'कात्तिक १ गतेदेखि लागू हुनेगरी काठमाडौंका सार्वजनिक यातायातमा भाडा बढ्यो' घटस्थापनाको दिन बिहानै यस्तै आशयका समाचार अनलाइन संचार माध्यममा पढ्न पाइयो।
दिनहुँ सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने भएकोले यस्तो समाचार पढ्नुपर्दा केहीबेर दिक्क लाग्नु स्वभाविक थियो, तर त्योभन्दा बढी दिक्कलाग्दा घटना हरेक दिनको यात्रामा भोग्नु र देख्नुपर्ने बाध्यता छ।
लामो समयको लकडाउनले व्यवसाय संचालन गर्न नपाएर ठूलो घाटा ब्यहोरेका यातायात व्यवसायीको भाडा बढाउनुपर्ने माग जायज होला। तिनै सार्वजनिक यातायातमा हरेक दिन यात्रा गर्ने यात्रुका समस्या पनि आफ्नो ठाउँमा कम छैनन्।
एउटा सामान्य बिहान, भक्तपुरबाट रत्नपार्क जाने बसको यात्रा।
बसको तेस्रो सिटमा आमाछोरी जस्ता देखिने दुईजना महिला यात्रु हुनुहुन्थ्यो। सिभिल अस्पतालमा ओर्लने भन्नुभएको उहाँहरूमध्ये आमा केही अस्वस्थ हुनुहुँदो रहेछ।
नियमितझैं बसका सहचालकसँग उहाँहरूको संवाद भयो:
'सिभिल झर्ने छ है'
सहचालकको जवाफ, 'छिटो झर्नुस्, अगाडि ट्राफिक छ।'
यसरी प्रत्येकपटक यात्रुलाई ट्राफिक प्रहरीको नाम लिएर तर्साउनु उनीहरूको 'धर्म' बनिसकेको छ। यस्तो लाग्छ कि ट्राफिक प्रहरी सवारी साधनको आवागमनलाई व्यवस्थित गर्न नभई, सवारी साधन जहाँनेर रोक्यो त्यैं पक्डिएर चिट काट्न बसेका हुन्।
सहचालकले बारम्बार छिटो झर्नुस् भनेर अत्याएपछि, छोरी हत्तपत्त बसबाट ओर्लिइन्।
बिरामी आमालाई सहारा चाहिएला कि भन्नेपट्टि उनको ध्यान गएन सायद, आमा निक्कै अप्ठ्यारो पार गर्दै उभिएका मान्छेको भिड छिचोलेर ढोकासम्म पुगिन्, उनी ओर्लन नभ्याउँदै बसले गति लिन सुरू गर्यो, उनको निधार बसको ढोकामा ठोक्कियो।चोटपटक लागे/नलागेको सोध्नुसम्म आफ्नो कर्तव्य नठानी चालकले बस अगाडि बढाए।
अर्को एक दिन, बिजुलीबजार ओर्लनुपर्ने एक जना यात्रु अपांग हुनुहुँदो रहेछ। वैशाखीको सहारामा हिँड्नुपर्ने उहाँलाई पनि सहचालकले अघिल्लो उदाहरणमा जस्तै गरी हतार लगाए। सम्म बाटोमा पनि अन्य व्यक्तिजसरी हिँड्न नसक्ने उहाँलाई, खचाखच बसमा हतारहतार ओर्लनु कम सकसपूर्ण थिएन। अन्य यात्रुहरूको सहयोगमा जसोतसो ओर्लिएर आफ्नो गन्तव्यतर्फ लाग्नुभयो।
यस्ता घटना देख्दा लाग्छ, नाम सार्वजनिक यातायात भए पनि यी यातायातका साधन असक्त, अपांग, वृद्धवृद्वाका लागि चलेका होइनन्। यिनमा यात्रा गर्ने यात्रुमा बलियो, एउटा खुट्टामात्र टेक्ने ठाउँ पाए पनि आनन्दले यात्रा गर्न सक्ने, भिडमा कोच्चिएर निस्सासिँदासमेत सहज महसुस गर्ने, ओर्लनुपर्ने ठाउँमा बस राम्रोसँग नरोकिँदै निमेषमै ओर्लिहाल्न सक्नेजस्ता गुण अनिवार्य चाहिन्छ।
एउटा अर्को साँझ, झन्डै साढे छ बजे, सुन्धारामा रोकिएको माइक्रोबसका सबै सिट भरिएका थिए।
गन्तव्य, ठिमी भक्तपुर।
ट्राफिक प्रहरीको इशारास्वरूप उक्त माइक्रो त्यहाँबाट अघि बढ्यो।
लामो ट्राफिक जाम छिचोल्दै बानेश्वर आइपुग्दासम्म सिट क्षमताबाहेक तीन जना उभिने यात्रु चढिसक्नुभएको थियो।
बनावट हेर्दै जोकोहीले अनुमान लगाउन सक्छ कि माइक्रोबस उभिएर यात्रा गर्नको लागि पक्कै बनाइएको होइन।
झमक्कै अँध्यारो भइसकेकाले यात्रुले चालकलाई छिटो अगाडि बढ्न अनुरोध गर्दा चालकको जवाफ यस्तो आयो, 'सात जना उभिए भने त नन स्टप भक्तपुर हो हजुर।'
