घटस्थापनाका दिन विधिपूर्वक जमरा राखेसँगै यसपालिको दसैं सुरू भयो। सुरू भएसँगै नेपाली जनहरूमा हर्ष उल्लास छाएको छ।
तर हरिजंग भट्टराईलाई चाहिँ हर्ष उल्लास भन्दा पनि बाल्यकालको दसैंको नमिठो क्षणले प्रायः सताइरहँदो रहेछ।
हरिजंग सानो छँदा बुवा आमासँग दसैं मनाउन मूल घर हसन्द (मोरङ) जान्थे। हसन्द क्षेत्रमा त्यतिखेर अहिलेजस्तो सार्वजनिक यातायातको सुविधा थिएन। उर्लाबारीबाट असिन पसिन हुँदै हिँडेर मूल घर पुग्थे दसैंको टीका थाप्न।
ठूलो परिवार। हजुर बा, हजुर आमा, ठूला बा, ठूली आमा, काका काकी र अरु दाइहरू ( ठूलो बाका छोरा ) समेत गर्दा टीका लगाइदिने मान्छे बीस बाइस जना हुन्थे। त्यतिका जनाले टीका लगाउँदा उनको सानो निधारमा हात राख्ने ठाउँ पनि हुँदैन थियो।
टीका लगाएपछि दिदी बहिनीहरू दक्षिणाबापत कसको पैसा कति भयो भनेर गन्थे। तर उनको हातमा गन्न शून्य हुन्थ्यो। दिदी बहिनीको हातभरि पैसा देख्दा डाह लाग्थ्यो।
'दिदी बहिनीलेजस्तै दक्षिणा पाएको भए खेलौना बन्दुक र पटका किन्थें। पटका पट्काउँथें, लङ्गुर बुर्जा खेल्ने थिएँ। मन परेका लुगा लगाउने थिएँ। मन लागेको किनेर खाने थिएँ।'
उनलाई यस्तै-यस्तै लाग्थ्यो त्यो बाल्यकालमा। आखिर बाल्यकालमा साथीसंगीले जे गर्छन्, त्यो गर्न कुन बच्चालाई रहर नहुँदो हो! उनलाई पनि हुन्थ्यो। तर हातमा पैसा नभएपछि कल्पनाबाहेक के नै गर्न सक्थे उनी?
मामाघरमा मामाहरू सानै थिए। स्कुल कलेज पढ्ने मामाले दसैंमा टीका लगाइदिने कुरै भएन र मामाहरूबाट अलिकति भए पनि दक्षिणा आउने आश पनि भएन। मामा घरका हजुर बा र आमाले दक्षिणा दिएको पैसा कति नै हुन्थ्यो र!
घरपट्टिका कसैले दक्षिणावापत एक पैसा दिँदैन थिए। पैसाको सट्टा गिलित्त परेको केरा हातमा हालिदिन्थे। प्रसाद भनेर त्यो केरा घाँटी किक्लिक्क पार्दै निल्नु पर्दथ्यो। लुकाएर फाल्न पनि त्यतिका मान्छेमध्ये कसैले देख्लान् र गालामा पाँच औंलाका छाप बसाउलान् भन्ने डर थियो।
दिदी बहिनीको पैसा देखेर डाहले जल्नुबाहेक हरिजंगसँग कुनै विकल्प थिएन। कहिलेकाहीँ उनलाई खोस्न र चोर्न पनि मन लाग्थ्यो, तर सक्दैन थिए। कता कता म किन छोरा भएर जन्में, बरु छोरी भएर जन्मेको भए पनि हुने नि भन्ने पनि लाग्थ्यो उनलाई।
दिदी बहिनीको लागि दसैं स्कुलको अन्तिम घण्टीजस्तै हुन्थ्यो। दिनभरि पढेर थाकेपछि घरमा कतिखेर पुगौंला भनेर बच्चा फुरुङ हुन्छन्, उनका दिदी बहिनीका लागि दसैं त्यस्तै थियो। तर उनका लागि भने दसैं स्कुलको पहिलो घण्टी जस्तो थियो।
सानो बच्चालाई एक भारी किताब कापी र होमवर्क बोकेर बिहान स्कुल जानु के रहर हुन्छ र? गएपछि पनि कहिले चार बज्ला र छुट्टी होला, सोच्छन्।
बाल्यकालको त्यो पीडादायी मनोभावले गर्दा इन्जिनियरिङमा मास्टर डिग्री गरेर आफ्नो पेशामा स्थापित भएका हरिजंगलाई दसैंले उमंग ल्याउन कहिल्यै सकेन।
हरिजंगको जस्तै मेरो पनि ठूलो परिवार। छोरालाई दक्षिणा दिने चलन थिएन। बुबाआमा काठमाडौं आएपछि बानेश्वरको घरमा सबैजना भेला भएर दसैं मनाउन थालियो। मसिना केटाकेटीमा दुइटी छोरीबाहेक सबै छोरामात्र थिए। उस्तै उमेरका दिदी बहिनीले दक्षिणा वापत पैसा पाउँथे, तर छोराले पाउँदैन थिए।
पैसा नपाएपछि उनीहरू रुन थाल्थे। आफ्नै आँखा अगाडि आफैं जत्रो मान्छेले पैसा पाउने, तर आफूले नपाउने भएपछि रुनु स्वभाविकै हो। आखिर बच्चा त बच्चै हो नि! त्यसपछि हामीले दसैंको टीकामा छोराछोरी दुवैलाई बराबर पैसा (दक्षिणा) दिन थाल्यौं।
छोरीलाई मात्र दक्षिणा दिँदा साना बच्चाको दिमागमा छोरा र छोरी फरक जात हुन् भन्ने विभेदको विजारोपण पनि हुने रहेछ। त्योभन्दा महत्वपूर्ण उनीहरूको बाल मनस्थितिमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पर्ने रहेछ। त्यसको उदाहरण हुन् - हरिजंग भट्टराई।
बाल मनोविज्ञानको त्यो नकारात्मक दशाले हरिजंगलाई जीवनभर सताइरहेको छ। बिर्सन खोज्दा पनि बिर्सन सक्दैनन्।
दसैं, चाडपर्व र पूजामा दक्षिणा दिने कार्य ठीक होइन। यज्ञ, पूजाआजा र देव-पितृ कार्य गर्ने ब्राह्मणलाई मात्र दक्षिणा दिनुपर्छ, त्यो उनको पारिश्रमिक हो। त्यसबाहेक अरुलाई दक्षिणा दिने कार्य चाडपर्वलाई खर्चिलो बनाउने प्रक्रिया मात्र हो। मुख्य कुरो आशीर्वाद हो। मुख्य कुरो प्रसाद हो। अझ त्यो भन्दा मुख्य कुरा दीर्घायू, सुस्वास्थ र खुसीको कामना हो।
ज्वाइँलाई दक्षिणा दिने झनै ठीक होइन। जन्म दिएर बढाइ, पढाइ र हुर्काइ गरेकी फूलजस्ती छोरी पनि दिनु छ अनि झन त्यसमा दक्षिणा? कमाइ धमाइ भएका पढे लेखेका छोरीलाई पनि दक्षिणा दिनु हुँदैन।
अब ज्वाइँहरूले दक्षिणा लिन्न भन्नु पर्छ र लिनु हुँदैन। दाइजो र दहिज खोज्ने केका ज्वाइँ? त्यस्ता ज्वाइँलाई के छोरी? नखोज जोरी भनेर च्वाई पार्दै फिर्ता पठाउनु पर्छ। त्यस्तासँग विवाह गरेर जिन्दगी चल्ला त? कन्याले पनि सोच्नु पर्छ।
विवाहपछि छोरी श्रीमती बन्छिन्। श्रीमती छोरा छोरीकी आमा हुन्। छोरा छोरीका लागि आमा जति पूजनीय र मान्य को होला? श्रीमानको लागि पनि श्रीमती जति भरोसायोग्य, विश्वासिलो र ममतामयी अरु को होला? श्रीमतीका लागि पनि श्रीमान जति भरोसा योग्य, विश्वासिलो र माया गर्ने अरु को होला?
श्रीमान श्रीमती पारिवारिक रथका दुई पांग्रा हुन्। दुई पांग्रा बराबर भएनन् भने रथ चल्न सक्दैन। सत्य यही हो।
दसैं असत्यमाथि सत्यको विजयको रूपमा मानिने चाड हो। सुख, शान्ति र समृद्धि मिलोस् भनेर प्रार्थना गरिने चाड हो। त्यो चाडमा कोबाट टीका लगाउन हुन्छ र कोबाट लगाउन हुँदैन भन्ने कुरा आफैंमा तर्क र विवेकपूर्ण होइन। त्यसले शान्ति दिँदैन, अशान्तिको बिउ रोप्छ।
'श्रीमतीको हातबाट पनि दसैंको टीका लगाउन हुन्छ त!' भनेर गत सालको दसैं टीका पछि यही सेतोपाटीमा लेख छापिएको थियो।
मेरी सखी (श्रीमती) बाट मैले दसैंको टीका लगाएको गत साल पहिलो थिएन। आफ्ना मान्यजन नभएको दुनियाँमा पुगेपछि निधार खाली राख्ने कि टीका लगाउने?
मेरी सखी (श्रीमती) बाट दसैंको टीका लगाउनु मेरो लागि सामान्य थियो र सामान्य रूपमै हामी दुईले लिएका थियौं।
पूजाआजा र मन्दिरबाट फिरेपछि उनले मलाई टीका लगाइदिने गरेकै हो। स्वयम्बरमा उनैको हातबाट लगाएको पहिलो टीकाबाट मेरो दाम्पत्य जीवन सुरू भएको हो।
लेख प्रकाशित भएपछि पत्रिकाकै कमेन्ट सेक्सन र मेरो फेसबुक पेजमा थरिथरिका प्रतिक्रिया आए। केही यस्ता थिए।
'श्रीमतीको सट्टा आफैं बच्चा जन्माई दिए भयो नि'
'हुन्छ, कुइनाले लगाए पनि हुन्छ, खुट्टाले लगाए पनि हुन्छ, जसलाई जे मन लाग्छ, त्यही गरे हुन्छ।'
'अब ढुक्क भइहाल्यो नि, कतै आफ्ना मान्यजनकहाँ जान पनि परेन।'
'सालीबाट लाए पनि हुन्छ। भाइरल हुन जे पनि लेख्ने!'
अतिवादीहरूले यस्ता प्रतिक्रिया दिनु कुनै अनौठो र ठूलो कुरा भएन। तर अतिवादीले पूरा लेख पढे कि पढेनन्, त्यो थाहा भएन।
अतिवादीहरू कुनै पनि कुरालाई तर्क संगत र समय सापेक्ष ढंगले हेर्न चाहँदैनन्। आफूलाई ठीक लागेकोबाहेक सबै गलत देख्ने अतिवादीले नै दुनियाँमा अशान्ति मच्चाउने हुन्। ती आफू पनि मर्छन् र अरुलाई पनि मार्छन्।
लेखकलाई पितृसत्ताका प्रतिनिधि मान्दै 'क्रान्तिका विगुल फुकिएका लेख रचनाद्वारा हाम्रो संस्कारमा सापेक्षित सुधार गर्दै जाने बेला बित्न लागेको छ' भन्ने अर्को प्रतिक्रिया पनि थियो।
श्रीमतीबाट दसैंको टीका लगाउनु न त क्रान्ति थियो, न क्रान्ति नै हो। यो नवदुर्गा भवानीको आराधनापछि प्रसाद ग्रहण गर्ने प्रक्रिया हो। न यो पितृसत्ता हो न मातृसत्ता हो। यो त केवल मन, मुटु र ममता जोडिएका श्रीमानश्रीमतीको भित्री सत्ता हो।
हरेक कुरालाई क्रान्तिको लेपन दिने मारमा परेको छ - नेपाली समाज। पुरानो लुगा फुकाल्यो भने नयाँ लुगा लगाउन पाइन्छ भनेर नांगै बनाउन लेपन लाउने प्रायोजित क्रान्तिकारीले पनि सुन्दर संसार देख्न सक्दैनन्। भैरहेको विधि विधान र संरचनालाई परिस्कृत गर्दै त्यसलाई समृद्ध बनाउनेले नै संसार सुन्दर बनाएका छन्। त्यो एउटा नियमित प्रक्रिया हो। गतिशील समाजले त्यो गर्छ र गर्नै पर्छ।
हाम्रा धर्म संस्कारका राम्रा पक्ष अतिवादी र खतिवादीका अतिक्रमणमा परेका छन्।
एक पक्षका अतिवादीहरू जे छ, त्यसलाई यताउता गर्ने हुँदैन भन्छन् अर्थात् सिंको पनि हल्लिन हुँदैन भन्नेमा छन्।
अर्का अतिवादीहरू पितृसत्ताका नाममा जानी नजानी नराम्रा पक्षहरू खोतल्छन् र राम्रा पक्षलाई धूमिल बनाउँछन्।
मन, मुटु र ममता सबभन्दा बढी श्रीमान श्रीमती बीचमा जोडिएको हुन्छ। यस्ता जोडीमध्ये एउटाको निधार खाली हुँदा अर्कोलाई खल्लो र बेमोज हुन्छ। मन र मुटु जोडिएकी श्रीमतीसँग टीका प्रसाद ग्रहण गर्नु जतिको खुसी र आनन्दको कुरा अरू के होला र ! मन मुटु नजोडिने त सँगै रहनै सक्दैनन्। यदि त्यसरी पनि सँगै रहने अवस्था छ भने त्यो मजबुरी हो। त्यहाँ एउटा मालिक र अर्को सेवक हुन्छ।
श्रीमानको खुसी, सुख र शान्तिको लागि जीवन अर्पण गरेकी श्रीमतीबाट टीका लगाउन हुँदैन भन्नेहरूले नै समाज र रीतिथितिलाई विकृत बनाउने हुन्। गजक्क फूलेर मन्दिरको टीकाप्रसाद लगाउने श्रीमान दसैंको टीका लगाउनु प्रचलनविरूद्ध ठान्छन् भने त्यस्ताको ओखती हुँदैन र ओखती खोज्नु भनेको समयको बर्बादी हो।
श्रीमतीबाट दसैंमा टीका लगाउने चलन कर्णाली र सुदूरपश्चिममा चलिआएकै चलन रहेछ। नलाउनु चाहिँ त्यहाँ अनौठो मानिँदो रहेछ।
एक जनाले लेख्नु भएको छः 'हाम्रो त ८५ कटेका बुवाले पनि आमाको हातको टीका लगाउन थालेको उहिल्यै हो। यो पढेर पो अनौठो लाग्यो।'
अबको समाज भूगोलको एउटा सीमाको परिधिमा मात्र सीमित छैन। पढाइ, अवसर र रोजगारीको खोजीमा लाखौं नेपालीहरू संसारभरि छरिएका छन्। दसैंको मालसी धुनले उनीहरूलाई चरोझैं उडेर घर पुगौं जस्तो लाग्छ, जुन सम्भव हुँदैन। फेरि जति टाढा भयो, आफन्तका यादहरू उति गाढा हुँदा रहेछन्। त्यहाँ बाबु, आमा र मान्यजनबाट टीका लगाउने अवसर विरलैलाई जुर्छ। मुलुक बाहिर त्यस्ता भाग्यमानी कति नै होलान् र?
स्वदेशमै हुनेका पनि मान्यजनको संख्या घट्दै गएको छ। एक वा दुई सन्तानका रूपमा जन्मेर हुर्केका नयाँ पुस्ताका पनि बच्चाबच्ची भइसके। एउटा वा दुई सन्तान पाउने प्रचलनसँगै कतिपय नयाँ पुस्ताका बडा बा, काका, फुपू, मामा, ठूली आमा र सानी आमा समेत हुँदैनन्। त्यस्तो अवस्थामा दसैंको टीका थाप्न जीवन सहयात्री श्रीमतीभन्दा दोस्रो उपयुक्त मान्छे को होला? आखिर तीर्थ व्रतको प्रसाद पनि श्रीमतीले लगाइदिने हो।
दसैंको टीका नजिकै आयो। केटाकेटीलाई बाहेक छोरी चेली ज्वाइँ र नरनातालाई दक्षिणा, दक्षिणा वापत पैसा दिने खर्चिलो चलनको अन्त्यको सुरू नगर्ने त?
अनि मन, मुटु र ममता जोडिएका श्रीमान श्रीमतीले यसपालिको दसैंको टीका एक अर्कालाई लगाउन सुरू नगर्ने? कि अभियानै चलाउने?