'आज कतै घुम्न जाम न' शनिबारको दिन बिहानै फोन गरेर उनले भनिन्।
मैले निद्रा कै स्वरमा 'हुन्छ' भनिदिएँ। सायद 'हुन्न' भन्ने आँट नभएर होला।
बिउँझिएपछि बल्ल आफ्नो धरातलमा ओर्लिएँ। कोरोना महामारी र लकडाउनले भर्खर सुरू गरेको व्यवसाय पनि ध्वस्त भएको थियो। आम्दानी शून्यजस्तै भएर खर्च धान्नै गाह्रो भएको अवस्थामा थिएँ। घरबेटीलाई भाडा नतिरेको पनि एक वर्ष हुन लागेको थियो। पहाड घरमा बुवा आमालाई पनि खर्च पठाउन सकेको थिइनँ। प्लस टु पढ्ने भाइ र ब्याचलर पढ्ने बहिनीको कलेजको फी पनि तिरिनसक्नु महँगो भएर पछि तिरौंला भन्ने बाचा गरेको थिएँ।
गोजीमा एक सुको पैसा थिएन। हर्के दाइको चिया पसलमा गएर चिया र चुरोट खान समेत धौधौ पर्ने स्थिति थियो। मान्छे जागिर खाएपछि कहाँबाट कहाँ पुग्छन्।जीवनस्तर बदल्छन्। घर घडेरी जोड्छन्। म भने व्यवसायमा हात हालेर खुबै मन पराएको गर्लफ्रेन्डसँग घुम्न जान समेत अन्कनाइरहेको थिएँ। कारण उही पैसा। अरूको देखासिकी गरेर पनि भएन। प्रेमको मामलामा सिकारू भएर पनि कतिन्जेल चल्नु?
म कोठाका चार कुने भित्ताहरू हेर्दै सोचमग्न थिएँ।
अचानक फेरि मोबाइलमा घण्टी बज्यो। उसैको फोन थियो। नउठाऊँ भने अनेकौं बहानामा गाली गर्ने होली, उठाऊँ भने घुम्न जाने मन नै छैन। एकचोटिको फोन सोच्दा सोच्दै कट अफ भयो। तर के छोड्थिन् र उनले। फेरि तारन्तार फोन गरिहालिन्। अब उठाइनँ भने उसले हप्तौं फोन स्विच अफ गरेर बस्ने कुरा घामजस्तै छर्लंग थियो।एकचोटिको नजिर यस्तै स्थापित थियो।
कुरा दुई महिना अगाडिको हो।
म त्यो दिन टाउको दुखेर चाँडै नै सुतेको थिएँ। दिनको थकान र मिटिङको ह्याङओभरमा एक ट्याबलेट सिटामोल खाएर मोबाइल साइलेन्टमा राखेर निदाएछु। बिहान उठ्दा उसको सोह्र मिसकल थियो।
हत्त न पत्त उसलाई कलब्याक गर्दा नम्बर बिजी भन्यो। नम्बर पनि ब्लक गरेकी थिइन् र फेसबुक, म्यासेन्जर जताततै ब्लक। ठूलै नै मिस्टेक गरे जसरी सजाय दिएकी थिइन्। म अवाक भएको थिएँ।
खासै ठूलो गल्ती केही गरेजस्तो फिल त भाथेन। तर उनका लागि यो ठूलै बन्न पुगेछ। लगभग पन्ध्र दिनपछि मात्र उनले बल्लतल्ल रेस्पोन्स गरेकी थिइन्। त्यो पनि सयौंपटक सरी भन्न लगाएर र अब त्यस्तो गल्ती नदोहोर्याउने बाचामा।
मैले त्यसदिन निकैबेर सोचेको थिएँ। के माया प्रेम गर्नु भनेको- केही बोल्दै नबोल्नु, केही सोच्दै नसोच्नु, केही विचार गर्दै नगर्नु, अनुभूतिविहीन र प्रभावविहीन भएर कठपुतली जस्तै बाँच्नु हो र? खै कहाँ छ स्वतन्त्रताका परिभाषाहरू? खै कहाँ छन् स्व-अस्तित्व स्वीकार गर्ने संयन्त्रहरू? किन सम्बन्धहरू क्षणिकतामा टुंगिन खोज्छन्? के एकआपसमा गाँसिएका छौं भनेर देखाउन र देखिनका लागि मात्र हामी पराकाष्ठहरू सहेरै बस्छौं? खै केका लागि हामीले आफूलाई बेचिरहेछौं! आफ्नो स्वतन्त्रता बेचिरहेछौं?
