आउनुस् ! एकछिन दुई दशक अघि तिरका दसैंको बयान गरम। जुन बेलाका दसैं दसैं जस्तै हुन्थ्यो।
उतिबेलाका दसैंलाई सम्झने बेला सबभन्दा महत्व हुन्थ्यो दसैंमा मासु।
मासु र दसैंको एकदम अटुट साइनो हुन्थ्यो ऊ बेला। दसैंबाहेक अरूबेला मासु खानै नपाइने त हैन, तर दसैंमा जस्तो खान होइन चाख्न पाइन्थ्यो।
हामी आजको दिनलाई भोग्दै गर्दा हिजोको दिन भुल्छौं। तर एकछिन समय दिएर हिजोको दसैंलाई सम्झनुस् त !
आहा ! त्यो पो हो दसैं।
हिजोको दसैं भोगेकाहरू पक्कै मसँग सहमत हुनुहुनेछ। तर जस्ले त्यो महत्वपूर्ण दसैं भोग्न पाएन, उसलाई के थाहा ! ऊ बेलाको दसैं दसैं जस्तो हुन्थ्यो , आजभोलि जस्तो दशा हुन्थेन भन्ने कुरा।
आजभोलि जस्तो चोक-चोकमा मासु पसल अनि टोल–टोलमा कुखुरा फर्म हुँदैनथे ऊ बेला। त्यसैले पनि मासुको महत्व अत्यन्तै थियो।
हरेक घरमा बोकाको बलि दिने चलन आजभोलि चल्यो। ऊ बेला मै हुँ भन्ने जमिन्दारकै घरमा पनि कुभिन्डोको बली दिइन्थ्यो, झन् हामी त भुइँमान्छे। कुभिण्डो परम्परा थियो, बोको देखासिकी।
काठका खुट्टा हालेर रङ लगाएको कुभिण्डोलाई बाले बोका ढालेजस्तै आँगनमा ढालेपछि दसैंको रौनक अझ बढ्थ्यो। दसैं साँच्चिकै दसैं बनेर गाउँ घरमा आइपुग्थ्यो।
पल्लो गाउँमा खसी काट्ने योजना बनेपछि नाम टिपाएर गक्ष अनुसार अर्डर हुन्थ्यो। लगभग एउटा गाउँमा एक घर खसी काटिन्थ्यो, त्यही खसीको मासु गाउँभरि पाक्थ्यो।
ऋण गरेर औकात देखाउने जमाना थिएन ऊ बेला। सबैका औकात उस्तै हुन्थे। जमिन्दारको भकारीमा अन्न हुन्थ्यो , मजदूरको पाखुरामा दम।
जमिनदारले अन्न बेचेर दसैं भित्र्याउँथे, मजदूरले पसिना बेचेर दसैं बोलाउथे।
गाउँभरिकामध्ये दुई तीन घरका मर्दहरू लाउरे हुन्थे, उस्तै एकदुई घरका बा आमा सरकारी जागिरे। उनीहरूको पनि पारा उहीँ हुन्थ्यो, प्लाष्टिकको झोला बोकेर दसैंको मासु किन्न आँगनमा टुप्लुक्कै।
सबैको हैसियत समान देखिएपछि कस्लाई उछिन्न दसैंलाई दशा बनाउनेतिर सोच्ने ?
ऋण गरेरै भए पनि दसैं मनाउने चलन आएदेखि धेरैका अनुहार दसैंको बेला पनि अँध्यारो देखिन्छ।
आजभोलिका मान्छे दसैं आउँदा पनि खुसी देखिँदैनन्। किनकि दसैं दशा बनेर आउँछ आजभोलि। औकात बचाउन ऋण गरेरै भए पनि दसैं मनाउने चलन चलिसक्यो। हुनेखानेहरू अरूले उछिन्न नसकुन् भनेर तनावमा।
बाले आँगनमा कुभिण्डो ढालेपछि हामी टीका लगाएर चौपारीतिर निस्कन्थ्यौं। बेलुका घर आइपुग्दा भान्सामा मासु पाकिसकेको हुन्थ्यो।
मासुको बासना अलिपरैसम्म आउथ्यो ऊ बेला। सायद मासुको महत्व बढी भएरै होला।
कस्तो मिलेको समाज थियो ऊ बेला। एउटा घरमा खसी काटिँदा गाउँभरिलाई मासु पुग्थ्यो। मासु लिन जानेलाई कटनेसीले स्वागत गरिन्थ्यो।
आँगनमा टोलै गन्ध पार्ने बोको बाँधेर दसैंमा हैसियत देखाउने परिवार पनि हुन्थे त्यतिबेलाका गाउँ घरमा। तर जनयुद्धमा
माओवादीको डरले ती हैसियतवाला पनि गाउँ बस्न डराउँथे अनि सबैका समान हैसियत।
समान हैसियत भएपछि कस्लाई देखाउनु ? किन गर्नु ऋण ? दसैं ....दसैं जस्तै हुन्थ्यो।
आउनुस्! दसैंमा लुगाको महत्वबारे बयान गरम।
दसैंमा मासुको जस्तै महत्व हुन्थ्यो नयाँ लुगाको पनि। कुनै बेलाको दसैंमा बाले जिस्काउँदै भन्नुहुन्थ्यो 'यो वर्ष नयाँ कपडा नकिन्ने।'
हामी फरेली हाल्दै रुन्थ्यौं, रुवाइ शान्त पार्न बाले नयाँ कपडा किन्ने योजना सुनाउनु हुन्थ्यो। तर नयाँ कपडाको बहानामा स्कुले ड्रेस घरमा आइपुग्थ्यो। वर्षभरि लगाउने स्कुले ड्रेस नै हाम्रो लागि दसैंको नयाँ कपडा हुन्थ्यो। दसैंमा एकदिन लगायो, अनि वर्षभरि स्कुलमा।
भारतीय बजार बढनी , रुपैडिया या दाङकै लमही बजारबाट घरमा काँचो कपडा आइपुग्थ्यो। तपाईंहरूमध्ये कतिलाई याद छ काँचो कपडाको बासना ?
