आफ्नो पाखुरीको बलमा सारा दुनियाँलाई पाल्ने किसानहरु बेमौसमी झरीको कारणले गर्दा राहतको लागि आफै हात फैलाउन बाध्य भएका छन्। खेतबारीमा लगाएको धानसँगै आफ्नो सपनालाई सजाएर बसेका मेहनती किसानका धानसँग जोडिएका मिठा र सुन्दर सपनाहरु बेमौसमी झरीले बगाएको छ।
जीवनमा आइपरेको आर्थिक अभाव सहन सक्ने तर कसैको दबाब सहन नसक्ने, आफ्नो हत्केलाको ठेला सहन सक्ने तर कसैको हेला सहन नसक्ने स्वाभिमानी किसानहरुले यति बेला खेतमा जमेको पानी र बगिरहेको धान हेर्दै आफ्नो निधारमा हत्केला बजार्दै छन्। धान बाली भित्र्याएर भकारी भर्ने बेलामा सबै धान पानीले बगाइदियो। रित्तो भकारी देखेर किसानका आँखा आँसुले भरिएका छन्।
जब किसानले आफ्नो धानले भरिएको भकारीलाई हेर्थे तब सोच्थे मैले आफ्नो परिश्रमले वर्षभरि खानलाई अन्न जोहो गर्न सफल भए भनेर गर्वले छाती फुलाउँथे। बजारमा अन्नको लागि जस्तोसुकै आपत-विपद, संकट आइपरे पनि किसानहरु आफ्नो भकारीको धान देखेर हर्षले उफ्रिन्थे।
विगतका दिनमा घरमा भएका सीमित भकारीहरुमा धान अटाउँदैन थियो। सोही कुरालाई व्यवस्थापन गर्न कतिपय किसानहरुले नयाँ भकारीको व्यवस्थापन गरेका थिए। यसपालि किसानहरुले नयाँ भकारीमा धान राख्नै पाएनन्। किसानको आँगनमा र खेतमा भरिभराउ परालको थुप्राहरु देखिन्थे, यसपालिको झरीले गर्दा न त जोत्ने गोरुका लागि पराल रह्यो न त बीउ छर्ने किसानका लागि पाकेको धान नै फेला पर्यो।
वर्षातमा धान नेल्दा हत्केलामा परेका ठेला र घाउ अझै मेटिन पाएका छैनन्। धान छर्दा जतिसुकै परिश्रम गर्नुपरे पनि किसानलाई थकाइ महसुस भएन किनभने धान सँगैसँगै किसानहरुले उत्पादन गर्न सकिएको धानबाट वर्षभरि खानलाई अन्नको जोहो गर्नुका साथसाथै त्यसबाट प्राप्त भएको आम्दानीले किसानहरुले धान छर्ने बेलामा धान सँगसँगै मिठा-मिठा सपनाहरु पनि छरेका थिए। तर भित्र्याउने बेलामा सपनाको दुश्मन बनेर झरी आइदिँदा दिनभरि खेतमा काम गरेको भन्दा दोब्बर थकाइ महसुस भएको छ।
धान पाक्ने दिनहरु कहिले आउला भनेर दिन, हप्ता, महिना गन्दै धानको आशामा बसेका किसानलाई प्रकृतिले ठगेर धानभन्दा आफ्नो ज्यान जोगाउन हम्मे-हम्मे परेको छ। भोलि बिहानै उठेर खेतमा गई धान काटूँला भनि परिवारका सबै सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेर योजनाअनुसार सुतेका किसानहरुका परिवार उज्यालो नहुँदै धानसँगै आफू डुबानमा परेको बेला उनीहरुलाई सपनाजस्तै लागेको छ।
कतिपय किसानहरुले घरमा बस्न नसकेर आफ्नो सुरक्षाको लागि रुखमा बसि उद्दारको गुहार गर्नुपर्ने बाध्यता सिर्जना भयो। आफ्नो ज्यानभन्दा प्यारो लाग्ने अन्नबाली भित्र्याउनका लागि अहिले किसानहरु आफ्नो ज्यानको परवाह नगरी धान जोगाउने कार्यमा तल्लीन रहेका छन्। धान भित्र्याउने हर्षले भरिपूर्ण भएका किसानहरु चाडपर्व मनाउने बेलामा पनि दसैँको टीका लगाउने वित्तिक्कै निधारमा रातो टीका र कानमा जमरा लिएर खेलमा हर्षले उपस्थित भएका किसानका लागि झरीले मर्नु न बाच्नुको अवस्था सिर्जना गरिदिएको छ।