यस्ता सोचहरू पहिला नआएका होइनन्। तर त्यसदिनदेखि मलाई प्रेमका आदतबाट टाढै बसौं की भन्ने पनि लागेको थियो। यसै विषयवस्तु बुझेर र थप होसियारीका लागि होला सायद उनले त्यही दिनदेखि मेरो फेसबुकको पासवर्ड आइडी मागिन्। फोनमा हुने कल डिटेल्सहरू माग्न थालिन्। सायद यान्त्रीकरण हुँदै थियो हाम्रो प्रेम।
घुमिफिरी उही रुम्झाटार भनेजस्तै आजको यो मोडसम्म आइपुग्दा परिस्थितिहरूमा ज्यादा बहस गर्ने भन्दा 'हस् हजुर' भनेर सहर्ष स्वीकार गर्ने र आँखा चिम्लिएर उसका सबै कुरामा समर्थन गर्ने निचोडमा पुगिसकेको छु।
त्यसैले पनि तेस्रो कल नउठाई म बस्नै सकिनँ।
'कता कोसँग बिजी थियौ' फोन उठाउन साथ उताबाट चर्को स्वरमा प्रश्नहरू ओइरिए।
'जाबो घुम्न जाम् भन्दा पनि तिमी मलाई इग्नोर गर्छौ है? !एकदिन छोडेर जान्छु अनि अर्कैसित मज्जाले मस्ती गर्नू है' एक्कासी रुवाई मिस्रित स्वरहरूमा उसले इमोसनल ब्ल्याकमेल गर्न खोजिन्। मैले नाइँ भन्नै सकिनँ। उत्तिन खेरै खुसी हुँदै उसले थपिन् 'उसो भए कोटेश्वरमा भेटौं, दिउँसो नगरकोट जाम् अनि बेलुका मुभि हेर्ने सिभिल मलमा है!'
त्यसपछि भने म लल्याक लुलुक भएँ।
बाइक बिग्रिएर तनाव भएको थियो। बनाउन पैसा समेत थिएन। त्यसमाथि त्यसदिनको घुमघामको बजेट पाँच दश हजारसम्म छुट्टाउनु पर्ने भो। मैले केही बोल्ने शब्द नै पाइनँ।
'ल छिट्टो आऊ ल' भन्दै उनले फोन राखिदिइन्। म भने सापटी जोहो गर्ने मेसो मिलाउन लागें।
दुःख सुखमा काम लाग्ने एक जना साथी थियो। उसैसँग बाइक सापटी मागें। पाँच हजारसम्म पैसा पनि दियो। पाँच सयको बाइकमा तेल हालें। एक हजार त हल बुक गर्दैमा गइगो। मनमनै यस्तो कोरोनाको महामारीमा पनि भर्खर खुलेको हलमा किन फिल्म हेर्न पर्या होला? भन्दै सोचिरहेँ। तर सोचेरमात्र कहाँ यो जमानामा गर्लफ्रेन्डसँग चिरस्थायी सम्बन्ध गाँस्न सजिलो थियो र?
पाँच सय घरमा भाइ बहिनीलाई तरकारी ल्याउन छोडिदिएँ। अनि खोल्तीमा जम्मा तीन हजार बोकेर लागेँ शनिवार विशेष डेटिङका लागि।
कोटेश्वरमा उनी मलाई नै कुरेर बसेकी थिइन्। बाहिर घुम्नै जान नपाएर थन्किएका राम्रा राम्रा लुगा र बुट लाएकी रैछिन्।
उनी बाइक पछाडि बसिन्। उनले बिस्तारै पछाडिबाट अँगालो हाल्दै 'किन यत्ति बेर लाएको नि? गाह्रो भयो क्या हो आउँदा?'भन्दै मायालु लवजमा प्रश्न सोधिन्।म भित्रको टेस्टेस्टोरोन हर्मोन त्यसै बढेर आयो।
'बिहान अलि रुखो बोलें होला हगि' भन्दै बास्नादार कपाल मतिर फिजारिन्। म नगरकोटको डाँडातिर हुइँकिइरहेँ। बस् जवानीको आनन्द लिँदै।
नगरकोट पुगेपछि प्राकृतिक सुन्दरता र उनको लालित्यमा सबै भुलेँ। पकेटमा कति पैसा छ भन्ने कुरा पनि भुलेँ। हामी उदाएको सूर्य र बाक्लो कुहिरोलाई साक्षी राख्दै एक अर्कासँग समाहित भएका थियौं।
प्रेमका फर्मुलाहरू जे जे वैध हुन्छन् सार्वजनिक ठाउँमा सबै अपनायौं। दिउँसोको एक बजिसकेको थियो। प्रेम गरेरमात्र कहाँ पेट अघाँउथ्यो र? उनले मधुरो स्वरमा भोक लागेको जनाउ दिइन्। त्यसपछि मेरा जुत्ताका तुनाहरू फुस्किए। पानी परेको चिसो मौसममा निधारबाट पसिनाहरु ओइरिए।तर साहस बढाएरै मैले उनलाई बाइक पछाडि राखेर होटलतर्फ लगेँ।
