जीवनको लय भत्किँदा एउटा कोमल हृदय भत्कन्छ। एउटा कोमल हृदय भत्किँदा एउटा ब्यक्ति भत्किन्छ, एउटा व्यक्ति भत्किँदा सिंगो समाज भत्किन्छ। समाज भत्किँदा सिङ्गो देश भत्किन्छ त्यही एउटा कोमल हृदय भत्कनबाट जोगाउन सके सिङ्गो राष्ट्र जोगाउन सकिन्छ।
सपना देख्ने मन, सपना देख्ने आँखा कतै हराइरहेको हुनसक्छ। कतै डराई रहेको हुनसक्छ। कतै नहराओस्, कतै नडराओस्, यहीँ सोचेर सिङ्गो राष्ट्र जोगाउन अहोरात्र खटिरहेका युगनायक हुन् डाक्टर सन्दुक रूइत।
सरल व्यक्तित्व र सबैलाई समान व्यवहार गर्ने राष्ट्रको एक होनहार व्यक्ति हुन् उनी। उनको जन्म ताप्लेजुङको ओलाङ्चुङगोलामा २०११ भदौ १९ मा भएको थियो। अध्ययनको सिलसिलामा सात वर्षको उमेरदेखि आमाको काख छोडेका उनले दार्जिलिङ, काठमाडौं, भारत, अस्ट्रेलियाहुँदै आफ्नो अध्ययन पुरा गरेका थिए।
परिवारका दाजु र दुई दिदीको मृत्युले भावबिह्वल भएका सन्दुकमा डाक्टर बन्ने सपना त्यहीँ बेलादेखि उदाएको थियो। डाक्टर बनेर सेवा दिइरहेका बेला सन् १९८० मा अष्ट्रेलियन आइ सर्जन फ्रेड हलोजलाई भेटे। त्यो भेटले डाक्टर रूइत आँखा उपचारमा अग्रसर भए।
उनी दूरदराजका गाउँहरूमा बिरामीका माझ पुग्ने गर्छन्। धेरैले उनको इतिहास पढेर, सुनेर चिन्नु स्वभाविक हो तर मैले जति नजिकबाट चिन्ने मौका पाएँ। उनलाई भेटेर म गौरवान्वित भएकी छु। ‘फलेको हाँगो कहिले पो छ र ननुही रहेको’ भन्ने उक्ति डाक्टर रुइतमा लागू हुन्छ। होनहार व्यक्ति पनि यतिसम्म सरल र समान ब्यवहार गर्न सक्ने रहेछन् भन्ने कुरा डाक्टर रूइतलाई भेट्दा मात्र थाहा पाइन्छ।
जब शरीरका कुनै पनि अंगहरू असक्षम हुन्छन् मान्छेमा निराशा पैदा हुन्छ, मनोबल घट्छ र बिस्तारै भत्कँदै जान्छ। त्यस्तो अवस्थामा कसैले छहारी बनेर ढपक्कै ढाकि दिँदा कति खुसी मिल्छ भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन।
हो त्यसरी नै मेरो छहारी बनेका थिए डाक्टर सन्दुक।
म १२ वर्षको उमेरदेखि नै आँखाको ज्योति कम भएर चश्माको प्रयोग गर्दै आएकी थिएँ। केही समय पश्चात् आँखामा जलबिन्दु (आँखाको प्रेसर) देखा परेपछि ग्लुकोमोल औषधि थप प्रयोग गर्न शुरु भएको थियो। पछिल्लो समय चस्माले पनि काम गर्न छोड्यो, आँखामा मोतिबिन्दुले ढपक्कै ढाकेको रहेछ।
तिलगंगा आँखा अस्पतालमा म लामो समयदेखि उपचारार्थ थिएँ।
आँखाको अप्रेसन गर्ने निधो भयो। मैले नियमित आँखा उपचार गर्ने डाक्टरसँग भन्दा डाक्टर सन्दुक रूइतसँग अप्रेसन गराउन पाए हुन्थ्यो भन्ने चाहना थियो। तिलगंगामा अप्रेसनको मिति तय गर्ने क्रममा आफ्नो चाहना त्यहाँका डाक्टर समक्ष राखेँ। आँखाको भिजुयल चेक गर्ने डाक्टर मिलनसार रहेछन्। मेरो चाहनालाई उनले सहज बनाइदिए।