घरमा काँचो कपडाको बासना आउन थालेपछि त्यसै उमंग। दसैं घरभित्रै आइसक्यो झैं लाग्थ्यो। घर नै मङ मङ बसाउथ्यो।
अब त्यस्ता काँचो कपडाको न बासना आउँछ , न त काँचो कपडा नै घरमा आउँछ। दसैंमा कपडाको महत्व हुनै छाड्यो, मासुजस्तै।
अब आउनुस्! दसैंको बेला बजारमा बन्ने मूर्तिको चर्चा गरौं।
बजारमा दुर्गा माताको मूर्ति बन्थ्यो। दुर्गा माता, माताका बाह्र वटा हात, प्रत्येक हातमा एक एक वटा हतियार, एउटा भालु , अनि राक्षस र भैंसी सहितको मूर्ति।
घटस्थापनाको दिनबाट सर्वसाधारणका लागि खुला गर्दिने त्यो मूर्ति हाम्रै अगाडि बन्थ्यो। मूर्तिकारले हामीलाई काम लगाउथे 'मिट्टी लाओ, पानी डालो!'
हिन्दी नबुझे पनि उसको हातको इशारामा हामी नाच्थ्यौं। मूर्ति बनिसक्दासम्म हामी उसकै वरपर हुन्थ्यौं।
निगम साइकल वालाले बर्सेनि मूर्ती बनाउथ्यो। अनि आफ्नै घर अगाडि राखिदिन्थ्यो। माइकमा हिन्दी भजन बज्थ्यो। गाउँ, टोल अनि बजारभरका मान्छे लाइन लागेर पूजा गर्थे।
...र पो दसैं... दसैं जस्तै लाग्थ्यो।
अहिले एउटा बजारमा त्यस्तै मूर्ति चार ठाउँमा बन्छन् तर पूजा गर्ने एउटा हुँदैनन्। कस्लाई फुर्सद छ र यहाँ ?
अब एकछिन दक्षिणाकै कुरा गरम ।
दसैंमा दक्षिणाका कुरा के लेख्नु ? हामी छोरा मान्छेलाई सबभन्दा पीडा त्यतिबेलै हुन्थ्यो।
सँगै टीका थापेकी दिदीलाई बा आमाले दसको नयाँ नोट हातमा हाल्देर उल्टै दिदीका खुट्टा ढोगिदिनुहुन्थ्यो।
हामी छोराहरूलाई टीका लगाइदिएर घुचुक्क लात्ताले निधारमा हान्दै भन्नुहुन्थ्यो 'छोरालाई दक्षिणा दिँदैनन्, ल ढोगेर जा।'
आँखाभरि आँसु टपल्किन्थे, तर झार्नु भएन। किनकि 'छोरो मान्छे भएर रुन्छस ?' भन्दै अरु दुई चार घुचुक भेटिन्थ्यो।
दसैंमा टीका थापेर दक्षिणा पाइने भनेकै मामा घरमा हुन्थ्यो । मामाले अलग, माइजुले अलग दक्षिणा दिएपछी बल्ल मन फ्रफुल्ल।
बा-आमाले छोरालाई साँच्चै हेप्छन् जस्तै लाग्थ्यो त्यतिबेला। बा आमा मात्र हैन, मामा माइजू नाता पर्नेबाहेक कसैले दिँदैनथे छोरा मान्छेलाई दक्षिणा। दसैंमा सबैले हेप्थे, सबैको भनाइ एउटै 'छोरा मान्छेलाई दक्षिणा दिनुहुँदैन!'
'यसलाई एक बटुको मासु चिउरा ल्याइदे , दक्षिणाको साटो मासु खाएर जान्छ।' भन्दै मासु चिउरामा दसैंको टीका टालो समाप्त पार्ने बा खलकको घरमा टीका लगाउनुभन्दा मामा घरमा टाप हान्नु फाइदाजनक हुन्थ्यो ऊ बेलाको दसैं।
मासु , कपडा अनि दक्षिणाको महत्वले दसैंलाई कति महत्वपूर्ण चाड बनाइदिन्थ्यो भन्ने कुरा अलि पहिले जन्मेकालाई सोध्नु पर्छ।
आजभोलि त हुनेलाई सधै दसैं, नहुनेलाई दसैं पनि दशाजस्तै।