बुवाले स्कुलबाट घर फिर्दा 'हुलाकमा जानू परदेशीको खबर नआएको धेरै भयो, चिठी आयो होला, यदि आको रहेनछ भने आवा अफिसमा खबर के छ? तु लेख्नू' भन्दै सो लेखेबापत आवा शुल्क रु. १.२५ दिनु हुन्थ्यो।
हेर्दाहेर्दै समयले कोल्टे फेरेको छ। सहरमा जस्तै गाँउमा पनि बिजुली, वाइफाई पुगेको छ। सबैका हात-हातमा मोबाइल छन् र घरै पिच्छेका युवा सातै महादेशमा पुगेका छन्। बुबाआमा पनि तेल भिसा लागेर जहाज र ह्विलचियरमा विभिन्न देश घुम्न जाँदै हुनुहुन्छ।
गोठ-बेसी, घाँस-दाउरा गर्ने दिदी-बहिनी शीतल छायामुनि बसी मोबाइल फोनमार्फत प्रियतमसँग दुःख-सुख साटासाट गर्छन्। 'आइएमई किन नपठाएको, कतै अन्तै मन पो साटेऊ कि?' भनी अनलाइन परीक्षा लिन्छन्।
खेतबारीमा ट्र्याक्टरमार्फत हलो जोत्दै गरेका हलि दाइ, कानमा फोन राख्दै 'हलो बुझेँ अनलाइन पैसा पठाइदिनुस्' भन्छन्। युवाहरू पासवर्ड ह्याक गर्दै वारिका डिलमा लुकेर मोबाइल चलाउँछन्। आजभोलि पर्याप्त टेक्नोलोजीले भूगोल साँघुरिएको छ, गाउँ-सहर बीचको दूरी घटेको छ, गाउँ सहर उस्तै-उस्तै भएको छ।
केन्द्रदेखि वडासम्म सरकार छन्, तर चिरा-चिरा परेका छन्। सँधियार, पदेर्नी, जारजस्तै मुख छाडाछाड गरेका छन्। सरकारी गाडी अनि मोटरसाइकल चढेका छन्। बाख्रा, कुखुरा, नाम्ला, दाम्लाको सिफारिस दस्तुर, एकीकृत कर असुल भएका छन्। एकातिर जनता दुब्लाएर ख्याउटिँदै छन् अर्कातिर नेताका भुँडी फुल्दैछन्।
ठूला-ठूला होटलका सभा-गोष्ठीमा विकास दर्ज भएको छ, होटलका बिल भुक्तानी भएकै छन्। सडक पिच भएकै छन्, चौबिस घण्टा नबित्दै उप्किएकै छन्। जुत्तामा हिलो र लुगामा धुलो झनै टाँसिएको छन्। कागजमा सार्वजनिक सुनवाई भएका छन्, गाउँ र सहर दुवैमा व्यापार बढेको छ। आजभोलि, गाउँ र सहर उस्तै-उस्तै भएका छन्।
सहरमा होलसेल र गाउँघरमा रिटेल व्यापार बढेका छन्। दुवै क्षेत्रका युवायुवतीले घुँडा फाटेका लगायतको फेसनले वाहवाही बटुलेका छन्। काला कपाल सनपाटमा साटासाट भएका छन्। सलवार कुर्थाले सारीचोला विस्थापित गरेका छन्। अँगेना र चुल्हामा ग्याँसले भाउ पाएको छ। छिमेकीले फेरि नाकाबन्दी लगाए भने गाँउ सहरको पीडा समावेशी हुनेछ। आजभोलि, गाउँ र सहर उस्तै-उस्तै भएका छन्।
गाउँ सहर दुवै कोरोनाको महामारीले ग्रस्त छन्। लकडाउन पाहुना झैँ आउँदै/जाँदै छ। तर पनि गाउँ रित्तिँदो छ, सहरको आवादी बढ्दो छ। सहरका डान्सबारले युवालाई रोजगारी दिएका छन्। सहरका रेस्टुरेन्टमा वाइन, ह्विस्की, पिज्जा, रोस्टको खपत चार गुणा बढेको छ, उता गाँउका छाप्रामा खोयाबिर्केको खपत बढेको छ।
बाहिरी ढोका बन्द छन्, भित्र कारोबार चलेका छन्, सरकारको कर असुली तीव्र छ। भूगोल साँघुरिएको छ, गाउँ-सहरको दूरी नजिँकिदो छ। आजकल गाउँ र सहर उस्तै-उस्तै भएका छन्।