खेतिपातीबाट भएको आम्दानीले आफ्नो परिवारको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात आदिको व्यवस्था गर्नु पर्ने बाध्यता भएका मानिसहरुको सपना बाढीसँगै बगाइदिएको छ। धान भित्र्याउँदा थकाइ लागे पनि धानले भरिएको भकारी हेर्दा किसानको सारा थकाइ मेटिन्थ्यो र खुसीको सास लिन पाउँथे।
असारको महिनामा घाम पानी नभनेर हर्षका साथ धानसँगै विभिन्न सपनाहरु रोपिएका थिए। असार पन्ध्रको हिलोमा हर्षका साथ रमाउने किसान आज हिलो देख्दा जीउ कमाइरहेका छन्। यसरी बाली भित्र्याउने बेलामा यो झरी आउँछ भन्ने कुरा थाहा भइदिएको भए सायद धानसँग यी अधुरा सपनाहरु सजाउने थिएनन् होला।
असार पन्ध्रको चाँडमा सबै किसानहरु धान रोप्ने कार्यमा व्यस्त थिए। उनीहरुलाई आफ्नो भोक प्यासको कुनै परवाह थिएन। माना, मुरी रोपेर क्विन्टल फल्छ भन्ने आशा मनमा सजाएर किसानहरु आफ्नो धान रोप्ने कार्य सँगसँगै खुसीले जीउभरि हिलो छ्यापेर खुसीले खेल्दै थिए। त्यस समयमा पनि एउटा टिकटकको लागि लागिपरेको पक्ष थियो जुन असार पन्ध्रको रोपाइलाई लिएर आफ्नो टिकटक अकाउन्टलाई राहत दिइरहेको थियो।
कहिले धानको हिलोमा खुट्टा नपसाएका मानिसहरु पनि खेत बारीमा गएर रोपाइको हिलो जीउभरि छ्यापी एक हातमा धानको बीउको हरियो मुठा, अर्को हातमा मोबाइल लिएर खडा भएका देखिन्थे। तर सँच्चा किसानहरुलाई मोबाइलमा टिकटक बनाउनुको कुरा त आकाशको फल जस्तै थियो भने उनीहरुलाई कसैले काम विशेष गरेको फोन पनि रिसिभ गर्नको लागि फुर्सद थिएन।
त्यो व्यस्तता र कठिन परिश्रमले जीवनमा खुसी ल्याउँछ भन्ने आशाले किसानहरु खेतबारीमा हर्षित देखिन्थे। तर किसानहरुका लागि असार पन्ध्रभन्दा अहिलेको समय ठिक विपरीत दुःखले भरिएको छ। भने टिकटक पक्षका लागि यो समयमा पनि पानीले भरिभराउ भएको ठाउँ एकदमै उचित रहेको छ। डुबान परेको खेतमा जाने एकछिन टिकटक बनाउने, पानी भरिएको खेतमा मजा लिने अनि डुबानमा परेका घरहरुको फोटो खिची सुरक्षित स्थानतिर फर्किने र टिकटकहरु पोष्ट गर्ने प्रवृत्ति पनि बेसी नै देखिन थालेको छ।
प्राकृतिक विपत्ति र बाढीको वितण्डाले अन्नबाली सँगसँगै मानवीय र भौतिक क्षति पनि प्रचुर मात्रामा भइरहेको छ। कात्तिक महिनामा अकल्पनीय वर्षात भइदिँदा आफ्नो शीर कहिले नझुकाउने किसान दुःख, पीडाले उठ्न सकेका छैनन्। हार-गुहारको अवस्था सिर्जना हुँदा सुनिदिने कोही छैन। किसानको कडा परिश्रमले उत्पादन भएको धान सबै पक्षका लागि जीउने आधार हुन्छ तर सबैका लागि जीउने आधार खडा गर्ने किसानलाई आपतविपद पर्दा साथ दिने कोही नभएर होला किसानहरुको मन भतभती पोलिरहेको छ।