उच्च शिक्षा अध्ययनको लागि २०५३ सालदेखि गोरखाको एउटा गाउँबाट काठमाडौं छिरे। २०६० सालमा एक वर्ष फेरि गाउँमै फर्कें र त्यसपछि पुनः यो राजधानी सहरमा निरन्तर बस्दै आएको छु।
यसका पछाडि मेरा आवश्यकता, रहर र बाध्यता सबै छन् थोरबहुत। यतिका लामो समयसम्म सहरमा बस्दा समेत म सहरिया हुन किन सकिरहेको छैन? आज म यो आलेखमा यही विषय खोतल्ने प्रयास गर्दैछु। यसमा तपाईंका फरक मत हुन सक्छन्। यी मेरा नितान्त निजी अनुभव हुन्।
गाउँले परिवेशमा हुर्केको, बढेको र स्नातक तहसम्मको अध्ययन समेत गाउँमै गरें। यद्यपि गोरखाको सदरमुकाम हिलेपोखरीमा क्याम्पस रहेको भए पनि गोरखा बजारबाट ३/४ कि. मी. पर गाउँजस्तै ठाउँमा थियो। मैले सो अवधिभर क्याम्पस वरपर नै डेरा लिएर बसेको हुँदा सहरिया वातावरणले छुनै सकेन। त्यसपछि अध्ययनलाई निरन्तरता दिने क्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पस, कीर्तिपुर आएँ। त्यतिबेला गोरखा क्याम्पसमा स्नातकोत्तर तहको पढाइ हुँदैनथ्यो। झण्डै त्यसको एक दशकपछि गोरखा क्याम्पसमा नै स्नातकोत्तर तहको पढाइ हुन थाल्यो सायद।
विश्वविद्यालय क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी नै रहेकोले धेरै समय पठनपाठनमा नै बित्यो। अध्ययनकै सिलसिलामा विवाह बन्धनमा बाँधिए। दुबै जना अध्ययनकै क्रममा रहेकाले दु:खसुख जिन्दगी चल्दै थियो।
एउटा गाउँघरमै कार्यरत जापनिज संस्थाले मलाई स्नातकोत्तर दुई वर्षको अध्ययनको लागि दिएको छात्रवृत्ति, घरबाट पाएको सहयोगले जेनतेन गुजारा चलिरहेकै थियो। त्यसपछि ठूली छोरी जन्मिई। मेरो स्नातकोत्तर तहको पढाइ सकियो। परीक्षाफल प्रकाशित हुँदै गर्दा कामको खोजी गरें। बालाजु प्राविधिक शिक्षालयमा प्रोग्राम को-अर्डिनेटरको एक वर्षे करार जागिर पाएँ। जिन्दगीको रथ गुड्दै थियो।
श्रीमतीको स्नातक तहको पढाइ सकियो। स्नातकोत्तर पढ्न भर्ना गरियो। एक वर्षे करार जागिर सकिएपछि २०५६ सालको सुरूतिरै माध्यमिक तहको अस्थायी दरबन्दीमा अंग्रेजी विषय पढाउने जागिर भेटें मैले। धेरै ठूलो राहत महसुस भयो। जिन्दगीका रथका पाङ्ग्राहरू निरन्तर गुडिनै रहे।
सुरूमा अध्ययनको क्रममा काठमाडौं छिर्दा दुई जना साथी मिलेर कीर्तिपुरमा एउटा कोठामा बसेको म, विवाहपश्चात् अर्को वर्षदेखि श्रीमतीसँग एउटा कोठामा अनि छोरी जन्मेको केही समयपश्चात् लगनखेल अनि सातदोबाटो क्षेत्रमा दुइटा कोठा लिएर बस्नुपर्ने भयो।
त्यसबेला मेरा बहिनीहरू पनि सँगै बस्ने भएकोले दुइटा कोठा लिनै पर्ने अवस्था थियो।
बिस्तारै छोरीलाई विद्यालय पढाउन, श्रीमतीले पनि मिलेसम्म जागिर गर्न र म आफैं पनि माध्यमिक तहको स्थायी शिक्षकको जागिरे भैसकेकोले अब सधैं कोठा भाडा तिरेर मात्रै हुँदैन, काठमाडौंमा नै एउटा घडेरी किन्नु पर्छ र बिस्तारै घर बनाउनुपर्छ भन्नेतिर ध्यान गयो। यसको लागि मेरो दुरदर्शी स्वर्गबासी हजुरआमाले औधी प्रेरणा दिनुभएको थियो। कान्छी छोरी जन्मिएपछि तीन जनाको काठमाडौं बस्ने परिवार चार जनाको भैसकेको थियो।
