दसैं घरघरमै आइसक्यो। टाढा-टाढा जिल्लामा जागिर भएकाहरू गाउँ ठाउँ फर्किसकेका छन्। कोही फर्किने क्रममा छन्। परदेश गएकाहरू पनि आफ्नो देश फर्किंदै छन्।
दसैं सँग-सँगै नयाँ-नयाँ लुगा किन्ने चाहना पनि बढेर आउँछ। वर्षभरि थोत्रो लुगा लगाएर भए नि दसैंमा चाहिँ नयाँ लुगा हाल्न करै लाग्छ। यो हाम्रो चलन हो, देखासिकी हो। घरभरिकालाई नयाँ लुगा हाल्ने जिम्मा घरमूलीलाई पर्छ अझ भनौं घरमूलीको आम्दानीमा भर पर्छ। आम्दानी नै छैन भने नि नयाँ लुगा ऋण गरी-गरी किन्ने त? अरू घोडा चढे भन्दैमा आफू धुरी चढ्ने त? यो दसैंमा सोचविचार गरौं है त!
पहिरन एउटा बाहिरी आकर्षणको विषय हो। पहिरन महत्वपूर्ण पनि छ तर यही पहिरनमा मात्र भाउ राखेर हिँड्नु बोक्रेपनको लक्षण हो। दुनियाँका नजरमा भष्म लेपन गर्न पहिरन काफी हुन्छ।
त्यसैले त मानिस खाने अन्न नभए नि राम्रा राम्रा लुगा लाएर हिँड्छन्। आजकलको जमाना बाह्य आकर्षणले आकर्षित हुन्छ र त्यही आकर्षणका लागि मानिस फेरि फेरि नयाँ लुगा लगाउन लालयित हुन्छन्। सौन्दर्यको खास विषय पहिरनमा समेत गएर गाँसिन्छ। सौन्दर्य भोगको निमित्त मात्र नभएर कसैलाई आफू लायक छु भनेर देखाउन पनि उत्तिकै महत्वपूर्ण छ पहिरन।
दुनियाँ नै आफ्नो तारिफमा लागिपरोस् भन्नका लागि समेत सिंगारिनु र पहिरनमा सजिनु अनौठो विषय होइन। तर पनि दसैंजस्ता चाडवाडमा घाँटी हेरेर हाड निल्ने गर्नुपर्छ। बजार उकालो लागिरहेछ अनि आफ्नो आम्दानी ओह्रालो लागिरहेको छ। यस्तो अमिल्दो सिद्धान्तका बाबजुत पनि जबरजस्ती फुल्नु र फैलिनुको कुनै तुक हुँदैन।
कोरोनाले गाँजेको धेरै भयो। तपाईंकै आफ्नै व्यवसाय वा तपाईंले इलम गर्ने ठाउँमा समेत दसैंको सट्टा दशा लागेको अवस्था हुनसक्छ। दसैं भत्ता त कहाँ हो कहाँ तलब नै समयमा नपाएको अवस्था तपाईंको हुनसक्छ। यस्तो खस्किँदो अवस्थामा तपाईंले ऋण काढेरै दसैं मनाउने निधो गर्दा झन् अवस्था बिजोग हुन सक्छ।
दसैं सधैं आउँछ। अर्को साल झन् रौनक लिएर आउँछ। कमाइ भएछ भने झन् खुसीका साथ मनाम्ला भनेर अहिले कोरोनाबाट अछुतो रहेकोमा धन्य हुँदै जे छ त्यसैमा सन्तुष्टि जाहेर गर्दा हितकर हुन्छ होला।
नोटको भाउ बढिरहेछ। बजारमा मासुको मूल्यदेखि लिएर मरमसला,फलफूल,साग सब्जी,लुगा,तरकारी सबैको भाउले सगरमाथा छोइसक्यो। जमानाको रंग पनि बद्लिरहेछ। हिजोको भाउमा आजकल केही पाइँदैन। गाउँघरदेखि सहरका टोलटोलमा दसैंको बेग्लै खुश्बुले गरिबको अँध्यारो मनलाई झन् अँध्यारो बनाउँछ। बिहान दिउँसो काम गरेर खानेहरूको अवस्था अहिले कस्तो होला? उनीहरूका बालबच्चाका लुगाहरू फाँटेका र नफेरिएका कति भए होलान्? मिठो मसिनो खान नपाएका कति भए होलान्? यो कहिल्यै सोच्नुभएको छ? चाडवाड मनाउँदा तपाईं आफूलाई पूर्ण स्वीकार गरेर मनाउनुस्। कसैको लहैलहैमा पर्दा घरको न घाटको भइन्छ। ऋण लागेपछि आफ्नो त पराई हुन्छन् नै अनि कसैले तपाईंलाई फुटेका आँखाले नि हेर्दैनन्। गच्छे अनुसारको पाइला चाल्न सिक्नुहोस्। गन्तव्य चाँडै भेटिन्छ।
