हरेक दिन कक्षाकोठामा घण्टौँ उभिएर सिकाउने हामी शिक्षकहरु विद्यार्थीको भविष्यका बाहक भनेर चिनिन्छौँ। कक्षाकोठाको एउटा सीमित घेराभित्र बसेर अध्यापन गराइरहँदा विद्यार्थीलाई निर्धारित विषयवस्तु सिकाउनु, अभ्यास गराउनु र जान्ने बनाउनुको अतिरिक्त हामीसँग अर्को कुनै उद्देश्य हुँदैन।
विषयवस्तुको अतिरिक्त प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विद्यार्थीले शिक्षकबाट कैयौँ कुराहरु सिकिरहेका हुन्छन् र सँगै शिक्षकले विद्यार्थीबाट पनि यही उद्देश्य पूरा गर्न हामी हरेक दिन सयौँ कलिला आँखाहरुसँग आँखा जुधाउँछौँ, छलफल गर्छौं र आफ्ना विद्यार्थीलाई संस्कारयुक्त र अनुशासित बनाउने प्रयास गर्छौँ।
हामीलाई न त निजामती कर्मचारीलाई जस्तो टिडिएसको चिन्ता हुन्छ, न त भत्ता कति पाइन्छ भन्ने चिन्ता। न त हामीलाई कुनै कार्यक्रमबाट कसले कति कमिसन खायो भन्ने चिन्ता हुन्छ न त पोर्टफोलियोको चिन्ता। न त हामीलाई कतै विदेश भ्रमण जाने अवसरको चिन्ता न त काज बिदामा कहाँ-कसरी गएर मनोरञ्जन लिने भन्ने चिन्ता नै हुन्छ।
राजनीतिलाई पेसा ठान्ने हाम्रोजस्तो देशमा एउटा राजनीतिकर्मीलाई पदीय हैसियतको चिन्ता हुन्छ। पार्टीको माथिल्लो तहमा कसरी पुग्ने, राज्यको सेवा, सुविधालाई कसरी उपभोग गर्ने भन्ने चिन्ता हुन्छ। राजनीतिक कर्मलाई देश र जनताको लागि काम गर्ने एउटा महत्वपूर्ण अवसर, दायित्व र जिम्मेवारी सम्झिने पात्रहरु निकै कम भएको हाम्रो मुलुकमा राजनीतिकर्मीलाई आफ्नो पद र प्रतिष्ठाको हमेसा चिन्ता हुन्छ। ठिक त्यसैगरी एउटा व्यापारीलाई व्यापारबाट बढीभन्दा बढी मुनाफा आर्जन गर्ने चिन्ता हुन्छ।
एउटा वकिललाई झगडियाको मुद्दा लडेर फी लिने चिन्ता हुन्छ, डाक्टरले पैसा कमाउन समाजमा बिरामीहरु बढ्नुपर्छ। जति बढी बिरामीहरु हुन्छन्, त्यति नै बढी पैसा डाक्टरले कमाउन सक्छन्। हुन त समाजका सबै पेसा, व्यवसाय आफैमा मर्यादित र सम्मानित छन् र हुन्छन्। तथापि त्यसलाई अझ बढी मर्यादित बनाउने काम राज्यस्तरबाट हुनुपर्छ र सम्बन्धित व्यक्तिबाट पनि।
हाम्रो शिक्षण पेसा यस्तो पवित्र पेसा हो, जहाँ शिक्षकको खुसीको मापन विद्यार्थीको ज्ञान, शिक्षा र चेतनासँग जोडिएको हुन्छ। शिक्षकको खुसीको मापन विद्यार्थीको अग्रगमनसँग जोडिएको हुन्छ। आफूले पढाएको विद्यार्थीले राम्रो अङ्क ल्यायो भने हामी शिक्षकलाई आफैले अङ्क पाएजस्तो महसुस हुन्छ। हाम्रा विद्यार्थीलाई कसैले राम्रो भनिदियो भने हामी निकै खुसी हुन्छौँ। वास्तवमा हामी १० देखि ४ बजेसम्म हरेक विद्यार्थीको अभिभावक बनेर बस्छौँ, आमा बुवा जस्तै बनेर बस्छौँ।
विद्यार्थी सँगको भावनात्मक सम्बन्ध यति गहिरो हुन्छ कि कैयौँपल्ट उनीहरु हामीलाई आमा भनेर सम्बोधन गर्छन्। आफ्नै अभिभावक ठानेर त उनीहरु हरेक समस्या शिक्षकहरुसँग शेयर गर्छन्। आफ्ना घरका समस्याहरु सुनाउँछन् र समाधानका लागि आग्रह गर्छन्।