आफ्नो आर्थिक हैसियत अनुसारको घडेरी पाउन त्यतिबेला निकै गाह्रो थियो। रिङरोडको आसपास त्यसमा पनि कीर्तिपुर, कलंकी, बालाजु एरिया हामी पश्चिमकालाई पायक पर्ने भएकोले कीर्तिपुरमा एउटा घडेरी किनियो, ०६४/०६५ सालतिर।
मेरो थोरै बचत र बुवाले पठाइदिएको रकमले हामी घडेरी किन्यौं।
त्यसपछि बसाइलाई घडेरी नजिकै बनाइयो। आत्मविश्वास बढ्दै गयो, घडेरीमा इनार खनियो, केही समय तरकारी खेती समेत गरियो। बिस्तारै घर बनाउने रहर पलायो, हजुरआमाको प्रेरणा त छँदैथियो। सुरूमा एकतल्ला बनाउने योजना थियो तर जग्गाको प्रकृति अनुसार अण्डरग्राउण्ड दुई कोठा बनाउनुपर्ने भएकाले डेढ तल्ला बनाइयो जेनतेन। केही वर्ष तल्ला दुई वटा कोठा भाडामा लगाएर माथिल्लो तलामा बसियो। सुरूमा काठमाडौं छिर्दा एउटा कोठाको आधा हिस्सा भाडा तिरेर बसेको म, काठमाडौंमा आफ्नै घरको एउटा फ्ल्याटमा बस्ने अनि तलका दुइटा कोठा भाडामा लगाउने भैसकेको थिएँ, ०६८/०६९ तिर आइपुग्दा। चार पाँच वर्ष यसरी नै बिते।
हुन त झण्डै यो तीन दशकको अवधिमा आर्थिक उन्नयनको क्षेत्रमा मात्रै लागेका गाउँबाट सहर छिरेका व्यक्तिहरूले करोडौंको धनसम्पत्ति, गाडी, घरघडेरी जोडेका उदाहरण कैयौं छन्। उनीहरू अब गाउँले होइन सहरिया भैसकेका छन्। उनीहरू निरन्तर थप आयआर्जनमा लागिरहेकै छन्। त्यसो त म भन्दा धेरै पछि सहर छिरेका कति भाइबहिनीहरूले पत्याउनै नसकिने हिसाबले आर्थिक उन्नति गरेका छन्। उनीहरू सहरिया भन्न रुचाउने मात्रै होइन साँच्चै सहरियाजस्तै छन्। सहरिया आर्थिक सम्पन्नताको कुरा मात्रै पनि त होइन रहेछ आखिर। यो त सोचको कुरा पनि हो कि ! भर्खर सहर पसेका अनि भाडामा बस्नेहरू पनि कति छिट्टै सहरिया हुन सक्छन् कोही त !
अब म, आफू सहरिया हुन नसक्नुको कारण तपाईँहरू समक्ष राख्न चाहन्छु। म गाउँमै हुर्कें,बढें अनि पढें। गाउँकै रीतिरिवाज, चालचलन, संस्कृति बुझें, त्यसैलाई आत्मसात गरें अनि त्यसको गहिरो प्रभाव ममा परिरह्यो। सहरमा बसे पनि, क्यालेण्डरमा शनिबारसँग जोडिएको अर्को सार्वजनिक बिदाको दिन परेमा म गाउँ जान तम्सिहाल्थें। अरू दसैं, तिहार, वर्षे बिदा र हिउँदे बिदाका बेला म गाउँ नगएको सायदै हुँला। कोभिड-१९ पछिको अवस्था भने पहिलेजस्तो सहज छैन।
गाउँमा बस्दा मेरा दुइ जोरभन्दा बढ्ता तीन जोर लुगा भएको मलाई स्मरण छैन। लुगा लगाउन थालेदेखि नच्यातिएसम्म लगाएको मलाई हेक्का छ। सामान्यतया विद्यालयले तोकेको पोशाक त एकजोर मात्रै हुन्थ्यो। मैलो हुँदा बेलुका धुने गरेको र नसुकेको अवस्थामा झण्डै एक घण्टा पैदल दूरी हिँडेर विद्यालय पुग्दा बाटैमा सुक्ने गरेको अनुभव पनि छ मसँग।
अनि मलाई दिनहुँ जसो लुगा फेरेर लगाउने सहरिया चलन कसरी मन परोस्। म पहिलेजस्तै एकजोर वा दुइजोर मात्रै लुगा भए पुगिहाल्छ नि भनिरहेको छैन, मौसम अनुसारका लुगा लगाउनुपर्छ, फेरि फेरि पनि लगाउनु पर्छ, आवश्यकता अनुसार। तर म आफैंलाई मेरा लुगा कति छन्, कहाँ कहाँ छन् भन्ने थाहा नहुने गरी देखाउनैको लागि खर्च नगरे हुने नि सिर्फ सहरिया देखिनको लागि!