उनको भनाइबाटै प्रष्ट हुन्थ्यो, माइक्रोबसका दुई यात्रु क्षमताका सिटमा तीन जना, तीन यात्रु क्षमताका सिटमा चार जना यात्रु राखेर पनि अन्य सात/आठ जना यात्रु नउभ्याएसम्म उनलाई आफ्नो माइक्रोबस रित्तै भएजस्तो लाग्छ।
यस्तो चलनलाई यसरी सामान्यकरण गरिसकिएको छ कि माइक्रोबसमा ढाड भाँचिनेगरी निहुँरिएर निस्सासिँदै यात्रा गर्नु स्वंय यात्रुलाई समेत अनौठो लाग्दैन।
सार्वजनिक यातायातको नियमनकारी निकायको रूपमा रहेको ट्राफिक प्रहरीले यसबारेमा चासो नदेखाएको भने होइन।
दोस्रो लकडाउनपछि हालसम्म केही पटक ट्राफिक प्रहरीले यात्रुलाई उभ्याएर यात्रा गराउने सार्वजनिक सवारी साधनलाई कारबाही गरेको देखिन्छ।
कति दिनको अन्तरालमा यस्तो कारबाही कति वटा सार्वजनिक सवारी साधनलाई गरियो त्यसको तथ्यांक ट्राफिक प्रहरीसँगै होला, तर एउटा साधारण यात्रुका आँखाबाट हेर्दा निकै पातलो गरी हुने यस्ता कारबाहीलाई नियमित गर्न सके सार्वजनिक सवारी साधनको सेवाप्रवाह प्रभावकारी हुने थियो।
एकदिन उभिएका यात्रु ओरालेर जरिवाना तिराउने अनि भोलिपल्ट वास्तै नगर्ने ट्राफिक प्रहरीको नियमनलाई छल्न सवारी चालक मोबाइलबाटै एकअर्कालाई जानकारी दिन्छन, 'फलानो चोकमा चेकिङ छ है, जोगिएर आइज!'
त्यसपछि सूचना पाएका चालक र सहचालकले जरिवानाबाट जोगिन उभिएका यात्रुलाई बसको प्यासेजमा टुक्रुक्क बस्न अह्राउँछन्।
हतारमा रहेका यात्रु चुपचाप उनीहरूको भनाइ मान्न बाध्य हुन्छन् र यो चलन पनि बिस्तारै सामान्य बन्ने प्रक्रियामै रहेको जस्तो देखिन्छ।
त्यस्तै, समय समयमा भाडादर समायोजन गर्ने गरिएको भएता पनि अधिकांश सार्वजनिक सवारी साधनमा मनोमानी भाडा लिने चलन भने कायमै रहेको देखिन्छ।
यात्रुलाई हेरेरै सहचालक अनुमान लगाइदिन्छन् कि को नियमित यात्रा गर्ने व्यक्ति हो र को उक्त ठाउँमा नयाँ हो।
नयाँ यात्रु, बिरलै यात्रा गर्ने वृद्धवृद्वा आदिलाई सजिलैसँग ठगी गरेर लिनुपर्नेभन्दा बढी भाडा लिन्छन्।
अरु यात्रुले यसबारे बोल्न खोजे उनीहरूको जवाफमा अश्लील शब्दका गालीगलौज फुत्किन बेर लाग्दैन।
यसलाई समाधान गर्न, प्रत्येक सार्वजनिक सवारी साधनमा यात्रुले स्पष्ट देख्नेगरी भाडादर लेखिएको सूचना टाँस गरिनुपर्ने नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फ पनि ट्राफिक प्रहरीले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
त्यस्तै, तोकिएका बस स्टपमा यात्रु ओराल्ने निश्चित समय नदिएरै अगाडि बढ्न हतार लगाउँदा हुनसक्ने सम्भावित दुर्घटनाबारे पनि ट्राफिक प्रहरीले ध्यान पुर्याउनु जरूरी देखिन्छ।
एउटै स्टपमा लामो समयसम्म सवारी साधन रोकेर ट्राफिक जाम बढाइदिने प्रवृत्तिलाई नियन्त्रण गर्ने यस्तो प्रयास तारिफयोग्य अवश्य छ।
तर बस स्टपमा रोकिन नभ्याउँदै सिटी बजाएर अगाडि बढ्न इशारा गरिदिँदा, सहचालकको उही नियमित भनाइ 'छिटो झर्नुस्, अगाडि ट्राफिक छ' को हतारोले यात्रुलाई चोटपटक लाग्ने र गम्भीर दुर्घटनासमेत निम्त्याउन सक्ने देखिन्छ।
अन्त्यमा, एउटा सामान्य यात्रुको अपेक्षा तोकिएको भाडामा सहज यात्रा गर्न पाउनुभन्दा बढी अरू केही हुँदैन।
नियमनकारी निकायले आफ्ना प्रयासलाई अझै प्रभावकारी बनाउने र सेवाप्रवाह गर्ने पक्षले पनि यात्रुको सहज यात्रामा केही ध्यान पुर्याइदिए बढाइएको भाडादर स्वीकार गर्न केही सहज हुने थियो।