुर्व्यवहार गर्ने आँट गर्यो।’
सगिनाको कुरा मलाई पनि जायज नै लाग्यो। भन्नेलाई त सजिलो छ अन्याय सहनु पनि पाप हो। हामी चुप लागेर बस्नाले नै यस्ता घटना घटाउनेहरूको मनोबल बढ्दै जान्छ लगायतका कुरा। तर वास्तविकता अर्कै हुन्छ यहाँ।
देशका लाखौं जनाताले न्यायको लागि आवाज उठाइरहेको निर्मला पन्तको केसले त न्याय पाउन सकिरहेको छैन भने हामी तीन जनाले आवाज उठाएको केसले न्याय पाउला त? यदि आज हामीले यो घटना सार्वजनिक गर्यौं भने त्यसपछिको अवस्थाको कल्पना गर्छु म।
पत्रकारहरुले आफ्नै बुझाइ, आफ्नै ढंगबाट समाचार लेख्नेछन्, सगिनाको नाम, फोटो जताततै भाइरल हुनेछ। कमेन्टरहरूले आफ्नै तर्क राख्नेछन्। कसैले अपराधीलाई फाँसी दिनुपर्छ भन्नेछन्। कसैले केटीलाई नै दोषी देखाउलान्।
भनेजति पैसा नपाएपछि नचाहिने अभियोगमा फसाउन खोजेकी हो भन्लान्। कसैले सगिनाको चरित्रमाथि प्रश्न उठाउलान्। युटुबेहरु ‘खुल्यो वास्तविकता सगिना काण्डको’ भन्दै आफैं पत्रकार, आफैं न्यायाधीश, आफैं पुलिस बन्दै नानाथरी शीर्षक राखेर भ्युज बढाउने अभियानमा लाग्लान्। साँच्चै पैसा र पावर नहुनेहरू चुपचाप बस्नुको विकल्प नै छैन यो देशमा।
फेरि सबै घटनामा पुरुष मात्र दोषी हुँदैनन्। कतिपय महिलाले आफ्नो अधिकारको दुरुपयोग गरेर पैसाको लागि बलात्कार अभियोगमा फसाउने गरेका घटना पनि नसुनेका, नदेखेका होइनन्। कतिपय महिला आफ्नो करियर र जागिरमा पदोन्नतिका लागि पहुँचवाला पुरुषहरूसँग नजिक भई आफ्नो इज्जतको दाउ लगाएका घटना पनि देखिन्छन्।
हो, तिनै दर्जाका महिलाका कारण कतिपय क्षमतावान पुरुष या महिलाको कार्य क्षमताको मूल्यांकन हुन सकिरहेको हुँदैन। अर्कोतर्फ त्यस्तै महिलाको कारणले नै पुरुषहरूले महिलाप्रति राख्ने दृष्टिकोण नकारात्मक हुने गर्दछ। पैसा र जागिरको प्रलोभनमा पारेर महिलालाइ आफ्नो जालमा फसाउन सकिन्छ भन्ने मानसिकता बोकेका तिनै पुरुषहरूको कारणले आज सगिनाजस्ता कैंयौं महिला आफ्नै कार्यस्थलमा असुरक्षित र त्रसित वातावरणमा काम गर्न बाध्य छन्। असुरक्षित भइहाले पनि बरु जागिर छोड्न बाध्य हुन्छन् तर अन्यायविरूद्ध लड्न सक्दैनन्।
थप सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्