बाबा तपाईंले जीवनमा धेरै दु:ख गरिसक्नु भयो, अब तपाईंका दु:खका दिन जाँदै छन्।
कहिल्यै भोक, तिर्खा अनि निन्द्रा नभनी सधैं मेरा खुसीका निम्ति जीवन बिताउनु भयो।
बाबा तपाईंलाई न कुनै चाडपर्व आए, न कुनै मेला महोत्सव नै।
आफ्नो कोट च्यातिएर टाल्ने पैसा नहुँदा पनि मलाई दसैं तिहारजस्ता चाडपर्वमा हाँसीहाँसी नयाँ कपडा ल्याइदिनुभयो बाबा।
आफ्नो भोक मारीमारी भए पनि मलाई मीठोमसिनो खुवाउनुभयो।
म बाटोमा ठेस लागेर लड्दा तपाईंको दिलमा चोट लागि आँखा रसाउँथे बाबा।
म त संसारकै कति भाग्यमानी सन्तान तपाईंजस्तो बाबा पाएँ।
बाबा तपाईंले आफ्नो हरेक इच्छा चाहनालाई तिलाञ्जली दिई सधैं मेरा खुसीका लागि जीवनमा संघर्ष गर्नुभयो।
मेरो खुसी नै तपाईं आफ्नो खुसी ठान्नु भयो। मेरो सपना नै तपाईंले आफ्नो जीवन ठान्नुभयो।
आज म यो ठाउँमा आउनु बाबा तपाईंको जीवनको परिश्रम, संघर्ष र दु:खका हरेक पसिनाका थोपाको योग हो।
आज म कुनै तारे होटलमा गएर खाने ८४ ब्यन्जन खानाभन्दा तपाईंको सामिप्यमा पलेंटी कसेर खाएको गुन्द्रुक र ढिडो हजारौं गुणा स्वादिष्ट थियो बाबा। आज हजारौंको बिस्तारामा तनावमा सुतेको निन्द्राभन्दा त्यो झुपडीमा तपाईंको काखमा पाएको निद्रा लाखौं गुणा आनन्दित थियो बाबा।
आज सुबिधा सम्पन्न गाडीमा गर्ने भ्रमणभन्दा तपाईंको पिँठ्युमा बसेर मीठो कथा अनि गीत सुन्दै गरेको यात्रा करोडौं गुणा रमाइलो थियो बाबा।
आज मैले पाउने देखावटी मान र सम्मानभन्दा तपाईंको प्रेम र स्नेह अरबौं गुणा धेरै थियो बाबा।
तपाईंको प्रेममा न त कुनै स्वार्थ थियो न त कुनै लोभ थियो।
आज म जतात्यतै स्वार्थ देख्छु बाबा जतात्यतै लोभ। हरेक पाइला-पाइलामा यो दुनियाँ स्वार्थै स्वार्थले भरिएको देख्छु।
तपाईंले सिकाउनु हुन्थ्यो सधैं अरूको भलोको लागि काम गर्नुपर्दछ भनी।
आज दुनियाँमा कुभलो नै कुभलोको बाहुल्यता देख्छु बाबा।
तपाईं सिकाउनु हुन्थ्यो दीनदु:खीलाई सधैं सहयोग गर्नु पर्दछ भनी तर आज दिनदहाडै तिनै दीनदु:खी लुटिँदै गरेको देख्छु बाबा।
म देखें पनि नदेखेझैं गर्न बाध्य छु, किनकि समाजमा यिनीहरूकै बाहुल्यता छ म त केवल एक्लै छु बाबा। तपाईं सोच्दै हुनुहुन्छ होला छोरो सहरमा सुखी र खुसी छ भनी। तपाईं बिल्कुलै गलत हुनुहुन्छ बाबा। सहरमा बाहिरबाट हेर्दा त सुखैसुख अनि खुसी नै खुसी देखिन्छ तर भित्र अर्कै व्यथा छ बाबा।
यहाँ घरहरू धेरै नजिक छन् तर मानिसका मन यति टाढा छन् कि मनको दूरी नाप्न कुनै यन्त्र नै बनेको छैन बाबा।
गाउँमा दिनभरि काम गरी बेलुका परिवारसँगै बसि मीठामीठा कुरा गर्दा दिनभरिको थकान मेटिन्थ्यो तर यहाँ त दिनभरि काममा गयो अनि बेलुका आफ्नै श्रीमती, छोराछोरीसँग बोल्ने फुर्सद हुँदैन बाबा। सबैको हातहातमा मोबाइल छन्। एकअर्कासँग बोलेर सुखदु:ख साटासाट गर्ने एक मिनेट पनि फुर्सद छैन।
मानिसको हुलभित्र पनि आज सबै जना एक्लै छन् बाबा म बस्ने ठाउँमा।
बाबा तपाईं जीवनभर सन्तानको खुसी र सुखका लागि संघर्ष गर्नुभयो।
अब तपाईंका सन्तान आफ्ना खुट्टामा उभिँदै छन्। अब तपाईंको पुरानो कोट फेर्ने बेला आएको छ, अब हाम्रो पुरानो झुपडी फेर्ने बेला आएको छ बाबा।
अब हामीसँगै बसि जीवन बिताउने बेला आएको छ बाबा।
तपाईंको दु:खका दिन जाँदै छन्। अब छिट्टै सुखका दिन आउँदै छन् बाबा।