'के-के खान्छौ?' मेनु अगाडि टक्राउँदै वेटरझैं उनलाई मन नहुँदा नहुँदै पनि मजबुर भएर सोधेँ। लागेको त थियो उसले 'चिसो छ कफी मात्र पिऊँ न त'भनेर भन्छे कि भनेर।
तर अहँ। म मेरै भ्रममा मात्र बाँचिरहेँ। उसले अनेकौं परिकारहरू मगाई। मैले मेनु हेर्दै मनमनै मनको क्यालकुलेटर दाबेर हेरेँ। पूर्ण खर्च दुई हजार नाघ्ने भयो। धन्न पुग्यो भन्ने भावमा म शान्त भएँ। कति साह्रो महङ्गो रहेछ होटेल पनि। कोरोनामा थलिएका थिए होलान् आएका एक दुई जना गेष्टलाई नराम्ररी निमोठे।
अर्डर गरेको खानेकुराहरू टेबुलमा आइपुगे। खान अघि मैले उनलाई 'ह्याप्पी स्याटरडे' भन्दै चुम्बन गर्न खोजें।
'खै त नयाँ गिफ्ट?' भन्दै उनले गाला चुम्न व्यग्र मेरा ओठहरूलाई बीचैमा इन्कार गरिन्।
'तिम्रो जन्मदिन पनि आउँदैछ, त्यो दिन पक्का ल्याउँछु' भन्दै दोस्रोचोटि चुम्ने प्रयास गरें। तर अहँ उनी मान्दै मानिनन्। पहिला गिफ्ट अनि बल्ल किस भन्दै उग्र भएका मेरा सम्पूर्ण हर्मोनहरूलाई यथास्थितिमा बस्न विवश बनाइन्। करिब डेढ घन्टाको बसाइपश्चात् उनले 'अब जाम होला नत्र कोटेश्वरको जामले मुभि छुट्छ' भन्दै हतार गर्न थालिन्।
मैले पनि जसो जसो बाहुन बाजे उसो उसो स्वाहा भन्ने उखान सम्झिँदै बाइक स्टार्ट गरेँ।
बाटो ओरालो थियो, उनी उसैगरी टाँस्सिएर बसिन्। केहीबेर भए पनि सामिप्यताको आभास हुँदा हर्मोनहरूले ग्रयाजुएट भएझैं भएका थिए होलान्।
हामी सिभिल मल पुग्यौं। पप कर्न र कफी किन्दैमा नौ सय सकिगयो। पुगनपुग सय रूपैयाँ बाँकी थियो। हामी हलभित्र छिर्यौं। फिल्मतिर ध्यान नै गएन। यसपछि हुन सक्ने खर्चहरू कसरी टार्ने होला भन्दै सोचमग्न थिएँ।
एटिएमबाट झिक्नलाई बैंक ब्यालेन्स पनि शून्य थियो। उनी भने मस्तसँग मूभि हेरिरहेकी थिइन्।
'कहिलेकाहिँ त यसो आफ्नो पर्सबाट पनि तिर्दिनु नि भन्या' मनमनै यस्तै तर्कनाहरू खेल्दै थिए।
'खाली ब्वाइफ्रेन्डलाई बैंक पनि साथी पनि बनाएर कतिन्जेल चल्छ होला?' यस्तै यस्तै सोच्दैमा फिल्म पनि सकियो।
रातको आठ बजिसकेको थियो। अब उनलाई घर पुर्याएर म कोठा फर्किन आतुर थिएँ। किनकि पर्स रित्तो थियो।
धन्न त्यसपश्चात उसले केही डिमान्ड गरिनन् र त चमत्कार भयो अनि म इज्जत र पैसा दुवैले रित्तो रित्तो हुनबाट जोगिएँ। उसलाई घर पुर्याएर म कोठा जानेबेलामा चोकमा बसेर चिया र चुरोट खाएँ।
'किन होला है यो चोखो भनिएको माया प्रेममा पनि पैसाले इज्जत किन्न मिल्ने?' चुरोटका हरेक सर्कोसँगै यो प्रश्नले भित्रभित्रै पोल्यो।
चिया सुरुप्प पार्दै मनको आगो शान्त पार्न खोजें।
कोठा पुग्दा भाइबहिनीहरू मलाई खाना खानका निम्ति पर्खिएर बसेका रहेछन्।
'मलाई भोक छैन, तिमीहरू खाओ' भन्दै ओछ्यानमा पल्टिएँ।
प्रेमको समरभूमिमा बिना पैसा हुनु भनेको त बिना हतियारजस्तै लड्नु पर्ने बाध्याताको अवस्था पो रैछ।
फेरि कहिल्यै यस्ता शनिबारहरू नआइदिए पनि हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो। किनकि सायद गिज्याउँछ अनि तर्साउँछ यो खण्डहर जिन्दगीमा आफूभन्दा महँगो यो प्रेमिल सम्बन्धले।