केही वर्ष अगाडि टाढाको गाउँबाट केही समयको लागि आमा मसँग बस्न काठमाडौं आउनुभयो। बिहे गरेर पराई भइसकेकी छोरीको घरमा गएर बस्न हाम्रो संस्कृति र परम्पराअनुसार आमाबुवाले सजिलै मान्दैनन्। जति सजिलै आमाबुवाहरु छोराबुहारीसँग बसेका हुन्छन् त्यति सजिलै उनीहरु छोरीको घरमा गएर बस्न मान्दैनन्।
आमा पनि मसँग यत्तिकै बस्न आउनुभएको थिएन। म काममा जाँदा मेरी सानी छोरीलाई घरमा छोडेर जान कोही नहुँदा छोरीलाई हेर्न आउनुभएको थियो।
२० वर्ष अगाडि बुवा बितेपछि आमाले माछामासु, च्याउ, अण्डा लगायत मांसाहार भोजन खान छोडनुभयो। बुवाको चिना सेलाउन हरिद्धार गएको बेला आमाले केही न केही खानेकुरा छोड्नुपर्ने चलन छ। त्यसपछि उहाँलाई मनपर्ने कोदाको परिकार खान छोड्नुभयो। बुवाको मृत्यु भएपछि समाजले चलाएको चलनअनुसार नै उहाँले रातो चुरा, रातो टिका, पोते, नाकको फुलि निकाल्नुभयो।
बुवा बितेको एक वर्षपछि पनि रातो, गुलाफी रङहरु भएका लुगा लगाउन पूर्ण रुपले बर्जित नै थियो र अहिले पनि रातै लुगा लगाउनुहुन्न। एक वर्षसम्म रंगहीन सेतो लुगामा घरीघरी रोइरहने आमालाई देख्दा साह्रै मन पोल्थ्यो। बुवा जीवित हुँदा वा बितेपछि पनि आमाले जति त्याग बुवाको लागि गरिरहनुभएको थियो, के बुवाले पनि आमाको लागि त्यस्तै गर्नुहुन्थ्यो होला त? सायद गर्नुहुन्न थियो जस्तो लाग्छ।
काठमाडौं आइसकेपछि आमालाई कहिले सम्झाएर त कहिले जबरजस्ती गरेर भए पनि उनमा धेरै परिवर्तन ल्याउन कोसिस गरिरहें। वर्षौंदेखि माछा-मासुजस्ता तागतिला खानेकुरा छोडेकी उनलाई च्याउ बिरुवा हो, जनावरको मासु होइन भन्दै च्याउ खाने बनाएँ। मैले पकाएको सबै खानेकुरा खाने तर दालभात खान मान्नुहुन्थेन। मेरै ठाउँमा व्रतबन्ध गरेपछि दाइले पकाएको दालभात खाने तर मैले बिहे नै गर्दा पनि मैले पकाएको दालभात नखाने कति सम्मको भेदभाव थियो हाम्रो समाजले छोराछोरी माथि गरेको!
