‘सत्याग्रहको सिमा हुँदैन। एक सत्याग्रहीको सहन शक्तिको पनि कुनै सिमा हुँदैन’, महात्मा गान्धीले धेरै पहिले यसो भनेका थिए।
संयुक्त राष्ट्र संघमा महासभाको अवसर पारेर एक सत्याग्रही बुद्धको देशबाट न्यूयोर्क आइपुगे। उनी अरू कोही नभएर प्राध्यापक डाक्टर गोविन्द केसी हुन्।
डाक्टर केसी उनै हुन् जसले गुजरातको भुज, पाकिस्तान र हाइटीमा भूकम्प पीडितको उपचारमा महिनौं बिताएका छन्। म्यान्मारको साइक्लोने, फिलिपिन्सको सुनामी प्रभावितलाई स्वास्थ्य सेवा दिएका छन्। यमनका द्वन्द्वपीडित क्षेत्रमा गएर निःशुल्क सेवा गरे। यो सबै कुनै संघ संस्थाको सहयोगमा नभएर आफ्नै विगतको आफ्नो कमाइबाट र सेवा निवृत्त भएपछि आउने पेन्सनबाट गर्दै आएका हुन्।
सुलभ स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग गर्दै सुरू भएको डाक्टर केसीको न्याययात्रा बहुआयामिक छ। मेडिकल अभियन्ताबाट उनी शान्ति, न्याय र सुसाशनको अधिवक्तासमेत भएका छन्। न्यूयोर्क पुगेर उनले यही सन्देश बाँडे।
डाक्टर गोविन्द केसीको न्यूयोर्क आगमनको खबरसँग उनलाई भेट्न ममा आतुरी थियो। उनलाई भेट्न गएँ। यसपटक डाक्टर केसीमा उमेरको रङ देखिन थालेको थियो। शरीर केही कमजोर देखिन्थ्यो। तर अनुहारमा अद्भूत कान्ती थियो, चमक थियो।
मैले अभिवादन गरेपछि आत्मीयताका साथ उनले नमस्कार फर्काए। मैले उनीसँग कुरा गर्न चाहेको भनेपछि उनी सहजै तयार भए। केको बारेमा किन उनले केही सोधेनन्।
मैले डाक्टर केसीजस्तो शालिन ब्यतित्वलाई सुरूमै भने, ‘म त तपाईंको कटु आलोचक हुँ। उनले मन्द मुस्कानसहित भने,‘यहीँ त लोकतन्त्र हो। म सम्मान गर्छु तपाईँको तपाईँको आलोचनाको।’
मैले पहिलो प्रश्न गरेँ, ‘तपाईँ जहाँ अनसन गर्नुहुन्छ त्यहाँ ‘आइएमविथ डाक्टर केसी’ भनेर भीड जम्मा हुन्छ जसले तपाईँको अनसनमा कहिल्यै भाग लिन्नँ। यो भीड ‘पब्लिसिटी हङ्री’ जमात हो।’
डाक्टर केसीले तत्कालै जवाफ दिनुभयो, ‘उहाँहरूलाई ‘पब्लिसिटी हङ्ग्री’ भनेर अनादर नगरिदिनुस्। म जस्तो एउटा साधण ब्यक्तिलाई स्वस्फूर्त रूपमा समर्थन गर्न आउने सर्वसाधारणलाई यसोभन्दा अन्याय हुन्छ। भोलि कोही पनि न्यायको पक्षमा उभिने छैन। बरू मलाई गाली गर्नुहोस्।’
उनलाई संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि बसेर प्रदर्शन गरेको देखेँ। साथमा रहेका मानिसले रोहिङ्ग्याको लागि न्याय, युद्वरहित विश्व, जलवायु परिवर्तनविरूद्ध प्रभावकारी कदमको माग गर्दै प्लेकार्ड बोकेका थिए।
केही लजालु स्वभावका डाक्टर केसीलाई त्यो स्थान माइतीघर मण्डला, जुम्ला र डडेल्धुराभन्दा भिन्न लागिरहेको थिएन। उनको भावभंगी र हाउभाउले यहीँ भन्थ्यो। उनी अनवरत बगिरहने नदीझैं लाग्थे। शान्त, सौम्य, शितल र आवश्यक परे चट्टान चिर्ने शक्ति उनमा देखिन्थ्यो।
डाक्टर केसीको यो प्रदर्शनले गान्धीको सत्याग्रही कुनै भौगोलिक सिमानाले बाँधिदैन भन्ने कथनलाई पुष्टि गर्थ्यो। बिभिन्न समस्याबाट गुज्रिरहेका आफ्ना मुलुकका समस्या मात्र उनले उठान गरेनन्, रोहिङ्याको मुद्दालाई पनि प्राथमिकताका साथ विरोध कार्यक्रममा स्थान पायो।
धार्मिक पूर्वाग्रह र इस्लामोफोबियाभन्दा माथि उठ्ने हो भने रोहिङ्ग्याको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्नु विश्व बन्धुभावको एउटा शानदार अवाज थियो। विश्वमा शान्ति नभए दिगो विकास नहुने स्पष्ट सन्देश डाक्टर केसीले दिए।
