मनमा लागेका थियो, लामो समयपछि चाडबाड मनाउनको लागि जन्म ठाँउ गएपछि आफन्तजन, साथीहरु र नातागोताले मेरो समग्र परिवर्तनको विषयमा चासो राख्लान्। शैक्षिक प्रगति के कस्तो भो? पेसागत स्थिति कस्तो छ? प्राज्ञिक तथा व्यक्तिगत अनुभूतिहरु के-के छन्? कमाइ कस्तो छ? समाजले तिमीबाट यो-यो अपेक्षा गर्या छ, यस्तै-यस्तै।
अनि मैले पनि हालसम्म अनुभव गरेका तिता-मिठा पलहरुको वर्णन गरेर सन्तुष्टि दिलाउँला भन्ने अलिखित योजना बुनेको थिएँ। किनकि केही वर्ष पहिले मलाई पढाइजस्तो ठूलो कुरा अरु केही छैन, व्यक्तित्व असल हुनुपर्छ, मानवता सबैभन्दा ठूलो धर्म हो आदि-इत्यादि भन्दै अर्ति दिने तिनै आफन्तहरु र साथीभाइहरु हुन्। समाज पनि त्यही हो।
तर केही वर्षको अन्तरालमै त्यो समाज बदलिएछ। अनि बदलिएछन् आफन्तजनहरु। फेरिएछन् मबाट गरिएका अपेक्षाहरु पनि। सबैको मुखबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष रुपमा भौतिक प्रगतिको बारेमा अनुत्तरित प्रश्नहरुको सामना गर्नु पर्यो- कमाइ कस्तो छ? घडेरी कहाँ छ? घर बनाउने पैसा कति बचत छ? आदि, इत्यादि।
यस्ता प्रश्नहरुको प्रतिउत्तर स्वरुप मेरो शून्य उपलब्धि रहेको चाल पाइसकेपछि टीका-टिप्पणी भएछ-
‘फलानोले पनि केही गर्न सकेन!’
‘त्यतिकै समय खेर फालिरहेको रहेछ।’
‘खै के कुरामा भुलेछ कुन्नी!’ यस्तै यस्तै।
अझ हिजो शिक्षा, व्यक्तित्व, इमान्दारीता तथा अनुशासन नै मानिसका सम्पत्ति हुन् भनेर पटक-पटक उपदेश दिने मेरो बाबा समेत फेरिनु भएछ। एकाबिहानै मेरो आडैमा बसेर म तिर हेर्दै, ‘छोरा, तँसँगै एसएलसी दिएको तेरो साथीले त बागलुङ बजारमा करोडौंको घर बनाएछ नि!’ भन्दै अप्रत्यक्ष रुपमा अन्तरनिहीत भौतिक अपेक्षा प्रकट गर्नुभयो। म सोचमग्न भएँ। मसँग यो विषयमा कुरा गर्ने आँट समेत हरायो।
यस्ता अनपेक्षित प्रतिकृयाहरु प्राप्त भइसकेपछि वर्तमान समाजलाई अझ गहन तवरबाट बुझ्न मन लाग्यो। समाजका विभिन्न व्यक्तिका धारणहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नियालेर हेरेँ। प्रायः बालकदेखि बृद्ध सबैको अपेक्षा भौतिक प्रगति नै थियो।
आधारभूत तहमा अध्ययन गर्दै गरेका स-साना भाइबहिनीहरु पनि अनौठा प्रतिक्रिया दिन्थे- ‘जे गरे पनि आखिर पैसा नै कमाउने हो, पढेर काम छैन।’ यस्ता अभिव्यक्ति दिने बालबालिकाहरुको केही दिनको दैनिकी अवलोकन गर्दा मानवता, सहयोगीपन, इमान्दारीता, नैतिकता, अनुशासन आदिजस्ता आधारभूत मानवीय गुणहरुको लगभग शून्य उपस्थिति देखेँ।
के वास्तवमै यो अवस्था स्वतस्फूर्त रुपमा सिर्जना भएको हो त? पक्कै पनि होइन। वर्तमान समाज, जसले ती कलिला बालबालिकाहरुको मानसपटलमा अप्रत्यक्ष रुपमा भौतिक प्रगति नै गौण भएको परिस्थिति सिर्जना गरेको छ। यथार्थमा, हाल समाजमा हरेक कुरालाई भौतिक सम्पतिसँग दाँजेर मूल्यांकन गर्नै गरिएको छ।
