विदेशमा बसेर यतैको पासपोर्ट बोक्ने नेपालीको समाज र मगज हो एनआरएन। त्यसबाहेक खाडीमा बसेर गाडी चढ्नेको एउटा तप्कासमेत यसमा सामेल छ। अर्थात, खाडीका मजदुरलाई सदस्य बनाएर तीनका नाममा गाडी चढ्नेको नेतृत्व पनि संगठनमा समेटिएका छन्।
विगतमा गर्विलो इतिहास बोकेको एनआरएन यतिखेर चुनौतीपूर्ण वर्तमानसँग जुँधिरहेको छ। पछिल्ला डेढ दशकका फेहरिस्त केलाउँदा ओझिलो एनआरएन वर्तमानसम्म आइपुग्दा बोझिलो राजनीतिको गिजोलिएको छ।
विदेशमा बसेर दुःखजिलो गरि स्थायीत्व जमाएका र अलिअलि दाम कमाएका नेपालीलाई मुलुकप्रतिको मान र सम्मान अनि आफ्नै नाम र कामको लागि पनि एनआरएन एउटा महत्वपूर्ण माध्यम बनेको थियो।
तर केही वर्षदेखि जबजब विदेशी पासपोर्ट लिने र नेपाली राजनीतिको झोला भिर्नेको आँखामा संस्था पर्यो त्यो दिनदेखि यसमा संकट आइपरेको पक्का हो।
आफू बस्दै आएको ‘आफ्नो’ देशको राजनीतिका बारेमा चाल नपाउने यो वर्गले प्रवासमा पनि सँधै नेपाली राजनीतिको झन्डा बोकेर नेपाली समाजलाई पिरोल्दै आएको छ। तर जब एनआरएनमा नेपाली राजनीतिक दलका भातृ संगठनको खुलेआम प्रवेश र सिन्डिकेट सुरू भयो तबदेखि एनआरएनमा चुनौतीका पहाड थपिए।
आगामी नेतृत्वका लागि अध्यक्षको प्रत्यासीका रूपमा देखिएका पात्रमात्र होइनन् तीनलाई चलाउने र घुमाउने संरक्षकसमेत कुनै न कुनै रूपमा राजनीतिक दलमा जोडिका छन्। तीन राजनीतिक दलमा जोडिएका संरक्षकक आदेशमा नेतृत्व पटकपटक यताउता मोडिएका छन्। पछिल्लो अवस्थामा एनआरएन भित्रको राजनीति र परराष्ट्रको हस्तक्षेप यसको साक्षि हो।
संस्थालाई रक्षा गर्न ल्याइएका केही संरक्षककै इशारामा राजनीतिदेखि झेलनीतिले पनि यतिखेर संस्थाको भविष्य माथिनै प्रश्न खडा गरेको छ।
विदेशी पासपोर्ट बोक्ने नेपाली मुलका नागरिकलाई नेपालका राजनीतिक दलको झोला बोकाउने खेलमा पनि यिनीहरूकै ठूलो हात छ। केही धनाढ्य ब्यापारीको स्वार्थ र लगानीमा यो राजनीति लाजनीतिका रूपमा अगाडि बढेको छ। ‘अहंकारले देवतालाई पनि दुष्ट बनाउँछ’ भनेझै पछिल्लो समस्याको जडमा केही ब्यक्तिको अहंकारले यो संस्था परराष्ट्रसम्म पुगेको सत्य हो।
फलानोलाई नेतृत्वमा आउनै नदिने र ढिस्कानोलाई ल्याएर आफूले चलाउने भन्ने सोँच पालेका केही ब्यापारीको धनको तुजुक र मनको लालचले संस्थालाई निकै गाँजेको छ।
यस्ता रोगी मनोविज्ञान बोकेर सभ्य समाज र परोपकारी अभियान अगाडि बढाउन पटक्कै सकिन्न। दास मनोवृत्ति बोकेका ढोके, बैठके, हुक्के अनि भान्सेहरूले गर्ने भनेको मालिकको सेवा मात्र हो, समाज सेवा पटक्कै होईन।
‘आफ्नो पहिचान देखाउन, सके दौडनू नत्र कुद्नू त्यो पनि नभए घिस्रनू’ भनेझैं अहिले केही अभियन्ताको बिल्ला भिरेका एक हुल जमात एनआरएको नाममा घिस्रिरहेका छन्। यसरी विदेशी पासपोर्ट बोकेर नेपाली राजनीतिमा घिस्रिरहेका समाजिक अभियन्ताको अन्तिम उद्देस्य समाजसेवा र परोपकारभन्दा संस्था कब्जा गर्नू नै हो।