'के म फोहोरी छु? के म तपाईंबाट जन्मेकी होइन र? दालभात नखाने भए रोटी चाहिँ किन खानुहुन्छ?' जस्ता मेरा अनेकौं प्रश्नको उहाँसँग उत्तर नहुँदा केही समयपछि अप्ठ्यारो मान्दै भए पनि मैले पकाएको दालभात खान थाल्नुभयो।
म हुर्केको समाज वा भनौ बैतडी जिल्लाभरि नै बच्चा जन्मेदेखि नै उसलाई आफ्नी जन्मदिने आमालाई तँ भन्न सिकाइन्छ भने बुवालाई तपाईं भन्न सिकाइन्छ। आमालाई तँ भन्दैमा माया कम नहुने भएपनि बुवाको लागि आदरार्थी शब्द प्रयोग हुँदा आमाको लागि किन हुँदैनन्? बच्चैदेखिको बानी भनेजस्तै मैले आमालाई तपाईं भन्न खोजे पनि सकेकी छैन।
म महिनावारी हुँदा भाडाको घरमा शौचालय र स्नानघर एउटै मात्र हुँदा प्रयोग गर्न हिचकिचाउनु हुन्थ्यो। कोठामा ढोकादेखि नै भुँइमा ओच्छयाइएको कार्पेटले पलङ, सोफा सबैलाई छोएको हुन्थ्यो। महिनावारी भएको बेला म बस्ने कोठामा आउन आमा अप्ठ्यारो मान्नुहुन्थ्यो।
'हामीले टेकेको जमिन एउटै होइन र? कि यसलाई पनि छुट्याउन मिल्छ? बजार, पसल जाँदा कतिपय महिलाहरु महिनावारी भएका होलान्। के कसैलाई नछोइ आउनुहुन्छ? होटेलमा चना, पुरी, चिया भातबाहेक अन्य खानेकुरा खाँदा महिनावारी भएकी महिलाले पनि त पकाएको हुनसक्छ? बाहिर खान हुने घरकी छोरी माथि यत्रो अत्याचार' भन्दा उहाँ लाजवाफ हुनुहुन्थ्यो। यस्ता कतिपय कुराहरु सम्झाउँदै बुझाउँदै जाँदा उहाँले पनि ठिक गलत छुट्याउन थाल्नुभयो।
महिनावारी हुँदा म बसेको कोठामा आउन थाल्नुभयो। मलाई छोएर छोराछोरीले उहाँलाई छोयो भने गाली गर्नु हुन्थ्यो। सुनपानी गहुँत जे पायो छर्किने, खाने गर्नुहुन्थ्यो। विस्तारै सबै हराउँदै गयो। हामीहरु आफ्नो जीवनलाई अप्ठ्यारोभन्दा पनि सजिलो गरी जिउन थाल्यौँ। आमामा आएको परिवर्तनले धेरै खुसी लागिरहेको थियो।
गत वर्ष मात्रै आमालाई भेट्न भन्दै बैतडी पुगियो। आमा वृद्ध अवस्थासँगै बिरामीले पनि गल्नु भएछ। घरका सदस्यहरु काममा गएको बेला दिउँसो दालभात पकाएर राख्ने जिम्मा मलाई दिइयो। चुलो लिपपोत गरी शुद्धसँग दाल, तरकारी, भात पकाएँ। केटाकेटी, सबैभन्दा पहिला आमालाई खान बोलाएँ।
गाउँघरमा भात खाँदा चुलोमा कसैलाई नछोइ खाने गरिन्छ। आमाले भोक छैन, खान मन छैन भनेर दुई/तीन दिन यसरी नै टाल्नुभयो। काठमाडौंमा जे भए पनि आफ्नो घर गएपछि उहाँले मैले पकाएको भात पटक्कै खान मान्नुभएन। घरपरिवार छरछिमेकले के भन्लान् भन्ने डर थियो आमामा। दुई दिनको लागि माइती गएकी मैले पनि कर गर्न सकिनँ।
जे जति अन्धविश्वास आमामा भरिएको देखेकी थिएँ ती सबै अहिले सासुमा पनि देखिरहेकी छु। केही दिनको लागि सासु अछामबाट काठमाडौं आउनुभएको थियो। कतै-कतै प्याजी रंगको बुट्टा भएको धोती ल्याउँदा रातो छ भनेर लगाउन मान्नुभएन। छोराबुहारीले पकाएको दालभात खान मान्नु भएन। उहाँले खाइसकेपछि मात्रै हामी भान्छा नजिक जान पायौं। हामीले घरमै पकाएको मात्रै खाने, घरबाहिर पाकेको केही चिज पनि नखाने हो भने उहाँले हामीले पकाएको खानु हुन्थ्यो रे! दिनभरि बाहिर जागिर गर्नेलाई यो सम्भव पनि थिएन। त्यही चामल पिसेर बनेको पिठोमा पानी मिसाइ पकाएको रोटी दिंदा खान हुने तर त्यही चामलको पानी हालेर भात पकाउँदा खान नहुने? कस्तो अवैज्ञानिक धारणा!
