पहिले कमिक्सका पानाका चित्र कोरिए। त्यसपछि कालोसेतो चलचित्र। पछि रंगीन। अनि थ्री डी। फेरि आइम्याक्स।
भनिन्छ जस्तो सोचिन्छ त्यस्तै भइन्छ।
जस्तो कल्पना गरिन्छ, त्यस्तै सृजना गरिन्छ।
हामी त युद्व र विध्वंस आइम्याक्स थ्रि डी मा हेरेर आफ्नो कल्पनाको दुनियाँ सजाइरहेका छौं। तर कस्तो सामरिक सजावट हो यो?
कतै विश्वमा कायम रहेको युद्व र विध्वंसको मूल हाम्रा यिनै कल्पनामा जरा फिजाएर बसेका त छैनन्?
सुपरम्यान अमेरिकन एक्सन कमिक्सका सुरूवाती नायक थिए। त्यो विकासहुँदै स्पाइडरम्यान अनि व्याटम्यान पनि जन्मिए। त्यतिले नपुगेर मार्भस यूनिभर्स नै सृजना भयो।
आजसम्म दर्जनभन्दा बढी सुपरम्यानका चलचित्र बनिसकेका छन्। दर्जनभन्दा बढी स्पाइडरम्यान र व्याटम्यानका चलचित्र पनि बनिसकेका छन्।
एक्काइसौं शताव्दीमा आएर अमेरिकन हलिउडका अधिकांश चलचित्र यिनै मार्भल कमिक्स र डि सि कमिक्समा आधारित भएर बन्ने गरेका छन्। तिनमा युद्व र विध्वंस कति मात्रामा प्रदर्शन गरिन्छ त्यो हेर्न एकपल्ट यी मध्ये कुनै एक चलचित्र नै हेर्नुपर्छ।
चलचित्रको प्रस्तुति निर्देशकको कला हो। सामान्यतया कलामा लगाम लगाउन पाईँदैन। तर भेनम जस्ता चलचित्र बन्नु दुर्भाग्य हो। यस्ता बत्तर आकृतिलाई हामी हाम्रो मानसपटलमा किन हालिरहेका छौं?
बेलगाम घोडामा चढेर दुर्घटनाग्रस्त घोडसवार जस्तो कतै यस्तै बेलगाम कला मानवताको काल बन्ने त होइन ?
भेनम भन्ने चलचित्र छिटै नेपाली सिनेमा हलमा लाग्दैछ। त्यो घिनलाग्दो परिकल्पना न ऐतिहासिक हो न समसामयिक। न हाँस्यास्पद न मार्मिक।
अनि त्यो हेर्ने को हो ? हाम्रै युवा जमात। उनीहरुले के पाठ सिक्ने त्यो चलचित्र हेरेर? आँखाको रसको लागि मात्र हो भने त्यो पिरो खुर्सानी आँखामा दल्न सक्ने स्वयं राता राता आँखा भएका राक्षस बाहेक अरू को होला र?
किन दिईन्छ यस्ता चलचित्रलाई प्रदर्शनीको छुट? सिनेमा हलले व्यापार गर्न पाउने अधिकार हो कि दर्शकको हेर्न पाउने अधिकार?
चलचित्र प्रदर्शनीको लागि सेन्सर गर्ने बोर्डले श्लील र अश्लील मात्र विचार गर्ने हो? लैंगिक रूपमा नहोला तर हलिउडको अश्लील काल्पनिक उत्पादन होइन र भेनम ? यो नामको मात्र भेनम होइन। यो चेतनाको पनि भेनम हो।
विष लाग्न बोतल भर खानु पर्दैन, थोपा भए पनि पुग्छ।
पोस्टर मात्र पनि विषालु हुन सक्छ।
के हेर्न दिने पनि विचार गरौं।
के देखाउने पनि विचार गरौं।
के हेर्ने पनि विचार गरौं।
हलिउडमा बनेको ... पनि सुघ्नुपर्छ भन्ने छैन।