विद्यार्थीहरुबीच भएका आपसका झैझगडाका विषयहरु होउन् या अन्य समस्यारत कैयौँ विषयहरुको समाधान गर्न हामीले विद्यार्थीको अभिभावकलाई बोलाउने, छलफल गर्ने र निर्णय सुनाउनु पर्ने हुन्छ। तसर्थ शिक्षकको भूमिका केवल शिक्षकको मात्र हुँदैन, अभिभावकीय भूमिका हुन्छ, न्यायधिसको भूमिका हुन्छ।
वास्तवमै कुनै पनि प्रकारको लोभ, मोह, स्वार्थ, ईर्ष्या नलिई स्वतन्त्र ढङ्गले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने शिक्षकहरुको शिक्षण पेसा निकै पवित्र र सभ्य छ तर यसलाई विभेद गरेर अपवित्र बनाइएको छ। शिक्षण पेसा निकै मर्यादित छ, तर यसलाई राज्यको व्यवहार र नजरले अमर्यादित बनाएको छ।
एउटा असल व्यक्ति, असल परिवार, असल समाज, समुदाय र राष्ट्र बनाउनको लागि चाहिने एकमात्र चिज असल शिक्षा नै हो। 'मानिसलाई पूर्ण जीवन व्यतीत गर्नका लागि तयार पार्नु नै शिक्षाको कार्य हो' भन्ने हर्वट स्पेन्सर हुन् या 'एक वर्ष बाँच्नु छ भने धान रोप, दश वर्ष बाँच्नु छ भने फलफूलको बोट रोप, पूरा जीवन बाँच्नु छ भने शिक्षा रोप' भन्ने प्रसिद्ध चिनीयाँ भनाइ होस् यी दुवैथरी भनाइबाट शिक्षाको महत्वलाई प्रष्ट बुझ्न सकिन्छ। कुनै पनि मुलुकको शिक्षा त्यस देशको विकास, समृद्धि र सभ्यताको ऐना हो भनिन्छ किनकि शिक्षाको प्रभाव देशको समग्र क्षेत्रमा पर्दछ।
गुणस्तरीय, व्यवहारिक, सीपमूलक र समयसापेक्ष शिक्षा भयो भने देशको सम्पूर्ण क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्छ। अन्यथा शिक्षा क्षेत्रमा देखिएको कमजोरीले समग्र क्षेत्रलाई दूरगामी असर पार्दछ। आखिर शिक्षा क्षेत्र यति महत्वपूर्ण क्षेत्र हो भने शिक्षाका सारथीहरुप्रति राज्यको पूर्वाग्रहपूर्ण दृष्टिकोण र उदासिनता किन? किन राज्यको नजरमा शिक्षा क्षेत्र सधैँ दोस्रो दर्जामा? यो हरेक शिक्षकको अन्तरआत्माबाट सोधिने एक गम्भीर प्रश्न हो।
शिक्षकहरुमाथि गरिएको विभेदको फेहरिस्त निकै लामो र लज्जाजनक छ। राज्यले आज पनि शिक्षकहरुमाथि अनेक किसिमका विभेदहरु सिर्जना गरेर शिक्षकको मनोबल गिराउने काम मात्र गरेको छैन, राष्ट्रनिर्माणको महान् र गरिमामय क्षेत्रमाथि एसिड फ्याक्ने काम गरेको छ।
सेवा, सुविधाको स्तरमा विभेद, बिरामी भई उपचार गर्ने हस्पिटलमा विभेद, काज बिदा दिने सवालमा विभेद, ग्रेडिङ प्रणालीमा विभेद, बढुवामा विभेद यति गह्रुङ्गो विभेदको भारी बोकेर शिक्षा क्षेत्रमा कार्यरत हामी शिक्षकका पीडाबाट राज्य के साँच्चै बेखबर छ? के राज्यव्यवस्थाले यस खालको विभेदको निरुपण गर्नुपर्दैन? के सम्बन्धित निकायले यस खालको विभेदको सम्बोधन गर्नुपर्दैन?