घाँटी हेरी हाड निल्न खोजे राम्रो हुन्थ्यो कि ! त्यस्तो फजुल खर्चलाई अन्य कुनै उत्पादनमूलक कार्यमा लगाउन किन अग्रसर हुँदैनन् तथाकथित सहरियाहरू! भन्ने जिज्ञासा मात्रै।
त्यसो त शरीरमा बेलाबखत खास गरी नुहाएको बेला जाडो मौसममा घाममा बसेर सानो छँदा आमाले र ठूलो भएपछि म आफैंले शुद्ध तोरीको तेलबाहेक नघसेको म, मौसम अनुसारका बडी लोसन, क्रिम अनि श्रृङ्गारका वाहियात सामान किन्न र लगाउन कसरी मन मानोस्!
मलाई आमाले करेसाबारी वरिपरि केही आफैं उम्रेका, केही लगाइएका खुर्सानी पाकेर लटरम्म भएपछि टिपेर सुकाएर मानाको २०/३० रूपैयाँमा बेच्दा आमा दंग परेको स्मरण छ, पैसाको महत्व बुझेकैले होला फजुल खर्चजस्तो लाग्दछ मलाई श्रृङ्गारको नाममा गरिने ठूलो खर्च। त्यसैले लवाईको हिसाबले म सहरिया हुनै सकिनँ।
खेतमा पानी पटाउन जाँदा झण्डै आधा घण्टा, पल्लो बारीको डाले घाँस काट्न जाँदा १५/२० मिनेट गरेर बिहान बेलुकी प्रशस्त हिँड्ने गरेको अनि बिहान उठ्ने बित्तिकैदेखि वल्लो पल्लो गोठ चहारेर त्यहाँ रहेका वस्तुभाउलाई घाँसपात, कुँडोपानी, गोबरघसेटोपश्चात् दुहनवाहन गरेर प्रशस्त शारीरिक परिश्रम गरेको मलाई निरर्थक मर्निङवाक र इभिनिङवाक कसरी मन परोस्!
करेसाबारी खनेर मौसम अनुसारको तरकारी लगाएर खलखली पसिना निकालेको, डाले घाँस काट्न रूख चढ्दा होस् वा गराकान्लामा बन्सो घाँस काटेर शरीरले बोक्न सक्नेजति घाँसको भारी बोक्ने गरेको शरीरले उल्टै पैसा तिरेर पसिना निकाल्ने जिमखाना र फिटनेस सेन्टर कसरी मन पराओस्! त्यसैले म सहरिया हुनै सक्दिनँ!
गाउँघरमा तिथि अनुसार अनि आफ्नो गच्छे अनुसार चाडपर्वहरू मनाएर रमाउँदै आएको म, सहरमा त कैयौं दिन पहिलेदेखिको तयारी, सजीसजावटका साथ, कोभन्दा के कम भन्ने हिसाबले टोल छिमेकमा देखाउनैको लागि गरिएका तडकभडक, महँगा पहिरन र गरगहना, अनावश्यक गरिष्ठ खानाका परिकार मेरा लागि कहिल्यै रुचिका विषय भएनन् र हुँदैनन् पनि। अनि म कसरी सहरिया हुन सक्छु !
सहरिया हुनु भनेको कमसेकम कुनै न कुनै निजी सवारी साधन तपाईंसँग हुनैपर्छ। किनकि यहाँ सार्वजनिक सवारी साधन व्यवस्थित रूपमा, निश्चित मापदण्डका साथ निश्चित समयलाई ख्याल गरेर गुड्दैनन्। तिनीहरूमा सामाजिक उत्तरदायित्वको भावना एकदमै नगन्य मात्रामा रहेको पाएको छु।
म सानैदेखि सवारी साधनको पहुँचमा रहिनँ र आवश्यकताबोध समेत भएन किनकि त्यो बेला गाउँघरमा अहिलेजस्तो बाटोघाटो नै पनि कहाँ थियो र ! स्नातक पढुन्जेल त्यस्तो भयो अनि स्नातकोत्तर पढ्दा पनि क्याम्पस नजिकैको बसाइ भएकोले आवश्यक नै परेन।
अब बिस्तारै जब आवश्यकता महसुस हुन थाल्यो अनि ममा सवारी साधन चलाउने आँट नभएको जस्तो हुन थाल्यो। त्यसो त मलाई अनुकूल हुने पठाओ, टुटल आदि सेवा पनि छन् सहरमा, तर आफ्नो सेवा धरासायी हुने डरले ट्याक्सी व्यवसायी तिनीहरूलाई कहाँ देखि सहन्छन् र !