उनले भने, ‘बिरामीले डाक्टर छान्न पाउने अधिकार छ तपाईं जोसँग अप्रेसन गराउन चाहनु हुन्छ उहाँसँग गर्नुहोस्। तपाईँले मिति तय गर्न जानेबेला उहाँलाई भन्नुहोस् पाउनु हुन्छ।’
म निकै खुसी भएँ। म सबै तयारीका साथ अप्रेसनको मितिमै अस्पतालमा पुगेँ। पहिलो तल्लामा रहेको २१५ नं कोठामा रगतमा सुगरको लेभल र कोभिडको रिपोर्ट सहित गएकी थिएँ। सबै कागजातसहित फारम भरेर म अप्रेसनको तयारी अवस्थामा बसेँ।
आँखामा केही थोपा औषधि दिइयो। ब्लड प्रेसर जाँच पश्चात अप्रेसन गर्दा लगाउने सुरक्षित पहिरन फेर्न भनियो। सुरक्षित पहिरन फेरेँ पछि म अप्रेसन थिएटरमा प्रवेश गरेँ। भित्र म जस्ता बिरामी थुप्रै थिए सबैले आफ्नो पालो कुरेर अप्रेसन थिएटरको कुर्सीमा बसिरहेका थिए। सुरक्षित पहिरन, प्याजी रंगको टोपी, सोही रंगको सुरुवाल, कमिज र मोजा अनि मुखमा आकाशे रंगको मास्क लगाएर सबै चुपचाप थिए। तीनलाई देख्दा कताकता अर्कै लोकमा पुगेको अनुभूति भयो।
म स्वयं त्यहीँ पहिरनमा भए पनि म आफूलाई बिर्सिएकी थिएँ। चुपचाप कुनै सभामा आज्ञा पालनका निम्ति पालो कुरिरहेका थियौं हामी। म पालैपालो ती सबै मुख छोपेर बसेका मान्छेहरूलाई हेरिरहेकी थिएँ। देवदूत जस्ता देखिने ती बिरामीहरू भित्र जाँदै र निस्कँदा आँखामा पट्टी लगाएर डोर्याइँदै निस्कँदै थिए।
म अर्कै लोकमा पुगे जस्ती भएर एक तमास बसिरहेकी थिएँ। त्यहाँ आँखा अप्रेसन भन्दा अगाडि नदुख्ने औषधि प्रयोगको निम्ति मेरो नाम बोलाइयो। म नजिकैको बेडमा पल्टिएँ र औषधि प्रयोग पछि भित्र जाने पर्खाइमा थिएँ। केही छिन पछि मलाई भित्र लगियो।
डाक्टर अर्को बिरामीको अप्रेसन गर्दै थिए। मैले उनलाई हेरेँ, डाक्टर मेशिन अघिल्तिर पुरै सेतो पहिरनमा थिए। मलाई बेडमा सुताए पछि मेरो अनुहार मास्क जस्तो रुमालले ढाकियो।
सुरूमा डाक्टरले आँखामा केही मेशिन छिराए जस्तो महसुस गरेँ त्यो सुरुवाती बेला आँखाले केही देखेको थिएन जब अन्तिमतिर हुँदै गयो मेरो आँखाले मसिनो सियो जस्तो बस्तु र डाक्टरको औलाहरू चलेको देखेँ त्यही बेला मलाई यस्तो खुसी अनुभूति भयो कि मैले यो बिषयमा लेख्नै पर्छ भन्ने लाग्यो।
डाक्टरले ‘सकियो उठ्नुहोस’ भने। त्यही बेला मैले भनेँ, ‘डाक्टरसाब हजुरसँग केही कुराकानी गर्न मन लागेको छ।’
‘नानी ! मलाई शनिबार ९ बजेतिर फोन गर है! फोन गर्न त सक्छ्यौ नि?’, डाक्टर रुइतले भने।
मैले ‘सक्छु डाक्टर साब’ भनें। उनले मलाई आफ्नो मोबाइल नम्बर दिए।
मैले फोन गर्दा उनले उठाउलान् कि नउठाउलान्? मेरो लेख्ने सपना पूरा होला? घर फर्किंदा मनमा यस्तै तर्कना खेलिरहेका थिए।
मलाई कहिले शनिबार आउला भन्ने भयो। ३/४ दिनको पर्खाई पनि निकै लामो लाग्यो। शनिबार त आयो फेरि कहिले ९ बज्ला भन्ने भयो। ९ बज्यो, मैले फोन गरेँ २/३ घण्टीमै डाक्टरले फोन उठाए, ‘भन त नानी के कुरा हो?’
