म फोनमा कुरा गरेर हिँड्दै थिएँ। अगाडि उनी आएको थाहा नै भएन। फिल्मको कहानीजस्तै हामी ठोक्किन पुग्यौं।
उनको हातबाट मोबाइल खसेछ क्यारे, मैले सरी भनें।
उनले झोक्किएर भनिन्- केको सरी, आँखा छैन?
अफिसको फोन थियो काटें। उनको मोबाइलको फोनको स्क्रीन गएछ।
'सरी गल्ती भयो म बनाइदिन्छुु' भनें।
अगाडि मोबाइल पसल थियो।
साउजीलाई सोधें- कति लाग्छ ?
साउजीले भन्नुभयो- यो त पूरै चेन्ज गर्नुपर्छ। ३५०० लाग्छ।
मैले हुन्छ गर्दिनुस् भनें। गल्ती भएकै थियो बनाइदिनै पर्यो। मसँग जम्माजम्मी खल्तीमा तीन हजारमात्र थियो। साउजीलाई बाँकी पछि दिन्छुभन्दा मान्नुभएन पाँच सय ती मोबाइलवाली केटीले नै दिइन्।
म पछि दिइहाल्छु तपाईंको नम्बर दिनुस् भनें। उनले नम्बर दिइन्।
अफिसको काम सकेर मोबाइलवालीलाई फोन गरें।
'मिस चिन्नुभयो। म त्यही तपाईंको मोबाइलको डिस्प्ले फुटाउने मान्छे ५०० तिर्न कता आऊँ?'
उनले जवाफ दिइन्,' म घर पुगिसकें अब भोलि दिनुहोला।'
मनमनै सोचें भयो छोड्नुस् नि भनिनन् ५०० त बच्थ्यो!
अर्को दिन बिहानै साढे नौ बजेतिर मोबाइलमा घण्टी बज्यो। उनकै फोन रहेछ।
फोन उठाएँ। 'हजुर गुड मर्निङ'।
उताबाट पनि गुड मर्निङ भनेर रिप्लाई गरिन्।
मैले तुरुन्तै भनिहालें, 'पैसा दिन काँ आउनु पर्ने ?'
उनले उत्तर दिइन्- सरी है!
सरी त मैले भन्नुपर्ने उनले किन सरी भनिन् म अक्क न वक्क भएँ।
'मिस के भयो?'
उताबाट उत्तर आयो- नथिङ!
मैले फेरि सोधें- पैसा दिन काँ आउने ?
उनले भनिन्- धनगढी चौराहा नजिक छु। त्यहीँ आउनुस्।
मेरो नि अफिसको समय भैसकेको थियो। चौराहा पुगें। फोन गरें। पहिलो पटक फोन उठेन। फेरि गरें अर्को पटक गर्दा फोन उठ्यो।
'हजुर सर कहाँनिर हुनुहुन्छ?' यति भन्न नपाउँदै त्यहीँनिर रोक्नुस् सर मैले तपाईंलाई देखिसकें। म आउँदैछु भनिन्। म नि चौराहानिरै बाइक रोकेर उभिएको थिएँ।
५०० मिटर टाढादेखि नै उनी आएको देखें। हातमा हिजो नयाँ डिस्प्ले हालेको मोबाइल, आइरन गरेको सिल्की कपाल, सेतो पाइन्ट, कालो हाफ टि-सर्ट, आँखामा कालो चस्मा, जति नजिक आउँदै थिइन्, त्यति नियाल्दै गएँ। अनि नाकमा नथिया, हातमा कालो चुरा पनि रैछ। नाम पनि थाहा थिएन मोबाइलमा डिस्प्ले वाली लेखेर सेभ गरेको थिएँ।
नजिक आइपुगिन्।
'हाई' भन्दै खल्तीबाट पाँच सय झिकें।
उनले फेरि सरी भनिन्। मैले हाँस्दै भनें- बिहानदेखि के सरी चल्दैछ तीन हजार नि फिर्ता दिने प्लान हो क्या हो!
उनले आफ्नो ब्यागबाट तीन हजार निकाल्दै फेरि सरी भनिन्।
'पर्दैन मबाट गल्ती भएको हो, म फोनमा थिएँ। देखिनँ सरी' भनें।
उनले निन्याउरो अनुहार लगाउँदै भनिन्, 'मेरो मोबाइलको डिस्प्ले पहिलै फुटेको थियो, हिजो खसेर फुटेको हैन, चेन्ज गर्नै पर्नेथ्यो तर त्यस्तै माहोल परेर हिजो चेन्ज गर्न पर्यो।'
केही नबोली पैसा समातें र धन्यवाद भनें।
अनि आफ्नो काममा निस्किएँ।
अफिस पुगेर आफ्नो काम गर्दै थिएँ फेरि म्यासेज आयो- सरी सर। मैले रिप्लाई गरिनँ। दिनभरिमा लगभग ५ पटक म्यासेज आयो। मैले रिप्लाई गरिनँ। साँझ लगभग ६ बजेतिर फोन आयो।
मैले हेलो भन्न नपाउँदै उताबाट १० पटकसम्म सरी सरी भनिन्। मनै त हो पग्लियो। मैले ओके भनें।
यतिकैमा कुरा सुरू भयो। उनले सोधिन्- घर पुग्नुभयो? मैले हाँस्दै भनें- आज बाटोमा ठोक्किन कोही आएनन् समयमै घर पुगियो। उनले फेरि भनिन्- मैले सरी भनें त! मैले तपाईंलाई यो सबै सत्य कुरा नभनेको भए पनि त हुने थियो तर भने नि हैन र!