लामो समयको लकडाउनपछि भेट हुँदा सहकर्मी माझ घरायसी कामका बारेमा कुराकानी भइरहेको थियो। एकजना म्याडमका अनुसार दश महिनाको स्कुल बन्द हुँदासम्म एकदिन दिनभरि श्रीमानले घरको काम गर्दा अर्को दिन श्रीमतीको पालो गरी पालैपालो घरको काम गर्दा रहेछन्। यो सुनेर त्यहाँ बसेका सबै सहकर्मीहरु अचम्मित भए।
खाना पकाउने, भाँडा धुने, घरको सबै सरसफाई श्रीमानले गरेको सुन्दा कतिपय म्याडमहरुले औंला टोके। अर्की एकजना म्याडमका अनुसार श्रीमान भान्छामा पसेको देख्दा सासुले ठूला आँखाले हेर्ने हुँदा लकडाउनभरि श्रीमानको काम भनेको बगैंचामा पानी हाल्ने र शौचालय, स्नानघर सफा गर्ने मात्रै रहेको सुनाइन्। श्रीमानबाट यति काम गराउन पनि धेरै संघर्ष गर्नु परेको उनले सुनाइन्।
यही कुरा एकजना सहकर्मीले घरमा गएर सुनाउँदा उनकी सासुले 'श्रीमानलाई भाँडा धुन लगाउँदा श्रीमतीलाई पाप लाग्छ' भनेको सुनाइन्। यदि श्रीमानले भाँडा धुँदा श्रीमतीलाई पाप लाग्छ भने श्रीमतीले भाँडा धुँदा श्रीमानलाई पाप लाग्छ कि लाग्दैन भनेर सासुलाई सोध्दा उनका श्रीमानले उनलाई 'भाँडा म आफै धुन्छु तैंले धुनुपर्दैन, यस्ता कुरा आमासँग नगर’ भनेर हप्काएको उनले सुनाइन्।
यसरी नै घरमा भइरहेको अन्याय, अत्याचार विरुद्ध बोल्दा पनि कतिपय ठाउँमा महिलाको मुख बन्द गराइन्छ। सही गलत नहेरी जे भनिन्छ त्यही मात्रै गर् भन्ने आदेश घरका पढेलेखेका युवाहरुबाट समेत आउँछ भने घरेलु हिंसा कसरी अन्त्य हुन्छ, समाजमा परिवर्तन कसरी आउँछ?
सँगै गाउँबाट एकजना बहिनी पनि आएकी थिइन्। महिनावारी भएको बेला छाउघर सुत्न नगए पनि आफ्नो घरमा पनि सुत्न नपाइने उनको गुनासो थियो। प्रत्येक महिना महिनावारी भएँ भन्दै अर्काको घरमा शरण लिएजस्तै गरी सुत्न जाँदा आफ्नो आत्मसम्मानमा ठेस लाग्ने उनको भनाइ रहेको थियो।
दश कक्षाको परीक्षा दिने बेला महिनावारी हुँदा ४ र ५ दिनको दिनमा बिहानै ४ बजे उठेर कोही नउठ्दै खोलामा गएर नुहाइ, ओड्ने ओछ्याउने समेत धोएर सात बजे परीक्षा दिन टाढाको स्कुल पुग्दा एकदमै थाकेको उनको भनाइ थियो। घरमा महिला माथि निर्मम अत्याचार भइरहँदा पनि घरका कतिपय पुरुषहरु त्यस विरुद्ध नबोल्नु, मौन समर्थन गरिरहनु नै सुदूरपश्चिममा अन्त नहुने कुप्रथाका मुख्य कारण हुन्।