आजको समाजले जोसँग धन-सम्पत्ति छ उसलाई मान, सम्मान, पद, प्रतिष्ठा र इज्जत दिलाएको छ। अझ भौतिक सम्पत्ति भएकै आधारमा नीति-नियमहरुलाई पनि अनुकूलतामा व्याख्या गरिएका उदाहरणहरु हाम्रै समाजमा छन्। फलस्वरुप, आज हामी सबैलाई जे-जसो गरेर भए पनि धन सम्पत्ति जम्मा पार्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।
व्यक्तिगत खुसी तथा सन्तुष्टिलाई आजको समाजले प्रगति र सफलता मानेको छैन। म/आफूमा जे उपलब्धिहरु छन् त्यसमा खुसी र सन्तुष्टि भए पनि वर्तमान समाजले त्यसलाई सफलता मानेकै छैन। समाजबिना मानवको जीवन कठिन भएकाले सामाजिक अपेक्षा बमोजिम चल्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।
यसरी व्यक्तित्व विकासको सशक्त माध्यम शिक्षा अनि आधारभूत मानवीय गुणहरुलाई चटक्कै बिर्सेर मात्र भौतिक प्रगतिमै केन्द्रित हुनाले समाजमा विभिन्न किसिमका विकृतिहरु नल्याउला भन्न सकिन्न। भौतिक सम्पत्ति मात्र जम्मा पार्ने कुरालाई बढी मान्यता दिँदै जाने हो भने अहिले नेपालमा जरो गाडेको भष्टचार झन् मौलाएर जाने कुरामा दुईमत छैन।
आजको समाजले भौतिक प्रगति मात्र खोजेको छ, त्यो पनि निकै छोटो समयमा। समाज तथा परिवारबाट परेका प्रत्यक्ष तथा अप्रत्यक्ष भौतिक अपेक्षाका दबाबले मानिसलाई कानुनी वा गैरकानुनी जस्तोसुकै कार्यबाट भए पनि धन सम्पत्ति आर्जन गर्न बाध्य बनाएको छ। अनि छोटो समयमा राम्रा तथा कानुनी कार्यहरुबाट अपेक्षित भौतिक प्रगति लाभ लिन नसक्दा कानुनको दायराभन्दा बाहिर गएर छोटो समयमा भौतिक लाभ लिन पनि मानिसहरु पटक्कै पछि परेका छैनन्।
अझ वर्तमान सन्दर्भमा मानिसहरु एकआपसमा अप्रत्यक्ष रुपमा भौतिक सम्पत्ति जम्मा पार्ने होडबाजीमा लागिपरेका छन्। यस्ता प्रतिस्पर्धी कार्यहरुले मानवीय मूल्य मान्यताहरु जस्तै दया, माया, सहयोग, इमान्दारीता आदि जस्ता पक्षहरु हराउँदै गएका छन्। समाजकै लागि अपरिहार्य मानिएका मानवीयता, दया, धर्म तथा आपसी सहयोगहरु विशुद्ध व्यवसायिक भएका छन्।
तुलनात्मक तवरले आर्थिक रुपमा अलि कमजोर तर यथास्थितिमै सन्तुष्ट तथा खुसी भइराखेको परिवारलाई पनि त्यही अस्वच्छ भौतिक प्रगतिको प्रतिस्पर्धाका कारणले अपहेलित, हिनताबोध, अरुको सामु कमजोर, र एक्लिएको अनुभूति गराउने सामाजिक माहोल सिर्जना भएको छ।
मानव समाजमा रहनुको तात्पर्य मानव-मानवबीच दुःख, सुख, साटासाट तथा परिस्थितिअनुसार विभिन्न सहयोगहरुको लेनदेन गर्नु हो। सँगै विशुद्ध मानवीय समाजमा जीवनमा निर्वाह गर्नु हो। तर पछिल्लो समयमा देखा परेको भौतिक सफलताको अपेक्षाले समाजलाई भौतिक सम्पत्तिको होडबाजी गर्ने थलोका रुपमा स्थापित गर्ने संकेत देखापरेको छ। यही क्रम केही समयसम्म चलिराख्यो भने भौतिक सफलता हात पार्नकै लागि मानवहरुबाटै अमानवीय कार्यहरु गर्न कत्ति पनि पछि नपर्ने हुन् कि भन्ने आशंका देखिएको छ।