समान्य गफगाफ भयो। उनको घर धनगढी विशालनगर रैछ। नाम स्नेहा। बैंकमा काम गर्ने रैछिन्, तर बैंकको नाम भने भनिन।
मेरो बारेमा पनि १५/२० प्रतिशात जति जानकारी पाइन् होला सायद। माफी पनि एक अर्कालाई दियौं।
अर्को दिन लगभग १२ बजेतिर बाइकमा तेल हालम् भनेर निस्केको खल्तीमा पैसा थिएन। एटिएमले काम गरेन अनि बैंकभित्र गए फास्ट चेक बनाउन लगाए अनि म नि लाइनमा लागें। जब मेरो पालो आयो उनी त्यही अगाडि क्यासियरमा पैसा गन्दै बसेकी थिइन्।
मैले सानो स्वरमा 'हेल्लो' भनें। मतिर हेरेर झस्किँदै भनिन्- काँ आउनु भाको ?
मैले तुरुन्तै उत्तर दिएँ- मोबाइलको डिस्प्ले फुटाउन!
आफ्नो चेक दिएँ। एकछिन रोकिएको समयमा जिस्किहालें। यसको लागि सातौ बैंक गइयो तपाईं कुन बैंकमा भनेर १० बजेदेखि खोज्दैछु। पैसा हातमा दिइन्। मन्द मुस्कान दिइन्। छुट्टिने बेला 'बाई' भनें। उनले पनि 'बाई' भनिन्। अनि आँखाले इसारा गरिन्।
मैले त्यो इसारा केही बुझिनँ, तर मलाई लाग्यो यता धेरै कुरा गर्न मिल्दैन पछि गफ गरौंला भनिन् सायद। म नि आफ्नो कामतिर लागें।
५ बजेतिर मदन दाइको चिकेन स्टेसनमा बसेर खाजा खाँदै थिएँ। डिस्प्लेवाली नम्बरबाट फोन आयो।
फोन उठाएँ।
'कता हुनुहुन्छ?' उताबाट प्रश्न गरिन्।
जिस्केर बोलें, 'खाजा खाँदैछु एकछिनमा आइहाल्छु है घर!'
उनले हाँस्दै फेरि सोधिन्- मजाक नगर्नु न कता हुनुहुन्छ ?
'मदन भट्ट दाइको चिकेन स्टेसनमा छु। अफिस सकेको भए आउनुस्।'
उनले केही नसोचेर 'हुन्छ म पुगें एकछिनमा' भनिन्।
म साथीहरूसँग थिएँ। खाजा खाइसकेका थियौं। साथीहरूलाई तिमीहरू हिँड म स्मल डेटपछि आउँछु भनें। साथीहरू हाँस्दै निस्किए।
उनी पुगिन् गफगाफ चल्यो। हाम्रो बच्चैदेखिको चिनजान छ किजस्तो खुलेर कुराकानी भयो। त्यो दिनदेखि हाम्रो बिहान साँझ धेरै जस्तो च्याटिङ मै बित्न थाल्यो। कयौं रात त आँखा बन्द नभएर नै उज्यालो भएका थिए। अन्जानबाट सुरू भएका सम्बन्ध यसरी आदत बन्छन् जस्तो लागेको थिएन।
शनिबार आयो कि घुम्न जान्थ्यौं, रमाउथ्यौं, एक बेग्लै दुनियाँ बनिसकेको थियो हाम्रो। एक अर्का बिनाको संसार कल्पनासम्म गर्न नसक्ने अवस्थामा पुगिसकेका थियौं। कुनै दिन मेरो फोन बिजी हुँदा उनी रिसाउथिन्, झगडा गर्थिन् तर झगडाभन्दा बढी माया पनि त गर्थिन्।
दुइटै जागिरे, दिनभर दुइटै काममा व्यस्त हुन्थ्यौं। साँझ बिहान कुरामा मस्त हुन्थ्यौं। बिहे गर्ने मात्र हैन छोराछोरीको नाम के राख्ने भनेर पनि हामिले सोचिसकेका थियौं।
एक दिन अफिसदेखि फोन आयो।
'तपाईंको प्रमोसन हुने भयो अब तपाईंले नेपालगन्ज जानुपर्ने भयो।' खुसीले गदगद भएँ। तुरुन्तै स्नेहालाई सुनाएँ, घरमा मम्मी ड्याडीलाइ सुनाएँ। ३ दिनपछि मैले धनगढी छोड्नु पर्ने थियो। धनगढीमात्र हैन अब स्नेहासँग पनि सधैंजस्तो भेट नहुने पक्का थियो। यो सोच्दा चाहिँ मन खिन्न हुन्थ्यो। तर के गर्नु जानैपर्ने भए पछि म पनि नेपालगन्जतिर लागें। म जाने बेला एकछिन भेट्न आइन्। आँखाबाट आँसु झारिन्। मन त मेरो नि भारी हुँदैथियो तर ह्या आइहाल्ने त हो आठ दस दिनमा भनेर सम्झाए। उनी आफ्नो अफिस लागिन्, म नेपालगन्ज।