सक्रियताको हिसाबले सबैभन्दा बढी खटिनुपर्ने, चिच्याउनुपर्ने, घण्टौँ उभिनुपर्ने र आफूलाई हमेसा अपडेट बनाइरहनुपर्ने पेसा हो शिक्षण पेसा। तर सेवा-सुविधाको सवालमा होस् वा राज्यले शिक्षालाई हेर्ने दृष्टिकोणको सवालमा, शिक्षा क्षेत्र किन सधैँ दोस्रो लाइनमा? के शिक्षकहरु कहिल्यै बिरामी हुँदैनन्? के शिक्षकहरुको समयमै बढुवा हुनुपर्दैन? के शिक्षकहरुको कुनै मर्यादित श्रेणी हुँदैन? के शिक्षकहरु राज्यको नजरमा कमजोर छन्?
होइन भने विभेदका सम्पूर्ण पर्खालहरु भत्काइनुपर्छ र राज्यले हरेक राष्ट्रसेवक कर्मचारीलाई एउटै नजरले हेर्नुपर्छ र समान व्यवहार गर्नुपर्छ। शिक्षकलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। दक्ष र अब्बल जनशक्तिलाई शिक्षा क्षेत्रभित्र भित्र्याउने वातावरण राज्यले नै निर्माण गर्ने हो। आजसम्म शिक्षा क्षेत्रलाई हेर्दै आएको दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि थोरै नै किन नहोस् अन्य कर्मचारीको भन्दा शिक्षकको सेवा सुविधामा वृद्धि गरिनुपर्छ।
यो मुलुकले नयाँ संविधान पायो, गणतन्त्र पायो, संघीय लोकतन्त्र पायो, धर्म निरपेक्षता पायो, समानुपातिक समावेशी राज्य निर्माण भयो। यो सबैको मूलमा छिपेको अन्तरनिहीत तत्व समानताको खोजी नै हो। समग्रमा आत्मसम्मानको प्रयास नै हो। संविधानमा समानताका अनेकौँ धारा उपधाराहरु लेखिए, थपिए तर आज पनि हामी शिक्षकहरु समानता चाहियो भन्दै चिच्याउनु परिरहेको छ। यो निकै दुःखद छ।
शिक्षा ऐन (२०२८) आएको पनि दशकौँ बितिसक्यो। यस बीचमा शिक्षासँग सम्बन्धित दर्जनौँ प्रतिवेदनहरु सार्वजनिक भए। शिक्षा ऐन पटक-पटक संशोधन गरियो। शिक्षकका दर्जनौँ संघ, संगठनहरु बने पार्टीसँग सम्बन्धित शिक्षक संघ, संगठन, शिक्षकहरुका साझा संगठनहरु बने तर मूल समस्या ज्यूँका त्यूँ रहिरह्यो।
वषौँदेखि जकडिएका शिक्षा क्षेत्रका समस्याहरुलाई नीतिगत तहबाट सुधार गर्ने, कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने, शिक्षा क्षेत्रलाई मर्यादित बनाउने र अब्बल जनशक्ति आकर्षणको केन्द्र बनाउने कुरामा सरकारमा बस्नेहरुले ध्यान दिनु जरुरी छ। शिक्षा राम्रो नभई देश राम्रो हुँदैन, असल शिक्षाले विचार निर्माण गर्छ, सही विचारले देश निर्माण गर्छ। देशलाई राम्रो बनाउनु छ भने शिक्षा क्षेत्रमा बहुआयामिक सुधारको खाँचो छ।
(लेखक शिक्षण पेसामा आवद्ध छिन्।)