म तीन छक्क परेँ। कसरी सम्झिरहेका उनले? मैले आफ्ना कुरा राखें २/३ दिनमा तिलगंगामा गएर अप्रेसन गरेको आँखा पुनः देखाउनु थियो। त्यहीँ समयमा उनले आफ्नो नागपोखरीस्थित ‘आइ केयर क्लिनिक’ मा बोलाए।
म समयमै त्यहाँ पुगेँ।
आँखाको स्थिति जाँच गरेपछि केही कुरा सोध्नु छ भनेर पहिले नै भनेकी थिएँ त्यसैले हामी नजिकैको कफी शपमा पुग्यौं।
उनको सरलता र सबैसँगको समान ब्यवहारले म निकै आकर्षित भएकी थिएँ।
मैले डाक्टरसँग पहिलो जिज्ञासा राखेँ, ‘डाक्टरसाब हजुर कहिलेसम्म यसरी आफ्नै उपस्थितिमा बिरामीको सेवा गरिरहनु हुन्छ?’
उनले पहिला ‘सकुन्जेल!’ भने। अनि फेरि भने, ‘अब ३/४ वर्ष गर्छु अब आफ्नो उमेर पनि हेर्नु पर्यो।’
‘तिमीले अप्रेसन र तिलगंगाको सहयोगीहरूको बारेमा कस्तो फिल गर्यौ?’, अब उनले पो मलाई सोधे।
‘कहिँ राम्रो कहिँ नराम्रो पक्कै पनि हुन्छ तर समग्रमा हजुरप्रतिको मेरो विश्वास सम्पूर्ण बिरामीले ढुक्क भएर उपचार गरे म निकै खुसी हुन्छु’ भनें मैले।
मेरो अर्को जिज्ञासा, ‘मोतिबिन्दुको अप्रेसनपछि हाम्रो आँखाको नेचुरल नानीले काम गर्न शुरु गर्छ ?’
उनी भन्दै गए, ‘होइन, मोतिबिन्दु ६०/६५ वर्षको उमेरमा देखिने रोग हो तर विभिन्न कारणले तिम्रो र कसै–कसैको उमेर भन्दा पहिला देखिन्छ। त्यो नानी धमिलो हुँदै गएर जमेको हुन्छ। त्यसलाई हामीले प्रबिधिको सहायताले अल्ट्रासाउन्ड मेशिनद्वारा निकाल्छौँ, सफा गर्छौं, सम्पूर्ण सफा भइसके पछि अन्तिममा आर्टिफिसियल लेन्स तपाइँलाई चाहिने लेन्स (इन्टाकुलर) लेन्स हाल्छौं र बिरामीले पुनः देख्न सक्ने हुन्छन्। त्यो लेन्स हालिएन भने देख्न सक्दैनन्।’
यी अग्ला पहाडहरू, यी हिमाल, यी आकाश र यो धर्ती जसले सन्दुक रुइत जस्ता सपूत खोजिरहेको हुन्छ। घाम पनि किरण बनि बगेर प्रत्येक मान्छेहरूलाई छोएर ‘म छु है’ भनि रहे झैं डाक्टर सन्दुकले मोतिबिन्दुको बिरामीहरू माझ घामको किरण बनेर उज्यालो दिइरहेका छन्।
मोतिबिन्दुको कम लागतमा चिकित्सा पद्धति ‘रुइतेक्टोमिक’ को सुरुवातकर्ता पनि डाक्टर रुइत नै हुन्।
डाक्टर रुइतकाअनुसार नेपालमा करिब पाँच लाख जति मानिस मोतिबिन्दुको बिरामी छन्। तिनीहरूसम्म पुग्ने उनको प्रयासलाई सलाम।
डाक्टर रुईतले एक जना बेलाइती ब्यक्तिको सहयोगमा फाउन्डेसन खोलेका रहेछन्। मोतिबिन्दुका बिरामीलाई कोभिड–१९ लकडाउनमा पनि पश्चिम धनगढीदेखि पूर्वसम्म दुई हजार जना जतिलाई उपचार गरेको कुरा उनले सुनाए। यस्तो उपचार नेपाल लगायत बिदेशमा पनि सहज र साक्षात गराउने लक्ष्य उनले सुनाए।