आफूमा सुधारको खाँचो देख्दैनन् तिनीहरू, उल्टै उनीहरूको व्यवस्थित र वैज्ञानिक सेवाप्रति डाह गर्दछन्!
मजस्तै धेरै सहरिया हुन नसकेका मानिसहरू समेत आजकल जबर्जस्ती आफ्नै निजी साधन चलाउन थालेको पाएको छु। सायद कुनै हालतमा पनि व्यवस्थित हुँदै हुँदैन सार्वजनिक यातायात प्रणाली भनेर नै त होला।
चालक राखेर सवारी साधन चलाउन त ठेक्कापट्टा, व्यापार व्यवसाय, उद्योग अनि सेवा नामको राजनीतिक व्यवसाय वा यस्तै दुई नंम्बरी धन्दा गर्नुपर्छ, जुन मेरा रुचीका विषयभित्र परेनन्।
कठै कहिले होला सार्वजनिक यातायात प्रणालीमा सुधार र म जस्ताले त्यसमा यात्रा गर्दा रमाउने दिन। अहिले त साँच्चै सहरिया भएकाहरू सार्वजनिक यातायात प्रयोग गर्नेलाई त गाउँले नै भन्दछन् पक्कै। असम्भव नै त भन्दिनँ यही तरिकाले अगाडि बढ्दा मेरो पालामा सुधारको संकेत देख्दिनँ। त्यसैले म सहरिया हुनै सक्दिनँ!
त्यसै पनि सामाजिकीकरण गाउँको तुलनामा कमजोर नै पाउँछु सहरमा। झन् अहिले कोभिड-१९ को सङ्क्रमण पछिको अवस्थामा त वल्लोपल्लो घरको स्थिति थाहा पाउन समेत मुस्किल छ सहरमा। अलग अलग घरको त छुट्टै कुरा, एउटै घरका तलमाथिको तलामा बस्नेको वास्तविक स्थिति थाहा पाउन पनि गाह्रो छ सहरमा आजकल।
अनि म गाउँघरका तल्लो माथिल्लो घरमा के कसो छ भनेर खुला आकाशमुनि रमाएकोलाई घर-घरका अग्ला गेट र पर्खाल अनि एउटै घरमा पनि कोठा कोठामा थुनिएर बस्नुपर्दाको अवस्था कल्पना गर्नुहोस् त !
अकस्मात् कुनै दैवी विपत्ति परेर तुरून्तै बाहिर निस्कन पर्ने स्थिति आइपर्दा कसरी बाहिर निस्कन सक्छन् कुन्नि सहरियाहरू, जाली ढोका, कोठाको ढोका, च्यानल गेट, मूल ढोका, गेट कति वटाको छेस्किन, चुकुल,गजवार, लक, ताल्चा खोल्न भ्याउँछन् कुन्नि ! विश्वासको गहिरो संकट छ सहरमा।
साँच्चै मानवीय संवेदना कहाँ छ खोइ, सहरमा! अनि म कसरी सहरिया हुन सक्छु।
प्रत्येक नयाँ मान्छेलाई स्वागत गरिन्छ गाउँघरमा। बसाइ सरेर आउन खोजेको मानिसले त धेरै नै सहयोग पाउँछ गाउँलेहरूबाट। त्यसको ठ्याक्कै उल्टो छ सहरमा। ऊ नयाँ छ, ऊ हाम्रो टोलछिमेकको बारेमा जानकार छैन, हामी यहाँका पुराना रैथाने आदि भनेर दु:ख दिइने गरिएको पो पाएको छु सहरमा।
उपभोक्ता समिति, टोलसुधार समितिमा रहेकाहरू समेत नै नवआगन्तुकलाई सहयोग हैन उसबाट के लिन सकिन्छ र उसलाई कसरी असजिलो पार्ने भन्नेमा देखिन्छन्। तुलनात्मक रूपमा फुर्सदिला, समाज बुझेका, विकास निर्माणमा ज्ञान भएका, सचेत मानिसहरू त्यस्ता समितिमा बसेर सहभागितामूलक छलफलपछि आवश्यक योजना तयार गरी सम्बन्धित ठाउँमा पेस गर्ने, आयोजना स्वीकृत भएमा नपुग आवश्यक रकम पारदर्शी ढंगबाट उठाउने अनि उठेको र प्राप्त रकम खर्च गर्ने संयन्त्र समेत कमजोर छ, सहरमा। त्यसो त उपभोक्ता समिति मेरै पेवा हो जस्तो गर्नेहरू पनि छन्, तर उपभोक्ता समस्यामा पर्दा चुँइक्कसम्म नबोल्नेहरू पनि छन् सहरमा। यिनीहरूमा गुणदोषको आधारमा को सही को गलत भन्ने भन्दा पनि कसैसँग छुचो बन्न नखोज्ने प्रवृत्ति अनि गल्ती देखाउनुपर्दा निम्सरोलाई गल्ती देखाउने गरेको पाएको छु शक्तिका पुजारीहरू।