एउटा गरिब र कमजोर मुलुकका नागरिकले विश्व शान्तिका लागि स्थापित संस्थाको अगाडि बुद्धलाई सुन्न एउटा सांकेतिक आग्रह गरे। यसले डाक्टर केसीलगायत सबै नेपालीलाई नैतिक दृष्टिकोणले उच्च स्थानमा राखेको छ।
केही समय पहिले उनी र उनका साथीले गोदामचौरस्थित गणेश मन्दिरका दलित पूजारी लक्ष्मण रम्तेलको हातबाट टिका थापेर सबै गैरदलितलाई कर्तब्यबोध गराउन खोजे।
म यसलाई समाज रूपान्तरणको सवालमा गरिएको एउटा क्रातिकारी कदम रूपमा लिन्छु। अनन्तसम्म हिन्दू धर्मलाई गाली गरेर परिवर्तनको आशा राख्नुभन्दा हिन्दू धर्म भित्र रहेका सबै विभेद र कमजोरी हटाउन यस्ता व्यक्तिगत प्रयास भए वर्षौंदेखि विभेद खप्दै आएको समुदायले राहतको सास फेर्न पाउने थिए। एउटा सत्याग्रहीको संलग्नताले विभेद विरूद्धको लडाईँ परिणाममुखी हुनेमा कुनै सन्देह छैन। विभेदविरूद्ध अहिंशाभन्दा ठूलो हतियार अरू केही हुन सक्दैन।
‘हाम्रो देश जातले बिगारेको देश हो। आफ्नै दाजु भाइलाई अछुत भनेर ब्यवहार गर्नु दानवीय प्रवृत्ति हो। दलित समुदायका लागि आफूले खासै केही गर्न नसकेकोमा ठूलो पीडा र अपराधबोध हुन्छ। अब हरेकले व्यवहार बदल्नुपर्छ। नबदले देश बन्दैन।
यसका लागि जनता स्वयं जागरूक र जिम्मेवार हुनुपर्छ’, दलितबारे उनले आफ्नो धारणा स्पष्ट पारे।
न्यूयोर्कमा डाक्टर केसीको उपस्थिति एउटा नयाँ यात्राको थालनी हो भन्ने लाग्छ। नेपाल अहिले राजनीतिक, सामाजिक, आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। ‘सेटिङ कल्चर’ राज्यको हरेक निकायमा जरो गाडेर बसेको छ। यहाँ भ्रष्ट्राचारलाई पनि भ्रष्ट्राचार तब भनिन्छ, जब आफूले गर्न पाइन्न। नैतिकताको कुरा अब अर्थहीन हुन्छ।
यो निराशाबीच मुलुकमा डाक्टर केसीजस्ता ब्यक्ति चुप बस्दैनन्। बरू मौजुदा बेथितिलाई थितिमा बदल्न ज्यानको आहुती दिन तयार हुन्छन्। डाक्टर केसी तिनै हुन् जसलाई प्रसिद्धिको भोक छैन। उनको कर्म, सरल जीवन यसको प्रमाण हो।
अब उनलाई देवत्वकरण गर्नुभन्दा उनले स्वास्थ्य सेवा, शिक्षा, राष्ट्र सञ्चालनमा स्थापना गर्न खोजेको मान्यता र सामाजिक न्यायको सवालमा ल्याउन खोजेको सकारात्मक परिवर्तनलाई यथार्थमा बदल्न थप सत्याग्रहीको जन्म अपरिहार्य छ।
राज्यको स्रोत र साधनको दुरूपयोग गरि हुँदै आएका विभिन्न विकृति र विसंगतीसँग लड्न खबरदारी गर्ने र खबरदारीलाई परिणाममुखी बनाउन सत्याग्रहको अस्त्र प्रयोग गर्नुको अर्को कुनै विकल्प छैन। यो स्थापित सत्य हो।
न्यूयोर्कमा डाक्टर केसीको बुढो शरीरमा मैले अझै पनि असिमित ऊर्जा देखेको छु। त्यो ऊर्जा अब हरेक नेपालीमा प्रवाहित हुनुपर्छ। अब घरघरमा डाक्टर केसीजस्ता त्यागी ब्यक्ति जन्मनुपर्छ। त्याग अब राष्ट्र निर्माणको मार्ग बन्नुपर्छ।
डाक्टर केसीले विश्वको शक्तिशाली मुलुक अमेरिकाबाट सत्य, सेवा, शान्ति र न्यायको शंखघोष गरेका छन्। उनी न शक्तिका उपासक हुन्, न त स्वार्थका सिपाही नै। उनी एक फकिर हुन्। भिख माग्दैनन्। भिख नमाग्ने फकिरसँग ठूला, ठूला सम्राट पनि भयभित हुन्छन्।
नेपालको भ्रष्ट्रतन्त्र त के नै हो र? अब ‘आइएमविथ डाक्टर केसी’, होईन ‘आएम डाक्टर केसी’ भन्ने नारा नेपालदेखि न्यूयोर्कसम्म गुन्जनुपर्छ। तपाईँलाई पाएर न्यूयोर्क धन्य छ, डाक्टर सा’ब।