भुटान, इन्डोनेसिया, म्यानमार, बर्मा, इथोपिया र अफ्रिकाको केही स्थानमा प्रायोजन गर्ने लक्ष्य रहेको र अब को ४/५ महिनामा नेपालमा रहेका बीसदेखि पच्चीस हजारसम्म मोतिबिन्दुका बिरामीलाई उपचार गरेर संसार देख्न सक्ने बनाउने योजनासमेत उनले सुनाए।
सन्दुक रुइत विश्वभर चर्चित ब्यक्ति हुन्। उनले गरेको कामलाई नेशनल जोग्राफीले बृतचित्र बनाएर प्रसारण गरेको थियो। आज पनि उनको सम्मान गर्दै नेशनल जियोग्राफी र बिबिसी जस्ता चर्चित च्यानलहरूले प्रसारण गरिरहन्छन्। उनलाई अस्ट्रेलियन सरकारले ‘अर्डर अफ अस्ट्रेलिया’ कदरले सम्मान गरेको छ।
बि.सं. २०६३ मा विश्व प्रसिद्ध ‘रामोन म्यागासेसे’ पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल सरकारले पनि उनको योगदानको उच्च मूल्यांकन गरेर बि.सं. २०६९ मा उज्ज्वल कृतिमय ‘राष्ट्रदिप’ पदकले सम्मान गरेको छ।
साधारण परिवारमा जन्मिएका व्यक्ति लगन र दृढताका कारण विश्वभर चर्चित छन्। आफ्नै देशमा बसेर पनि धेरै थोक गर्न सकिन्छ भन्ने उदाहरण हुन् डाक्टर सन्दुक रुइत।
वास्तविक जीवन जिउन भोको पेट, नाङ्गो शरीर र अस्वस्थ जिवनचर्या घातक हुन्छ। यी सबैबाट जोगिन सर्वप्रथम शारीरिक स्वस्थ्यता आवश्यक हुन्छ।
यो लक्ष्य पूरा गर्न र सपनालाई बिपनामा परिणत गर्न उपचार अनुभूत गरिसकेका म जस्ता बिरामी लगायत सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न जरुरी हुन्छ।
मनले देखेका सुन्दर सपना आँखासम्म पुग्न र सुन्दर प्रकृतिको मोहमा रमाउन पनि त आँखा स्वास्थ्य हुनु पर्यो नि। सुन्दर सपना पूरा गराउन लागि परेका युगनायक डाक्टर सन्दुक रुइत र तिलगंगा आँखा अस्पतालमा सेवा दिनु हुने सम्पूर्णमा धन्यवाद।
आज संसारले डा. रुइतको सम्मान गर्छ। जति विदेशीले उनलाई चिनेका छन् त्यति हामी नेपालीले चिन्न सकेनौं कि जस्तो लाग्छ। अष्ट्रेलियाकी पत्रकार अलि ग्रिपरले तीन वर्ष संगत गरेर डाक्टर रूइतको जीवनकथा लेखेको कुरा सुनेकी थिएँ। पढेकी थिइनँ।
अंग्रेजीमा छापिएको पुस्तकलाई लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका रहेछन्। साथी अमृतले भर्खरै यो पुस्तक उपहार ल्याइदिएका छन्।
अप्रेशन गरेर निको भएका उज्याला आँखाले म तिनै देवदूतरुपि डा. रुइतको जीवनकथा पढ्न सुरु गरेकी छु। देशप्रेमी एवं मानवतावादी डा. रुइतको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु।