मेरो गाउँको दसैं तिम्रो सहरभन्दा निकै फरक छ नि प्रिय! तिमी कलेजको बिदा पर्खिरहेका छौ। कतै नयाँ ठाउँ घुम्न जाने योजना बनाएर। म सोही कलेजको बिदा पर्खिरहेकी छु गाउँमा आमालाई अन्नबाली भित्र्याउने, खर काट्ने काममा सहयोग गरूँला भनेर।
तिम्रो घरमा दसैं आयो अब कति किलोको खसी काट्ने भनेर योजना बुनिँदैछन् तर मेरो बुवाले खसी बेचेको पैसाले घरमा कति जनालाई लुगाफाटो किन्न मिल्छ भनेर हातका औंला भाँचिरहेका छन्।
तिमी नयाँ ठाउँ घुम्न जान हवाई जहाजको टिकट हेर्दैछौ तर मलाई गाउँ जानको लागि आफूले यात्रा गरेको सार्वजनिक यातायातको बसमा कम्तीमा एउटा सिट पाएर बस्न पाए पुग्छ! त्यसमा पनि झ्यालतिरको सिट पर्यो भने त चाडपर्वमा बोनस प्राप्त गरेको जस्तो महसुस हुन्छ।
सहरतिरका आमाहरू दसैं आयो भन्दै नवरात्रिमा मिठो मसिनो खाना सँगसँगै मासु भात, वियर खाएर मनोरञ्जन गर्दैछन्। गाउँतिरका आमाहरू नवरात्रिमा आफ्नो परिवारको सुख शान्तिका लागि भोको पेट ब्रत बसी मन्दिरतिर पूजापाठमा धाउने चलन छ।
तिम्रो सहरतिर दसैं आयो भन्दै सपिङ गर्न जानेहरूको भिडभाड निकै भयानक छ तर मेरो गाउँतिर सबै मानिसका लागि यो समय दाउरा, स्याउला, खर घाँस र अन्न बाली भित्र्याउनको लागि निकै उचित मानिएको छ।
तिम्रो मामा अमेरिकाबाट घर आउँदै हुनुहुन्छ रे। तिमी मामाको आशीर्वाद सँगसँगै महंगो गिफ्ट पाउने आशमा बसेका छौं, तर मेरो गाउँले मामालाई कामको चटारोले गर्दा एकछिन हाम्रो हालखबर सोध्ने फुर्सद छैन।
साथी तिम्रो दराजको कोठा-कोठामा नयाँ लुगा गन्नै नसकिने गरी छ तर पनि तिमी दसैंको लुगा भन्दै आमा बुवासँग कराउँदै छौ।
मैले गाउँमा जसरीतसरी एउटा नयाँ लुगाको जमर्को गर्न सके पनि मसँग त्यो लुगा लगाउने फुर्सद छैन।
कहिलेकाहीँ त सोच्छु यो दसैं पनि यही महिनामा किन आउँछ जब किसानका लागि अन्न बाली भित्र्याउने उचित समय हुन्छ तब हाम्रो घर आँगनमा चाड पर्वको हुल पनि थुपारिएर आउँछ।
परदेशीहरू रोइकराइ साहुसँग बिदा मागेर घर फर्किन्छन् त्यसरी घर फर्किएका परदेशीहरूसँग समय बिताउन पनि गाउँलेलाई समय छैन।
जब गाउँलेहरू कामबाट अलि कति फुर्सद पाउँछन् तब परदेशीहरूको बिदाका दिनहरू सकिएका हुन्छन् कस्तो बिडम्बना!
दसैंमा सहरिया साथीको दिदीहरू सिंगो घरपरिवारका लागि महंगो गिफ्ट ल्याएर घर फर्किंदै छन रे।
म मेरो दिदीलाई लिन आऊँ कि दिदी भनेर फोन गर्छु।
दिदीको जवाफ 'एक दिन दसैंमा माइत आइ मिठो मसिनो खाएर कहाँ पुग्छ र बैनी यता वर्षभरि खानलाई अन्नबाली भित्र्याउनुछ अनि यस्तो कामको चटारो भएको बेलामा सासूआमाले मलाई माइत पठाउन मान्दिनन्।'
भिनाजु परदेशबाटै घरमा कामको चटारो भएको बेलामा माइत किन गएकी भनेर कराउनु हुन्छ।
म र मेरो गाउँलेहरूका लागि दसैंभन्दा पनि आफ्नो दु:ख पीडा र कष्टकर जीवन निकै प्यारो छ।
दसैंमा पेटभरि अघाउने गरी मासु खाउँला भनेर बुनिएका सपनाहरू यथावत छन्। कतिपय गाउँले मानिसहरू साहुको खेतमा कुटो कोदालो बजारिरहेका छन्। तर पनि उहाँहरूलाई दसैं मनाउनको लागि अन्नको धौधौ परिरहेको छ।
उनीहरूसँग न त समय छ न त आर्थिक पाटो नै सहरतिर आ-आफ्नो दौतरी खोजी पिङ खेल्ने बेलामा गाउँमा कुटो कोदालो हँसियासँग खेल्नुपर्ने बाध्यता अझै पनि जीवितै छ।
आफ्नो इच्छा चाहनालाई थाती राखेर घरपरिवार धान्नमा हुमिनुपर्ने कलिला मनका बाध्यता बेसी भइराखेका छन्।
वर्षौंदेखि खोले, सिस्नु अनि ढिडोसँग जोडिएको नाता अझै टुटाउन सकिएको छैन तर तिम्रो सहरतिर पुरानो खानाको ब्यञ्जनलाई छोड्दै नयाँ ब्यञ्जनसँग मितेरी गाँस्दै छन्।
घरका भोका लालाबाला अनि साहुको ऋण सम्झेर परदेशिएका पल्लाघरे काकालाई दसैं तिहारभन्दा आफ्नो ज्यान जोगाउन कठिन छ। उहाँले परदेशमा दिनरात पसिना र जीवन बेजेर गुलामी बिताउनुपर्ने बाध्यता अझै जीवितै छ परदेशबाट काकाले पठाएको पैसाले काकीलाई साहुको ऋण तिर्दै ठिक्क छ।
स-साना भुन्टेहरू साहुकै खेतमा काम गर्न व्यस्त छन् तर पनि काकीलाई समाजको डरले अर्थात समाजमा इज्जत जोगाउनुपर्ने बाध्यताले भए पनि नयाँ लुगा लगाउनै पर्ने, खसी खानै पर्ने जन्जीरले जेलेको छ।
एकछाक टार्न धौधौ भएको अवस्थामा घोर्ले खसी ढाल्ने, नयाँ लुगा लगाउनुपर्ने बाध्यताले काकीलाई मात्र होइन समाजमा रहेका सबै बेसहारा वर्गहरूलाई पिरोलेको छ।
यस्तो कामको चटारो, दु:खको चटारो, गरिबीको चटारो भएको अवस्थामा यो दसैं आउनुभन्दा नआएकै बेस हुन्थ्यो जस्तो लाग्छ।
आफ्नो सिंगै जिन्दगी बेचिएका व्यक्तिहरूले एक जोर लुगा र खसीको मासु किनेर के दसैं मनाउनु, तिम्रो सहरमा यसपालि जसरी भए पनि घोर्ले खसी ढाल्ने सपना छ तर मेरो गाउँलेको सपना सधैंजस्तै जसरी भए पनि आफ्नो परिवारका सदस्यलाई एक जोर लुगा किनी सुखले पाल्ने सपना छ।
तिम्रो सहरतिर दसैंको धुमधाम छ तर मेरो गाउँतिर एक अर्कासँग बोल्ने फुर्सद छैन। चारैतिर सुनसान छ। तिमीले लगाउने लुगामा चारैतिर फेसनको प्वाल छ यता गाउँले आमाहरूको चोली फाटेर फेर्न नसकिएको प्वाल छ। गाउँका हरेक सन्तानले आफ्नो आमाको चोली फेर्न पूरै जीवन परदेश बिताउनुपर्ने हुन्छ तर पनि कतिपय दाजुभाइलाई चोली फेर्न सम्भव छैन।
सहरमा नयाँ लुगा र खसी धेरै महत्वपूर्ण हुने रहेछ। महंगो उपहारलाई प्राथमिकतामा राखिएको छ। मेरो गाउँमा निधारको रातो टीका, जमरा ठूलावडाको आशीर्वाद, माया, ममता स्नेह र आफ्नोपन धेरै महत्वपूर्ण छ।
सहरमा जतिसुकै सुख सयल भए पनि मानिसहरूका मनमा एक अर्काप्रति आफ्नोपनको भावना छैन। स्वार्थीपनाको बेथितिले सहर भरिएको छ। गाउँमा सबै आफ्ना छन्, गाउँका मानिसहरू जस्तो सुकै संकट आइपरे पनि हरेक चाडपर्व सँगसँगै दु:ख, सुख बाँडेर मनाउन चाहन्छन्, आफ्ना र आफ्नोपनलाई सधैं मनमा सजाएर राख्ने गर्दछन्।
दसैंमा सहर जतिसुकै झिलिमिली भए पनि हामी गाउँलेहरूलाई गाउँकै अँध्यारोमा मनको आनन्द महसुस हुन्छ। मनमा पीर भए पनि आफ्नो गाउँ र आफ्नाहरूसँग रमाउन पाउँदा सबै पीर बेथाहरू भुलिन्छन्।