नेपालगन्ज पुगेको एक महिनासम्म कुरा राम्रै हुन्थ्यो। त्यसपछि हाम्रो कुरा पातलिँदै गयो।
उनको अफिसको काम बढ्यो होला पक्कै पनि। यता मेरो नि धेरै जिम्मेवारी थपिएको थियो। हाम्रो ३/४ दिन बिराएर कुरा हुन थाल्यो। कुरा भए पनि पहिलेजस्तो कुरामा मिठास हुन्थेन।
'के भाको छ' भनेर सोध्दा केही हैन भनेर टाल्ने गर्थिन्। सानो-सानो कुरामा निउँ खोजेर रिसाउन थालिन्। रिसाएर हप्तौं नबोल्ने हुन थाल्यो। मोबाइल घण्टौंसम्म बिजी आउन थाल्यो, म्यासेजको रिप्लाई आउन छोड्यो। कता बिजी भनेर सोध्दा गर्दा ब्वाइफ्रेण्डसँग भन्थिन्। फेरि मजाक गरेको मामा घरको बैनी दिदी के के हुन् केके बहाना बनाउन सुरू गर्थिन्।
विश्वासबिना अघि बढ्न असम्भव हुन्छ। विश्वासमा नै संसार चलेको हुन्छ, यही सोचेर बसें। एकदिन लामो म्यासेज आयो।
'सरी है चक्कु हाम्रो जात मिल्दैन। बुवा मम्मीले मान्नुहुन्न। आजसम्म बुवा मम्मीले हुर्काएर यहाँसम्म पुर्याउनु भयो अब अन्तिममा आएर बुवामम्मीलाई धोका दिन सक्दिनँ। अस्ति एक जना केटा हेर्न आउनु भाको थियो। बुवा मम्मीलाई मनपर्यो अरे मैले नाइँ भन्न मिल्दैन। उहाँहरूको इच्छाविपरीत म जान सक्दिनँ। सरी है! आजसम्मको लागि। मैले माया के हो तपाईंबाट सिकें, तपाईंबाट नै पाएँ। मलाई लाग्छ म यति माया न कोहीबाट पाउन सक्छु न कसैलाई गर्न सक्छु तर पनि यो जुनीमा म तपाईंकी हुन सक्दिनँ।'
म्यासेज पढेपछि आफूलाई सम्हाल्न सकिनँ। रिप्लाई गर्न खोजें फेसबुकमा ब्लक भैसकेछु। हो, तिम्रो मन ढुंगाको कदापि हैन। तिम्रो मन त हिरा हो, जुन बाहिरबाट हेर्दा अति सुन्दर अनि भित्रबाट अति कठोर रहेछ।
फोन गरेको फोन बिजी थियो। त्यसपछि लाग्यो आफ्नोबाहेक अरु कसैको विश्वास नगर्नु किनकि अन्धकारमा छायाले त साथ छोड्छ!
उसलाई जानु थियो मैले जान दिएँ। योभन्दा बढी माया म के गर्न सक्थें र! सबै ठाउँबाट ब्लक भैसकेको म के नै गर्न सक्थे र ? मेरो आँसु देखाउने ठाउँसम्म रहेन।
तिम्रो मन जित्नु कल्पना मात्र भयो जीवनको, तिम्रो खुसीमा आफैं हारेको मान्छे म। तिम्रो खुसीको लागि तिमिलाई भुल्नतिर लागें। त्यो समय एकदम कठिन हुने रैछ आफूभन्दा बढी माया गरेको मान्छेले छोडेर गएको पल। एक दिन पछुतो त हामी दुबैलाई हुनेछ। मलाई प्रेमको हार सम्झेर अनि तिमीलाई मेरो प्यार सम्झेर!
तिमी मेरो होइनौ भन्ने थाहा हुँदाहुँदै पनि कहिलै बिर्सिन नसक्ने एक खास मान्छे हौ 'तिमी'
अचेल अब दु:ख निकै प्यारा लाग्छन् मलाई हर घडी साथ जो निभाइरहेका छन्। अब जिन्दगीमा धोका दिनको लागि कोही ठोक्किन आउने छैनन्। कोही नआऊन् पनि।
कतै तिमीले यो पढ्ने मौका पायौ भने पढ्नु मेरो माया बुझ्नु तर तिम्रो लागि त्यो ठाउँ अब छैन हटाइसकें फर्केर आउने कोसिस नि नगर्नू!
हिँडिसकेको मान्छे फर्कियो भने उसको साइत बिग्रन्छ भन्छन्, तिमी हिँडिसक्यौ अब नफर्किनु ल तिम्रो साइत बिग्रन सक्छ!
उही तिम्रो पागल प्रेमी
चक्र खडायत