अहिले मुलुक बेमौसमी बाढिपहिरोले प्रभावित छ। बाढी र पहिरोको बितन्डाले नागरिकहरू पीडामा छन्। तर मुलुकलाई चोट पर्दा जुरूक्कै उठ्ने त्यो एनआरएन कता रूमल्लीएको छ? या बैंकमा पैसा राखेर रमितामा रमाएको छ। यस्तो अवस्थामा एनआरएनको साख र नाक अब छिचिमिराले उडान भरेझैं सतहमै सिमित छ। ‘दुई वर्षमा नेपाल आउँछन् अनि ठूला-ठूला कुरा गर्छन् र फर्किन्छन्’ भन्ने छबीबाट बिस्तारै सम्मानित तवरमा उडान भरेको एनआरएन फेरि पुरानै लय र शैलीमा गिर्दो छ।
यसको जिम्मा अहिलेको नेतृत्वले लिनुपर्छ र अभियन्ताका बिल्ला भिरेका नेतालाई प्वाँख पलाउनबाट रोक्नुपर्छ। त्यसो भएन भने यो संस्था टुक्रिने, भत्किने र बिग्रने पक्कापक्की छ।
अध्यक्षमा प्रत्यासी बेलायतका कुल आचार्य कांग्रेस निकट र चेताहा उम्मेद्वार हुन्। उनलाई खुला रूपमा सहयोग गर्न नेपाली कांग्रेसले परिपत्रनै जारी गरिसकेको छ। तर आम प्रजातन्त्रवादी उनलाई स्वीकार्न सक्ने अवस्थामा छैनन्।
अर्का प्रत्यासी बद्री केसी कम्युनिष्ट नजिक मानिन्छन्। तर उनलाई भने दलीय रूपमा त्यस्तो खुलेआम समर्थन देखिँदैन। आचार्यको टोलीमा कांग्रेस र माओवादीको साथ रहेको छ भने बद्रीको टिममा अधिकांश डेमोक्र्याटको बाहुल्यता छ।
पछिल्लो समिकरणलाई नजिकबाट नियाल्ने हो भने खासै धरै संख्यात्मक उपस्थिति नरहेको माओवादीको सहभागिता समिकरणमा मात्र सिमित छ। यसमा पनि केही कुल र केही बद्रीको टिममा उम्मेदवार बनेका छन्।
दुबै टिममा राता निला पात्रहरू खडा भए पनि प्रवृत्ति भने त्यस्तै छ। यिनका पछाडि पुन संरक्षकनै रक्षकका रूपमा उभिएका छन्। उनीहरू टिम बनाउन बेलायतदेखि काठमाडौं धाइरहेको स्पष्ट देख्न सकिन्छ।
वास्तवमा भन्ने हो भने मुलुकलाई समस्या पर्दा जुरूक्कै उठ्ने नेपाली समाज यतिखेर विदेशी पासपोर्ट र नेपाली राजनीतिमा अलमलिएको छ।
स्थापनाको हिसाबले गैर आवासीय नेपाली संघ (एनआरएनए) २० वर्षमा टेक्दैछ। उमेर छिप्पिदै जाँदा व्यवस्थित र पद्धतिमा परिपक्क हुनुपर्ने हो । तर, स्थापनाको २ दशक पुग्नै लाग्दा परदेशका धेरै नेपाली आबद्ध भएको गैर आवासीय नेपाली संघ चरम विवादमा फँसेको छ । र गम्भीर मोडमा उभिएको छ।
आफ्नो उद्देश्य अनुसार चल्नुपर्नेमा नेतृत्व हडप्ने हानथापमा रस्साकस्सि भइरहँदा एनआरएनए माथि नै गम्भीर शंका उब्जिएका छन् । हरेक २ वर्षमा हुने नेतृत्व परिवर्तनको महाधिवेशन ताका अचाक्लि विवादहरु मात्रै हुँदैनन्। नेपालको राजनीति प्रत्यक्ष रूपमा हाबी भएपछि एनआरएनए संस्थाप्रति नै विश्वास घट्दै गएको पाइन्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा विश्वाशिलो साझोदार संस्थाका रूपमा दरिँदै आएको प्रवासी नेपालीको संस्थालाई राजनीतिले बदनाम बनाउने प्रयास गरेको छ।
तन विदेशमा भए पनि मन नेपालमा हुने यो जमात र एनआरएनको परोपकारी अभियान यसैमा सिमित नहोस्, शुभकामना!