निरक्षर कतिपय महिलाहरुले जन्मेदेखि नै त्यस्तै वातावरणमा हुर्केकाले उनीहरुलाई त्योभन्दा फरक जीवन हुन्छ भन्ने पनि थाहा हुँदैन। गाउँ समाजले बनाएका नियम विरुद्ध गयो भने घरमा हुने अनिष्टको जिम्मा सबै महिलामाथि जाने हुँदा नचाहेर पनि कतिपय महिलाहरु चुपचाप कुरुतिहरुलाई साथ दिइरहेका छन्।
तर घरका पढेलेखेका देश, विदेश डुलिरहने, सरकारी जागिरेहरुले समेत आफ्नो परिवारमा परिवर्तन ल्याउन नखोज्ने दुर्भाग्यपूर्ण हो। अफिसमा छोरी, बुहारी, श्रीमतीलाई महिनावारी बार्न लगाउँदैनौँ भनेर भाषण गर्ने पुरुषहरुसमेत घर पुगेपछि चुप लागेर बसेको देख्दा मन कुँडिन्छ।
हाम्रा धार्मिक किताबहरुमा समेत महिनावारी बार्नु पर्ने, विधवा भएपश्चात धेरै कुरामा बन्देज लगाइनु, महिलाले नै उपवास बस्दा सबैको भलो हुने, पतिव्रता भएर बस्नुपर्ने जस्ता अनेकौं नियमहरु महिलाका लागि मात्र बनाइँदा अचम्म लागेर आउँछ। मान्छे एक्लै जन्मन्छ एक्लै मर्छ। यही नै ध्रुव सत्य हो भने बाहिरी कुराहरु सबै आडम्वर हुन्। आफ्नो कारणले कसैले दुःख नपाओस, यति मात्रै ख्याल राखे सबैको भलो हुने निश्चित हुन्छ।
तर आफ्नो स्वार्थपूर्तिका लागि, झुटो प्रसिद्धिका लागि मानिसले सधैँ अरुलाई दुःख दिन्छ। पुरुषले जाँड, रक्सी खाएर महिलालाई कुट्दा, दुःख दिँदा पनि सहनु पर्छ, घरको कुरा घर बाहिर लानु हुँदैन भन्ने सोचले आफूमाथि भएका हिंसा पनि छुट्याउन नसक्ने स्थितिमा अहिलेका कतिपय महिलाहरु देखिन्छन्।
हालै दैलेखकी सुकी बढुवालले मद्यपान गर्ने श्रीमानले दिने यातना सहन नसकी चार सन्तानसहीत कर्णाली नदीमा हाम फालेर प्राण त्यागेको घटना यसको एउटा उदाहरण मात्रै हो। अशिक्षा, अज्ञानता, कमजोर आर्थिक अवस्था, जाँड रक्सी, छाउगोठ सुत्नुपर्ने बाध्यताले गर्दा धेरैजसो महिलाहरु घरेलु हिंसा भोग्नु बाध्य भएका छन्।
आफूमाथि हिंसा हुँदा प्रहरीमा उजुरी गर्न मिल्छ भन्ने ज्ञान समेत कतिपय महिलाहरुमा छैन। उजुरी गरे पनि समयमा उचित न्याय पाइन्छ भन्ने विश्वास गर्न पनि कठिन छ। सीता, द्रौपदी, कुन्तीले आफ्नो घर, समाजको लागि दुःख सहे भने अहिलेकी महिलाले पनि सहनुपर्छ भन्ने सोच महिलामा मात्रै होइन पितृसत्तात्मक सोच भएका सबै पुरुषहरुमा समेत रहेको छ।
घरका प्रत्येक सदस्यले आफ्नो मन, मस्तिष्कबाट यस्ता कुरीतिहरुलाई त्याग्न सक्यो भने मात्रै समाजमा सकारात्मक परिवर्तन आउन सक्छ।