यदाकदा सहर बसेर यस्तै विकृत अनुभव लिएर सोझासाझा गाउँलेलाई मान्छे नै नगन्ने एकाध प्रवृत्ति गाउँमा समेत भित्रिएकोजस्तो लाग्छ आजकल।
जे होस्, यो विकृतिको डंगुर सहरमा नै छ। अनि म कसरी सहरिया हुन सक्छु, जसलाई समाजसेवा नि:स्वार्थ भावले मात्रै गर्नुपर्छ भन्ने चेत छ।
प्रत्येक शुक्रबार कहाँ गुड फ्राइडे हुनु गाउँमा ! म आफू शिक्षण पेशामा रहेकाले बरू अन्य दिनभन्दा चाँडो छुट्टी हुने उक्त दिनमा हप्ताभरि गर्न नभ्याएका कामहरूको चाँजोपाँजो पो मिलाएको याद छ।
साथीभाइसँग महँगा होटल, रेष्टुरेन्ट वा खाजाघरमा गएर गुड फ्राइडे मनाउने कुरामा स्वयं साथीभाइहरू नै 'तपाईं शाकाहारी त्यसमा पनि आजकल त सामान्य 'सोसल ड्रिंकर' समेत नहुँदा हामीलाई पनि सहज लाग्दैन' पो भन्दछन्। अनि म कसरी सहरिया हुन सक्छु! यद्यपि मैले मांसहारी अनि सचेततापूर्वक पेय पदार्थ लिने साथीहरूलाई कहिल्यै अपमान गरेको छैन।
सहरमा बस्ने भनेकै धेरैभन्दा धेरै अवसरहरूको खोजी गर्ने पनि त हो। विभिन्न पेशा, व्यवसाय गर्ने मानिसहरू कति धेरै व्यस्त हुन्छन् सहरमा।
एउटा मूल व्यवसायको साथमा साइड व्यवसाय पनि गर्नुपर्छ, सहरिया भएर जिउन। त्यसैले कर्मचारीहरूले भ्रष्टाचारलाई, व्यापारीहरूले कालोबजारीलाई, उद्योगीहरूले कमसल उत्पादन अनि करछलीलाई, राजनीतिज्ञहरूले कमिसनलाई साइड बिजनेसको रूपमा चलाएका होलान् साहेद सहरिया हुनको लागि। शिक्षण पेशामा संलग्न कतिपय साथीहरू निरन्तर बिहानदेखि बेलुकासम्म नै कति धेरै खट्न सकेका।
केही व्यक्तिलाई बाध्यता छ, कहाँ काम अनुसारको तलब दिन्छन् र धेरै निजी शिक्षण संस्थाहरूले। त्यस्तै, विभिन्न ट्युसन र कोचिङ सेन्टर, तालिम केन्द्र आदिहरूमा समेत व्यस्त छन् सहरमा, सहरिया साथीहरू। अनि म सिर्फ तोकिएको एउटै सामुदायिक विद्यालयमा मात्रै पढाउनुपर्छ भन्ने नियम मान्ने सरकारी शिक्षक, हेल्मेटको तुना नै बाँध्न नभ्याउने अवस्थाका व्यस्त सहरिया शिक्षकजस्तो कसरी हुनसक्छु !
त्यसो त बिहानी र दिवा सेवा सन्चालनमा रहेका विद्यालयमा दुबै सेवामा काम गर्नेले समेत दोहोरो सुविधा लिन नमिल्ने भनेदेखि नै म एउटै मात्र सेवामा कार्यरत छु तर गरेका साथीहरूले लिएकै छन् अहिलेसम्म खै कसरी मिलेको छ कुन्नि ! हेल्मेट टिचर हुन नसकेकैले, मन नमानेकोले म सहरिया हुन सकिरहेको छैन।
यस्तै विविध कारणहरूले म सहरमा बसेर पनि सहरिया हुन सकेकै छैन। अनि तपाईं नि !