यस्ता चाडवाड आउँदा आफ्नो आम्दानी छैन भने तपाईंलाई देखावटी रूपमा भलाद्मी बन्नु पर्ने कुनै आवश्यकता छैन। कसैले तपाईंले लगाएको लुगा हेरेर 'ओहो!' भन्नदिओस् भन्ने चाहना राख्नुहुन्छ भने त्यो क्षणिक हो। मनोवैज्ञानिक रूपमा तपाईं दह्रो भए बाहिरी प्रशंसाले खासै महत्व राख्दैन। अरूलाई मोहनीमात्र लगाउनेतर्फ सोजिनुभयो भने आफू खोक्रो भएको पत्तो पाउनुहुन्न।
समय तपाईंको खराब चलेको हुनसक्छ। यस्तो बेलामा परिवार सबैलाई राम्ररी सम्झाउनुहोस्। जे छ त्यसमा नै चित्त बुझाएर दसैं कटाउने जोहो मिलाउनुहोस्। पाहुना आफन्त बोलाउँदा खर्चले डाँडो काट्न सक्छ। फेरि सानो रकम टीका लाएर दिँदा चित्त नबुझ्न सक्छ। योचोटि आफूभित्र कै सानो परिवार बसेर दसैं मनाउने निधोमा पुग्नुहोस्। एउटा दसैंमा नबोलाउँदा रिसाउने पाहुनाहरूले तपाईंको दुःख बुझ्दैनन् भने नबुझुन्।
तपाईंका स-साना छोराछोरीले अरु छरछिमेकका साथी देखेर त्यही आकर्षणमा चुम्बक झैं तानिन सक्छन्। यो स्वभाविक पनि हो। दसैं आउँदा सबै जना नयाँ लुगा लाएर हामी पनि सानोमा पिङ खेल्न जान्थ्यौं।
कसैको पुरानो लुगा रहेछ भने गिज्याउँथ्यौं। तर तपाईं अहिले अभावको छायामा गुज्रिरहनुभएको छ भने केही हदसम्म साना बाबु नानीको चित्त बुझाएर आफू अभावमा नै रहँदा समेत खुसी हुनुहोला। जसरी अत्तरको बास्नाले एकैछिन मानिसका नाक नाकमा सुगन्ध भर्छ त्यसरी नै नयाँ लुगाले एकैछिन मान्छेको आँखा तान्छ तर कालन्तरसम्म त तपाईं आफ्नै धरातलमा उभिनुपर्छ।
दसैंको रौनक हुँदा खाने वर्गका लागि डरलाग्दो पक्ष हो। जब कोही पाँच पैसा कमाएर पाँच सय खर्च गर्ने बाध्यतामा फस्छ उसले आफ्नै जीवनमाथि शासन गर्न सक्दैन। मर्यादित एवं अनुशासित जीवन बाँच्न त झूटा नखरा होइन दिव्य प्रेमको मिठास चाहिन्छ। तपाईंले स्पर्श गर्ने तपाईंको सत्य तपाईंसँग नै रहन्छ।
एक सालको दसैंमा पुरानो लुगा लाएर घिरौंला तरकारी खाँदैमा तपाईंलाई कसैले घृणा गर्दैन।
यी आकर्षण र देखावटी चाडवाडका रौनक त भोग्य र क्षणिक हुन्। जसलाई तपाईं भित्रको सत्यले असर गर्दैन। तपाईंले नयाँ लुगा लाएर देखाउन नसकेकै कारण र खसी ढाल्न नसकेकै कारण कसैले घृणाको नजरले हेर्छ भने उसकै नजर दोषी रहन्छ, तपाईं रहनुहुन्न।
चाडवाडलाई संयमित र बेखर्चिलो मनाउन सक्नु नि मानिसको प्रतिभा हो। दुर्गा भगवान खुसी हुन्छिन् जब तपाईं आफ्नो सत्यमा अडिग रहेर अगाडि बढ्ने सामर्थ्य राख्नुहुन्छ। पापी अहंकारी र विकारयुक्त मानिसले मोज मस्तीका साथ दसैं मनाएर देखाए पनि आखिर सत्यको उपासना गर्न सक्दैनन्। किनकि उनीहरू बोक्रे मिथ्या हुन्छन् र झुटको खेती गर्न सिपालु हुन्छन्।
यो दसैंमा तपाईंले कल्पनाहरू फैलाउन सक्नुहोस्, विश्वमा उद्घाटित हुँदै चेतनशील हुने अभिप्राय राख्नुहोस्।
हरेक आकारमा स्वभाविक भएर बाँच्न जान्नु मानिसको कला हो। आज अभावयुक्त आकारमा मनाउने चाडले तपाईंको सन्तुष्टि र सम्भावनाका द्वारहरू खुल्दै जानेछन्।
नवपोषणका शक्तिहरू सिर्जना हुँदै जानेछन्। सुखमा नमात्तिने र दुःखमा नआत्तिने प्रेरणा मिल्दै जानेछन्। शुभकामना!