धन-सम्पत्तिलाई अधिक रुपमा स्थान दिँदै गर्दा मानिसहरु मानवीय संवेदनशील कार्यहरु जस्तै दया, सहयोग, जन्ती, मलामी, उद्धार आदिलाई पनि आर्थिक लाभसँग तुलना गरेर सोही अनुसारका व्यवहारहरु देखाउन थाले भने हाम्रो समाजको मानवीयताको वास्तविक अवस्था के होला, गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ।
मानवतालाई भन्दा आर्थिक प्रगतिलाई बढी प्राथमिकता दिँदै जाँदा भोलिका मानवहरुमा विनम्रता, शिष्टता, इमान्दारीता, सहयोगीपन, अनुशासन, मर्यादा, सेवाभाव आदि जस्ता गुणहरुको खडेरी हुनेछ। अनि एउटा खोक्रो मानवका रुपमा स्थापित हुनेछन्।
मानिसको शैक्षिक प्रगति, सफलता तथा सन्तुष्टिलाई भौतिक प्रगतिसँग तुलना गरेर न्यून मूल्यांकन हुँदा ती मानिसहरु देशमा आर्थिक प्रगतिका अवसर देख्दैनन् अनि विदेश पलायन हुन पुग्छन्। यसबाट राष्ट्रको लागि भोलि चाहिने मानवीय स्रोतको पनि अभाव हुन गई देशलाई समेत ठूलो क्षति हुन सक्ने कुरामा दुई मत छैन।
हालको समाज जे-जस्तो अवस्थामा भए पनि यसलाई जे जति सकिन्छ भौतिक प्रगति उन्मुखबाट समग्र मानवीय प्रगति उन्मुखतर्फ रुपान्तरित गर्दै लैजाने गहन जिम्मेवारी पनि हाम्रै हो। यही समाजका मानवहरुको हो। भौतिक प्रगति पनि केही हदसम्म आवश्यक हुन्छ तर यसको अलवा शैक्षिक, वैयक्तिक, नैतिक, तथा मानवीय प्रगतिलाई पनि उत्तिकै महत्व दिने सामाजिक माहोल सिर्जना गरिनु जरुरी छ।
यसका लागि सर्वप्रथम हामी जुनसुकै प्रकृतिको र आर्थिक उपलब्धि बिनाकै भए पनि व्यक्तिगत आत्मसन्तुष्टि, खुसी, सफलता आदिलाई सम्मान गर्न सिक्नु पर्दछ। सम्मान गर्ने परिपाटी बालबालिकाहरुलाई सिकाइनु पर्छ। किनकि कुनै पनि व्यक्ति अत्याधिक आर्थिक तथा भौतिक प्रगति विनै खुसी र सन्तुष्टि छ भने आजको समाजले निर्विवाद रुपमा समान महत्व दिइनु पर्दछ।
उसको खुसी र सन्तुष्टिमा समाज पनि खुसी भैदिने परिपाटी सिर्जना गरिनुपर्छ। राज्य तथा राज्यका विभिन्न संयन्त्रहरुले पनि थेग्नै नसक्ने गरी वृद्धि भएको महंगीलाई नियन्त्रण गरी वौद्धिक, क्षमतावान्, प्रतिभाशाली, तथा दक्ष मानवीय स्रोतहरुलाई उचित स्थानमा व्यवस्थापन गरी आत्मसन्तुष्टि मिल्ने गरी सेवा-सुविधा तथा मानसम्मान उपलब्ध गराइनु पर्दछ।
यो सँगसँगै समाजको हरेक मानवले भौतिक सफलता मात्र नभई शैक्षिक, वैयक्तिक, नैतिक, मानवीय तथा सामाजिक प्रतिष्ठा, सेवाभाव, मेलमिलाप, शिष्टता, नम्रता, अनुशासन आदिजस्ता आधारभूत पक्षहरुलाई पनि मानवीय प्रगतीका आधारहरुको रुपमा ग्रहण गर्नुपर्ने तड्कारो आवश्यकता देखापरेको छ।